राेमाञ्चक धान राेपाइँ

बुधबार, १५ असार २०७३, ०९ : ५३ शुक्रवार , Kathmandu
राेमाञ्चक धान राेपाइँ

असार १५ को दिन बुधबार कृषिमन्त्री हरिवल गजुरेलले गमलामा धान रोपाइँ गरे पनि मुलुकभरिका किसानले खेतमै धान रोपाइँ गरेका छन्। हिमाल, पहाड, तराई सबै भेग किसानले असार १५ मा धान रोपाइँ गरेका छन्। ‘व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ सरकारले पनि धान दिवस मनाएको छ।

मनसुनको आगमनसँगै किसानहरुमा नयाँ जोश तथा हर्ष थपिएको छ। मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरुलाई भ्याई नभ्याई छ। बिहानको सूर्योदयदेखि अस्तसम्म खेतमै व्यस्त रहने कृषक हिलो र पानी खेल्दै तथा असारे भाकामा गाउँदै थकान भुलाउने गर्दछन्। सरकारले कृषकलाई प्रोत्साहन गर्न केही वर्ष पहिलेदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ। याे दिन कृषकहरु दही–चिउरा खाएर पनि धान दिवस मनाउने गर्छन्।

नेपालमा धानखेती हुने करिब १५ लाख हेक्टर क्षेत्रफलमध्ये आजसम्म १८ प्रतिशत रोपाइँ भएको छ। कृषि मन्त्रालयका अनुसार तराईमा ७० प्रतिशत, पहाडमा २६ तथा हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ। 
खानामा भात खाने बानीमा सुधार गर्दै गहुँ, फापरको रोटी, आलुलाई खानामा समावेश गर्न सके नेपालमा चामलको अभाव विज्ञकहरुको दाबी छ। 

सन् २०३० सम्म वार्षिक साढे छ लाख मेट्रिक टन धानको माग हुने भएकाले त्यसको आपूर्तिका लागि कम्तीमा पनि १६ प्रतिशत धान उत्पादनमा वृद्धि गर्नुपर्ने हुन्छ। पछिल्लो १० महिनामा नेपालले रु १८ अर्ब ८६ करोडको चामल आयात गरेको छ। 

विस्तारै र ढिलै भए पनि सरकारले देशमा कृषको योगदान र भूमिकाको कदर हुने अवस्था सिर्जना हुँदै गएको छ। पछिल्लो समय नेपालको कृषि क्षेत्र निर्वाहमुखीबाट व्यवसाय आधारित बन्दै गएको छ। आइतबार भक्तपुरको चाँगुनारायण क्षेत्रमा रोपाईंका यी रोमान्चक दृश्य देखिए।

 

Leave A Comment