मन फरक, मुटु फरक

मङ्गलबार, ०३ फागुन २०७३, ०१ : ३६ डा. रवि शाक्य , Kathmandu
मन फरक, मुटु फरक

मानव सभ्यतामा मुटु र मनलाई पर्यायवाची शब्दका रूपमा प्रयोग गरिन्छ । साहित्यकार र कविहरूले पनि यसै गर्छन् । माया दर्शाउन रातो मुटु, दुःखलाई टुटेको मुटु, दयालुलाई ठूलो मुटु, डरपोक वा कञ्जुस जनाउन सानो मुटु आदि अवधारणा शुभकामना कार्ड, स्टिकर, खेलौना, चकलेट, केक तथा उपहार सामग्रीमा चित्रित भएका छन् । तर, विज्ञानको दृष्टिमा यो धारणा सरासर बेठीक छ  । कारण मन र मुटु एउटै होइनन् । मुटु मांसपेशीले बनेको यान्त्रिक पम्प मात्र हो । यसको मद्दतले शरीरको कुनाकाप्चासम्म रक्तसञ्चार हुन्छ । मुटुको जटिल शल्यक्रिया गर्दा अथवा मुटु फेर्दा यसलाई पूर्ण रूपमा अलग्याएर, कृत्रिम यन्त्रले सहजै ज्यान धान्न सकिन्छ । यस्तो मुटुविहीन अवस्थामा पनि मान्छेले सबै भावना महसुस गर्न सक्छ । अर्थात्, मनको घर मुटुमा छैन । आजभन्दा पाँच सय वर्षअघि वैज्ञानिक लियोनार्दो दा भिन्चीले मानव शरीरको गहन अध्ययनको क्रममा पत्ता लगाइसकेको तथ्य हो यो । तैपनि, विज्ञानबाहेक अन्य विधामा अझै मान्यता नपाएको वा भनुँ मान्यता पाएर पनि व्यवहारमा नआएको तथ्य हो यो ।
विज्ञानमा मनलाई मस्तिष्कको समस्त कार्यकारिणी पक्ष, अर्थात् दिमागलाई कम्प्युटरसित द“ाज्दा मनलाई सफ्टवेयर भनेर बुभ्mन सकिन्छ । समस्त सोचविचार, भावना, आवेग, बुद्धि, विवेक, चेतना मुटुबाट नभई दिमागबाट नै उत्पन्न हुन्छन् । मुटुलगायत सम्पूर्ण अगंप्रणालीको सञ्चालन केन्द्र पनि मन नै हो  । सबै अंग एकआपसमा यस्तरी सम्बन्धित हुन्छन् कि एकमा कुनै असर पर्दा अर्कामा पनि त्यसको प्रतिअसर देखिन्छ । मुटुले अपरिहार्य खाद्यपदार्थ र अक्सिजन आपूर्ति गर्न रक्तसञ्चार गर्ने हुनाले कुनै पनि प्रक्रिया हुनुअगाडि सर्वप्रथम मुटुलाई कार्यभार थपिन्छ । अतः हरेक भावनाले प्रथमतः मुटुमा केही असर परेको महसुस भइहाल्छ । यसर्थ  भावनाहरू मुटुबाटै उत्पन्न भएको भ्रम हुन्छ । यस प्रक्रियालाई कम्प्युटरको हरेक क्रियाकलाप पहिला स्क्रिनमा देखापर्दा स्क्रिनले नै समस्त गतिविधि नियन्त्रण गर्छ भन्ने गलत निचोड निकाल्नुसँग दा“ज्न सकिन्छ ।
दैनिक वार्तालापमा यस गलत धारणाले खासै नोक्सानी त नगर्ला तर मनको रोगलाई मुटुको रोग भन्दै गलत अनुसन्धान र उपचार गरेर समय र स्रोत तथा अमूल्य जीवन बर्बाद गर्नुलाई कुनै पनि हालतमा उचित मान्न सकिन्न । उदासी, तनाव, डर, चिन्ताजन्य मानसिक रोगमा अवश्य मुटुसम्बन्धी लक्षण धेरथोर हुन्छन् । उक्त लक्षणबाट सजग भएर मानिसहरू मुटुको रोग भन्दै मुटु रोग विशेषज्ञकहाँ पुगिहाल्छन् ।  जनसाधारणले त  अञ्जानमा गल्ती गर्छन् नै । तर, तथाकथिक विज्ञहरूदारा धेरैजसो निजी फाइदाका लागि जानाजान वा कहिलेकाहीँ मानसिक रोगको विभेदबाट बच्न झुट बोल्दै अपूर्ण वा गलत उपचार गर्दे बिरामीहरूलाई झुलाइराख्नु दुःखदायी कुरा हो । कतिपय अवस्थामा मानसिक रोग भनेर चिनिसकेपछि पनि अरूले हेप्लान् भन्ने डरले बिरामीहरू पनि सकेसम्म सही ठाउँमा उपचारका लागि जान हिचकिचाइरहेका हन्छन् । र, स्रोतसाधन र कहिलेकाहीँ त जीवन नै बर्बाद गरिरहेका हन्छन् ।
त्यसो त मुटु र मन एउटै नभए पनि दुईको सम्बन्धै छैन भन्ने चाहिँ होइन । शरीर र मन छुट्टिनै नसक्ने एकआपसका पूरक भएकाले एउटालाई अप्ठ्यारो हुँदा अर्कोमा पनि स्वाभाविक रूपमा नकारात्मक प्रभाव पर्छ । अर्थात्, मन अस्वस्थ हुँदा मुटुको रोग पनि ह्वात्तै बढ्छ । विशेष मानसिकता भएका व्यक्तित्वहरूलाई मुटु रोगको खतरा बढी हुन्छ । बढी महŒवाकांक्षी, अत्यन्त व्यस्त, आफूलाई सधँै चुनौती र तनावमा राख्ने व्यक्तिहरूलाई उच्च रक्तचाप, हृदयाघात हुने सम्भावना बढी हुन्छ । उदासी (डिप्रेसन) का बिरामीलाई मुटुको रोग हुने जोखिम अरूलाई भन्दा दोब्बर हुने गर्छ । त्यस्तै, चिन्ताको रोगले पनि मुटुको रोग निम्त्याउँछ । यस्ता मानसिक समस्या हुनेहरूले लागुपदार्थ बढी सेवन गर्ने, अनिद्राको शिकार हुने, खानपिनमा ध्यान नदिने हुनाले समस्यामाथि समस्या थपिन्छन् । फलतः मुटुको रोगको  जोखिम पनि बढ्छ । त्यस्तै, मुटुको रोग सँगै अनेक मानसिक रोग पनि देखापर्न थाल्छन् ।
 

Leave A Comment