नेपाली फिल्म खेल्दाखेल्दै भोजपुरी फिल्म उद्योगमा पुगेका विराज भट्ट त्यताका ठूलै स्टार बने । रवि किसन, मनोज तिवारी र निरहुवापछि उद्योगमा उनकै दबदबा थियो । पाँच वर्ष उनले नेपाली फिल्म उद्योगमा आँखा पनि लगाएनन् । तर, अचानक निखिल उप्रेतीले ‘कमब्याक’ गरेर हल्लाखल्ला मच्चाएको देखेपछि विराजलाई सायद लाग्यो, म पनि के कम ? उनले पनि कमब्याक गर्ने उद्घोष गरे । यसका लागि उनले आफ्नै पुराना मित्र रोज राणाको भरोसा गरे । ‘परशुराम’ नाममा घोषणा भएको फिल्म ‘जय परशुराम’ शीर्षकमा रिलिज भयो ।
फिल्मभित्र विराज कैयौँ चोटि हावामा उडेका थिए । तर, फिल्म रिलिज भएपछि यथार्थमा निर्माता भुइँमा बजारिए । करोडभन्दा बढी लगानी भएको फिल्मले चार भागमा एक भाग पनि पैसा उठाएन । रिलिजअघि विराजले वर्षमा छानेर मात्र फिल्म गर्ने बताएका थिए । तर, ‘जय परशुराम’ रिलिज भएको लामो समय बितिसक्दा पनि उनले दोस्रो फिल्म खेल्न लागेको खबर बाहिरिएको छैन । सुन्नमा आएको छ– विराज फेरि भोजपुरी फिल्मतिरै फर्किएका छन् । तर, ‘जय परशुराम’को गति देखेपछि मनमनै उनी भनिरहेका होलान्– ‘जय भोजपुरी !’
Leave A Comment