उद्यमले खारिएका महिला

आइतबार, १५ फागुन २०७३, ०१ : ४४ शुक्रवार , Kathmandu
उद्यमले खारिएका महिला

–रचना श्रेष्ठ
महिला उद्यमी महासंघले दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आयोजना गरेको थियो । काठमाडौँ, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा फागनु ३ देखि ७ गतेसम्म मेला चलेको थियो । महिलाद्वारा सञ्चालित साना तथा मझ्यौला उद्योगको प्रवद्र्धन, विकास एवं प्रचारप्रसारका लागि मेला आयोजन गरिएको थियो । मेलामा सय वटा स्टल रहेका थिए ।  
स्टलपिच्छे थरी–थरीका हस्तकला, काष्ठकला, धातुकला, कृषि व्यवसाय, शृंगारलगायत थुप्रै सामग्री राखिएका थिए । साथै, देशका विभिन्न भागमा पाइने जडीबुटी, प्राकृतिक रेसा, बाँसबाट बनेका सामान, छालाजन्य सामान, सुनचाँदी, अगरबत्ती, मैनबत्ती, पस्मिना, ऊनी, सुती, ढकिया, क्रिस्टल, साज सज्जाका सामान पनि मेलामा देखिए ।
मेलामा देशका विभिन्न भागका महिला उद्यमीले सहभागिता जनाएका थिए । पश्चिमाञ्चलबाट प्रदर्शनीका लागि आएकी ४२ वर्षीया अमृतदेवी बानियाँले आर्थिक तवरमा मजबुत भए कसैले हेप्न र चेप्न सक्दैनन् भनेर आफू घरेलु व्यापार–व्यवसायमा लागेको बताइन् । ‘मलाई समाजसेवामा एकदमै रुचि थियो । तर, घरपरिवारलाई मैले समाजसेवा गरेको मन पर्दैनथ्यो,’ महिला उद्यमी संघ नेपाल म्याग्दीकी अध्यक्षसमेत रहेकी अमृतदेवीले भनिन्, ‘आफू र अरू महिलाका लागि रोजगारीको बाटो खुलाउन मैले घरेलु व्यापारलाई रोजेँ ।’
हस्तकलाका सामान, हातेकागज, सिस्नु पाउडर, टिम्मुर, अदुवाको क्यान्डीलगायत खाद्य तथा अन्य सामग्रीको कारोबार गर्ने अमृतदेवीले बताइन् । म्याग्दीबाट  लोकल भुजा, टिम्मुर, सिस्नुको पाउडर, गुन्द्रुकजस्ता खाद्य सामग्री मौसमअनुसार स्वदेश तथा विदेशमा निर्यात हुने अमृतदेवीको भनाइ छ । ‘अमेरिका, कोरिया, माल्दिभ्स, जर्मनलगायत देशमा हाम्रा सामानको राम्रो बजारीकरण भएको छ,’ उनले भनिन्, ‘सामुदायिक वनमा पाइने काँडाको झारबाट रगत चुहाइ टिम्मुर टिप्नुपर्छ । गर्न सके आठ÷दश लाखसम्म  यसको व्यापार हुन्छ र यसको माग उच्च रहेको छ ।’
सिस्नु टिपी त्यसको डाँठबाट बोक्रा निकाली घण्टौँ भिजाउने र त्यसबाट धागो निकाल्न १५ दिन र तानका लागि तयार पार्न एक महिना लाग्ने उनले बताइन् । ‘यसबाट ब्याग, पर्स, स्टकोट, टोपीजस्ता लत्ताकपडा बनाउन सकिन्छ,’ उनले भनिन्, ‘हतपती फाँट्दैनन् सिस्नुबाट बनेका लुगा । निकै बलिया हुन्छन् ।’ घरेलु उद्योगबाट थुप्रै महिलाले काम पाएको र उनीहरूलाई घरव्यवहार धान्न सजिलो भएको पनि अमृतदेवीले बताइन् ।  
मेलाकै लागि काठमाडौँ आइपुगेकी पूर्वाञ्चल पाथीभरा टेलर्स तथा प्रशिक्षण केन्द्र, सुनसरीकी २९ वर्षीया सुमित्रा भट्टराईले पढाइभन्दा हातको सीप फाइदाजनक रहेको बताइन् । ‘म्यानेजमेन्ट विषय लिएर कक्षा १२ सम्म पढेँ । पढ्दाताका पनि बुटिकतिर सितारा भर्ने काम गर्थें,’ उनले भनिन्, ‘दुईचार अक्षर चिनेको र तीनमहिने टेलरिङ तथा क्रिस्टलका सामान बनाउन सिकी यसैमा लागेँ ।’ आफ्नो संस्थामा १६ जना महिलाले काम गर्ने उनले बताइन् । मखमलको जुत्ता, गुडिया, क्रिस्टलका गहना, साजसज्जाका सामान आफ्नो आयआर्जनको स्रोत रहेको उनको भनाइ छ । ‘क्रिस्टलका सामान बनाउँदा निकै आँखा खान्छ, हात घोच्छ,’ उनले अनुभव साटिन्, ‘तैपनि, त्यस कामबाट दुईचार पैसा कमाउँदा खुशी नै लाग्छ ।’
भक्तपुरको लक्ष्मी हेन्डिक्राफ्टकी प्रोपराइटर हुन्, भक्तपुर डेकोचाकी चन्द्रलक्ष्मी प्रजापति ।  उनले पनि मेलामा सहभागिता जनाएकी थिइन् । १० जना स्टाफ राखेर उनले नेवारी कपडाको व्यापार–व्यवसाय गर्दै आएकी छिन् । ‘ऊलनबाट बनाइने स्कुल ड्रेस, ज्याकेट, हाकुपटासी, टोपी बनाउँछौँ,’ उनले भनिन् ।
१८ वर्षीया अनीता तामाङले हस्तकलाको काम गर्न थालेको एक वर्ष भयो । प्लस टू पढ्दै गरेकी उनले आफ्नो पकेटमनीका लागि यो काम गर्ने बताइन् । ‘पढाइबाहेकको समय हस्तकलामा दिन्छु । यसबाट पकेटमनी निस्किहाल्छ’ उनले भनिन् । ललितपुर, सानेपास्थित नेपह्यान्ड फेल्ट ह्यान्डीक्राफ्टमा उनले काम गर्छिन् ।
मेलामा कोरिया, फिलिपिन्स, चीनलगायत देशका महिलाले पनि आफ्नो सीप प्रदर्शन गरे । हातबाट बनाएका ब्याग, जुत्ता, पर्स, गहना, सौन्दर्य सामग्रीको प्रदर्शन उनीहरूले मेलामा गरे ।
४० वर्षीया लता घिमिरेले जेलमा बसेका महिलाहरूले बनाएका ब्लाउज, कुर्तामा राख्ने झुम्कासमेत प्रदर्शनीमा रहेको जनाइन् । लताले महिला उद्यमी संघ नेपाल, चितवनकी प्रतिनिधि हुन् ।
उद्यमी महिलाहरूको मेला एकदमै राम्रो रहेको श्रीमान्सँग आएकी सिनामंगलकी प्रेम भुजेलले बताइन् । ‘मैले ३० हजारजतिको सामान किनमेल गरेँ,’ उनले भनिन्, ‘श्रीमान्का लागि अल्लोबाट बनेको कोट किनिदिएँ ।’
महिला उद्यमी महासंघकी संयोजक शारदा रिजालले मेलामा तरकारीदेखि पत्थरसम्मका सामान राखेको बताइन् । ‘गत वर्ष ७० वटा स्टल मात्रै थिए । यसपालि सय स्टल छन्,’ उनले भनिन्, ‘यस्ता अन्तर्राष्ट्रिय मेलाले महिलाहरूमा भएको क्षमता र सिर्जनामा निखार ल्याउँछ । मेलामा आफूले गरेको देखाउन पाइन्छ र अरूले गरेको काम हेरेर सिक्न पाइन्छ ।’ नेपालमा मात्र नभई विदेशमा पनि हस्तकला, काष्ठकलाको माग बढेको रिजालको भनाइ छ ।

 

Leave A Comment