महिला उद्यमीका सम्भावना र समस्या

बुधबार, २६ माघ २०७३, १२ : १० दिलीप पौडेल , Kathmandu
महिला उद्यमीका सम्भावना र समस्या

महिला उद्यमी महासंघले आगामी फागुन ३ गतेदेखि दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आयोजना गर्ने भएको छ । भारत, अफगानिस्तान, पाकिस्तान, बंगलादेश, कोरिया, मलेसियालगायत मुलुकका महिला उद्यमीले भाग लिने मेलामा करिब एक सय स्टल रहने आयोजकले जनाएको छ । मेला पाँच दिनसम्म चल्नेछ । नेपाली महिला उद्यमीले गरेका प्रयास, नीतिगत समस्या, बजारको सम्भावना विषयमा महासंघका पदाधिकारी के भन्छन् ?

‘मेलाले प्रवद्र्धनमा टेवा पुग्नेछ’
हजुरी विष्ट
, कोषाध्यक्ष
अधिराज्य भरका महिला उद्यमीले उत्पादन गरेका सामानको बजारीकरण गर्न पाँच दिने मेला आयोजना गरिएको हो । पछिल्लो वर्ष आयोजना गरेको मेलामा ३५ हजारभन्दा बढी मानिसले अवलोकन गरेका थिए । यो वर्ष दोस्रो अन्तर्राष्ट्रिय मेला आयोजना गर्न लागेका हौँ । मेलामा स्वदेश र विदेशका महिला उद्यमीले उत्पादन गरेका सामानको प्रदर्शनी र व्यापार हुनेछ । सँगै सर्भिस सेन्टर रहने व्यवस्था गरिएको छ । मेलाको अवसरमा वर्कसर्पको आयोजना गरेर उद्यमीका समस्या, कसरी बजारीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफलसमेत हुनेछ । महिला उद्यमीले तयार गरेका सामान उत्पादन गरे पनि बजारको समस्या रहेको छ । मेलाले प्रवद्र्धनमा टेवा पुग्ने आशा गरेका छौँ । नेपाली सामानको प्रयोग बढाउन विभिन्न पक्षसँग लविङ पनि गरिरहेका छौँ । बजारको चुनौतीसँगै अहिले पनि महिलालाई उद्योग सञ्चालन गर्न आर्थिक समस्या रहेको छ । समयमा ऋण नपाउने अवस्था छ । विगतको तुलनामा सरकारले सहयोग गरे पनि पर्याप्त छैन । सहयोग गर्ने नीतिलाई पूर्ण सदुपयोग गर्न सकिएको छैन । महासंघले देशभर शाखा विस्तार गर्ने योजना बनाएको छ । सरकारलाई दबाब दिने काम गरिरहेका छौँ । उद्यमशीलता बढाउनका लागि क्षमता विकास गर्न पहल भइरहेको छ । स्रोतको पहिचान गरी अधिकतम उपयोग गरेर अघि बढ्ने प्रयासमा छौँ ।

‘उद्यमी र उपभोक्ताबीचको दूरी मेटाउने प्रयास’
रीता सिंह,
द्वितीय उपाध्यक्ष
जिल्लामा रहेका महिला उद्यमीले उत्पादन गरेका वस्तुले बजार पाइरहेका छैनन् । त्यसको बजार प्रवद्र्धनका लागि हामीले यो मेलाको आयोजना गर्दैछौँ । राजधानीको आर्मी अफिसर्स क्लबमा मेलो हुनेछ । यसले बजार प्रवद्र्धनसँगै महिलाहरूको बीचमा चिनजान पनि बढाउँछ । मेला उद्यमी र उपभोक्ताबीचको दूरी मेटाउने प्रयास हो । अन्तर्राष्ट्रिय रूपमा नेपालको उत्पादनको बजार प्रवद्र्धनका लागि पनि यसले सघाउनेछ । हामीले उद्यमी महिलाहरूका लागि वकालत गर्दै आएका छौँ । महिला उद्यमीका लागि सरकारले केही कोष स्थापना गरेको छ । जसबाट तालिम सञ्चालन पनि गरेका छौँ । अहिलेसम्म तीन÷चार सय जनालाई तालिम दिइसकेका छौँ । धेरै महिला घरेलु उद्योगमा काम गरिरहेका कारण दर्ता भएका छैनन् । उनीहरूलाई दर्ता गर्ने प्रक्रियामा जोड दिएका छौँ । नयाँ प्रविधिसँग घुलमिल हुन नसकेका कारण पनि महिलाहरूले समस्या भोग्नुपरेको छ । त्यसलाई सहजीकरण गर्ने काम भइरहेको छ । सरकारी पक्षबाट सहयोग आएको छ ।

‘बजार प्रवद्र्धनमा ध्यान दिनुपर्छ’
निरु रायमाझी,
तृतीय उपाध्यक्ष
महिला उद्यमीले उत्पादन गरेका वस्तुले बजार नपाउनु अहिलेको मुख्य समस्या हो । कुनै महिलाले सुरु गरेको उद्यम बजार अभावका कारण त्यतिकै खुम्चिएर बस्नुपर्ने अवस्था छ । यहाँको उत्पादनका लागि बजार प्रवद्र्धन र विस्तार गर्नु नै मेलाको मुख्य लक्ष्य हो । नेपालका २५ जिल्लामा हाम्रो शाखा छ । त्यहाँका उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी गर्छौं । मेलामा विदेशी पनि आउने भएकाले अन्तर्राष्ट्रिय बजारमा हाम्रो उत्पादन पठाउने राम्रो अवसरका रूपमा यसलाई लिएका छौँ । हामीले संघमार्फत उद्यमी महिला नेटवर्किङको काम गर्ने गरेका छौँ । स्वयंसेवी रूपमा महिला उद्यमीको समस्याबारे सरकारसँग पैरवी गर्ने गरेका छौँ । यो मेला राम्रो उत्पादन गर्ने उद्यमीका लागि आफ्नो सामानको विज्ञापन गर्ने अवसर पनि हो । उद्यमीका समस्यालाई नीतिगत रूपमा समाधान गर्न सरकारसँग छलफल र समन्वय गर्ने काम हामीले गरेका छौँ । उत्पादित वस्तुको बजार प्रवद्र्धनका लागि सरकारले अझ विशेष ध्यान दिए हुन्थ्यो ।

‘मार्केटिङमा समस्या छ ’
महालक्ष्मी श्रेष्ठ,
सदस्य
महिला उद्यमीले उत्पादन गरेको सामानको बजारीकरणको समस्या भोग्नुपरेको छ । विभिन्न जिल्लामा उत्पादन भएका वस्तुको बजार प्रवद्र्धन गर्ने मेलाको मुख्य उद्देश्य हो । कस्तो वस्तु उत्पादन गर्ने, बजारमा के कस्ता वस्तुको माग छ ? बजार मूल्य कस्तो छ ? भन्नेबारे उद्यमीहरूलाई जानकारी गराउने लक्ष्य हाम्रा हो । हाम्रो मुख्य ध्येय महिला उद्यमीको आर्थिक समृद्धि हो । मेलाले उत्पादित वस्तुको बजार व्यवस्थापन र प्रवद्र्धनमा ठूलो भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा छ । महिलाको मुख्य समस्या भनेको मार्केटिङ कमजोर हुनु हो । मार्केटिङ क्षमता विकासका लागि तालिम दिने गरेका छौँ । घरेलु उद्यम सञ्चालन गर्ने तर उद्योगको रूपमा दर्ता नगर्ने चलन पनि छ । हामी उद्यमीहरूलाई दर्ता हुनका लागि प्रेरित गर्छौं ।
 

 

Leave A Comment