विपिन कार्की, अभिनेता
म पहिलादेखि लजालु स्वभावको थिएँ । केटीहरूको मामिलामा त झने लजालु । १० कक्षा पढ्दा एक जना केटी मन परेको थियो । उनी त्यतिखेर ९ कक्षामा पढ्थिन् । दुई/तीन वर्ष प्रेममा पनि परियो । त्यो एउटा आकर्षण मात्र थियो । प्रेम भएको भए सायद लामै समयसम्म हामी सम्बन्धमा हुन्थ्यो होला । पछि, परिवार र करिअरबारे सोच्न थालेँ । पे्रमबारे सोचै गएन ।
बद्री पंगेनी, लोकगायक
त्यो बेला म कक्षा आठ मा पढ्थेँ । उनी त्यस्तै पाँच÷छमा पढ्थिन् होला । हामी दुवै एउटै स्कुलमा पढ्थ्यौँ । स्कुलमा एउटा सांस्कृतिक कार्यक्रम भएको थियो । मैले ‘तिरीरी मुरली बज्यो वनैमा’ बोलको गीत गाएको थिएँ । उनी त्यसमा नाचेकी थिइन् । उनको र मेरो गाउँ डेढ/दुई घण्टाको फरकमा थियो । हाम्रो गाउँमा भर्खर–भर्खर ट्र्याक्टर आएको थियो । ट्र्याक्टर फँसेछ हेर्न गइयो । त्यहाँ टुप्लुक्क उनीसँग भेट भयो । मेरो गाउँमा उनका आफन्त रहेछन् । उनी त्यहाँ आफन्तकोमा आएकी रहिछिन् । त्यहाँ हाम्रो नजर जुध्यो । स्कुलमा प्रार्थना गर्दा पनि हेराहेर हुन्थ्यो । उनी जुन लाइनमा बस्थिन् म पनि उनैको सीधा पारेर बस्थेँ । एकअर्कालाई हेर्न पाइयोस् भनेर । बिस्तारै, प्रेम पत्र साटासाट भए । केही समयपछि उनको बिहेको कुरा चल्यो । तर, उनकी आमाले हाम्रो प्रेमलाई सफल पारिदिनुभयो । बालापनको त्यही प्रेम मेरी जीवनसंगिनी कल्पना भट्टराई हुन् ।
रजनी केसी, अभिनेत्री
म ९ कक्षा पढ्दाको कुरा हो । प्रेम नै नभनौ क्रस होला । एउटा मान्छे साह्रै मन पथ्र्यो । स्कुलसँगै पढ्ने भएकाले सधैँ भेट हुन्थ्यो । त्यो बेला सीधै ‘आई लभ यू’ भन्ने चलन थिएन । मैले पहिला प्रेम प्रस्ताव राखिनँ । उसैले भन्ला कि भनेर कुरेर बसेकी थिएँ । दुवै बच्चै थियौँ । प्रेमबारे न ऊ बोल्यो, न मैले मुख खोलेँ । अहिले ऊ विदेशमा छ । सामाजिक सञ्जालमा हाम्रो कुराकानी भइरहन्छ । अहिले ऊ ‘मैले तिमीलाई मन पराउथेँ’ भन्छ । म भने उसको कुरा टार्न खोज्छु । ‘मैले तिमीलाई मन पराउँदिनथिएँ’ भनेर झुट बोलिदिन्छु ।
आँचल शर्मा, अभिनेत्री
सानो बेलामा मेरो कक्षामा अनुप शाही भन्ने एक जना केटा थियो । त्यो केटालाई मन पराउथेँ । कक्षा ठ्याक्कै याद छैन । ऊ कक्षामा सबैभन्दा राम्रो देखिन्थ्यो । ‘आज सपनामा तिमीलाई देखेको नि’ भन्दै उसलाई सुनाउँथे । मेरो एक जना केटी साथी पनि ऊसँग मिल्थी । मलाई भने साह्रै रिस उठ्थ्यो । त्यो बेला म उसैसँग बिहे गर्छु भन्थेँ । म बाहुन, ऊ नेवार । हाम्रो जात पनि मिल्दैनथ्यो । आमाबुबा र आफन्तले नेवारसँग भाग्ने भयो भनेर जिस्काउनुहुन्थ्यो । अलि ठूलो भएपछि त उसले मलाई दिदी पो बनायो ।
अशिष्मा नकर्मी, अभिनेत्री
कक्षा सातमा पढ्दाताकाको कुरा हो सायद, मेरो स्कुलमा सन्तोष सर भन्ने एक जना शिक्षक हुनु्हुन्थ्यो । उहाँले सामाजिक पढाउनुहुन्थ्यो । क्लासका अरू साथीलाई पनि सन्तोष सर खूब मन पर्नुहुन्थ्यो । सरको कक्षा भनेपछि छुट्टै खालको उत्साह जाग्थ्यो । सर स्कुल आउनुभएन भने ‘किन स्कुल आउनुभएन होला ?’ भनेर खोजीनिती गर्थें । एक हिसाबले दुःखी हुन्थेँ । त्यो उहाँलाई मैले गरेको सम्मानपूर्वक माया हो । जुन उहाँको पढाउने शैली र व्यवहारबाट प्रभावित भएर गरेको थिएँ ।
दीपाश्री निरौला, हास्यकलाकार
सानो बेला म धेरैजसो हाफ पाइन्ट लगाएर हिँड्थेँ । सबैले मलाई केटाको जस्तो व्यवहार गर्थे । केही समयपछि बलिउड अभिनेत्री काजोलको ‘कुछ कुछ होता है’ फिल्म हेर्दा काजोलको क्यारेक्टर आफैँजस्तो लाग्न थाल्यो । केटाहरूले प्रेम प्रस्ताव राख्ने आँटै गर्दैनथे । एसएलसीताका म गहिरो मायामा परेँ । हाम्रो प्रेम दुई÷तीन वर्षसम्म नै चल्यो । जात नमिलेकाले घरपरिवारबाट खूबै गाली खाइयो । त्यो हाम्रो प्रेम हैन, आकर्षण मात्र रहेछ । पछि ऊ भारत पढ्न गयो । अहिले पनि हाम्रो फेसबुक र फोनमा कुरा भइरहन्छ । तर, राम्रो साथीका नाताले मात्र । उसको बिहे भइसकेको छ ।
दिया मास्के, अभिनेत्री
त्यो बेला म आठ/नौँ कक्षामा पढ्थेँ । स्कुलमा मिस्टर जोशी भन्ने एक जना सर हुनुहुन्थ्यो । उहाँले भूगोल पढाउनुहुन्थ्यो । उहाँ हेर्दा एकदमै राम्रो हुनुहुन्थ्यो । पहिलो पटक मलाई राम्रो लागेको केटा त्यही सर हो । केटीहरू उहाँलाई टीबीएच भनेर जिस्काउँथे । टीबीएच भनेको ‘टल, ब्ल्याक एन्ड ह्याडन्सम’ । स्कुलका धेरै केटीले उहाँलाई मन पराउँथे । उहाँको पहिलो नाम त याद छैन । सबै उहाँलाई जोशी सर भनेर बोलाउँथे ।
रीमा विश्वकर्मा, अभिनेत्री
नौ कक्षामा पढ्दाको कुरा हो । मलाई मेरो अकाउन्ट टिचर साह्रै मन पर्नुहुन्थ्यो । त्यसलाई बालापनको प्रेम भन्दा पनि हुन्छ । उहाँ असाध्यै कडा स्वभावको हुनुहुन्थ्यो । तैपनि, म मन पराउँथेँ । उहाँ निकै अनुशासित हुनुहुन्थ्यो । कक्षामा हामीले पनि अनुशासित भएर बस्नुपथ्र्यो । उहाँ निकै मेहनती हुनुहुन्थ्यो । उहाँको काम गर्ने शैली पनि राम्रो थियो । यसलाई प्रेम भन्ने कि उहाँको काम र व्यवहारप्रतिको सम्मान ।
प्रस्तुतिः सृजना खड्का
Leave A Comment