गुण्डाको छुरी र एसएलसी

आइतबार, १२ असार २०७३, १२ : ०५ शुक्रवार , Kathmandu
गुण्डाको छुरी र एसएलसी

दशौँ कक्षाका विद्यार्थीमध्ये म राम्रै स्थानमा थिएँ । मेरो कलाप्रतिको अभिरुचि, अरू सबैभन्दा सुन्दर हस्ताक्षर र सघन वाक्य विन्यासका कारण म चर्चित थिएँ तर म कक्षाको पहिलो या दोस्रो भने थिइनँ । त्यतिबेला मेरो गाउँ पञ्चायतमा जम्मा तीन जना एसएलसी पास थिए । कृष्णबहादुर बस्नेत, उनका साला खेमराज थापा र अर्को एकजना भक्तबहादुर थापा । भक्तबहादुरको भाइ गणेश मेरो प्राथमिक तहको सहपाठी थियो ।
हाम्रो समयमा एसएलसी कौतुहलको विषय मात्र थिएन, हामीजस्ता सामान्य किसान परिवारका केटाहरूका लागि भाग्यको खेल पनि मान्ने गरिन्थ्यो । एकप्रकारले हामी राज्यका रैती थियौँ । चिट चोरेरै किन नहोस्, शिक्षण पद्धतिको वर्णमालासम्म पनि नपढेका एसएलसी, आईए, बीए गरेकाहरूले हामीलाई पढाउँथे । उत्तम विकल्प भन्नु तिनकै अनुकरण गर्नु थियो । आफैँ अंग्रेजी नबुझेकाहरूले खर्र अनुवाद गरेर पढाउँथे । विज्ञान र गणित पढाउने शिक्षक थिएनन् । हामीले म्याथम्याटिक्स पढ्न खोज्यौँ, सम्भव भएन । त्यसको विकल्प थियो ऐन श्रेस्ता । भूगोल र अंग्रेजी पढे पनि विज्ञान पढ्ने हाम्रो धोको धोकोमै सीमित रह्यो । हाम्रा विद्यालयले शिक्षक जुटाउन पहल नगरेका होइनन् । विषय शिक्षक खोज्न हेडमास्टर महिनौँ दिनसम्म भारतका गाउँगाउँ डुल्थे तर खाली हात फर्कन्थे । पहिलो वर्ष कृष्णबहादुर एक्लै पास भयो । हामी फेल भयौँ । दोस्रो वर्ष जिल्लाभरिबाट पास हुने जम्मा छ जनामा आफू परेपछि मेरा खुट्टा भुइँमै थिएनन् । परिणाम निस्केको तीन दिनसम्म जस्ताको टहरोमा जेनरेटरको मद्दतले चलाइएको आकाशवाणी सेवाको दैलो कुरेपछि पास हुनेमा जब मेरो नम्बर पनि आयो, म तत्काल उफ्रेर बजारको वल्लो छेउदेखि पल्लो छेउसम्म कतिपल्ट घुमेँ, मैले भेउ पाइनँ । अदालत भवनको अगाडिको पीपल चौतारीमा मुस्कुराएर म बसिरहेको बेला मेरा ठुल्दाइ आएर कतिबेला पूरै जीउ ढाकिने गरी अबिर लगाए भन्ने पनि मैले हेक्का राख्न सकिनँ । खुशीले मेरो जीउ हलुंगो भएको थियो, बधाइले म लादिएको थिएँ । त्यत्तिकैमा ठुल्दाइले अबिर लगाएको मलाई काँधमा बोकेर बजार परिक्रमा गरिरहेका थिए । म लज्जा, संकोच र उडन्ते कल्पनाले निथु्रक्कै भिजेको थिएँ । यो खुशी आफ्ना मातापिता र भाइहरूसँग बाँड्न मलाई थप तीन दिन लाग्यो । उनीहरू सदरमुकामभन्दा झण्डै पाँच कोसपूर्वको गाउँमा थिए । अदालतमा तारिखमा आएर फर्केको एकजनासँग घरमा खबर त पठाएको थिएँ, उसले भनिदियो कि भनिदिएन भन्ने कुराले ती तीन दिन बडो छटपटीमा बितेका थिए । फलामे ढोका पार गरेको त्यो क्षण मैले संसारै जितेँ भनेजस्तो अनुभव हुने क्षण थियो ।
हाम्रो कक्षामा एकजना पनि विद्यार्थी केटी थिएनन् । तल्लो कक्षामा भने करिब आधा दर्जन केटी थिए । जब कुर्ता सुरुवाल लगाएर शिरमा गोदावरी वा जाईको फूल स्युरेर हातमा दर्जनौँ पुस्तक समातेका ती केटीहरू स्लेट छापिएको बजारको बीच बाटोमा लश्करै हिँड्थे, पुरुष र महिलाहरू आफ्ना घरका झ्यालबाट हेर्थे । त्यो हेराइमा ईष्र्या हुन्थ्यो । लाग्थ्यो, ती केटीहरू भाग्यमानी हुन् । दुर्भाग्यवश त्यतिबेलाका ती एकजना पनि एसएलसी परीक्षामा सहभागी भएनन् । एक दुईजना अनमी भए र धेरै जना बिहेको वर्षदिन नकट्दै आमा भए । पुरुष र महिलाको सहशिक्षा कति आल्हादकारी, स्वप्निल र आनन्ददायी हुँदो रहेछ भन्ने कुरा मैले कलेज पढ्दा मात्र अनुभव गर्न पाएँ । त्यसको चर्चा उत्तर एसएलसीमा गरुँला ।
कक्षामा दुई शिवराज थिए । मेरो भतिजा शिवराज अधिकारी (जो अहिले विराटनगर पुनरावेदन अदालतका न्यायाधीश हो) र दैलेख सदरमुकामका शिवराज श्रेष्ठ (जो भलिबलको उत्कृष्ट खेलाडी थियो, पछि जुम्लामै बस्यो र केही वर्षअघि बित्यो पनि) । श्रेष्ठ शिवराज प्रायः कक्षामा दोस्रो स्थान ल्याउँथ्यो । कृष्णबहादुर सिंह कक्षाको पहिलो छात्र थियो । उसको नाम हामीले एम्परर अर्थात् वादशाह राखेका थियौँ । कारण के थियो भने ऊ कक्षाको प्रथम विद्यार्थी त थियो नै तर आफ्नो प्रतिभाको ठीक विपरीत असामान्य व्यवहार गथ्र्यो । कक्षामा कहिल्यै पनि प्रश्नोत्तर नगर्ने ऊ कसरी प्रथम स्थान हासिल गथ्र्यो, मलाई ताज्जुब लाग्थ्यो । ऊ हप्तैपिच्छे आफ्नो जीउ नसुहाउँदा कपडा लगाएर आउँथ्यो र वर्षदिनभरि एउटै कपडा लगाएर घर र स्कुल चलाउने हामीहरूका बीच अद्भुत किसिमले प्रकट हुन्थ्यो । कहिले ह्वार्लांगे कालो जिन्सको पाइन्टमा कमेरो वा शिक्षकहरूले श्यामपटमा लेख्तालेख्तै टुक्रेर खसेका चक बटुलेर सेतो बनाउँथ्यो त कहिले मिलिटरी ट्युनिकमध्येको निकै ठूलो काँधमाथि फिता भएको कमिज लगाएर हाजिर हुन्थ्यो । कहिले निकै ठूलो पाइन्टका मोहोरी खप्ट्याउँदै कक्षामा प्रवेश गथ्र्यो । हप्तैपिच्छे नयाँ र शरीरलाई नसुहाउँदा कपडा लगाएर आउने हुनाले हामीले उसको नामै राखिदिएका थियौँ, एम्परर । त्यो एम्परर हामीले हाम्रो अंग्रेजी पाठ्यपुस्तक प्रोज कलेक्सनको ‘द एम्परर्स न्यू क्लोथ्स’  (वादशाहका नयाँ लुगा) बाट सापटी लिएका थियौँ । हेन्स एन्डरसनको त्यो विश्वविख्यात कथा हामी सबैलाई मन पर्ने टेक्स्ट थियो । त्यहाँ बादशाह जुलाहाहरूको चालबाजी थाहा नपाएर नदेखिने लुगा लगाइरहेको हुन्छ र जुलुसमा शहरभरि नांगै हिँडिरहेको हुन्छ । आफू नांगो भएको चाल पाउँदैन, तर एकजना बालकले राजा त नांगै छ भनिदिन्छ । त्यसैले कृष्णलाई जिस्काउन हामीले एम्परर भन्ने गरेका थियौँ । यसबाट कृष्ण झन् चिढिन्थ्यो । उसको पछाडिको बेन्चमा बसेका केटाहरूले उसको पाइन्टको बकलमा कागजको लामो पुच्छर झुन्ड्याइदिन्थे । अज्ञानतावश ऊ जब उठ्थ्यो, वा हिँड्थ्यो उसको पुच्छर हल्लिन्थ्यो अनि कक्षाका सबैजना विद्यार्थी भरपूर मनोरञ्जन लिन्थे । अनि उसलाई पछाडि फर्कन्थ्यो, घुरेर हेथ्र्यो र कसैलाई एक घुस्सा बजाथ्र्यो ।   
म पुरानो शिक्षाको विद्यार्थी हुँ । त्यतिबेलाको कोर्स निकै मजबुत थियो । तर हामीजस्ता निम्न मध्यमवर्गी किसान परिवारका मेहनत गरी खानुपर्ने विद्यार्थीका लागि त्यो जति आनन्ददायी थियो, त्योभन्दा बढी बोझिलो थियो । हामी संस्कृत पनि पढ्थ्यौँ, त्यसमा हितोपदेश मित्रलाभ पनि थियो । तिनमा राम रामौ रामः पनि हुन्थ्यो । नेपाली विषयका ग्रन्थ नै थुप्रै हुन्थे । पूभा नेपाली र प्रा नेपाली भनिन्थ्यो तिनलाई । गद्यसंग्रह र पद्यसंग्रह पनि थिए । वास्तवमै साहित्यमा मेरो अभिरुचिलाई गहि¥याउने स्रोत ग्रन्थ थिए ती ।
२०१७ सालमा मात्र मिडिल स्कुलबाट हाइस्कुलमा उक्लेको जिल्लाको एकमात्र त्रिभुवन हाइस्कुलमा पनि अंग्रेजी पढाउने गतिलो मास्टर त थिएन, विषय भने बडो कडा थियो । दुईवटा ग्रामर पढिन्थ्यो, सिम्पल ग्रामर र हाइस्कुल ग्रामर । पायोनियर्स अफ प्रोग्रेस, वन्डर बुक, नेहरुज लेटर, प्रोेज कलेक्सन, पोएट्री कलेक्सन जस्ता पुस्तक जति रोचक र ज्ञानवद्र्धक थिए, उत्तिकै हाडेओखरजस्ता फुटाउन कठिन थिए । तर तिनले मेरो ज्ञानको क्षितिजलाई निकै परसम्म पु¥याइदिए । लोभीलाई राजा मिदास, बहादुरलाई हक्र्युलस र मन परेकी केटीलाई लुसी ग्रे भन्न मैले तिनैबाट सिकेको थिएँ । मलाई मिदासको लोभले जति विस्मित पारेको थियो, उसले छोइदिएर सुनको मूर्तिमा परिणत भएकी कन्यालाई भावुकतावश प्रभावशाली मन्त्रले ब्युँझाउनेसम्मका चर्तिकला गर्न सकिन्छ कि भन्ने सम्मका सोचले ग्रस्त भएको थिएँ म । हुन पनि पश्चिमा मिथकलाई मेरो दिमागमा स्थायी प्रकारले भिœयाउने अद्भुत स्रोत थिए ती । एच डब्लू लंगफेलो, विलियम वडर््सवर्थ, वाल्टर स्कट, रविन्द्रनाथ ठाकुरजस्ता कविहरू र हेन्स एन्डरसन, जवाहरलाल नेहरु र जेम्स राम्से अलमनजस्ता गद्यशिल्पीलाई मसित चिनाइदिने साँघु थिए ती । कासावियन्काको आज्ञाकारिता वा ह्यामलिनको मुरलीवादकका अद्भुत कामले मेरो दिमागलाई अहिलेसम्म पनि रिंगाइरहन्छन् । बरु पछिका धेरै कुरा बिर्सिंए, तर नौ र दशमा पढेर एसएलसीमा तिनकै प्रश्न हल गरेका क्षण मेरा निम्ति सजिलै बिर्सिन सकिने क्षण होइनन् ।
मलाई सम्झना छ, कृष्णलाई जिस्क्याउन श्याम मल्ल अघि सथ्र्यो । कृष्ण आँखा चिमचिम गर्दै घुस्सा हान्न तयार हुन्थ्यो र मास्टर नभएको बेला कक्षाकोठामा एक खालको युद्धको वातावरण बन्थ्यो । त्यतिका अस्वाभाविक आचरणका बीच पनि परीक्षामा उसले हामीभन्दा दुई चार नम्बर बढी नै ल्याउँथ्यो । यस्तो पहिलो विद्यार्थी सेन्ट अप परीक्षा दिन छाडेर एकदिन बिहानै सातसल्लीको उकालोमा हिँडिरहेको भेटेर उसका आफन्तले उसलाई डो¥याएर ल्याई परीक्षाको बेन्चीमा बसाएका थिए । अचम्म, तर पहिलो वर्ष जिल्लाभरिका त्यति थोरै एसएलसी दिएका विद्यार्थीका माझ एम्पररले मात्र पास गरेर कमाल गरिदियो ।
विषय शिक्षक नपाएका र जसले जस्तोसुकै पनि पढाएका हामीलाई एसएलसीको परीक्षा घरबाट बाहिर ननिस्केको बालकले सगरमाथा चढ्न खोज्नु जस्तो हुन्थ्यो । तर हामीले आफ्नो भविष्यको कुनै खाका कोर्न सकेका थिएनौँ । हाम्रो जिल्लामा परीक्षा केन्द्र पनि त थिएन ! हामीभन्दा अघिल्लो पुस्ता सात दिनको बाटो हिँडेर नेपालगञ्जमा आएर परीक्षा दिन्थ्यो । हाम्रो पालामा परीक्षा केन्द्र सुर्खेत आइपुग्यो । आफन्तहरू खोज्दै तिनको आश्रयमा एसएलसी दिने काम भयो ।
पहिलो दिन, परीक्षा हलमा पस्ता सबैजसो नयाँ विद्यार्थीका बीचमा परेको थिएँ म । मेरो बेन्चीमा एक कपाल पालेको, घाँटीमा स्कार्फ बेरेको गुण्डाजस्तो लाग्ने विद्यार्थी थियो । उसले सायद म पहाडबाट आएको मेधावी विद्यार्थी हुँ भन्ने ठान्यो र सुरुमै भन्यो, ‘ओ साथी, कापी लुकाउने होइन नि । यसो हेर्न दिनुपर्छ । नत्र जान्या छु मैले ।’
उसको धम्कीयुक्त गर्जनले एक प्रकारले मेरो सातो गयो । तर म सम्हालिँदै गएँ । त्यसले उत्तर पुस्तिकामा संकेत नम्बर कहाँ र कसरी लेख्नुपर्छ भनेर मेरो कपी थुतेरै लियो र भटाभट सा¥यो । नम्बर पनि मेरै सारेछ । मैले उसलाई उसकै नम्बर लेख्न सिकाइदिएर कपी आफ्नो हातमा लिएँ । म उसबाट जति डराएको थिएँ, उसलाई मेरो उत्तर कपीको नक्कल गर्न दिएकोमा चेक गर्नेहरूको खप्की खानुपर्ला भनेर पनि उत्तिकै डराएको थिएँ । बरु कम नम्बर आओस्, मैले जिन्दगीमा कहिल्यै चिट चोरेको थिइनँ । तर मेरो बेन्चमा सँगै रहेको साथी गुण्डा रहेछ । जब प्रश्नपत्र डेस्कमा आइपुग्यो उसले गार्डलाई घुरेर हे¥यो । गार्डको मुखमुद्रा भयभीत भयो । यो नजिक नआइज भनेर दिइएको चेतावनी थियो ।
सुरुको घण्टी लागेको आधा घण्टा नबित्दै अब दुर्गे अर्थात् त्यो गुण्डा केटाले पहिले पुस्तक निकालेर बेन्चमा आफ्नो तिघ्राले च्यापेर राख्यो । जब सुपरिटेन्डेन्ट सर्सरी निरीक्षण गर्ने क्रममा हाम्रो छेउमा आइपुग्यो, उसले पुस्तक खोस्ने प्र्रयास ग¥यो । तर गुण्डाले छुरी निकाल्यो र त्यसको चुच्चो डेस्कमा गाडेर छेउमै पुस्तक राख्यो र भटाभट पुस्तक कन्सल्ट गरेर उत्तर लेख्न थाल्यो । अब हाम्रो छेउ कोही आउन सक्तैनथ्यो । मलाई लाग्यो, सारा संरचना उसका सहयोगी छन् र मजस्ता मेहनत गरेर पढ्ने विद्यार्थीको परिणाम उल्ट्याउन ती काफी छन् ।
म कक्षा दशमा पढ्दा आफ्नो उमेरको तुलनामा गम्भीर थिएँ । म जिम्मेवारी र सपनाको बोझले थिचिएको थिएँ । ती जिम्मेवारी र सपनाले मलाई नक्कल गर्ने छुट दिँदैनथे । तर हाम्रो शिक्षा निम्न कोटिको मदिरा उत्पादन गर्ने भट्टी जस्तो थियो । हाम्रो सुरक्षा व्यवस्था गुण्डावादको नियन्त्रणमा थियो र हाम्रो घरेलु परिवेश निरीह थियो । मलाई यसरी नक्कल गरेर उच्च श्रेणीमा पास हुनुभन्दा फेल भएर हलो जोत्नु उत्तम लाग्थ्यो । अहिले जब डाक्टरहरू नक्कली निस्केका छन्, करिब साढे चार दशकअघिको मेरो धारणा कति ठीक थियो भनी जाँचिरहेको छु ।
त्यसबेला त्यो गुण्डा कुन श्रेणीमा उत्तीर्ण भयो, मैले वास्ता गर्न पनि चाहिनँ । कतै जेलमा परेको डाक्टरको अनुहार उसको अनुहारसँग मिल्छ कि भनेर हेर्न खोज्छु । तर तिनीहरूले आफ्नो अनुहारलाई कालो पर्दाभित्र लुकाइरहेका छन् । म भने कहिले कविता र निबन्धको रचना गर्दै, कहिले  विकासे परामर्शदाताका रूपमा कुनाकाप्चा चहार्दै वा कहिले साहित्यिक समारोहमा वक्ता हुँदै हिँडिरहेको छु । नेपालीमा एमए गरेको हुँ, अंग्रेजीमा दालरोटी खान्छु । सन्तोष छ, अहिलेसम्म कसैको नक्कल गर्नु परेको छैन ।

(२०३१ सालमा एसएलसी दिँदा ताकाका कवि श्यामल)     

 

Leave A Comment