शहरमा एउटा मजनू

आइतबार, ०१ फागुन २०७३, १२ : १७ डिबी खड्का , Kathmandu
शहरमा एउटा मजनू

पानी यस्तरी दर्किरहेको थियो कि जमल आइपुग्दा म चढेको ट्याक्सी गुडेको वा पौडिरहेको हो, खुट्याउन मुश्किल प¥यो । भित्रसम्मै भिजाउन आइपुग्यो पानी । ट्याक्सी ड्राइभरले नयाँ बसपार्कदेखि यहाँ पुगुन्जेलसम्म थुप्रै गीत परिवर्तन गरे तर गायिका परिवर्तन गरेनन् । एउटै गायिकाको विरही भाकाले ट्याक्सी झंकृत भइरह्यो ।

‘तपाईं यी गायिकाको फ्यान हो ?’ घण्टाघर कट्नै लाग्दा मैले उत्सुकता थाम्न नसकेर मुख खोलेँ ।
‘होइन, यिनको बुढा हो,’ गुरुजीले ठट्टामिश्रित प्रश्न गरे, ‘तपाईंलाई के लाग्छ ?’
म हाँसे । यस्तो परिस्थितिमा हाँस्न सक्ने जति खित्का छाडेर हाँसेँ । उसो त ड्राइभरको स्वभावै रसिक हुन्छ भन्ने आमधारणा छ ।
‘यत्रो बाटोभरि एउटै गायिकाका गीत सुनाएको भएर प्रश्न गरेको । सायद फ्यानै हुनुहुन्छ,’ मेरो उत्तर थियो ।
‘भाग्यले साथ दिएको भए यिनको बुढो भइन्थ्यो । साथ दिएन, स्रोता भएँ,’ उनी दुईअर्थी कुरा गर्दै गए । आफूले ड्राइभरको काम गरेकोमा उनलाई हीनताबोध छ जस्तो लागेर मैले ‘काम सानोठूलो हुँदैन’ भनेर भनिँदै आइएको आदर्शको सानोतिनो ‘लेक्चर’ दिएँ उनलाई ।
‘त्यस्तो केही होइन । मेरो काममा खुशी छु । कुरो अर्कै हो । बाटो–बाटोमा भेटिएका मान्छेसँग के भन्नु ? भइगो,’ उनी तर्किए । त्यसपछि उनको पहिलो वाक्य ‘बुढा’को ‘नेक्सस’ ती गायिकासँग कहीँ न कहीँ गएर जोडिन्छ भन्ने लाग्यो । उनीसँग एउटा ‘ट्र्याजिक स्टोरी’ भएको अनुमान पनि गरेँ । तर, उनी थप बताउन तयार नभएकाले सोधिनँ । किन कसैलाई ‘टर्चर’ दिनु ? मलाई रातबिरात हिँडिरहनुपर्ने भन्दै उनको फोन नम्बर मागेँ र ट्याक्सी नम्बर टिपेँ ।
०००
त्यसपछि कति दिन ट्याक्सी चाहिएर उनलाई बोलाएँ । कति दिन उनीसँग निकटता बढाउनका खातिर आवश्यक नभए पनि ट्याक्सी चढेँ । किनभने, मलाई उनको विगत उत्खनन् गर्नु थियो । अनेक गफ गरेँ । चिया खाजासम्म सँगै खाइयो । तर, धेरै दिनसम्म पहिलो दिन भएको कुरा कोट्याइनँ । ड्राइभर र पेसेन्जरको औपचारिक सम्बन्ध मित्रतामा परिणत भएको ठानेपछि मैले एक दिन उनलाई पहिलो भेटमा भएको कुरा सोधेँ । उनले कसैलाई नबताउने शर्तमा ती गायिकासँग जोडिएका अतीतका पत्रहरू उप्काए । मनोरञ्जन दुनियाँको रिपोर्टिङ गरिरहेको मैले एउटा ‘स्कुप’का लागि ती ड्राइभरसँग निकटता बढाएको थिएँ । तर, उनले कुरा टुंग्याइसक्दा म आफैँ गोपनीयता कायम राख्ने स्थितिमा पुगेको थिएँ । मैले ती ड्राइभरसँग छुट्टिँदै गर्दा नढाँटी भनेँ, ‘म स्कुप समाचारका लागि तपाईंको पछि लागेको थिएँ । अब यस विषयमा समाचार लेख्दिनँ । बरु कुनै दिन कथा लेख्छु ।’
उनले हाँसेर भने, ‘तपाईंलाई साथी ठानेर सबै कुरा बताएँ । लेख्न त जेसुकै लेख्नुस्, कथा लेखे नि हुन्छ, उपन्यास लेखे नि हुन्छ । तर, मित्रताको धर्म चाहिँ नछोड्नु होला ।’ गुरुजी वाचाल छन् ।  
 ०००
अहिलेको जमानामा प्रेमका पुजारीहरू भेट्न निकै मुश्किल छ । अझ यसो भनौँ– लैला–मजनू भेटिँदैनन्, रोमियो–जुलिएट एक साथ भेटिँदैनन् । तर, कतै लैलाहरू भेटिन्छन्, कति मजनूहरू भेटिन्छन् । एक्लाएक्लै । यी त्यस्तै मजनू हुन्, जसकी लैलाले जीवनको एक मोडमा उनलाई हुत्याएर फालिदिए पनि उनी उनलाई उत्तिकै माया गर्छन् । सदाबहार माया । त्यसैले सुन्छन्, उनकै गीत । भन्छन्, ‘अर्की गायिकाको गीत सुनेको दिन उनीमाथि सौता हालेजस्तो लाग्छ ।’
अहिले एउटा रामै्र उचाइ बनाएकी ती गायिका कुनै दिन घनघोर संघर्षमा थिइन् । उनी गायिका बन्न काठमाडौँ शहर उत्रिएकी त थिइन् तर उनीसँग गायिका बन्नका लागि प्रकृतिले दिएको स्वरबाहेक केही थिएन । गला थियो, गाउने कला थियो तर गला र कलाको करामत देखाएर सफल हुन चाहिने पूर्वाधार केही थिएन । ती गायिकाको जीवनको यही निरस पूर्वाद्र्धमा भेट भएको रहेछ, यी गुरुजीसँग ।
यी ड्राइभर र ती गायिकाबिच भेट भएको त्यो रात ।
त्यस्तै रातको १ बजेको हुँदो हो । दिनरात उस्तै व्यस्त रहने दरबारमार्गको चहलपहलको थोरै छाया मात्रै थियो जमलतिर । उनी प्यासेन्जर कुरिरहेका थिए । झण्डै एक घण्टादेखि एउटी युवती कोही वा केही कुरिरहेकी थिइन् । रात बढ्दै जाँदा चिसोले पखेटा फैलाइरहेको थियो भने ती युवती खुम्चिँदै गइरहेकी थिइन् । रातको एकान्तमा ती युवती लामै समय कुरेपछि यी ड्राइभरको मनमा एक खालको कौतूहल जाग्यो । ट्याक्सी चलाउन थालेको एक वर्षमा उनी मान्छेको अनुहार पढ्न सक्ने भएका थिए । जस्तोः ट्याक्सी चढ्ने हैसियतको मान्छे हो कि होइन ? रातकी रानी हुन् कि होइनन् ? साँच्चिकै अप्ठ्यारोमा परेको मान्छे हो कि होइन ?
उनले नजिकै गएर सोधे, ‘बहिनी कसलाई कुरेको ?’
उनको अनुहारमा निराशा थियो । सानो स्वरमा बोलेकी थिइन्, ‘साथी लिन आउनुपर्ने, आएन ।’
अहिलेको जस्तो ‘कहाँ पुगिस् ?’ भनेर मोबाइलमा घण्टी बजाइहाल्नुपर्ने जमानाको कुरा थिएन यो । कुरा मोबाइल सर्वसाधारणको पहुँचमा पुग्नु केही वर्षअघिकै हो ।
तिनको ‘बिचरा’ अवस्थाले यी ट्याक्सी ड्राइभरको मनमा सहानुभूति पलायो । प्रस्ताव गरे, ‘म पु¥याइदिन्छु । कहाँ हो डेरा ?’
उनले पैसा नभएको सुनाइन् । यिनले ‘कुनै दिन सम्झेर दिनू’ भनेर डेरासम्म पु¥याइदिए ।
उनी रात्रिकालीन रेस्टुरेन्टमा गाउने गर्थिन् । झण्डै १२ बजेसम्म गीत गाएपछि उनलाई लिन नियमित एउटा ट्याक्सी आउँथ्यो र उनी मासिक
रूपमा भाडा बुझाउँथिन् । तर, त्यो महिना उनी बिरामी भइन् । उपचार गर्न गीत गाएबापत आउने पैसा पहिल्यै मागेर खर्च गरिन् । त्यसपछि ट्याक्सी ड्राइभरलाई भाडा दिने पैसा रहेन उनीसँग ।  एक महिनाभन्दा केही दिन घर्के पनि ती ट्याक्सी ड्राइभरले बोके तर पैसा नभएको बताएपछि उनले केही नभनेरै त्यो दिन उनलाई लिन आएनन् । त्यसपछि उनी त्यसरी पर्खेर बसेकी रहिछन् । यी गुरुजीले भेटे ।
यी ट्याक्सी ड्राइभरको कथा बेग्लै छ । उमेरले भर्खर २२÷२३ वर्ष पुगेका उनी दिउँसो कलेज जान्थे र राति ट्याक्सी चलाउँथे । ती गायिका भर्खर १८÷१९ तिर हुँदी हुन्, त्यो बेला । उनले डेरामा पु¥याएपछि आफ्नो कथा नढाँटी भनेकी थिइन् ती गायिकाले । दुःखका सबै रूप–स्वरूप, रङ–वर्ण देखेका यी कलिला ट्याक्सी ड्राइभरको मनमा मायाको टुसा पलायो । माया अर्थात् एउटा दुःखमा परेकोले अर्काे दुःखमा परेकोलाई देखाउने मित्रताको भाव ।
उनले हरेक रात आफू पु¥याइदिने र त्यसबापतको रकम भएपछि मात्रै तिरे हुने बचन दिए । उनले अप्ठ्यारो मानिन् । उनले भने, ‘अप्ठ्यारो मान्नुपर्दैन । एउटा दुःखीको दुःख अर्काे दुःखीले देख्ने हो । सर्पको खुट्टा सर्पले मात्रै देख्छ भनेझैँ ।’
ती गायिकासँग विकल्प पनि थिएन । सकारिन् । यसरी दुःख बाँड्न आइपुगेको ट्याक्सी ड्राइभरको माया कुन दिन मुटुभित्र बस्यो ? गायिकालाई पत्तै भएन । उनले दिउँसो सँगै खाजा खाने प्रस्ताव राखिन् एक दिन । त्यही बेला आफूलाई महसुस भएको कुरा बताइदिइन् । यी ट्याक्सी ड्राइभरले पनि कहीँकतै उनको नाम सजाइसकेका थिए मनमा । त्यसैले प्रेम प्रस्ताव स्विकारे ।
उनमा पछि गएर राम्री गायिका बन्ने प्रशस्त सम्भावना देखेका थिए यिनले । त्यही भएर पनि गायन करिअर उकास्न र गायकी माझ्न सक्दो सघाए । प्रेम भएपछि रात, दिउँसो मात्रै होइन, बिहान संगीत कक्षासम्म पु¥याउने काम पनि गर्न थाले । मीठो स्वरकी धनी यी गायिका शारीरिक हिसाबले कमजोर थिइन् । लामो समय बिरामी परेकी थिइन् । त्यसैले गुरुजीले देखभाल पनि गर्न थाले । उनले दुःखमा साथ दिए, कुनै दिन सुख आउने आशा थियो ।
एउटा प्रेमिकालाई प्रेमीले केसम्म गर्छ ? त्यो भन्दा धेरै गरे यिनले । खाल्डाखुल्डी भएको काठमाडौँको सडकमा गायिकालाई धक्का लाग्ला भनेर छल्दै हिँडे । उनी भन्दै थिए, ‘बरु दुई किलोमिटरको घुम्ती रोजेँ, बिग्रेको बाटोमा यिनलाई बोकेर गुडिनँ ।’ आकाशका तारा टिपेर ल्याइदिने सपना देखाउने होइन, धर्तीमा आफ्नो हैसियतले पूरा हुने सारा विपना पूरा गर्न चाहन्थे यी । त्यसैले केही वर्षसम्मको प्रेममा यिनले धेरैथोक गरे ।
आफ्नो कमाइले उनको गायन क्षमता निखार्न गर्न सकिने सबै गरे । बिस्तारै उनको स्वरको प्रशंसा हुन थाल्यो । दुःखसुखमा साथ दिने मान्छे भेटेपछि ती गायिकाका तनाव कम भए । बरु उनको दुःखसमेत आफैँमाथि थपेर गुरुजीले थप संघर्ष गरे । उनको खुशीका लागि आफ्नो मनमा कुनै अपेक्षा हुर्किनै दिएनन् ।
उनको सौन्दर्यदेखि स्वरसम्म दुइटै निखारिँदै आए । उनलाई सुहाउँदिलो कपडादेखि सौन्दर्य सामग्रीसम्म यिनले ख्याल गरेर ल्याउँथे । मन परेको मान्छेलाई परीको अवतार दिन चाहन्थे यिनी । दिए पनि ।
यिनले गोडमेल गरेर हुर्काएपछि ती गायिका रहरलाग्दी फूल बनेर फक्रिइन् ।
फुलेको गुलाबमा अब धेरैका आँखा पर्न थाले । बिस्तारै गायिका पनि परिवर्तन हुन थालिन् । नाम चल्न थालेको थियो, दाम पनि आउन थालेको थियो ।
गायिका अर्कै युवासँग नजिकिँदै गएको चाल पाए गुरुजीले । ती गायिकाको व्यवहार दिनप्रति दिन बदिलिँदै गइरहेको थियो ।
र, एक दिन उनले आफ्नो जिन्दगीले अर्कै मोड लिइसकेको बताइन् । आफू अर्कैकी भइसकेकी बताइन् । यी गुरुजीले जीवनका संघर्ष, आफूले गरेका दुःख र आफूले मायामा कमी हुन नदिएका सबै कुरा सम्झाए । तर, उनी सम्झिने अवस्थामा थिइनन् ।
गुरुजीले सम्झिए, ‘उनले छाडेर गएको त्यो दिन मेरो हाल जमलमा भेटिएकी ती गायिकाको जस्तै महसुस गरेको थिएँ । जिन्दगीको अँध्यारो रातमा गाडी नपाएको यात्री जस्तै ।’ उनले जिन्दगीकै गाडी छुटेको महसुस गरेका थिए । अलपत्र परेका कति यात्रुलाई गन्तव्यसम्म पु¥याएका उनी त्यस दिन आफैँ अलपत्र परे । छ न त हातमा स्टियरिङ थियो, तर गन्तव्य थिएन । जाने कहाँ, पुग्ने कहाँ ? कुनै टुंगो थिएन । एकमन त उनलाई जिन्दगीको यात्रा त्यहीँनेर टुंग्याइदिऊँ जस्तो नलागेको होइन । तर, दुःखको सागरमा पौडिरहेकी आमा र स्कुल पढिरहेका भाइबहिनीका अनुहार झलझली आँखामा आए ।
चित्त बुझाए । बुझाउँदै गए ।
धोका दिएर जानेले हिँडेको बाटो हिँड्नै नपरोस् भन्ने मानवीय स्वभाव हुन्छ । तर, यिनले त्यसरी कहिल्यै सोचेनन् । ती गायिकाको पहिलो एल्बम बजारमा आएपछि आफैँले सय प्रति किनेर साथीभाइलाई बाँडेका थिए । सबै ट्याक्सीवालाले आफूले सुने र यात्रुलाई सुनाए । प्रचारको यो तरिकाले ती गायिकालाई लोकप्रिय बनाउन के कति भूमिका खेल्यो, वा खेलेन, यिनलाई थाहा छैन । तर, त्यसपछि ट्याक्सी चालकहरूले ती गायिकाको गीत खोजीखोजी सुन्ने भइसकेका थिए । कति उनलाई नै सोध्थे, ‘त्यो गायिकाको नयाँ गीत आएन ?’
जीवनमा ती गायिकाका बारेमा सुखको समाचार आउँदा खुशीले उफ्रिन्थे र दुःखका समाचार आउँदा रुन्थे ।
ती गायिकाले सदाका लागि हात हल्लाएको दिन उनलाई यिनले भनेका थिए, ‘दुःख पायौ भने भन्नू । जीवनभरि सहयोग गर्छु ।’ तर, त्यसपछि धनको दुःख कहिल्यै भएन ती गायिकालाई ।
शहरियाहरूले भ्यालेन्टाइन्स डे मनाउने अनेक तरिका छन् । यही शहरको छातीमा कुदिरहेका यिनको पनि आफ्नै तरिका छ । अघिल्लै दिन पहिलोपल्ट भेटेर खाजा खाएको रेस्टुरेन्टको एउटा टेबल बुक गर्छन् । अनि दिनभरि एक्लै बस्छन्, कानमा हेडफोन लगाएर उनकै गीत सुन्छन् ।
त्यो रेस्टुरेन्टका मालिक कति फेरिए, कति । एउटा नफेरिएका ग्राहक हुन् यी । ती गायिकालाई माया गर्ने पनि कति आए होलान् वा कति गए होलान् ? तर, सधैँ माया गर्ने सायद यी एक्लै हुन् ।
तिनलाई भेटेपछि मलाई लाग्यो, मायाको खडेरी परेको यो शहरमा भकारीभरि मायाको अनाज साँचेर बस्ने पनि हुँदा रहेछन् । सायद यस्तै अद्भुत प्रेमीहरूको सानो संख्याले मान्छेको प्रेमप्रतिको विश्वासलाई मर्न दिएको छैन ।

Leave A Comment