नेपाली हास्यव्यंग्य क्षेत्रमा चर्चित नाम हो– दीपकराज गिरी । हास्य सिरियल ‘तीतो सत्य’बाट चम्किएका अभिनेता हुन् उनी । विविध कारणले उनी चर्चा र विवादमा आइरहने अभिनेतामा पर्छन् । नेपाली मनोरञ्जन जगत्मा सुनिने कुराहरूका आधारमा अनिल यादवले उनलाई आठ अभियोग लगाएका छन्, जसको सफाइ उनले यसरी दिए :
१ तपाईं ‘कपिक्याट’ एक्टर हो । जिन्दगीभर अरूकै नक्कल गरेर दर्शक हँसाउनुभयो ।
त्यसरी भन्न सकिन्छ । पहिलो कुरा म यो क्षेत्रमा ‘क्यारिकेचर’बाट आएको हुँ । अर्को कुरा मेरो ‘बेस’ रेडियो हो । बिस्तारै मैले आफूलाई हास्यकलाकारका रूपमा स्थापित गरेर यहाँसम्म आइपुगेको हुँ । मलाई विशुद्ध अभिनेता बनेर घरमा ट्रफी जम्मा गर्नु छैन र निर्मातालाई डुबाउनु छैन । सबैभन्दा ठूलो कुरा चाहिँ म ‘सेलेबल’ छु । कपी गर्ने मान्छेहरू त आएर गइसके, हराइसके । मेरा साथीहरू सबैले पेन्सन पकाइसके । तर, म २० वर्षदेखि निरन्तर टिकिरहेको छु । अहिले ‘लाइमलाइट’को ‘क्लाइमेक्स’मा छु । त्यसैले मलाई कपी ग¥यो भन्नु बिनसित्ति सराप्नुजस्तै हो । जसले मलाई त्यस्तो आरोप लगाउँछ, तिनीहरूलाई म के भन्न चाहन्छु भने कुनै पनि क्यारेक्टरको अभिनय गर्नु आफैँमा कपी नै हो । उदाहरणका लागि– मैले माग्नेको भूमिका गर्नुप¥यो त्यो माग्नेको कपी नै हुन्छ । जसले मलाई यो आरोप लगाउनुहुन्छ, उहाँहरूलाई धन्यवाद । भारतमा पनि अमिताभ बच्चनलाई दिलिप कुमारको कपिक्याट भनिन्छ, शाहरूख खानलाई अमिताभको भनिन्छ । र, बिकाउ पनि तिनीहरू नै छन् ।
२ तपाईंले सधैँ आफ्नो सिरियल र फिल्ममार्फत महिलाको मजाक मात्र उडाउनुभयो । तपार्इंको मनमा महिलाप्रति सम्मान नै छैन ।
यो आरोप केही हदसम्म सही होला । किनभने, म कमेडी गर्दाखेरि ‘जेन्डर’ हेर्दिनँ र हेर्नु पनि हुँदैन । पुरुष खलनायक हुन सक्छ भने महिला किन हुन सक्दैन ? महिला पनि त मान्छे हो । ‘जेन्डर बायस्ड’ हुनु नै गलत कुरा हो । फिल्ममा महिला खलनायक हुँदा अपमान हुने, पुरुष खलनायक हुँदा चाहिँ पुरस्कार पाउने भन्ने हुन्छ र ? समाज बिगार्नेमा महिलाको हातै छैन भन्ने हुन्छ र ? बदमास महिला नै नहुने भए जेलमा महिला कैदी नै नहुनुपर्ने हो । भनेपछि यो पनि एउटा विषय हो । मेरो सिरियलमा श्रीमतीले मलाई ‘तिमी’ भनेर सम्बोधन गरेकी छे । मेरो भन्दा अगाडि श्रीमतीले श्रीमान्को खुट्टा मिचेको देखाइन्थ्यो । मैले नै औँला उठाएर लोग्नेसँग झगडा गर्ने क्यारेक्टर बनाएँ । यो अभियोगसँग फिल्म ‘६क्का पन्जा’को क्यारेक्टरको कुरा पनि जोडिन्छ । यो फिल्ममा पथभ्रष्ट महिलाको मात्र कुरा भयो, बाघजस्तो झगडा गर्न आउने लोग्नेलाई तह लगाउने प्रियंकालाई कसैले याद गरेन । समाज परिवर्तन गर्ने, लोग्नेले पिट्दा पुलिस बोलाइदिने क्यारेक्टरलाई कसैले ख्याल गरेन । त्यसकारण नकारात्मक दिमाग हुनेहरूलाई प्रतिउत्तर दिइरहनु उचित छैन अब । आफ्नो काम गर्दै जाने हो, समाजमा जे छ त्यो देखाइदिने हो । जहाँसम्म सम्मानको कुरा छ, फिल्ममा पैसा हालेर पहिलोपल्ट महिलालाई नै निर्देशनको अवसर दिनु अपमान हो र ?
३ समसामयिक विषयवस्तुमाथि तपाईं गहिराइमा नपुगीकन हचुवा भरमा टिप्पणी गर्नुहुन्छ र आलोचनाको पात्र बन्नुहुन्छ ।
त्यो होला । किनभने, टिप्पणी भनेको अनुसन्धान गर्ने अवसर होइन । यो घटनाको कारण के होला ? यसको दोषी को होला ? भन्दै माइक लिएर गएर इन्टरभ्यू लिने मान्छे पनि होइन म । पेट्रोलको भाउ बढ्यो त त्यसमा व्यंग्य हान्ने हो । अब किन बढ्यो ? कसको दोष छ ? भन्दै छुट्याउने मेरो काम होइन । सामाजिक सञ्जालमा अरूले पनि यसरी नै टिप्पणी गर्ने हो । तर, अरूले चाहिँ के चाहन्छन् भने दिपकराज गिरीले चाहिँ अनुसन्धान गरोस् । म अनुसन्धान अधिकृत पनि होइन । कलाकार हुँ । आफूलाई लागेको भावना लेख्छु । फेसबुकमा टिप्पणी गर्दाखेरि म कलाकार भएर गर्दिनँ, एउटा नागरिक भएर लेख्छु । जहाँसम्म सिनेमाको कुरा छ, त्यहाँ त विषयवस्तुको तहसम्म पुगेर नै यहाँसम्म आइपुगेको हुँ । नत्र त सिनेमा फ्लप हुन्थ्यो नि !
४ तपाईं निकै घमण्डी मान्छे हो । अरूको कुरा कम सुन्ने र आफ्नो कुरालाई मात्र सही ठान्नुहुन्छ ।
यो कुरा मलाई धेरै मान्छेहरूले पनि भनेका छन् । एक त मेरो उपस्थितिबाट पनि त्यस्तो लाग्न सक्छ । कसैको आँखै घमण्डी लाग्न सक्छ, कसैको मुख नै घमण्डी लाग्न सक्छ । अहिले मेरो फिल्म ‘६क्का पन्जा’जति अरूको फिल्म हिट भएको भए झन् के–के भन्दै हिँड्थे होलान् । तर, मैले कहिल्यै घमण्डी लाग्ने अभिव्यक्ति दिएको छैन । म मेरो कर्ममा घमण्ड गर्दिनँ । जसले मलाई अपहेलना गर्न खोज्छ, जसले मलाई चाहिने जति सम्मान दिँदैन, जति म ‘डिजर्भ’ गर्छु, तिनीहरूको लागि चाहिँ म घमण्डी छु । अर्को कुरा, म सामाजिक सञ्जालमा हरेक मान्छेसँग अन्तरक्रिया गरिरहेको हुन्छु, ‘रिप्लाई’ गरिरहेको हुन्छु । घमण्डी मान्छेले त्यस्तो गर्दैन । ट्याक्क एउटा स्ट्याटस हाल्छ र अरूले जेसुकै भनून्, बाल दिँदैन, रिप्लाई गर्दैन ।
५ तपाईं आलोचना सुन्न रुचाउनुहुन्न । कसैले तपार्इंको सिर्जनामाथि नकारात्मक टिप्पणी ग¥यो भने तत्काल ‘रिएक्ट’ गर्नुहुन्छ, रिसाउनुहुन्छ ।
थुप्रै लागेका आरोपमध्ये यसमा अलिकति बढी सत्यता होला । कसैले ‘६क्कापन्जा’ झुर फिल्म हो भन्यो भने म सुन्न सक्दिनँ । ‘६क्कापन्जा’मा कमीकमजोरी छन् भन्यो भने सुन्छु फेरि । कसैले मलाई नियतवश आलोचना गर्न खोज्छ भने म प्रतिवादमा उत्रिहाल्छु । कसैले नियतवश ‘६क्कापन्जा’ झुर भन्छ भने म प्रतिवादमा उत्रिन्छु । किनभने, सय दिनसम्म फिल्म हलमा आउने दर्शकलाई डोकोमा बोकेर ल्याइएको हुँदैन । ‘त्यो फिल्मले मलाई छोएन’, ‘सोचेजति रहेनछ’ भन्ने खालको टिप्पणी म स्विकार्छु तर झुर भन्नु त अति भएन र ? त्यसैले म फेरि पनि के भन्न चाहन्छु भने म आलोचना सहन्छु तर गाली सहन्नँ ।
६ तपाईं आफ्नो गल्ती कहिल्यै स्विकार्न चाहनुहुन्न । उदाहरणका लागि– तपाईंको मापसे कारबाही प्रकरणलाई लिन सकिन्छ । त्यतिबेला लामो समयसम्म तपाईं लाइसेन्स लिन प्रहरी कार्यालय पुग्नुभएन ।
एक त गल्ती नस्विकारेको भए मैले मापसे कक्षा लिने नै थिइनँ । तर, त्यो बेलामा ‘टेक्निकल’ गडबडी के भएको थियो भने मलाई खासमा एउटा सजाय दिइसकिएको थियो । एउटा डीआईजीले ‘तपाईंलाई एक घण्टाको कक्षा दिएर छोड्यो भने त अन्याय हुन्छ । तपाईंलाई त काम लाउनुप¥यो नि’ भन्दै विना पैसा विज्ञापन बनाउन लाउनुभयो । एक घण्टाको कक्षा लिनुको सट्टा मैले चार–पाँच लाख खर्च गर्नुपर्ने विज्ञापनलाई विना पैसा बनाइदिएँ । त्यति नै बेला डीआईजी परिवर्तन भएर अर्को आइपुगे । ‘विज्ञापन बनाइदिएर कहाँ हुन्छ ?’ भन्दै मलाई दोहोरो सजाय दिन खाजे । त्यही कुरामा विवाद उत्पन्न भएको थियो । नत्र भने त म कानुनको एकदमै सम्मान गर्छु । ट्राफिकले लाइसेन्स माग्नासाथ विना प्रश्न लाइसेन्स दिने मान्छे हुँ म । गल्ती नगरीकन गल्ती स्विकार्दिनँ तर गल्ती गरेको छु भने स्विकार्छु । त्यो दिन कारबाहीमा परेदेखि मैले आजसम्म मापसे गरेर गाडी कुदाएको छैन । यो त गल्ती स्विकारेको भएन र ?
७ तपाईं अभिनेत्री दीपाश्री निरौलासँग आवश्यकताभन्दा बढी निकट हुनुहुन्छ ।
म दीपाजीसँग निकट हुँदा अरूलाई के प्रोब्लम ? यसले कसलाई ‘प्रोब्लम’ छ ? मेरो निकटताले कोही मान्छे प्रताडित हुँदा, समस्यामा हुँदा त्यो बेग्लै कुरा । अब दीपाजी र मेरो सहकार्यले यति ठूलो कीर्तिमान हुँदा अरूलाई आपत्ति हुन्छ भने त मलाई केही भन्नु छैन । नत्र भने त हाम्रो सम्बन्ध सार्वजनिक स्थानमा अंकमाल गरेर, मान्छेले हेर्नै नहुने गरी देखिएको त छैन । हाम्रो सम्बन्ध हदभन्दा बढी छ भनेर कसैले भन्छ भने त्यो त अनुमान मात्रै हो । हाम्रो सम्बन्ध शिष्ट छ, अनुशासित छ । त्यसैले यो आरोप होइन, सराप हो ।
८ फिल्म अवार्डप्रति तपाईंको आसक्ति डरलाग्दो छ । आफूले पाउँदा ठीक, नपाउँदा त्यही अवार्ड बेठीक भइदिन्छ ।
यो ५० प्रतिशतजति सही आरोप हो । पछिल्ला धेरै दिनदेखि म अवार्डबारे बोल्दै आइरहेको छु । आफूले नपाएकोमा आक्रोश पनि हो । कुनै ठाउँमा आफूलाई पुरस्कारलायक छु भन्ने लाग्छ भने र त्यहाँ त्यस्तो भएन भने म चुप लागेर बस्न सक्दिनँ । यो मेरो समस्या हो । हाम्रो हरेक फिल्मको मेरुदण्ड संवाद हो । र, हामीभन्दा संवादको हिसाबले कमजोर फिल्मलाई हाम्रै अगाडि अवार्ड लिएर हिँडेको हेर्न सक्दिनँ । त्यस्तो अवस्थामा मैले आवाज उठाएको हुँ । अब यसलाई पनि म सुधार गर्छु । यो आठौँ आरोप स्वीकार गर्दै मैले के निर्णय गरेँ भने अबआइन्दा अवार्डबारे टिप्पणी गर्दिनँ । भारतमा अक्षय कुमारको जस्तो ‘म अब अवार्डको लायक छैन’ भन्छु । हामी पब्लिकलाई राम्रो र सुपरहिट सिनेमा दिन्छौँ । त्यसलाई हेर्न दर्शक आइदिन्छन् । दर्शकप्रति हामी नतमस्तक छौँ । त्यसैले हाम्रो फिल्म र मलाई अब अवार्ड चाहिँदैन ।
Leave A Comment