नेपाली चलचित्रका आशालाग्दा निर्देशकहरूको नाम लिँदा निश्चल बस्नेतलाई सायदै कसैले छुटाउन सक्छ। पहिलो चलचित्र 'लुट'बाटै उनी स्थापित भए। व्यावसायिक र सिर्जनात्मक दुवै दृष्टिले कमजोर बनेको नेपाली चलचित्रलाई उनकै 'लुट'ले नयाँ जीवन दियो। मानिसहरूमा आशाको सञ्चार गर्यो। कतिपय चलचित्रकर्मीका लागि त निर्देशक बस्नेत मार्गदर्शक नै भए।
निर्देशक बस्नेत र 'लुट' चलचित्रलाई स्थापित गर्ने मूल विशेषता थियो– प्रयोगशीलता। जस्तो शैलीमा नेपाली चलचित्र बन्दै आएका थिए, 'लुट'ले त्यही शैलीमाथि अविश्वास गर्यो र नयाँ रैथाने शैलीको खोजी गर्यो। यो जोखिमपूर्ण काम थियो र निर्देशक बस्नेतले जोखिमपूर्ण चुनौतीलाई स्वीकार गरे।
दोस्रो चलचित्र 'टलकजंग भर्सेस टुल्के' बनाउँदा निर्देशक बस्नेत लोकप्रियताको शिखरमा थिए। उनीसँग दर्शकको अपेक्षा ठूलो थियो। यस्तो बेलामा नयाँ कृति सिर्जना गर्नु जो कसैका लागि पनि चुनौती हुन्छ जसको सामना गर्नु हरेक स्रष्टाका लागि कठिन तर अनिवार्य काम थियो। बस्नेतले दोस्रो चलचित्रमा त्यो चुनौती पनि स्वीकार गरे।
तर 'टलकजंग भर्सेस टुल्के'ले निर्देशक बस्नेतलाई नयाँ उचाइमा लैजान सकेन। विषयमा नयाँपन थियो तर विषयप्रतिको गहिरो अनुसन्धान थिएन। लुसुनको चिनियाँ कथालाई नेपाली सन्दर्भमा प्रयोग गर्न खोज्दा विषयप्रतिको जुन गम्भीरता देखाउन सक्नुपर्थ्यो, निर्देशकले त्यो सकेनन्। नेपाली समाज र यहाँको इतिहासमाथि मजाक भयो। यसबाट बस्नेतमाथि नयाँ चुनौती थपियो, गरेर देखाउने चुनौती।
तर यहाँनिर निश्चल बस्नेत डराए। चुनौती स्वीकार गर्ने आँट उनमा भएन। प्रयोगशीलता, जो उनको सबैभन्दा ठूलो शक्ति थियो, तेस्रो चलचित्र 'लुट २' बनाउँदा उनले त्यसैलाई छोडिदिए। दोस्रो चलचित्र 'टलकजंग भर्सेस टुल्के' प्रयोगका कारण कमजोर भएको थिएन, प्रयोगले चलचित्रलाई कमजोर बनाउँदैन पनि। कमजोरी थियो भने विषयवस्तुलाई राम्ररी आत्मसात् नगरीकनै, यथार्थको आधिकारिक अध्ययन र मनन नगरीकनै चलचित्र निर्माण गर्न हतारो गर्नु चाहिँ कमजोरी थियो। तर, कमजोरी सुधार्ने धैर्य उनमा भएन। पुरानै चेतना र अनुभवको ब्याज खाने लोभका कारण तेस्रो चलचित्रका रूपमा उनले बनाए 'लुट'को सिक्वेल, 'लुट २'।
चलचित्र क्षेत्रमा यस्तो हुन्छ। कुनै चलचित्रले धेरै पैसा कमायो भने त्यसको नक्कल गर्नेहरू बढछन्। 'नाइँ नभन्नू ल' त चार चोटिसम्म बन्यो। अब लुट बनेको छ दोस्रो चोटि। कसैकसैले तर्क गर्न सक्छन्, यो पनि अर्को प्रयोग नै हो, यो 'टि्रनिटी'को अभ्यास हो। प्राचीन ग्रिसेली दुःखान्त नाटकहरूमा पनि यस्तो अभ्यास थियो, सत्यजित रायले पनि टि्रनिटीको अभ्यास गरेका थिए। यो सिर्जनात्मकता नै हो भन्ने कुरा पनि आउला। तर, निश्चल बस्नेतको 'लुट २' टि्रनिटीको होइन, कमाइको अभ्यास हो। यो कुरा त्यसको आइटम गीतले देखाइसकेको छ।
पहिलो चलचित्र 'लुट'मै पनि 'उध्रेको चोली' बोलको आइटम गीत जबर्जस्ती थपिएको अंश थियो। निर्देशकलाई व्यावसायिक त्रास थियो। दर्शक बटुल्न सकिन्छ कि भन्ने आशाले त्यो गीत राखियो। एकातिर नयाँ शैलीको प्रयोग गर्दा अर्कातिर 'ब्याकअप'का रूपमा त्यो थियो।
यतिका वर्षसम्म 'लुट' चलचित्रका बारेमा निकै छलफल र समीक्षा भइसकेका छन्। आइटम गीतले चलचित्रको स्वाभाविक संरचनालाई बिगारेको छ भन्नेमा करिब सहमति छ। यस्तो अवस्थामा 'लुट २' बनाएर फेरि त्यस्तै भावको अर्को आइटम गीत राख्ने रुचि जो निर्देशकले देखाएका छन्, त्यसले सामाजिक उत्तरदायित्वबाट भाग्ने उनको निरीहतालाई दर्शाएको छ।
व्यावसायिक चलचित्रहरू मनोरञ्जनका लागि हुन्, आइटम गीतहरूले मनोरञ्जन दिन्छन्, यसले समाजलाई कुनै प्रकारको असर गर्दैन भनेर तर्क गर्नेहरू पनि छन्। व्यावसायिक लाभ–हानिको सम्बन्धसँग गाँसिएकाले सायद निर्देशक बस्नेत पनि अहिले यही कित्तामा होलान्।
दर्शकलाई प्रभावित गर्ने सामर्थ्य कला चलचित्रसँग मात्रै हुन्छ भन्ने होइन। माध्यम उही भएकाले व्यावसायिक भनिने चलचित्रसँग पनि त्यो सामर्थ्य हुन्छ, बरु अझै बढी हुन्छ। किनभने, यस्ता चलचित्रहरूले मस्तिकष्कलाई भन्दा बढी असर हृदयलाई पार्छन् र धेरैभन्दा धेरै दर्शकसम्म यिनीहरूको पहुँच हुन्छ। पहुँचको व्यापकता र सुरुचिपूर्ण बोध्यताका कारण आम दर्शकलाई प्रभावित गर्ने सामर्थ्य पनि यिनीहरूसँगै ज्यादा हुन्छ।
'लुट २' सार्वजनिक प्रदर्शनमा आइसकेको छैन। त्यसैले चलचित्रका बारेमा बोल्न सकिन्न तर आइटम गीत आइसकेको छ : 'लैजाऊ घुमाउन मलाई ठमेल बजार।' दृश्यमा एलिसा राईलाई आइटम गर्लका रूपमा उपभोगको वस्तु बनाइएको छ। 'ल्याइदिउँला मिनरलको पानी हजुर, लौ रानी हजुर' भनेका समयमा अगाडिपट्टि पेटीमा ठाडो पारेर सिउरिएको (पुरुष जननेन्द्रियको आभास दिलाउने) पानीको बोतल र 'लाइदिउँला चोखो पियार' भन्दै अघिपछि गरेर नाच्ने जुन शैली छ, सिर्जना नै हो भनी उदारतापूर्वक भन्न जो–कसैलाई पनि कठिन छ।
एलिसाको अर्धनग्न शरीरलाई उचालेर हातहातमा खेलाइएको छ, स्टेजमा गुडाइएको छ, खेलौनाका रूपमा प्रयोग गरिएको छ। अर्धनग्न छातीमाथि अंगुरको झुप्पो गुडाइएको छ र रस निचोरेर मुखमा चुहाइएको छ। एलिसाको नांगो शरीर त देखाइएको छैन तर नाच्दा लुगा फालेको र फालिएको लुगालाई अर्काले सुँघेर लट्ठ भएको देखाइएको छ।
'संस्कृति उद्योग र ज्ञानोदयको भ्रम' भन्ने आलेखमा एडर्नो र हार्खाइमरले लेखेका छन्, 'सम्भोग क्रियालाई पर्दामा देखाउन मिल्दैन। त्यही भएर बाँकी सबै इसारा र व्यञ्जनाहरू त्यतैतिर लक्षित गरिन्छन्।' हार्खाइमरहरूले यो गीतै नहेरी लेखेको कुरा यही गीतका लागि लेखेको जस्तो लाग्छ।
यो गीत त्यस्तो गीत हो जसमा नाच्नका लागि एलिसा राईले काम गरौँ कि नगरौँ भनेर सात दिनसम्म सोच्नुपरेको थियो र निर्देशक बस्नेतले अडिसनका बेलामा राईसँग भन्नुपरेको थियो, 'भोलि खिचिसकेपछि यो काट, ऊ काट भन्न पाउँदैनौ नि। परिवारलाई मनाऊ पहिले।'
एक दशकअघि परम्परासँग विद्रोह गरेर नयाँ विषय र शैलीको खोजी गर्न कस्सिएको प्रतिभाशाली निर्देशकको सौन्दर्य चेतना आज आइपुग्दा अर्धनग्न युवतीको शरीरमा रमाउने भयो। निर्देशक बस्नेतको सौन्दर्य चेतना आफू त विकृति उन्मुख छ नै, नाम र दामको लोभमा पारेर समाजलाई पनि विकृत तुल्याउँदै छ। अबका दिनमा एलिसालाई सायद सात दिन सोच्नुपर्ने झन्झट हुने छैन। उनले पनि रेडिमेड उत्तर देलिन्, 'चलचित्र मनोरञ्जनको साधन हो।'
Leave A Comment