पुष्पल खड्का म्युजिक भिडियोका चर्चित अनुहार हुन् । ‘पिलायो साथीले’, ‘तिम्रो मौन इसारा’, ‘हेलो मञ्जरी’लगायत हिट गीतमा उनले अभिनय गरेका छन् । उनी अभिनीत गीत युट्युबमा ६४ लाखसम्म हेरिएका छन् । पछिल्लो समय उनी फिल्म अभिनयमा पनि व्यस्त बन्न थालेका छन् । फागुनमा रिलिज हुने ‘दर्पण छायाँ–२’बाट फिल्ममा डेब्यू गर्न लागेका उनी अहिले छवि ओझाको ‘मंगलम्’को सुटिङ गरिरहेका छन् । आलोक नेम्वाङले कला क्षेत्रमा प्रवेश गराएका पुष्पलसँग डिबी खड्काले गरेको अन्तरंग कुराकानीः
म्युजिक भिडियोमा हुँदासम्म नाम पुष्प थियो, फिल्ममा अभिनय गर्न थालेपछि पुष्पल भएछ !
न्वारनको नाम पुष्पल नै हो । पछि साथीहरूले सजिलोका लागि पुष्प भने । मैले पनि पुष्प नै लेख्न थालेँ । ‘दर्पण छायाँ–२’का लागि छानिएपछि तुलसी घिमिरे सरले ‘नाम फेर्दा के हुन्छ ?’ भनेर सोध्नुभयो । सायद पुष्प उहाँलाई मन परिरहेको थिएन । मैले न्वारनको नाम पुष्पल हो भनेँ । उहाँले ‘त्यही ठीक छ त’ भन्दै आइन्दा पुष्पल नै लेख्न सल्लाह दिनुभयो । मोडलबाट हिरोको परिचय बनाइदिन लाग्नुभएका मान्छेले दिएको सल्लाह सही लाग्यो ।
मोडलिङको सुरुवात नै त्यो समय खूब जमेका निर्देशक आलोक नेम्वाङसँग गर्नुभयो । कसरी चढियोे नेम्वाङको नजरमा ?
आलोक सर जस्ता व्यावसायिक म्युजिक भिडियो निर्देशक नभइदिएको भए सायद म उहिल्यै काठमाडौँ छाडेर गइसकेको हुन्थेँ । यतिबेला कि आफ्नै जन्मघर सुदूरपश्चिम वा बुबाले रोजीरोटीको जोहो गरिरहेको भारतको पुनामा कुनै काम गरिरहेको हुन्थेँ । किनभने, आलोक सर भेट्नुअघि त्यतिबेला चलेका सबै म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलदेखि समन अधिकारीसम्मलाई भेटिसकेको थिएँ । कतिसँग त एक चान्सका लागि रोएर याचना गरेको थिएँ । आशा देखाए पनि कहिल्यै अवसर नआएपछि निराश थिएँ । त्यहीबेला एकपल्ट ओलोक सरलाई भेट्ने निधो गरेँ । उहाँले ‘फोन नम्बर र तस्बिर छाडेर जानू, हेरौँला’ भन्नुभयो । प्रायःले यस्तै भन्ने गरेका थिए । विश्वास लागेको थिएन । तर, तीन दिनपछि गायक हेमन्त शर्माको फोन आयो । आलोक सरले निर्देशन गर्ने म्युजिक भिडियोमा सानो भूमिका छ भनेर । मलाई त म्युजिक भिडियो गर्ने होइन, गरिरहेको हेर्ने अफर आएपछि जान्छु भन्ने थियो त्यो बेला । तुरुन्तै ओके गरेँ । त्यो म्युजिक भिडियोमा जम्मा एउटा सिक्वेन्स गरेको थिएँ । आलोक सरलाई मन परेछ । त्यसपछि धेरै म्युजिक भिडियो गरियो उहाँसँग ।
म्युजिक भिडियोमा पनि त्यतिबेला नाम चलेका हिरोइनसँगै मात्रै तपाईंलाई अभिनय गराउनुभयो आलोक नेम्वाङले । यसको कारण केही थियो ?
मेरो काम मन परेपछि उहाँ ‘तिम्रो लेभल बनाइदिन्छु’ भन्नुहुन्थ्यो । त्यसैले सुरुमै केकी अधिकारी, प्रियंका कार्की, नीता ढुंगानादेखि झरना वज्राचार्यसँग मलाई अभिनय गराउनुभयो । म त्यो समय चरम आर्थिक संकटमा समेत थिएँ । त्यसैले म्युजिक भिडियो गर्ने अवसर पाएँ कि अरू निर्देशकसँग पनि गरिहाल्थेँ । उहाँ भन्नुहुन्थ्यो, ‘म यहाँ एक जना सम्भावना भएको मान्छेको लेभल बनाउन दुःख गरिरहेको छु, ऊ लेभल घटाएर आउँछ’ त्यसपछि मैले आफूलाई सम्हालेँ ।
म्युजिक भिडियोमा अवसर पाउनुअघि त्यसका लागि चाहिने सीप–ज्ञान हासिल गरिएको थियो कि थिएन ?
म्युजिक भिडियोमा अवसर पाउनुअघि मैले लामै समय संघर्ष गरिसकेको थिएँ । डान्स कल्चरमा डान्स सिकेर त्यहीँ सिकाउने भइसकेको थिएँ । रंगकर्मी अनुप बरालको एक्टर्स स्टुडियोमा अभिनय सिकेको थिएँ । थुप्रै स्टेज सो गरिसकेको थिएँ । सानैदेखि कराँते खेलाडी थिएँ । यसले गर्दा ‘चान्स पाएपछि देखाइदिन्छु’ भन्ने मनोबल थियो । तर, त्यति चान्स पाउनै टाइम लाग्यो ।
कैलालीबाट काठमाडौँको यात्रा हिरो बन्ने नै थियो कि अरू केही ?
मोडल वा हिरो बन्नु हाम्रो हैसियतको कुरा थिएन । मनमा कुनै दिन म त्यो क्षेत्रमा लाग्छु भन्ने भए पनि कसैलाई सुनाएको थिइनँ । सुनायो भने पनि मजाक ठान्थे सबैले । घरको स्थिति पनि मैले एक लेभलसम्मको पढाइ सकेपछि जागिर गर्नैपर्ने थियो । त्यसैले कैलालीमा आईएस्सी सकेपछि आईटी पढ्न काठमाडौँ आएँ । कान्तिपुर टेक्निकल कलेजमा कम्प्युटर पढ्न सुरु गरेँ । यही समयमा मैले डान्स पनि सिक्न थालेको हुँ ।
पढाइ सकिने बेलासम्म मोडलिङमा जमिसक्नुभएको थियो ?
थिइनँ । तर, पढ्दै गर्दा मेरो मोडलिङ र अभिनय गर्ने भोक यसरी बढेको थियो कि म कुनै पनि हालतमा नछाड्ने स्थितिमा थिएँ । त्यसैले पढाइपछि तीन वर्ष मैले यही क्षेत्रमा मात्रै स्ट्रगल गरेँ । र, पछि अवसर पाएको थिएँ ।
आईटी पढेको मान्छे काम नगरेर यता भड्किएको कुरा अभिभावकलाई कसरी पच्यो ?
पढाइ सकेपछि जेठो सन्तान भएकाले घरव्यवहार सम्हाल्नुपर्ने स्थिति थियो । बुबाले जागिर खोजिदिनुभएको थियो । तर, जागिरमा दिलै लागेन । मलाई त मोडल बन्नु थियो । हिरो बन्नु थियो । जिन्दगीमा फेरि मौका आउँछ कि आउँदैन, एकपल्ट ट्राइ गर्छु भनेर लागेँ । घरबाट हुने आर्थिक सहायता बन्द भयो । त्यसपछि जीवनकै ठूलो संघर्ष सुरु भयो । बुबा रिसाएर बोल्न छाड्नुभयो । दुई वर्ष बोलचाल भएन । म घर पनि गइनँ । के मुख लिएर जानु भन्ने भयो । तीन वर्ष संघर्ष गर्दा पनि अवसरको छेउछाउ पुग्न नसकेपछि म घर फर्किने निधोमा पुगेको थिएँ । बुबालाई म फर्किदैछु, तपाईंले भनेकै काम गर्न भनेर फोन गर्न खोजेँ । तर, भन्ने आँट नआएर काट्थेँ । यही स्थितिमा आलोक सरसँग भेट भएको थियो ।
फिल्ममा कहिलेदेखि ट्राई गर्न थालियो ?
म म्युजिक भिडियोमा अभिनय गरिरहेको थिएँ । यसैमा रमाइरहेको थिएँ । यही ठूलो कुरा थियो । मलाई फिल्ममा काम गरौँला वा पाउँला भन्ने कहिल्यै लागेको थिएन । आलोक सरसँग काम गरिरहेकाले उहाँले निर्देशन गरेको अन्तिम फिल्म ‘अझैै पनि’मा साथीको भूमिकामा भए पनि गर, पछि फिल्म गर्नका लागि केही कुरा सिकिन्छ भन्नुभयो । मलाई साथीको भूमिका चाहिँ गर्नु थिएन । मैले आनकानी गरेँ । उहाँले कन्भिन्स्ड गर्नुभयो । त्यसपछि त्यहाँ काम गरेँ । त्यसपछि अर्काे एउटा फिल्ममा कन्फर्म भएँ । तर, पछि के कुरा मिलेन मलाई लिइएन । त्यसले मेरो दिल निकै टुटेको थियो । एक खालको इख पनि जाग्यो । त्यसपछि मैले त्योभन्दा कमजोर फिल्मबाट डेब्यू नै गर्दिनँ भनेर चुप लागेर बसेँ ।
‘दर्पण छायाँ–२’ मा कसरी चान्स पाइयो ?
त्यो बेला ‘पिलायो साथीले’ भन्ने गीत युवामाझ भाइरल भइरहेको थियो । भारती म्याम (निर्देशक तुलसी घिमिरेकी श्रीमती)ले पनि हेर्नुभएछ त्यो । उहाँले सरलाई र छोरीहरूलाई देखाउनुभएछ । त्यसपछि मलाई बोलाएर हेर्ने कुरा भएछ । त्यसपछि मैले उहाँलाई भेटेँ । तुरुन्तै केही प्रतिक्रिया दिइएन । धेरैको अडिसन भइसकेको सुनेँ । मलाई मुख्य भूमिकामा होला जस्तो लागेन, त्यसपछि मैले नगर्ने मुड बनाएँ । भोलि आउनु भन्नुभएको थियो, गइएन । तेस्रो दिन फोन गरेर ‘खोई आएको ?’ भन्नुभयो । त्यसपछि दिनदिनै उहाँहरूलाई भेट्ने, फर्किने गरेँ । एक हप्तापछि एकैपल्ट सरप्राइज पाइयो, मुख्य पात्रका रूपमा छानिएको थिएँ ।
प्रायः डेब्यू फिल्मको प्रतिक्रियापछि अर्काे फिल्ममा लिने गरिन्छ तर तपाईं त एउटा फिल्म रिलिज नहुँदै व्यस्त हुन थाल्नुभयो ?
मलाई पहिलो फिल्मको प्रतिक्रियापछि आफूलाई सच्याउँदै दोस्रो फिल्म गर्ने सोच आएको थियो । त्यसैले यो बीचमा अरू फिल्मका कुरा आए पनि खास ध्यान दिइनँ । यही बीचमा शिल्पा पोखरेलको फोन आयो । छवि ओझा सरले बनाउने नयाँ फिल्मका लागि कुरा गर्न भनेर । राम्रो ब्यानरको थियो । त्यसैले नाइँनास्ति गर्न मन लागेन । त्यसअघि निर्देशक नवल नेपालसँग भेट भइसकेको थियो । उहाँको काम मलाई निकै मन पर्छ । शिल्पा र नवल दाइले नै ‘मंगलम्’का लागि म फिट हुने कुरा गर्नुभएको रहेछ ।
‘मंगलम्’पछि कुन फिल्म छ ?
म तुरुन्तै कुनै गर्दिनँ होला । यी दुई फिल्ममा आफ्नो काम आफैँले हेरौँ । अरूले पनि हेरुन् । अब मलाई हतार छैन । म जतिबेला अवसरको भोको थिएँ, त्यो बेला अन्नदाता भएर आलोक सर आउनुभयो । हिरो बन्ने सानैदेखिको सपना पूरा तुलसी सरले पूरा गरिदिनुभएको छ ।
तपाईंलाई हिरो बन्नु छ कि अभिनेता ?
मलाई हिरो र अभिनेताको कुनै तर्क थाहा छैन । अर्थ पनि त्यति जान्दिनँ । सानैदेखि मेरो लगाव हिरो बन्ने थियो । अनुप सरसँग अभिनय सिकेँ । उहाँले अभिनयमा निखार ल्याउन निकै कुरा सिकाउनुभयो । अभिनय राम्रो बन्ने प्रयास गर्छु तर बन्नु हिरो नै छ ।
Leave A Comment