तीन लाखभन्दा बढीले हेरे क्यान मेला

बिहिबार, २० माघ २०७३, १२ : ४४ शुक्रवार , Kathmandu
तीन लाखभन्दा बढीले हेरे क्यान मेला

सूचना प्रविधिप्रति सर्वसाधारणको आकर्षण बढेको छ । पछिल्लो क्यान इन्फोटेक मेलामा सर्वसाधारणले गरेको अवलोकनले आधुनिक प्रविधिप्रति ‘क्रेज’ बढ्दै गएको पुष्टि हुन्छ ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २३औँ संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१७’ को ३ लाख १० हजार ९८ जनाले अवलोकन गरेका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा कम हो । अघिल्लो वर्ष ३ लाख ६३ हजारले अवलोकन गरेका थिए । यस वर्ष चार लाख पुग्ने आयोजकको विश्वास थियो ।
महासंघले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले सन् १९९५ देखि प्रत्येक वर्ष क्यान इन्फोटेक गर्दै आएको छ ।
प्रदर्शनीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशी, उद्योगमन्त्री नविन्द्रराज जोशी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद उदयशमशेर राणालगायत राजनीतिक व्यक्तित्व तथा चर्चित कलाकार, राष्ट्रिय खेलाडीले पनि इन्फोटेक अवलोकन गरेको महासंघको विज्ञप्तिमा उल्लेख छ ।
यस पटकको इन्फोटेकमा पनि नेपालमा भित्रिएका थुप्रै नयाँ–नयाँ प्रविधिबारे इन्फोटेकमार्फत आम नेपालीले प्रत्यक्ष जानकारी लिने अवसर पाएको महासंघका महासचिव विश्वराम बलामीले बताए ।
प्रदर्शनीमा प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, सीसीटीभी, ब्याट्री, सोलार, यूपीएस, इन्डक्सन चुलो, ल्यापटप तथा एन्ड्रोइड स्मार्ट टीभी, स्मार्टफोन÷ट्याब्लेट, एन्टिभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइजडित विशेष क्यामेरा, ड्रोन र रेकर्डर, स्मार्टवाच, सेल्फी स्टिक लगायतका स्टल आकर्षणका केन्द्र बनेका थिए ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायत गरी १ सय ५८ कम्पनीका २ सय २२ वटा स्टल रहेका थिए ।

 

Leave A Comment