रक्त क्यान्सरको जोखिम

बुधबार, १९ माघ २०७३, ०१ : १३ मिलन खरेल , Kathmandu
रक्त क्यान्सरको जोखिम

रक्त क्यान्सर रक्तकोषहरूमा लाग्ने एक प्रकारको क्यान्सर हो । डाक्टरी भाषामा यसलाई ‘ल्युकेमिया’ भन्ने गरिन्छ । तथ्यांकअनुसार विश्वभरि प्रति वर्ष करिब तीन लाख व्यक्तिले रक्त क्यान्सरबाट ज्यान गुमाउने गर्छन् । यसले विशेषतः शरीरमा रहेका श्वेत रक्तकोषहरूलाई नष्ट गर्ने गर्दछ । रगतमा रहेका यिनै श्वेत रक्तकोष (डब्लूबीसी)ले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्ने गर्दछन् । यिनीहरूले बाहिरी वातावरणबाट शरीरमा प्रवेश गरेका विभिन्न खाले रोगका जीवाणु (ब्याक्टेरिया), विषाणु (भाइरस), ढुसी (फंगस) सँग लडेर हाम्रो शरीरलाई सुरक्षित राख्छ । तर, रक्त क्यान्सर लागेको अवस्थामा भने शरीरको सुरक्षाकर्मी मानिने यिनै सेता रक्तकोषले आफ्ना नियमित कार्य गर्न सक्दैनन् । यस्तो अवस्थामा यिनीहरू अपरिपक्व रूपमा चाँडो–चाँडो विभाजन भई सामान्य अवस्थामा रहेका सेता रक्तकोषिकालाई विस्थापित गर्ने गर्छन् ।
सामान्यतया रक्त क्यान्सर संक्रमणको तीव्रताका आधारमा दुई प्रकारका हुने गर्दछन् । जसमध्ये एउटालाई अंग्रेजीमा ‘एक्युट ल्युकेमिया’ भनिन्छ । यसबाट शरीरमा तुरुन्त लक्षण देखापर्ने गर्दछन् भने अर्को प्रकारको रक्त क्यान्सर दीर्घकालीन प्रकृतिको हुने गर्छ, जसलाई ‘क्रोनिक ल्युकेमिया’ भनिन्छ । जुन शरीरमा बिस्तारै फैलिन्छ र यसका लक्षण पनि ढिलो गरी देखापर्ने हुन्छन् । क्यान्सर संक्रमित कोषका आधारमा रक्त क्यान्सरलाई एएमएल, एएलएल, सीएमएल र सीएलएल गरी चार प्रकारमा विभाजित गरिएको छ । रक्त क्यान्सरमा अन्य क्यान्सरको जस्तो खासै तह नभए पनि रगतमा देखिएका क्यान्सरका कोषको बनावट, संख्या तथा कलेजो, फोक्सोजस्ता अन्य अंगमा पारेको असरका आधारमा यसको तीव्रता निर्धारण गर्ने  गरिन्छ ।  समयमै उपचार नभए रक्त क्यान्सर फैलिएर शरीरका अन्यअंग फोक्सो, खाद्यनली, मुटु, मिर्गाैला, अण्डकोष तथा मस्तिष्कसम्म पुगी असर गर्ने गर्दछ ।
रक्त क्यान्सर लाग्ने ठोस कारण अहिलेसम्म पत्ता लागेको छैन । यद्यपि, निम्नलिखित कुराले रक्त क्यान्सरको जोखिम भने बढाउने गर्दछः
-    पारिवारिक पृष्ठभूमि (यदि रगतको नाता भएका आफन्तजनलाई रक्त क्यान्सर लागेको भएमा वंशाणुगत रूपमा यो रोग लाग्ने सम्भावना हुन्छ)
-    अत्यधिक धूम्रपान
-    ‘डाउन सिन्ड्रोम’ भनिने वंशानुगत तŒव (क्रोमोजोम)मा आएको खराबी
-   अन्य प्रकारको क्यान्सर नियन्त्रणका लागि गरिएको केमोथेरापी
-   उच्च प्रवृत्तिको विकिरण (एक्स रे, एमआरआई, सीटी स्क्यान आदि) को अत्यधिक सम्पर्क
-   ‘बेन्जिन’ समूहमा पर्ने हानिकारक रसायनयुक्त औषधिको अत्यधिक प्रयोग
रक्त क्यान्सरमा सुरुवाती अवस्थामा प्रायः कुनै प्रकारको लक्षण देखिँदैन । रोग बढ्दै गएपछि बिरामीमा निम्न लक्षण देखिन थाल्छन्ः
-   शरीरमा अत्यधिक पसिना आउनु विशेष गरी रातमा
-    कमजोरी महसुस हुनु, जति आराम गर्दा पनि थकान लागिरहनु ।
-    शरीरको तौल असामान्य रूपमा घट्दै जानु
-    हाडमा निरन्तर दुखाइ महसुस हुनु
-    घाँटी तथा काखीमा नदुख्ने किसिमका गाँठा आउनु
-    पेटमा कलेजो तथा फियो भएको भागतर्फ सुन्निनु
-    छालामा राता तथा नीला किसिमका दाग र धब्बा देखिनु
-    सामान्य ठक्कर लाग्दा पनि शरीरमा सजिलै दाग आउनु र रक्तस्राव हुनु
-    बिनाकारण लामो समयसम्म ज्वरो आउनु, शरीर काम्नु
-    शरीरमा बारम्बार संक्रमण हुनु जस्तो मुखमा घाउ खटिरा आइरहनु
प्रयोगशालामा गरिने रगतको परीक्षणबाट रक्त क्यान्सर भए नभएको थाहा पाउन सकिन्छ । सामान्यतया रक्त क्यान्सर भएका व्यक्तिको रगतमा असामान्य प्रकारका क्यान्सरका कोष देख्न सकिन्छ । बिरामीको रगतमा विशेषतः श्वेत रक्तकोष र रगत रातो पार्ने ‘हेमोग्लोबिन’ नामक तŒवको मात्रा साबिकभन्दा कम हुने गर्दछ ।  रक्त क्यान्सरको प्रकारलगायत उपचार विधिसम्बन्धी अन्य कुरा थाहा पाउन प्रयोगशालामा बोनम्यारो बायोप्सी, फ्लोसाइटोमेट्री, पीसीआर, कार्योटाइपिङजस्ता स्तरीय परीक्षण गर्ने गरिन्छ ।
रक्त क्यान्सरको उपचार क्यान्सर रोग विशेषज्ञ (हेमाटोलोजिस्ट÷अन्कोलोजिस्ट) डाक्टरद्वारा गरिन्छ । जसका लागि क्यान्सरको प्रकार, बिरामीको शारीरिक अवस्था र उमेरअनुसार उपचार विधि फरक–फरक हुन्छ । १५ वर्षभन्दा कम उमेरका ‘एक्युट’ प्रकारको रक्त क्यान्सर भएका बिरामीको समयमा उपचार गरेमा पाँच वर्ष बाँच्ने सम्भावना करिब ६० देखि ८५ प्रतिशतसम्म हुने गर्दछ । पाँच वर्षपछि पनि क्यान्सर नदेखिएमा यो प्रायः फर्कंदैन । तर, ६० वर्ष नाघिसकेका बिरामीमा भने पाँच वर्ष बाँच्ने सम्भावना करिब तीनदेखि १५ प्रतिशतसम्म हुने गर्दछ । हाल रक्त क्यान्सरको उपचारका लागि निम्न पद्धति प्रचलनमा छन्ः
केमोथेरापीः यस विधिमा रासायनिक औषधिको प्रयोग गरी क्यान्सरका असामान्य कोषलाई मार्ने वा नष्ट गर्ने गरिन्छ  
    रेडिएसनथेरापीः यस विधिमा तीव्र ऊर्जायुक्त विकिरणको प्रयोग गरी     क्यान्सरयुक्त कोषको वृद्धिलाई रोक्ने गरिन्छ   
बोनम्यारो ट्रान्सप्लान्टः यस विधिमा बिरामीको आफ्नै वा दाताको  ‘बोन म्यारो स्टेम सेल’ भनिने स्वस्थ मासी बनाउने कोष बिरामीमा प्रत्यारोपण गरी संक्रमित मासीलाई स्वस्थ मासीद्वारा विस्थापित गर्ने गरिन्छ ।  
बायोलोजिकल÷इम्युन थेरापीः यस विधिमा शरीरको प्रतिरक्षा प्रणालीलाई विकसित गरी क्यान्सर  कोषलाई नष्ट गर्ने गरिन्छ ।

रक्त क्यान्सरलाई यदि सुरुवाती अवस्थामा नै अर्थात् शरीरका अन्य भागमा फैलिनुअगावै पत्ता लगाइ सही उपचार गरेमा बिरामीलाई लामो समयसम्म बचाउन सकिन्छ । तर, ‘फंगलन्युमोनिया’ भनिने ढुसीबाट हुने फोक्सोको संक्रमण, ‘सेप्टिसेमिया’ भनिने रगतमा हुने संक्रमण सेकेन्डरी इन्फेक्सन भई शरीरका अन्य अंगमा फैलिएर नियन्त्रण बाहिर गइसकेको अवस्थामा भने रक्त क्यान्सरका बिरामीलाई बचाउन गाह्रो हुन्छ ।

Leave A Comment