रोग लुकाउँदा जटिलता थपिन्छ

मङ्गलबार, २५ माघ २०७३, १२ : २१ शुक्रवार , Kathmandu
रोग लुकाउँदा जटिलता थपिन्छ

–डा. भोला रिजाल
वरिष्ठ स्त्री रोग विशेषज्ञ
बंगलादेश, पाकिस्तान, भुटानजस्ता छिमेकी देशमा देखिने यौनरोग र नेपालमा देखिने यौनरोगको समस्या एउटै छ । नेपालजस्ता अल्पविकसित देशमा कुपोषण तथा वातावरणका कारण यौनरोग धेरै देखिने गर्छन् । अहिले पनि ग्रामीण क्षेत्रमा खोलाको फोहोर पानीमा नुहाउने तथा पौडी खेल्ने महिला प्रशस्तै छन्, जसले यौनरोगलाई निम्त्याउँछन् । सानै उमेरमा विवाह र चेतना एवं शिक्षाको कमी पनि यौनरोगको कारण हो । मुख्यतः विदेश गएका युवाबाट गम्भीर प्रकृतिका यौगरोग भित्रिने गरेको पाइन्छ । विदेश गएका व्यक्ति यौनरोग लिएर आउने र श्रीमतीलाई सार्नेको संख्या धेरै छ । यौनरोग महिलाबाट पुरुषमा भन्दा पनि पुरुषबाट महिलामा सर्ने सम्भावना बढी हुन्छ । योनिबाट निस्कने स्रावको परिमाण बढेमा, गन्हाउने स्राव भएमा, तल्लो पेट दुख्ने र योनिमा डाबर वा घाउ आएमा यौनरोगको शंका गर्न सकिन्छ ।
यौनरोग विभिन्न प्रकारका हुन्छन् । यसलाई तीन किसिमले हेर्न सकिन्छ । ढुसी संक्रमण, ब्याक्टेरियाबाट हुने संक्रमण र एचआईभी । ढुसी संक्रमण यौनक्रियाका कारण नभई गर्भवती भएका बेला खाने औषधि वा अन्य रोगका कारण देखिने समस्या हो । यसमा योनि चिलाउने, गन्हाउने पानी बग्ने, पिसाब गर्दा पोल्नेजस्ता लक्षण देखिन्छन् । केही महिलामा योनि खुम्चने रोग पनि देखिन्छ । यस्ता रोग यौनसम्पर्कका कारण नभई ब्याक्टेरियाका कारण लाग्छन् । यसले गर्भवती महिलाको बच्चा समयभन्दा चाँडो जन्मने हुन्छ । यस्तै, महिलामा देखिने अर्को यौनजन्य समस्या ट्राइकोमोनासिस हो । यसलाई खतरा नमानिए पनि योनि चिलाएर हैरान पार्छ ।
यो यौनसम्पर्कका कारण सर्ने रोग हो । पिसाब गर्दा पोल्ने, योनि धेरै चिलाउने, गन्हाउने पानी बग्ने, योनि र त्यसको वरपर रातो हुने यसका लक्षण हुन् ।  एचआईभी, धातुरोग र भिरंगी गम्भीर खालका यौनरोग हुन् । धातुरोग र भिरंगीको समयमै उपचार नगरे यसले बाँझोपना निम्त्याउन सक्छ । यसमा संक्रमित व्यक्तिसँग यौनसम्पर्क राखेको दुईदेखि सात दिनभित्र लक्षण देखिन थाल्छ । योनि चिलाउने, गन्हाउने पानी बग्ने, पिसाब गर्दा पोल्ने, तल्लो पेट दुख्ने, कसैकसैलाई ज्वरो आउने, यौनसम्पर्क राख्दा पोल्ने वा रगत आउनेजस्ता लक्षण देखिन्छन् भने केहीलाई त कुनै लक्षण नै देखिँदैन ।
योनि चिलाउने धेरै कारण हुन सक्छ । कसैलाई लुतो वा जुम्राको कारण योनि चिलाउँछ भने कसैलाई साबुन वा स्याम्पूको एलर्जीले पनि योनि चिलाउँछ । कसैलाई जटिल संक्रमणका कारण पनि योनि चिलाउने हँुदा समयमै उपचारतर्फ लाग्नुपर्छ । नेपालमा स्वास्थ्य सेवा र शिक्षाको कमी भएकाले जाँच गराउने आउनेमध्ये ५० प्रतिशतमा यौनरोगको संक्रमण भेटिन्छ । यी रोगीहरूमा पछि गएर निःसन्तान हुने, क्यान्सर हुने र लगातार रक्तस्राव हुने गम्भीर समस्या देखिन्छन् । त्यसको समाधान भनेकै नियमित रूपमा योनि परीक्षण गराउनु हो । तर, यौनांग र यौनरोग जाँच गराउने भनेपछि लाज मान्ने गरेका छन् । सजिलै उपचार हुने समस्या लिएर बस्नेहरू धेरै छन् ।
महिला वा पुरुष दुवैलाई यौनरोगबाट बचाउन सर्वप्रथम जनचेतना आवश्यक छ । नेपाली समाजमा रहेको रुढीवादी सोच र परम्परा त्याग्न जरुरी छ । एउटै कपडा नछुने भएका बेला पाँचदेखि सात दिनसम्म प्रयोग गर्ने, राम्ररी नसुकेको पेन्टी वा भित्री कपडा प्रयोग गर्नाले ब्याक्टेरियाले योनिमा आक्रमण गर्छ । जसका कारण संक्रमण भई विभिन्न यौनरोग उत्पन्न हुन्छ । यौनरोगको विषयमा छोरीलाई शिक्षा कसरी दिने भन्ने कुरामा बाबुआमाले सोच्नुपर्छ । सानैदेखि यस विषयमा जानकारी गराए यौनरोग लाग्नबाट बचाउन सकिन्छ । अर्को कुरा, विदेशबाट यौनरोग लिएर आएकालाई कसरी जोगाउने, कसरी उनीहरूको जाँच गर्ने, कसरी कन्डमको प्रयोग बढाउने भन्ने विषयमा सरकारले ध्यान दिनुपर्छ । एचआईभीजस्तो डरलाग्दो यौनरोगबाहेक सबै प्रकारका यौनरोगको उपचार सम्भव छ ।
सम्भव छ भन्दैमा लापर्बाही गर्नु हँुदैन । सबैभन्दा ठूलो कुरा डर हो । नेपाली समाजमा स्वास्थ्यमा सामान्य गडबडी आए पनि ठूलो रोग हो कि भनेर चिन्ता लिने प्रवृत्ति छ । यही डरका कारण रोग बढ्दै जाने देखिन्छ । अर्कोतर्फ, गम्भीर समस्या नआएसम्म उपचार गराउन नै नजाने मानसिकता पनि हाबी छ । यौनरोग लाग्नेबित्तिकै क्यान्सर भयो भन्ने डर धेरैले पाल्छन् । यौनरोग लाग्दैमा क्यान्सर हुन्छ भन्ने हुँदैन । तर, रोग लुकाएर ढिला उपचार गर्दा जटिलता थपिन्छ । तसर्थ, रोगका कुनै लक्षण देखिए पनि लुकाएर बस्ने वा डराएर आत्तिने गर्नु हुँदैन । तुरुन्त चिकित्सकको सल्लाह लिएर उपचार गर्नेतर्फ लाग्नुपर्दछ ।

 

Leave A Comment