अब आइन्दा एसएलसी दिनुपर्दैन ।
राम्रो भो । एउटा संरचनागत हिंसाबाट युवा पुस्ता मुक्त हुने भो । युगौँदेखिको फलामे ढोकाको आतंक सकिने भो । एउटा हौवा समाप्त हुने भो ।
पंक्तिकार २०५१ सालको एसएलसी पास हो । दुई दशकअगाडिको एसएलसी धेरै मानेमा आतंक थियो । एसएलसीमा तलमाथि भयो भने सबथोक ध्वस्त हुन्छ, संसार सकिन्छ भन्ने कमजोर मनोविज्ञानले पनि धेरैलाई फेल बनाउँथ्यो सायद । एसएलसी पासहरूसँग पनि स्कुले शिक्षा पूरा गरेको एउटा कागजी निस्साबाहेक केही हुँदैनथ्यो । ज्ञानप्रति कुनै तृष्णा हुँदैनथ्यो । जीवन, देश र दुनियाँ बुझ्ने भोक हुँदैनथ्यो । बस, क्याम्पस जाने रहर र उत्कण्ठा हुन्थ्यो ।
पढाइ सुगा रटाइको अर्काे नाम थियो (अहिले पनि छ ) । फरक यत्ति थियो, गोपी कृष्ण काउका सट्टामा ‘हाउ भैरव सेभ्ड राम सिङ्स लाइफ’, ‘शान्तिको ध्वनि छर्दै जाऊ’, ऐकिक नियम, जद्द . उद्द ं दद्द, न्युटनको चालसम्बन्धी पहिलो, दोस्रो र तेस्रो नियम आदि रट्टा मारिन्थे ।
शिक्षक–शिक्षिका सोध्न त सोध्थे, ‘बुझ्यौ तिमीहरूले ?’
कसैले केही बुझेको हुन्थेन । तैपनि, टाउकाहरू ‘बुझ्यौँ’का भावमा हल्लिन्थे । टाउको बस हल्लिन्थ्यो, कसैले यसलाई प्रयोग गर्नुपर्छ भन्दैनथे ।
राज्यले साँचोमा हालेर पारेका इँटाजस्ता जनशक्ति थिए, शिक्षक–शिक्षिका । अनि, विद्यार्थी पनि हुन्थ्यो, इँटजस्तो । (इँटले इँट उत्पादन गर्ने प्रक्रियालाई हामी शिक्षा भन्थ्यौँ, भनिरहेका छौँ ।)
कक्षाकोठामा त्यस्ता प्रश्नहरू वर्जित थिए, जो जाँचमा सोधिँदैन थिए । म अहिले पनि सम्झन्छु– म र मेरा केही साथीलाई भौतिक कारबाहीमा पार्ने प्रश्नहरू । जस्तो किः परागसेचनमा फूलले सेक्सको आनन्द लिन्छ कि लिँदैन ? साइन, कस र ट्यानको दैनिक जीवनमा के उपयोगिता छ र तिनलाई घोक्नुको के अर्थ ? आदि । हाम्रा प्रश्नहरूसँग जोडिएका उत्सुकताको कुनै कदर थिएन ।
हामीलाई पढाउने शिक्षकहरू आफूलाई असफल मान्छे ठान्थे । बेलाबेला उनीहरूको निराशा यसरी प्रकट हुन्थ्यो– ‘जीवनमा मास्टर चाहिँ नबन्नू है, केटाकेटी हो !’ पढाउनु भनेको उनीहरूका निम्ति कुनै उमंगको कर्म थिएन । जागिर थियो फगत । सेवासुविधा कम भएको जागिर । र, हाम्रा निम्ति पढ्नु पनि कुनै उमंगको कुरा थिएन । कुनै पिरियड सकेको जनाउ दिने घण्टी बजेपछि हाम्रा अनुहारहरू धपक्क बल्थे ।
र, यसरी बित्थे दश वर्ष । र, आउँथ्यो एसएलसी । मृत्युले मुख बाएजसरी । दश वर्षमा शिक्षा पद्धतिले यस्तो व्यक्ति र यस्तो नागरिक तयार गथ्र्याे, जो डराउँथ्यो असाध्यै । फेल भइयो भने सबै सम्भावनाहरू सकिन्छन् भन्ने मनोदशाले भित्रभित्र खोक्रो बनेर जाँच दिएपछि धेरै जना पास हुने कुरा पनि भएन । ब्ल्याकमा किनेको गोरखापत्रमा आफ्नो सिम्बोल नम्बर नभेटेपछि जिन्दगी नै ब्ल्याकहोलमा विलय भएको ठान्ने कतिपय त आत्मघातसम्मै पुग्थे । फेल हुनेहरूको कसैले जिम्मेवारी लिँदैनथ्यो । उनीहरूको कसैलाई वास्ता हुँदैनथ्यो । एसएलसी यस्तो लाग्थ्यो, राज्य–पोषित आतंकवाद थियो ।
एसएलसी फेल किशोरीका हकमा उनीहरूका प्रगतिको ढोका सदाका लागि बन्द हुन्थ्यो । दुई दशकअघिको नेपालमा एसएलसी फेल छोरीको एउटै नियति थियोे, खास गरी काँठतिर, तत्काल बिहे । अभिभावकका निम्ति एसएलसी फेल भएकी छोरीको शिक्षामा अतिरिक्त लगानी बालुवामा पानीसिवाय केही हुँदैनथ्यो ।
एसएलसीको नतिजाले नागरिकलाई प्रत्यक्षतः चार तहमा बाँड्थ्यो– अब्बल (फस्ट डिभिजन), दोयम (सेकेन्ड डिभिजन), सिम (थर्ड डिभिजन) र चहार (फेल) । तर, जिन्दगीको दौडमा अब्बलहरूले कति पैदावर दिए ? त्यसको लेखाजोखा कसैले राखेको छैन ।
त्यो बेला धेरैलाई रुवाउने विषय थिए– अंग्रेजी, गणित र विज्ञान । सरकारी स्कुलका विद्यार्थीका निम्ति यी विषय काल नै हुन्थे । यी विषयका ट्युसन लिनेहरूको हूल हुन्थ्यो । यी विषयका माड्साबहरूलाई सास फेर्ने फुर्सद पनि हुँदैनथ्यो । सायद त्यतिबेलादेखि नै हो, यो ट्युसन नामको विद्यार्थीलाई परनिर्भर बनाउने चलन बलियो भएको । सायद बजारमा गेसपेपरको बलियो उपस्थिति भएको पनि त्यही बेलादेखि नै हो ।
त्यतिबेला माघमा हुन्थ्यो एसएलसी । असोज लागेपछि विद्यार्थीहरू घनघोर तयारीमा जुट्थे । तयारी भनेको त्यही मानसिक यन्त्रणा र तनावमा आफूलाई जकडबन्द गर्नु । मंसिरमा टेस्ट हुन्थ्यो । त्यसपछिका केही हप्ता एसएलसी दिनेका निम्ति यति भयानक हुन्थे कि मलाई ताज्जुब लाग्छ– मेरो पुस्ता किन बौलाएन ? तर, जुन पुस्ता चाँदनी शाहको झुर कविताको एक पेज लामो विवेचना लेख्न बाध्य थियो, त्यसलाई सद्दे त के रहन दिइयो होला र ?
मेरो पुस्ताले नर्सरी, केजीको झन्झट नबेहोरी जीवनको दश वर्ष स्कुलमा बितायो । बाल्यकालका स्वर्णिम पलहरू स्कुलमा बितायो, साथीहरू बनायो, आफ्नो सामाजिकीकरण ग¥यो । के सिक्यो ? जीवनका जटिलताहरूको सामना गर्न समर्थ हुने कुन ज्ञान आर्जन ग¥यो ? मलाई थाहा छैन । यति थाहा छ– मेरो पुस्ताले एसएलसी दियो । एउटा हिस्सा पास भयो, अर्काे हिस्सा फेल भयो । पास हुने हिस्साले आफ्ना लागि, समाजका लागि, देशका लागि के राम्रो ग¥यो ? मलाई थाहा छैन । तर, यति थाहा छ– फेल हुने हिस्साले पास हुने हिस्साले भन्दा समाज र देशका लागि कम्ती राम्रो चाहिँ गरेको छैन ।
Leave A Comment