‘म त फिरन्ते टाइपको मान्छे’

सोमबार, १६ फागुन २०७३, ०१ : ५८ अनिल यादव , Kathmandu
‘म त फिरन्ते टाइपको मान्छे’

‘सुन साइँली’ यतिबेला बजारमा भाइरल भइरहेको एउटा गीत हो । यसका गायक हुन्– हेमन्त राना । उनको ‘लैजा रे’ बोलको गीत पनि निकै रुचाइएको थियो । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः

बजारमा गीत हिट भइसकेपछि ‘साइँली’ एल्बम विमोचन गर्नुभएछ । किन आवश्यक प¥यो ?
एउटा गीत पो हिट भएको हो त । एल्बममा त आठवटा गीत छन् । ती सबै गीतबारे जानकारी दिन विमोचन आवश्यक देखियो ।  

तपाईंका गीत बजारमा एकदमै कम आउँछन्, तर आएपछि निकै चर्चित हुन्छन् । ‘लैजा रे’पछि ‘सुन साइँली’ निकै ठूलो ग्यापमा रिलिज भयो र हिट भइरहेको छ ।
त्यो साँचो हो । मैले पहिलो एल्बम ‘पाप पुण्य’ सन् २००६ मा निकालेको थिएँ । तर, बजारमा चलेन । त्यसपछि केही राम्रो उपस्थिति जनाउने गरी आउने सोच बनाएँ । केही समयको ग्यापमा ‘लैजा रे’ निकालियो । गीत भाइरल नै बन्यो । फेरि लामो ग्यापपछि अहिले आएको छु । खासमा मलाई गीतको संख्या बढाउनमा कुनै रुचि छैन । म स्तरमा ध्यान दिन्छु । मलाई संगीतमा मात्र नभएर हरेक क्षेत्रमा धैर्य चाहिन्छ भन्ने लाग्छ । आफू कन्फिडेन्ट नभइञ्जेलसम्म हतार गर्नुहुन्न भन्ने लाग्छ । तयारीसाथ आउँदा अवश्य सफल भइन्छ ।

तपाईंका गीत भाइरल हुनुको कारण के होला ?
मेरो विचारमा गीत भनेको मनोरञ्जन मात्रै होइन, सन्देश पनि हो, चेतना पनि हो । वास्तविकता पनि हो । गीत भनेको स्वर र शब्द मात्र होइनन्, आत्मा पनि हो । गीत गाइसकेपछि त्यसले मान्छेको आत्मामा राज गर्न सक्नुपर्छ भन्ने लाग्छ । अनि, मात्र गीत गाउनुको सार्थकता पूरा हुन्छ । म गीतमा यी सबैको सन्तुलन मिलाउने प्रयास गर्छु । त्यसैले मेरा गीत रुचाइन्छन् जस्तो लाग्छ ।
तपाईंका दुइटै चर्चित गीत ‘लैजा रे’ र ‘सुन साइँली’मा भाइरल गायकको परिचय बनाएका कालिप्रसाद बाँस्कोटाकै संगीत र शब्द रहेका छ्न । यो संयोग हो कि सहकार्य ?

दुवैको गीत यसरी भाइरल हुनु त संयोग नै होला । तर, हाम्रो ट्युनिङ मिलेको ‘लैजा चरी’ देखि नै हो । उहाँसँग मेरो पहिलोपल्ट सन् २००९ मा भेट भएको हो । त्यतिबेला हामी दुवैमा संगीतको भोक थियो । त्यही बेलामा ‘लैजा रे’ बोलको गीत निक्लियो । त्यो गीतपछि मैले उहाँको शब्द र संगीतको शक्ति महसुस गरेँ । अहिले ‘सुन साइँली’को खास हिरो पनि उहाँ नै हो । मैले त उहाँले जन्माएको गीतलाई हुर्काउन सघाएको मात्र हुँ ।

तपाईंका गीत आफ्नो जीवनसँग कति नजिक हुन्छन् ?
मेरो जीवनसँग मेल नखाने कुरै हुँदैन । म दाङमा जन्मेँ । बर्दियामा हुर्कें । नेपालगञ्जमा पढेँ । पछि यता काठमाडौँ आइयो । घरपरिवारलाई गाह्रो नपारी आफैँ केही गर्न खोज्थेँ । देशको माहौल पनि यस्तै छ । युवाहरू सबै पलायन भएका छन् । गाउँघर रित्तो छ । यस्तैयस्तै इस्यू उठाउन खोज्छु । फेरि, म आफैँ पनि अढाई वर्ष अमेरिका बसेँ । त्यहाँ धेरै देखेँ । नेपालीहरू कत्रो मरिहत्ते गरेर अमेरिका पुग्छन् । विरक्त लाग्छ !   

जतिबेला बजारमा ‘लैजा रे’ हिट भइरहेको थियो, त्यही बेला किन अमेरिका जानुभयो ?
म जतिबेला यहाँबाट अमेरिका गएँ, त्यो बेलामा राम्रै कमाउँथेँ । हाम्रो ब्यान्ड पनि थियो । ब्यान्डको कमाइ महिनामा चारपाँच लाख रुपैयाँसम्म पुग्थ्यो । तर, म फिरन्ते टाइपको मान्छे । एक ठाउँमा टिक्न सक्दिनँ । जिन्दगी भनेको ‘एक्स्प्लोर’ गर्ने हो जस्तो लाग्छ । कहिले यहाँ, कहिले त्यहाँ । ठ्याक्कै भन्दा म आफ्नो जीवन आफ्नै तालमा जिउन रुचाउने मान्छे हुँ ।
तपाईं उसु खेलाडी हुनुहुन्थ्यो । संगीतमा कसरी आउनुभयो ?
वास्तवमा भन्नुपर्दा म संगीतमा आउनु एउटा संयोग मात्र हो । दाइ सुधीरबाट प्रभावित भएर उसु खेलाडी बनेको थिएँ । त्यतिबेला देशमा द्वन्द्व चलिरहेको थियो । थुप्रै मेडलहरू पनि जितेकै थिएँ । तर, पनि देशको अवस्थाले गर्दा खेलको विकासबाट खासै सन्तुष्ट हुन सकिनँ । अब के गर्ने भन्ने भयो । एक दिन यसै गुनगुनाइरहेको थिएँ, निरज शाक्य दाइले ‘तिमी राम्रो गाउँदा रहेछौ, संगीतमा किन ट्राई नगरेको ?’ भन्नुभयो । त्यसपछि संगीतमा मेरा संघर्षका दिन सुरु भए । दुई वर्ष त स्टुडियो धाएरै बितेको थियो ।

उसु कति वर्ष खेल्नुभयो ?
१० वर्ष खेलेँ । गायक बन्छु भन्ने लागेकै थिइनँ त्यतिबेलासम्म । के बन्छु भन्थेँ, के भएँ । तर, अहिले जे छु, खुशी छु ।
संघर्षका दिनलाई कसरी सम्झनुहुन्छ ?
सुन्दर लाग्छन् ती दिनहरू । गाडी भाडा नभएर राति स्टुडियोबाट घरसम्म हिँडेर पुगिन्थ्यो । त्यो हिँडाइमा कत्ति पीडा थिएन । साथीहरू हुन्थ्यौँ । गाउँदै हिँड्थ्यौँ । रमाइलो हुन्थ्यो । बाटोमै गीत कम्पोज हुन्थ्यो ।

रेस्टुरेन्टतिर पनि गाउनुभयो, होइन ?
हो नि । लामो समय रेस्टुरेन्टमा गाइयो । त्यतिबेलै मैले सिक्नका लागि रेस्टुरेन्ट राम्रो प्लेटफर्म भएको थाहा पाएँ । गीतको आत्मा त्यहीँबाट चिन्न थालेँ । बारमा गाउँदा सबभन्दा सन्तुष्टि मिल्थ्यो । ५० जनाले लाइभ हेर्थे । लाइभ ताली बजाउँथे । ठूलो उपलब्धि थियो त्यो । छ/सात वर्ष रेस्टुरेन्टमा गाएँ ।
स्रोताले यति धेरै मन पराइदिएपछि गायकको जिम्मेवारी पनि बढ्छ होला नि ?
अवश्य बढ्छ । हरेकले गीतको तुलना गर्न थाल्छन् । गीतको ओज महŒवपूर्ण हो जस्तो लाग्छ । हिट र फ्लप सेकेन्डरी कुरा हुन् । कुनै राम्रो गीत पनि फ्लप हुन्छ । कुनै चानचुन लागेको गीत पनि हिट भइदिन सक्छ ।
हामीकहाँ एउटै गीतको ब्याज लामो समयसम्म खाइरहने प्रवृत्ति छ । तपाईंले पनि त्यही गर्नुहुने त होइन ?
ब्याज खाने कुरा छैन । अरू गीत पनि यो भन्दा राम्रो बनाउन सक्छु भन्ने आँट छ । राम्रा गीत पछाडि पर्न सक्छन्, त्यो फरक कुरा हो । तर, यति भए अब पुग्छ भन्ने कुरा कलामा हुँदैन । अघाउने कुरा छैन । जति खायो, उति भोक लाग्दो रहेछ ।
अमेरिकाबाट फर्किएपछि ब्यान्डलाई रिफर्म गर्नुभएछ ?
हो । ब्यान्डको नाम ‘द इनर कोर’ राखेका छौँ । ब्यान्डलाई उचाइमा पु¥याउन प्रयास गरेका छौँ । विदेशका कन्सर्टहरूमा ब्यान्ड नै लिएर जान्छु । म आफू मात्र नभएर टिम नै बाहिर आओस् भन्ने चाहन्छु ।
‘साइँली’को चर्चासँगै व्यस्तता पनि बढेको होला ?
थुप्रै देशहरूबाट कन्सर्टको अफर आइरहेको छ । त्यो भन्दैमा खनिने कुरा भएन । व्यवसायिकता देखाउनुप¥यो भन्ने पनि सोचेको छु । यही मौकामा अब ब्यान्डलाई पनि केही गर्छु । बल्ल कसैले मलाई खोजिरहेको जस्तो महसुस भएको छ । म केही समय मरेको जस्तो भएँ । अहिले फेरि जन्मेजस्तो भएको छु ।
तपाईंका गीत पनि गम्भीर, मान्छे पनि गम्भीर भन्छन् नि ?
म दोहोरो चरित्रको मान्छे छु । आफ्नो ग्रुपमा सबभन्दा धेरै बोल्ने टाइपको मान्छे हुँ । ड्रिंक गर्दिनँ, तर बढी मलाई लागिरहेको हुन्छ रे । ग्रुपभन्दा बाहिर चाहिँ चुपचाप । कम बोल्ने खाले देखिन्छु ।
‘साइँली’माथि फिल्म बन्ने कुरा आइरहेको छ रे ?
त्यो पक्का हो । गीत हिट भयो भनेर बनाउन लागेको होइन । कथावस्तु पहिले नै तयार थियो । फिल्मको सुटिङ कात्तिकदेखि सुरु हुन्छ ।
‘साइँली’ गीतको भिडियो निर्देशन तपाईं आफैँले गर्नुभएछ । निर्देशनतिर पनि मोह छ हो ?
त्यस्तो मोह नै त नभनौँ । म्युजिक भिडियो मात्र गरेको हुँ, फिल्म गर्दिनँ ।
अहिलेको नेपाली गीतको ट्रेन्डलाई कसरी लिनुभएको छ ?
बल्ल नेपाली स्रोताले नेपाली गीततिर चाख राख्न थालेको अवस्था छ । लोक बेसका गीत अहिले धेरै चल्न थालेका छन् । फिल्ममा पनि लोक ट्युन भएका गीत चलिरहेका छन् ।  

तपाईंलाई सुफी सिंगर पनि भनिन्थ्यो नि ?
जतिबेला म रेस्टुरेन्टमा गाउँथेँ, मलाई सुफी सिंगर भन्थे । त्यहाँ हाई स्केलका गीतको माग धेरै हुन्थ्यो । नुसरत फतेह अली खान, राहत फतेह अली खान, कैलाश खैरका गीत धेरै गाउन थालियो । तर, म सुफी सिंगर होइन । यो हुनु त ठूलो कुरा हो । म त यसो अरूले गाएका गीत मात्र गाउने हो ।

 

Leave A Comment