गएको ठीक एकसाता अघिको कुरा हो, महानगरीय अपराध महाशाखा, नयाँ बानेश्वरमा मंगलबार दिउँसो करिब साढे १२ बजेतिर एउटा फोन आयो। फोनमा रेडियो नेपालका एक कर्मचारी निकै हतासपूर्ण स्वरमा बोलिरहेका थिए। ‘सर, महोत्तरी जिल्ला निवासी एक जनाले रेडियो कार्यक्रममा फोन गरेर स–परिवार नै आत्महत्या गर्ने लागेको बताए। सक्नुहुन्छ भने छिटो एक्सनमा उत्रिनुहोला।’
यो सूचना खासमा आतंकित नै बनाउने किसिमको थियो तर अपराध महाशाखाका कर्मचारीको अनुहारको भावभंगिमामा भने कुनै परिवर्तन आएन।
प्रहरी नायब उपरिक्षक पूर्णिमा चन्दले छेउका एक कर्मचारीलाई अह्राइन्, ‘सर, जिल्लाको प्रहरी वृत्तमा फोन नम्बर बताइदिनुस् त टेलिकमलाई सोधेर।’
अर्का कर्मचारीले आदेशमा मुन्टो हल्लाए। टेलिकममा नम्बर पत्ता लगाए र जिल्लामा फोन गरेर खबर सुनाइदिए।
माथिको घटनाले सामान्य मानिसलाई भने भुइँचालो नै ल्याउँछ तर अपराध महाशाखाका कर्मचारीको अनुहार नियालिरहेको शुक्रवारकर्मीलाई अचम्म लाग्ने गरी सामान्य थियो। शुक्रवारकर्मीले सोधे, ‘सबै परिवारका सदस्यहरुले आत्महत्या गर्न खोज्दा पनि तपाईंहरु किन यति शान्त ?’
महाशाखा डेरा सरेर बानेश्वर आइपुगेको मात्र केही दिन भएको रहेछ। वरिपरि सामानहरु भद्रगोल थिए। भद्रगोल सामान यताउता मिलाउँदै प्रहरी नायब उपरिक्षक पूर्णिमा चन्दले भनिन्, ‘दिनमा यस्ता घटना ४ देखि ५ ओटासम्म आउँछन्, त्यसैले अचम्म लाग्नै छाड्यो।’
खास किन अचम्म नलाग्ने रहेछ भन्ने रहस्य नजिकै रहेका एक कर्मचारीले खुलासा गरे, ‘हिजो राति (गएको सोमबार) ११ बजेतिर काठमाडौंकै एक युवतीले फेसबुकमा आत्महत्या गर्न खोजेको खबर आयो। कुमारीस्थानबाट आएको खबरमा हामीले, लोकेसनसहित त्यहाँ नजिकको प्रहरीलाई खबर गरिदियौं। ती युवतीले आत्महत्या गरिन् या गरिनन्, बचाउन सफल भइयो या भएन भन्नेबारे खबर भने अहिलेसम्म आएको छैन।’
कोरोना भाइरसले विश्व बन्दाबन्दीमा परेसँगै सुसाइड गर्न लागेका खबरहरु पनि बढेको चन्दको भनाइ छ। त्यति मात्रै होइन, युवापुस्तामा झनै सामाजिक सञ्जालमा लेखेर या लाइभ गरेर आत्महत्या गर्नेको दर पनि बढिरहेको उनको भनाइ छ।
हालै भएका दुई घटनालाई नै हेरौं नः
घटना १
असार १८ गते राति करिब १ बजेतिर फेसबुक लाइभ आइन्, एलिजा गौतम। रातो रङको लेहेङ्गा र रातै चोलीमा फेसबुक लाइभमा आएकी उनको कपडामा चमक थियो तर अनुहारमा कालो बादल मडारिइरहेको थियो। फेसबुकको ब्याकग्राउन्डमा निकै विरही गीत बजिरहेको थियो, गीतमा समेत मर्न चाहेको भाव झल्कन्थ्यो। एलिसा क्यामेरा नजिक आउँछिन्, कान समाउँछिन् र दुई हात जोडेर नमस्कार गर्छिन्। लाइट अफ गर्छिन्, फेरि अन गर्छिन्। नजिकको टेबल तानेर पङ्खामुनि लैजान्छिन्, रातो सलले पङ्खा बेर्छिन् अनि लाइभ भिडियो बन्द गर्छिन्।
त्यसको केही मिनेटमै फेरि उनी फेसबुकमा लाइभ आउँछिन्, पहिले जस्तै कान समाउँछिन्, नमस्कार गर्छिन् र सरासर पहिले सल बाँधेर राखेको पंखा नजिकै गएर त्यहाँ टाउको घुसाउँछिन्। कुर्सीबाट हाम फाल्छिन्। करिब तीन मिनेट जति अलिअलि चलमल गर्छिन्। करिब ७ मिनेटसम्म उनी त्यही सलको सहारामा तुर्लुङ्ग झुण्डिरहन्छिन्। सात मिनेटपछि भने भिडियो बन्द हुन्छ र फेसबुकमा अटो सेयर हुन्छ।
एलिसाको अस्वभाविक हर्कत हेरिरहेका एक पत्रकारले प्रहरीलाई खबर दिन्छन्। मध्यरातमा त्यस्तो खबर पाउनेबित्तिकै प्रहरी वृत्त तात्तिन्छ। तुरुन्तै काठमाडौंमा अवस्थित अपराध महाशाखामा फोन लगाएर लोकेसन पत्ता लगाउन आग्रह गर्छ। महाशाखाले टेलिकममा फोन गर्छ र नजिकको मानिसको नम्बर पत्ता लगाउन आग्रह गर्छ। त्यो समयमा सक्रिय एक नम्बर टेलिकमले उपलब्ध गराउँछ र महाशाखाले त्यो नम्बरमा फोन गरेर लोकेसन पत्ता लगाउँछ। लोकेसन थाहा पाउनेबित्तिकै प्रहरी घटनास्थलका लागि रवाना हुन्छ। यी सबै प्रक्रिया पूरा हुँदासम्म बिहानको बजिसकेको हुन्छ। प्रहरी घटनास्थल पुग्दा यो धर्तीबाट एलिसाले बिदा लिइसकेकी हुन्छिन्।
आत्महत्याको लाइभ भिडियो भोलिपल्ट दिउँसोसम्म पनि त्यहाँबाट हटाइँदैन। मृतकले लकमा फिङ्गर प्रिन्ट राखेको र मरेपछि त्यसले काम नगर्ने भएपछि प्रहरी मोबाइल अनलक गर्न थाल्छ। फेसबुकलाई महाशाखाले भिडियो हटाइदिन पत्राचार गर्छ। कर्मचारीको अभाव देखाउँदै फेसबुकले दिउँसो करिब एक बजेतिर मात्रै उक्त भिडियो एलिसाको फेसबुक टाइमलाइनबाट हटाउँछ।
यो समयमा कतिपय युट्युबरले हेर्नुस् आत्महत्याको पूरा भिडियो भनेर जताततै पु¥याइसकेका हुन्छन्। अरु त अरु, कतिले त मृतक एलिजाकै फेसबुक लाइभको कमेन्टमा समेत त्यस्ता भिडियोका लिंक अपलोड गरिरहेको देखिन्छ।
घटना २
दाङ घटनाको तीन दिनपछि फेरि उस्तै दृश्य दोहोरिन्छ। पहेँलो टिसर्ट र पहेँलै रङको हाफ पाइन्ट लगाएकी किशोरी फेसबुक लाइभमा आउँछिन्, सिलिङमा सल झुण्ड्याउँछिन्, घाँटीलाई उक्त सलभित्र छिराउँछिन् र झुण्डिन्छिन्। ब्याकग्राउन्डमा टुङ्गटुङ्ग म्यासेजको टोन बजिरहेको हुन्छ अनि स्क्रिनमा मानिसहरुको कमेन्ट देखिइरहन्छ।
दुई मिनेट जति हात खुट्टा चल्छ, अनि त्यसपछि शान्त भएको देखिन्छ।
फेसबुकमा लाइभ हेरिरहेका केहीले प्रहरीलाई खबर गरे पनि पाँच सय मिटर मात्रै टाढा भएको घटनामा प्रहरी समयमै पुग्न असफल हुन्छ।
आत्महत्या गर्न खोज्नेको उद्धार कसरी हुन्छ ?
सामाजिक सञ्जाल फेसबुकमा लाइभ स्ट्रिमिङ गर्दै आत्महत्या गर्नेको संख्या नेपालमा तीन पुगेको प्रहरीले जनाएको छ। फेसबुकमा स्टाटस लेखेर मर्नेको संख्याबारे भने कुनै तथ्यांक नभएको प्रहरीको भनाइ छ। त्यति मात्रै होइन, आत्महत्याको सुरसार गर्दागर्दै प्रहरी पुगेर बचाएको घटनाहरु पनि धेरै छन्। प्रहरीका अनुसार, लकडाउनपछि काठमाडौंमा मात्रै फेसबुकमा स्टाटस लेखेर आत्महत्या गर्ने तयारी गरेका तीन जनाको उद्धार गरेको छ।
यसरी उद्धार गर्ने क्रममा मुख्य हात भएको महाशाखाले प्राविधिक हिसाबमा खोजतलास गर्छ। सामाजिक सञ्जालमा आएर आत्महत्या गर्न खोज्नेका लागि महाशाखाले गर्ने काम भनेकै लोकेसन या सम्पर्क नम्बर खोजेर नजिकको प्रहरीलाई उपलब्ध गराउने हो। महाशाखा कोरोनाका बीचमा टेकुबाट सरेर नयाँ बानेश्वर पुगेको छ।
प्रविधिमा कमजोर साइबर सेल
महाशाखाको कार्यालय पुग्दा भर्खरै बनेको नयाँ भवनमा टेबलहरु मिलाउने काम जारी थियो। कर्मचारीहरु डेकोरेसनलाई लिएर यस्तो गरे राम्रो र उस्तो गरे राम्रो भनिरहेका थिए। टेकु परिसरबाट नयाँ बनेश्वर सरेको दुई दिन मात्रै भएकाले सामानहरु पनि असरल्ल थिए। भवन निर्माणको काममा फिनिसिङ बाँकी थियो र कामदारहरु धमाधम रङ लगाउने र सिमेन्ट मोल्नेमा व्यस्त थिए। ठेकेदारले टेकु कार्यलय छाड्न अल्टिमेटम नै दिए पनि हतारहतार सर्नुपरेको महाशाखा प्रमुख प्रहरी नायव निरिक्षक दीपक थापाले कार्यालय पुग्नेबित्तिकै बताए।
फिल्ममा हेर्दा साइबर अपराध पत्ता लगाउने भिआइपी कोठाको वास्तविकता नेपालमा निकै दर्दनाक थियो। इन्टरनेट सुस्त गतिमा चलिरहेको थियो भने, कोही घटनालाई फाइलमा कलमले धस्काइरहेका थिए।
प्रहरीले रोक्न सक्छ आत्महत्या ?
प्रहरी नायव उपरिक्षक पूर्णिमा चन्दले प्रहरीको हातमा केही नभएको बताउँदै भनिन्, ‘आत्महत्याको मनस्थिति बनाइसकेको मान्छेलाई हाम्रो सहयोग भनेको प्राविधिक मात्रै हो तर उसलाई सामाजिक र पारिवारिक सहयोगको आवश्यकता पर्दछ। प्रहरीले अर्जेन्ट लोकेसन चाहिएमा नेपाल टेलिकमसँग सहकार्य गर्दै स्थान पहिचान गर्नेबाहेक अर्को अरु सहयोग गर्न नसक्ने पनि उनको भनाइ छ।
सामाजिक सञ्जालमा स्ट्याटस, ट्विट वा सन्देश लेखेर या लाइभ गरेर आत्महत्या गर्नेले प्रायः रातको समय खोज्ने गरेको चन्दको भनाइ छ। चन्दले भनिन्, ‘त्यो समयमा टेलिकमले पनि समयमा फोन उठाइदिन प¥यो अनि सही नम्बर उपलब्ध गराउन प-यो। यदि त्यस्तो भएमा मात्रै हामी आत्महत्या गर्न खोज्नेको स्थानसम्म पुग्न सक्छौं र सो व्यक्तिलाई बचाउन सक्छौं।’
कुराकानीको क्रममा उनले पुरानो घटना याद गर्दै भनिन्, ‘केही वर्ष पहिले मैले एउटाको ज्यान बचाउन सफल भएकी थिएँ। त्यो समयमा आत्महत्या गर्न खोजेको व्यक्तिलाई फोनमा इङ्गेज गराएर प्रहरी घटनास्थल नपुगुञ्जेल रोकेर राखेँ र उद्धार गर्न सफल भइयो।’
सामाजिक सञ्जालमा आएर आत्महत्याको प्रयास गर्नेलाई रोक्ने काममा महाशाखाको काम प्राविधिक सहयोग मात्रै भएको भन्दै चन्दले बाँकी काम, उनको नजिकका मानिसकै भएको बताइन्।
फेसबुकले दिँदैन लोकेसन
सामाजिक सञ्जाल फेसबुकको प्रमुख कार्यालय सिंगापुर र अमेरिकामा छ। नेपालमा केही घटना हुन लागे या केही हटाउनु परे फेसबुकको मुख्य कार्यालयमै पत्राचार गर्नुपर्ने हुन्छ। केही आपराधिक गतिविधि भए सुरुमा फेसबुकले लोकेसन दिए पनि अहिले भने देशको नाम मात्रै बताइदिन्छ। राइट टु प्राइभेसी अर्थात गोपनीयताको हकको कुरा गर्दै कुनै जानकारी फेसबुकले उपलब्ध नगराउँदा पनि आफूहरुले राम्रोसँग काम गर्न नसकेको चन्द बताउँछिन्। कोराना महामारीको समयमा त झनै सानो काम पनि कर्मचारी छैन भन्दै फेसबुकले पन्छाउने गरेको पनि उनको भनाइ छ।
के भन्छन् मनोविद्
सामाजिक सञ्जाल अहिले साथी भएको छ। आफ्ना कुरा सेयर गर्नेदेखि मनका कुण्ठा पोख्ने सम्मका काम सामाजिक सञ्जालमै हुने भएकाले मानिसहरु सामाजिक सञ्जालमा लाइभ गरेर आत्महत्या गर्ने गरेको मनोविद् गोपाल ढकाल बताउँछन्। ढकालले थपे, ‘माध्यम जे भएपनि आत्महत्याको प्रमुख कारण मानसिक स्वास्थ्य सही नहुनु नै हो।’
समयअनुसार पहिले सुसाइड नोट छाड्ने गरेजस्तै अहिले लाइभ स्ट्रिमिङलाई प्रयोग गरिएको ढकालको बुझाइ छ। त्यति मात्रै होइन, घटनालाई चाहिने भन्दा धेरै सनसनी बनाउँदा पनि मानिसहरु सामाजिक सञ्जालमा लाइभ आएर आत्महत्या गर्ने गरेको बुझाइ छ।
मानिसहरु आत्महत्याको भिडियो कति सेयर भयो, कति भ्युज पायो भन्ने कुरा याद गरिरहेका हुन्छन् र त्यसमा आएको प्रतिक्रिया हेरेर आत्महत्याका लागि प्रेरित हुने गरेको ढकालको भनाइ छ।
अझै कतिमा मरेपछि पनि चर्चित भइन्छ भन्ने मनोविज्ञानले काम गर्दा यस्ता सामाजिक सञ्जालको सहारा लिने गरेको उनी बताउँछन्।
सामाजिक सञ्जालमा आएर आत्महत्या गर्नेलाई बचाउने प्रहरी नै भएको पनि ढकालको बुझाइ छ। मनोविद् ढकालले भने, ‘अन्य देशमा यस्तो काममा प्रहरी सफल भए पनि नेपालमा भने प्राविधिक कारणले उति सफल भएको देखिदैन।’
साथै, सामाजिक सञ्जालमा लेखिएका निराश स्टाटसमा कसैको साथ चाहिरहेको र उद्धारको आश गरिरहेको हुने पनि ढकाल बताउँछन्। घटना केलाउँदा धेरैजसो आत्महत्या डिभोर्स भएकाहरुले गर्ने गरेको पनि ढकालले बताए।
Leave A Comment