शाब्दिक चमत्कार

आइतबार, १२ असार २०७३, ११ : ५९ शुक्रवार , Kathmandu
शाब्दिक चमत्कार

गुरुङ सुशान्त
 हामीसँग केही थान सपना छन् र अनगिन्ती विपनाका वक्ररेखा पनि । सपनालाई विपनाकै असीमित इच्छाहरूको क्षतिपूर्ति मान्दछन् मनोवेत्ताहरू । सपना देख्नु अनि सपनाकै पछाडि दौडनु आकाश–जमिनको सम्बन्धजस्तो हो, जोडिएर पनि टाढा रहनु । आँखा खोलेर÷चिम्लेर सपनाको कुसुमेरुमाल बुन्नु र हतारमा कतै छोडिहिँड्नु धेरै मान्छेको साझा नियति हो । सपना, स्वैरकल्पना र यथार्थको त्रिभुजीय दर्पणअगाडि बसेर कहिले आफूलाई देख्नु, कहिले अरू पात्रको धुमिल छाया खोज्दै रमाउनु कस्तो होला ? त्यस्तो अनुभवको साकार अस्तित्व हुन्, कुमार नगरकोटी । नगरकोटीय शब्दशिल्पको प्रतिलिपि हो, ‘अक्षरगन्ज’ । मौन फकिरजस्ता देखिने नगरकोटी अक्षरहरूको पङ्क्तिमा वाचाल छन् । उनी डुब्दै–उत्रँदै गर्छन् अक्षर र विम्बको तलाउमा । भनिन्छ, ‘साहित्य जीवनको एक मात्र पेसा बनेमा दिक्दारी र हैरानीको मामला हुन्छ, तर केही निश्चित समयमात्र लगाएमा आनन्दको विषय बन्छ साहित्य ।’ चेतको ढकनी उघ्रेदेखि निरन्तर चम्किला अक्षरसँगै यात्रारत नगरकोटीलाई साहित्यले हैरान पनि पारेको होला ?
   आमलेखनभन्दा पर बसेर लेख्दै छन् नगरकोटी । बडे–बडे दर्शनभन्दा पृथक छ उनको चिन्तनशैली पनि । आत्मचेतनाको उचाइ बढ्दै गएपछि मान्छेले दुनियाँबाट अलग पाउँछ आफूलाई । नगरकोटीय अन्तर्मनको यात्रालाई सघाउने अनेक पुस्तक र फिल्म छन् । देशको राजनीतिलाई ठन्डीले समात्छ, सडकमा आक्रोश बल्छ । भ्रष्टताको भुङ्ग्रोमा अड्डा–अफिस दन्कन्छ र निराशाका चिसा अभिव्यक्ति बान्ता गर्छन् जनता । तर, नगरकोटीको एकान्तवास÷ साधनाको गुरुत्व सानोतिनो हावाहुरी र भुइँचालाले डगमगाउँदैन । उनी आफ्नै अतीतका इलाकामा रिभिजिट गर्छन्  । कहिले आफैँ मुग्ध हुन्छन् त कहिले विरक्त । अद्भूत आख्यान प्लटजस्तो लाग्छ उनले हिँडिभ्याएका गल्ली र गौँडाहरू । अनेक सुन्दर संयोगले नगरकोटीको जीवन–शिलालेख कुँदिएको रहस्य खुल्छ ‘अक्षरगन्ज’मा । उनी काव्यिक चिन्तन गर्छन्, ‘म सायद चरा हुँ । चराको राज्य कहाँ हो ?’  जन्म, हुर्काइ–बढाइ, पढाइ–लेखाइ, प्रेम–विवाह, साथी–संगातीबारे बुझ्दा लाग्छ, मौलिक जरा नभएको लेखक हुन् नगरकोटी । चरासँग न भौगोलिक सिमाना हुन्छ, न जात–भाषा र धर्म नै । नगरकोटीसँग न बाउबाजेको भाषा र जात छ, न आमा–मामाको नै । उनले लेख्ने–बोल्ने भाषाको अनुहार छ, वर्णशङ्कर ।  उनी निख्खर नेपाली गद्य पनि अति सुन्दर लेख्छन् भन्ने हेक्का कमैलाई मात्र हुनसक्छ ।
धार्मिक कर्मकाण्डप्रति अलगाव भए पनि आध्यात्मिक आँखा लिइहिँड्छन् उनी ।  आत्मासँग वैचारिक–काव्यिक संवाद गरिरहन्छन् नगरकोटी । संवाद कहिले मौनतामा हुन्छ, कहिले लिपिबद्ध कोलाजमा । त्यही मौनता र कोलाजको समष्टि हो, ‘अक्षरगन्ज’ ।
       अध्ययनको मरमसलाले निर्मित हुन्छ लेखन–स्वाद । कस्ता किताब पढ्छन् नगरकोटी ?  फ्रान्ज काफ्का र खलिल जिब्रान उनको रोजाइको सिरानमा फेला पर्छन् । ‘मोटिभेसनल’ किताबसँग विकर्षित नगरकोटीको रोजाइमा स्वेट मार्डेन, शिव खेराजस्ता लेखक पर्ने कुरै भएन । आत्मकथा पढ्ने जाँगर पनि मरिसकेछ उनको । रोचक कुरा, ‘अक्षरगन्ज’चाहिँ नगरकोटीको आत्मकथाका गाढा अंशहरूको ‘मोन्टाज’ हो । सायद सपाट आत्मचरितभन्दा आख्यानात्मक संस्मरणसँग नगरकोटीको प्रीति झाँगिदो छ । ‘अक्षरगन्ज’को सिक्वेल जन्मिएमा आत्मकथा लेख्ने झन्झट व्यहोर्नु पर्दैन उनले ।
बेला–कुबेला प्रश्न उठेकै छ, नगरकोटीजस्ता प्रतिभा कसरी जन्मन्छन् ? उत्तम अवसरहरूको जोडफल नै प्रतिभा हो भन्ने ज्वलन्त साक्ष्य हो, कुमार नगरकोटी । उनी पितास्मरण गर्दै लेख्छन्, ‘प्रिय पिता ! तिमीले आफ्नो जीवनकालमा उति साह्रो पैसा जोगाएनौ किनभने तिम्रो जम्मै पैसा मैले किताब किनेर उडाइदिएँ । पुस्तकहरूको दुव्र्यसनमा तिमीले नै फसाएका हौ मलाई । मेरो अधिकांश जन्मदिनमा तिमीले पुस्तकहरू उपहार दियौ । साथमा नयाँ कापी र कलम ।’ उनको लेखनबाट सिनेमा, पुस्तक, साहित्यकार, सङ्गीत, कला, दर्शन झिकिदिएमा अनेक भ्वाङ पर्नेछन् र त्यहीँ कतैबाट एउटा अजिबोगरिब लेखकको विलय हुनेछ ।
सामाजिक भागदौड र लफडाबाजीमा सामेल छैनन् नगरकोटी । उनीसँग अतिरिक्त मोह र उपयुक्त निराशा दुवै छैनन् । उनले अङ्ग्रेजीका दुई शब्दलाई मौलिक जीवन–दर्शन बनाएका छन्,‘ हुँ केयर्स !’ टेकेको धरती गुम्ने भय र भ¥याङ चढ्ने आकांक्षा नभएकाले उनको दैनिकी फकिरको जस्तो मस्त छ, लेखन झन् महामस्त छ । उनी खुलेर÷खुलाएर लेख्छन् । साथमा बोक्छन् रङ्गीबिरङ्गी कलमहरू । तर, उनी कहिल्यै चलाउँदैनन्, नैतिकताको इरेजर र आदर्शको टिपेक्स । इरेजर र टिपेक्सले नछोएका भर्जिन शब्दशिल्पमा उभिएको छ, ‘अक्षरगन्ज’ ।
 हाम्रो समाजमा विभेदपूर्ण कहानी छन् प्रशस्तै । पहुँचको घाम नपुगेका अँध्यारा र चिसा कथाका अनगिन्ती व्यथा छन् । सडक–सदन, गाउँ–शहरजस्ता द्विचर अङ्गालेर समाज पल्टेको छ ढसमस्स । अभावका कथा फल्ने जमिनतिर नगरकोटीको कलमले डेग सार्दैन । कुनै भावको तागतमा आफ्नो लेखकीय घडेरीको मानसिक नापनक्सा कोर्छन् उनी । र, त्यसैमा पिलर उभ्याउँछन् यथार्थ र फिक्सनको । आफैँले ठड्याएको भवनमा उनी बस्नभन्दा भरपूर खेल्न मन पराउँछन् । नगरकोटी–लेखनको रमणीय पाटो हो,शब्दखेल । शाब्दिक लीलाको बुनोटमा डुब्दा आफ्नो लेखनीबाट अभावका सङ्कथन छुटेको थाहै पाउँदैनन् उनी । कविताको खोलमा घोषणापत्रका बहुरङ्गी संस्करण छाप्ने लेखकबाट जति टाढा छ कला, उति नै टाढा छ नगरकोटीको कलमसँग सामाजिक न्याय । तर, उनको चुम्बकीयता यति बलियो छ, पाठकलाई मोहनी लगाइहाल्छ, चमत्कृत पारिहाल्छ । लेखकको अस्तित्व र पहिचान अड्किएको हुन्छ उसको लेखनशैलीमा । लेखनमा मौलिक स्वाद दिन नसक्ने लेखक भीडमा सामेल भई बगिजान्छ र कुनै धारामा गएर टुङ्गिन्छ । नगरकोटीको कलमबाट बाहिरिने शब्द, वाक्यविन्यास, आदि–अन्त्य, विम्ब अन्य कुनै नेपाली लेखकसँग मिल्दाजुल्दा छैनन् । एक अनुच्छेद पढे पनि उनको लेखन प्रस्ट चिनिन्छ, जो उनले बनाएको विशिष्ट नगरकोटी ब्रान्ड हो । कवि आहुति भन्छन्, ‘विशिष्ट हनु भनेको सधैँभरि एक तमासको एकै ढपको हुनु होइन । विशिष्टताको अर्थ हो– आफ्नो विशिष्ट शैलीद्वारा नयाँ–नयाँ विषयमा प्रस्तुति गर्दै जानु ।’ नगरकोटीजस्ता ब्रान्डेड लेखकको लागि काइदाको टिप्स हुनसक्छ यो । आख्यान, नाटक, कविताको मिश्रित रङ छ, ‘अक्षरगन्ज’मा । ‘अक्षरगन्ज’का हरेक लेखमा नगरकोटी कहीँ न कहीँ छन् । चाल्र्स डिकेन्स भन्छन्, ‘साहित्यलाई मैले पेशाको रूपमा अपनाएपछि यस्तो सिद्धान्त बनाएँ, मेरो लागि साहित्य आफैँद्वारा आफ्नो निम्ति रहनेछ ।’ डिकेन्सीय आत्मपरक सिद्धान्त शतप्रतिशत फिट हुनसक्छ नगरकोटीमा ।
कुमार नगरकोटीको लेखनयात्राको आत्मीय सहयात्री हो, स्वरैकल्पना । स्वरैकल्पनालाई मानसिक तरङ्गको अतिशयता मानिन्छ । असम्भव लाग्ने कुरालाई सम्भावनाको आकाश देखाउँछ स्वरैकल्पनाले । पूर्वआधुनिक साहित्यमा स्वरैकल्पनालाई मनोरञ्जन या पलायनको रूपमा मात्र प्रयोग गरिन्थ्यो भने पछिल्लो समयमा सत्यसम्म पुग्ने जादुमयी हवाइमार्ग मानिन्छ । यथार्थ परिवेशको सोझो वर्णनमा कुनै रुचि छैन नगरकोटीको । उनी लेखनमा ‘एडभेन्चर’ स्वाद चाहन्छन् सायद । स्वरैकल्पनाको विशाल गुफाभित्र छिरेर आफ्नो अभिव्यक्तिलाई उच्च स्वर दिनुमा मजा छ उनलाई । उनी व्यावहारिक दृश्यका कथित मानकलाई भञ्जन गरी वैकल्पिक मानकहरूको सिर्जना गर्छन्, जो अयथार्थ प्रतीत हुन्छ । यही अयथार्थका अनेक द्वारबाट बाह्य यथार्थमा अतिक्रमण गर्छन् नगरकोटी । स्वरैकल्पनाको उत्कृष्ट नमुनाको रूपमा ठडिएको छ, ‘अक्षरगन्ज’ । आख्यानमा मात्र नभई क्याजुअल लेखमा पनि स्वरैकल्पनाको हात छोड्न सकेका छैनन् नगरकोटीले । उनको लेखनको लत बनिसकेको छ स्वरैकल्पना । विश्व साहित्यमा अनेक खालका स्वरैकल्पना प्रयोगमा छन् । आगामी लेखमा हेर्नु छ, नगरकोटीले स्वरैकाल्पनिक स्वादलाई कसरी पस्कन्छन् ?

अभिव्यक्तिको एउटा प्रतीकात्मक माध्यम हो, रङ्ग । कुमार नगरकोटी रङ्गहरूसँग खेल्न मन पराउँछन् । उनी व्यक्ति, प्रकृति, घटनाको बहावलाई रङ्गहरूको गतिशील ऊहापोहका रूपमा हेर्छन् । उनी आफ्ना अधिकांश पुस्तकको ज्याकेटदेखि विम्बसंयोजनमा समेत कालो रङ्गसँग खेल्छन् । कालो रङ्गलाई कतिपय प्रसङ्गमा अशुभ मानिन्छ । तर, नगरकोटी समस्त सामाजिक अशुभपन आफूमा आरोपित गर्दै ‘इन्जोय’ गर्छन् । अँध्यारो र वितरागी रङ्गलाई ‘अक्षरगन्ज’मा पनि निकै महŒव दिएका छन् उनले । कथित नैतिकताप्रतिको विरोध पनि हुन सक्छ कालो रङ्ग । उनी आदर्शको नक्कली खोल च्यातेर नाङ्गो धरातल अनावृति गर्न चाहन्छन् सायद ।
ईश्वरलाई आफ्नो व्यक्तिगत च्याम्बरमा प्रवेश रोक लगाएका छन् उनले । मृत लेखकलाई डिस्कोर्समा ल्याएर पुरस्कारलाई दाग भनाउँछन् । असलमा बेदाग किताब पढ्न मन पर्छ उनलाई । व्यङ्ग्यमिश्रित हास्यचेत र गाम्भीर्यलाई समानान्तर कुदाउनु लेखकको लागि चुनौती र कौशल दुवै हो । नगरकोटीको कुशलता यसैमा देखिन्छ, बडो गज्जबको हास्यको क्यानभासमा गाम्भीर्यको गाढा रङ पोत्छन् खुसुक्क । पेगमा वर्गीकृत उनका लेख कुनै त एक वाक्यका पनि छन् ,तर तिनको ह्याङओभर लामो समय टाँस्सिरहन्छ ।
नोस्टाल्जियाको लिपिबद्ध रूप हो, ‘अक्षरगन्ज’ । हामीले पढेका धेरै संस्मरणकार शास्त्रीय नायकजस्ता लाग्छन् । तर, नगरकोटी आफ्ना कर्महरूलाई असल–खराबको तराजुमा नजोखी काव्यिक उत्खननमा लाग्छन् । मदिरा–किस्सा, यौन–संस्करण, बदमासी–शृङखला र प्रेमलीला खुलस्त राख्छन् उनी । कन्फेसनल लेखनमा नगरकोटीलाई उछिन्ने साहसी लेखक फेरि पनि नगरकोटी नै हुन् ।
नगरकोटीले प्रयोग गर्ने  सुन्दर विम्ब हो, मृत्यु । घरको याद आउँदा घाटतिर लाग्ने उनी मृत्युलाई महान् चमत्कारका रूपमा लिन्छन् । उनी जीवनका केही प्रसङ्गलाई मनमनै केरमेट गर्न रुचाउँछन् कहिलेकाहीँ । मृत्यु–प्रशंसा, मृत्यु–आलोचना, मृत्युचिन्तन शृङ्खला झन्झन् रङ्गिन बनाउँछन् उनी । जीवन मैदानको भागदौड र लुछाचुँडीप्रतिको शक्तिशाली व्यङ्ग्य हो, घाट÷चिहान । सायद मृत्युले छोटो छुट्टी दिएको छ हामीलाई । र, त यति धेरै हतारमा हुन्छौँ हामी । रित्तो आई रित्तै फर्किने जिन्दगीको क्रूर यथार्थलाई मस्तिष्कको भित्तामा बारबार लेख्नको लागि पनि घाटतिर टहलिनु श्रेयस्कर हुँदो हो । नगरकोटी घाटमा गई बेलाबेला टोल्सटायलाई प्रतिप्रश्न गर्छन्, ‘मानिसलाई कति जमिन चाहिन्छ ?’ घर फर्कदा उनी बुद्ध–अवतार लिन्छन्, मुक्त हुन्छन् । तिनै मुक्त व्यक्तिले आर्जेको नौलो वस्ती हो, ‘अक्षरगन्ज’ ।
बालसखा, अग्रज, अभिभावक र गुरुहरूका सपनालाई तहसनहस पारेका छन् नगरकोटीले । सपनाहरू रहेछन्; नगरकोटी खेलाडी बन्नेछ, गायक बन्नेछ, फिल्मकर्मी बन्नेछ, प्रहरी अधिकृत बन्नेछ आदि । अझै पनि उनका केही साथी भन्दै छन्, ‘फिल्म निर्देशन गर्नुपर्छ नगरकोटीले ।’ तर, धेरै पाठकलाई नगरकोटीको शब्दशिल्पबाट चमत्कृत हुनुमै आनन्द छ । यदि कोही कसै चमत्कृत नभए त्यो पाठकले बुझे हुन्छ, नयाँ चमत्कार गर्ने खतरा छ आफैँले ।

 

 

Leave A Comment