रोचक पात्र, रोचक दृश्य

आइतबार, २३ माघ २०७३, ०१ : १६ शुक्रवार
रोचक पात्र, रोचक दृश्य

पोखरामा शुक्रवारबाट जारी नेपाल साहित्य महोत्सव सोमवार सकिएको छ। पोखराको पार्दीस्थित पर्यटन बोर्डको हलमा चार दिनसम्म जारी महोत्सवमा विभिन्न ४० सत्रमा साहित्य, समाज, संगीत, अर्थ र राजनीतिसम्बन्धी विषयमा छलफल भए। बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको नेपाल साहित्य महोत्सव समग्रमा छैटौँ संस्करण हो। सन् २०११ बाट सुरु भएको महोत्सव अघिल्लो सालबाट भने पोखरामा आयोजना हुन थालेको हो। फेवाताललाई पृष्ठभूमिमा पारेर आयोजना भएका महोत्सवमा नियमित छलफलसँगै थुप्रै रोचक कुरा भए। सो महोत्सवलाई चारै दिन नियालेका हाम्रा सहकर्मी सामीप्यराज तिमल्सेनाले महोत्सवका रोचकतालाई यहाँ उल्लेख गरेका छन्।

छाता ओढाएर सत्र सञ्चालन

नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ?

पोखरा।

सामान्य ज्ञानमा पढिने यो ज्ञान साहित्य महोत्सवको पहिलो दिनै सार्थक भयो। अघिल्लो दिनसम्म टन्टलापुर घाम लागेर पानी पर्ने कुनै छेकछन्द थिएन, तर उद्घाटनको दिन बिहानैदेखि सिमसिम पानी पर्‍यो। आयोजकहरू बिहानै पानी परेको देखेर खुशी थिए। उनीहरूको अनुमान थियो, बिहानै पानी पर्‍यो, दिउँसो घाम लाग्छ। तर, इन्द्रदेव दिनभर नै अप्रसन्न रहे। पोखराको पार्दीस्थित पर्यटन बोर्डको हलमा फेवाताल देखिने गरी मञ्च बनाइएको थियो। दर्शकका लागि समेना थियो तर वक्ता तथा प्रस्तोताले खुला आकाशमुनि बसेर आफ्नो कुरा राख्ने व्यवस्था थियो। एक सत्र चाहिँ पर्यटन बोर्डको हलमै सञ्चालन हुन्थ्यो। तर, शुक्रवार दिनभर पानी परेपछि आयोजकले चौरका कार्यक्रम रोकेनन्। वक्ता र प्रस्तोतालाई छाता ओढाएरै भए पनि कार्यक्रम सञ्चालन गरे। दर्शकलाई पनि टाउको माथिको समेनाले खासै पानी थेग्न सकेको त थिएन तर उनीहरू पानीको थोपा छल्दै–छल्दै जाडोले काम्दै पनि पूरा अवधिभर बसे। दर्शकको यो धैर्य देखेपछि साँच्चिकै लाग्थ्यो– पोखरालाई त्यसै कलाकारको शहर भनिएको रहेनछ।

माथेमालाई श्रीमती सम्झाउने पानी

पानीसँगै जोडिएको शिक्षाविद् केदारभक्त माथेमाको किस्सा पनि रोचक रह्यो।  यो पटकको साहित्य महोत्सवमा माथेमा 'किनोट स्पिकर'का रूपमा निम्त्याइएका थिए।  माथेमाले शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेपका सम्बन्धमा निकै सारगर्भित मन्तव्य पनि दिए। तर, 'किनोट स्पिच' दिनुअघि उनले गरेको छोटो टिप्पणीले केही बेर दर्शकलाई काउकुती लगायो। मुख्य मन्तव्य सुरु गर्नुअघि माथेमाले भने, 'यो पानीमा मलाई त श्रीमतीको याद आइरहेछ।'

माथेमाको संवादलाई सारा हलले द्विअर्थी रूपमा ग्रहण गर्‍यो। हलमा हाँसोको फोहरा छुट्यो। त्यो देखेपछि माथेमाले स्पष्टीकरण दिए, 'अरू कारणले सम्भि्कएको हैन।' त्यसपछि उनले श्रीमतीले सधैँ धेरै लुगा लगाउन बल गर्ने गरेको र आफू कम लुगा लगाउने गरेको बताउँदै सोही कारण जीवनसंगिनी सम्भि्कएको भन्दै रोचक 'स्टेटमेन्ट'को बिट मारे। 'बुढीले भनेर नै कोट लगाएर आएको थिएँ, काम लाग्यो,' माथेमाले भने।

सम्पादकको भीड

साहित्य महोत्सवमा थुप्रै स्वनामधन्य साहित्यकारको उपस्थिति थियो। महोत्सवमा नयाँ–पुराना  साहित्यिक पुस्ता उपस्थित थिए। तर, महोत्सवमा देशका लगभग सबै ठूला पत्रिकाका सम्पादक तथा पूर्वसम्पादक पनि प्रस्तोताका रूपमा उपस्थित थिए। यसरी आएका सम्पादकले साहित्य, राजनीति, अर्थ, संगीत सबै विषयमा आफ्नोे विज्ञता प्रकट गरे। हर एक सेसनमा कुनै न कुनै सम्पादकको उपस्थिति देखेपछि एक जना दर्शकलाई भने अचम्म लागेछ। उनले मुख फोरेरै भने , 'हन, आयोजकले यी सबै सम्पादकलाई विज्ञ भनेर  नै बोलाएका हुन् कि समाचार राम्रोसँग छापिन्छ भन्ने लोभले हो?'

चिन्तित पाठक

दर्शककै कुरा गर्दा साहित्य महोत्सवमा नेपालको साहित्यप्रति चिन्तित थुप्रै दर्शक महोत्सवमा आएका थिए। तर, तीमध्ये एकजना भने नेपाली साहित्यको अवस्थामा विशेष चिन्तित देखिए। हरेक सत्रको छलफलपछि ती दर्शक सबैभन्दा पहिले प्रश्न सोध्नका लागि हात उठाउँथे। र, माइक पाएपछि सोध्थे, 'नेपाली साहित्यको वर्तमान समयको समस्या के हो? र, यसको समाधान कसरी हुन सक्छ?'

खगेन्द्र संग्रौला, नारायण ढकाल, नयनराज पाण्डे, कुमार नगरकोटी कसैले पनि ती पाठकको चित्त बुझाउन सकेनन्। सबैले नसकेरै हात उठाए। तर, ती बिचरा पाठक! नेपाली साहित्यको बारेमा यति चिन्तित थिए कि हुँदाहुँदा उनले भारतीय लेखक उदयप्रकाशसँग पनि सोही जिज्ञासा राखे, 'नेपाली साहित्य की चुनौती क्या है और आप के विचार मंे इसका समाधान कैसे होगा?' अन्त्यमा उदयप्रकाशले पनि हात उठाए।

छोटो समय

महोत्सवमा ४० सत्रमा छलफल राखिएको थियो र हरेक सत्रका लागि एक घण्टा समय छुट्याइएको हुन्थ्यो। तर, न त प्रस्तोताले वक्तासँग धीत मर्ने गरी गफ गर्न पाउँथे, न त दर्शक नै चाहेको जसरी प्रश्न सोध्न पाउँथे। लेखक र पाठकबीच अन्तरसंवाद गर्न भनेर भएको महोत्सवमा पाठकले लेखकसँग संवाद गर्नै नपाएको अवस्था देखिन्थ्यो। पाठकहरू प्रश्न सोध्न आतुर देखिन्थे तर आयोजकले प्रस्तोतालाई तीन जनाभन्दा बढी दर्शकसँग प्रश्न सोध्न नपाउने निर्देशन दिएका थिए। त्यसैले प्रश्न सोध्न चाहने दर्शक निराश बनेका थिए। सत्र चलाउने लेखक पनि सोही गुनासो गरिरहेका भेटिन्थे। 'यति धेरै तयारी गर्‍यो। अन्त्यमा राम्रोसँग प्रश्न सोध्न नपाई आयोजकले टाइम अपको साइन देखाउन थाल्छन्। मजै आउन्न,' एक प्रस्तोताले दिक्क मान्दै भने। 'बरु कम विषय राखेर अलि धेरै समय दिए हुने,' उनको सुझाव थियो।

बुद्धिसागरको गफ

'बुढीले कम बोल्नू, जेन्टलम्यान हुनू भनेकी छ। यो पालि खासै बोलिन्न,' साहित्यकार बुद्धिसागरले काठमाडौँबाट पोखरा लाग्नुअघि सबै साहित्यकारलाई एकमुष्ट जानकारी गराएका थिए। तर, आफ्नै घोषणामा बुद्धि पूरा साहित्य महोत्सवभर कायम रहेनन्। निरन्तर बोलिरहे। तर, कुनै स्ट्यान्डअप कमेडियनभन्दा कम नलाग्ने बुद्धिका गफमा यति सम्मोहन हुन्थ्यो कि बुद्धि जता गयो साहित्यकारको भीड उतै हुन्थ्यो। उनी साहित्य, संगीत, पुस्तक, फिल्म जे विषयमा पनि धारा प्रवाह बोल्न सक्थे। तर, पछिल्लो समय उनको पुस्तक 'फिरफिरे' र ट्वीटरमा हुने आक्रमणले उनलाई आजित बनाएको रहेछ।  कहीँ न कहीँ ल्याएर जोडिहाल्थे। 'ट्वीट गर्न हुन्थ्यो नि...गाली बर्साउन थालिहाल्छन्,' हरेक महŒवपूर्ण कुरा बोलेको आभासपछि उनी भन्थे। उनले पोखरामा झरेपछि सबै साहित्यकारसँग सेल्फी हानेको फोटो ट्वीट गरेपछि यसको पनि प्रमाण भेटियो। फोटोमा एउटा ट्वीटेको कमेन्ट थियो, '... नौटंकीहरू नौटंकी गर्न पोखरा पुगेछन्।' यसपछि त मान्न करै लाग्थ्यो, ट्वीटेहरूले बुद्धिलाई आतंकित नै बनाएका रैछन्।

मर्निङ वाकदेखि इभिनिङ ट्वाकसम्म

महोत्सवमा थुप्रै विषयमा बहस र चिन्तन भए। साहित्यका बाटा, पाटा हरेक कुरामा साहित्यकारले आफ्ना धारणा राखे। तर, देवेन्द्र भट्टराईले चलाएको 'अलिखित' शीर्षकको सत्रमा धु्रवचन्द्र गौतम र खगेन्द्र संग्रौलासँगको कुराकानी रोचक रह्यो। भट्टराईले चाबहिलमा बस्ने दुवैलाई 'मर्निङ वाकदेखि इभिनिङको ट्वाकसम्म' सँगै रहनुहुन्छ रे नि भन्दै प्रश्न सुरु गरेका थिए। गौतमले वाकमा त आफूलाई कम रुचि भएको तर ट्वाकमा भने सहभागी हुँदै आएको भन्दै सत्रलाई सुरुदेखि नै रोचक बनाएका थिए। तर, लामो समयसम्म संवाद ट्वाकको वरिपरि घुमेको देखेपछि गौतमलाई चिन्ता लागेछ क्यार। अन्त्यमा दर्शकलाई फुर्क्याउँदै भने, 'आजभोलि पाठक एकदमै ज्ञानी हुनुभएको छ। हाम्रा कुरालाई गम्भीर रूपमा लिनुहुन्न भन्ने अपेक्षा छ।' एकजना दर्शकले हाँस्दै भने, 'लिने कुरामात्र गम्भीर भएर लिन्छौँ, लिन नहुने लिन्नौँ।' गौतम ढुक्क देखिए।

Leave A Comment