‘डाक्टरदेखि मेकानिकसम्म मेरा क्यारेक्टर’

सोमबार, २३ फागुन २०७३, ०१ : ०४ सामीप्यराज तिमल्सेना , Kathmandu
‘डाक्टरदेखि मेकानिकसम्म मेरा क्यारेक्टर’ भुवन केसी, अभिनेता

आउँदो वैशाख १ गतेबाट भुवन केसीले अभिनय थालेको ३४ वर्ष पूरा हुँदैछ । उनले अभिनय गरेको फिल्म ‘जुनी’ २०४० सालको वैशाखमा रिलिज भएको थियो । ३४ वर्षे लामो यात्रामा भुवन केसीले पुगनपुग सय फिल्ममा अभिनय गरेका छन् । उनी मात्र यस्ता भाग्यमानी अभिनेता हुन्, जसका थुप्रै फिल्म हिट छन् । उनी अभिनीत ‘कुसुमेरुमाल’, ‘सम्झना’, ‘साइनो’, ‘चिनो’, ‘करोडपति’, ‘नेपाली बाबु’ नेपाली फिल्म इतिहासमा सर्वाधिक सफल फिल्म मानिन्छन् । आफूले निर्वाह गरेका प्रिय क्यारेक्टरबारे उनले शुक्रवारसँग कुरा गरेका छन् ।

डाक्टर विशाल
फिल्म ‘कन्यादान’को डाक्टर विशाल मलाई सबैभन्दा मन पर्ने चरित्र हो । यो फिल्ममा मैले यस्तो डाक्टरको भूमिका निर्वाह गरेको छु, जो बालविवाहका कारण विधवा भएकी केटीलाई मन पराउँछ र परिवार तथा समाजसँग विद्रोह गर्दै विवाह गर्न राजी हुन्छ । ‘कन्यादान’ यस्तो फिल्म हो, जसमा मनोरञ्जन पनि छ र शिक्षा पनि छ । जतिबेला त्यो फिल्म बन्यो, त्यतिबेला गाउँमा मानिसहरू धामीझाँक्रीमा विश्वास गर्थे । फिल्मले यससम्बन्धी चेतना मात्र दिँदैन, कुरीतिको रूपमा रहेको विधवाले विवाह गर्नु हुन्न भन्ने  सामाजिक मान्यतालाई पनि व्यंग्य गर्छ । आजभोलि पनि गाउँमा डाक्टर नभएको समाचार दिनदिनै पढ्न पाइन्छ । मेरो चरित्रको अर्को पाटो के थियो भने फिल्मको डाक्टर भने खुशी–खुशी गाउँ जान्छ र त्यहाँका मानिसको उपचार गर्न पाउँदा आनन्द मान्छ ।
म्यानेजर भुवन
‘सम्झना’ फिल्ममा चिया बगानको म्यानेजर भुवन मलाई मन पर्ने अर्को चरित्र हो । यो फिल्ममा मेरो दोहोरो भूमिका छ । म बाबु र छोरा दुवैको भूमिकामा छु । यो फिल्म खेल्दा म जम्मा २३ वर्षको थिएँ । तर, फिल्ममा मैले ६० वर्षको वृद्धको भूमिका पनि निर्वाह गरेको छु । त्यतिबेलाको समयमा त्यो एकदमै गाह्रो काम थियो । त्यही कारण पनि मलाई यो फिल्मका दुवै चरित्र प्रिय लाग्छन् । फिल्मले दुई पुस्ताको कथा भनेको छ । फिल्ममा म एकातिर आदर्श पतिको भूमिकामा छु भने अर्कोतिर आदर्श पिताको भूमिका निर्वाह गरेको छु ।
अर्जुन
‘कुसुमेरुमाल’ नेपाली फिल्मको मात्र हैन, मेरो जीवनकै पनि विशेष फिल्म हो । मैले खेलेको पहिलो फिल्म ‘जुनी’ खासै चलेको थिएन र अभिनयका हिसाबले मैले राम्रो काम पनि गर्न सकेको थिइनँ । तर, ‘कुसुमेरुमाल’मा गाउँले अर्जुनको भूमिका र मैले गरेको अभिनय मलाई विशेष मन पर्छ । फिल्मभित्र म धनी केटीलाई मन पराउँछु  र केटीले पनि मलाई नै मन पराउँछे भन्ने भ्रममा हुन्छु । तर, जब केटीले अरू कसैलाई मन पराउँछे भन्ने थाहा हुन्छ उसले त्यसका लागि आफ्नो प्रेम त्याग गर्छ । भूमिकाको हिसाबले उदितको तुलनामा मेरो भूमिका कमजोर थियो तर मेरो भागमा परेको ‘मायाको बारी’को गीत र अभिनयका कारण फिल्मको सफलताको क्रेडिट तृप्ति र उदितले भन्दा मैले बढी पाएँ ।
राजु मेकानिक
‘करोडपति’को राजु मेकानिक मलाई मन पर्ने अर्को प्रिय चरित्र हो । सम्पन्नता आजका हरेक मध्यमवर्गीय युवाको सपना हो । राजुले पनि यस्तै युवाहरूको प्रतिनिधित्व गर्छ तर यसका लागि उसले झुटको सहारा लिन्छ । धनी भएको अभिनय गर्छ । एउटा मोडमा गएर उसले सत्य कुरा बताउँछ तर उसका सबै कुरा खोसिन्छन् । यो चरित्र मलाई मन पर्ने अर्को कारण के हो भने यसले प्रेमको कोरा आदर्श फलाक्दैन, प्रेम सफल बनाउन पैसा पनि उत्तिकै आवश्यक छ भन्ने व्यावहारिक सन्देश पनि दिन्छ । गरिब भएरै उसले प्रेम त प्राप्त गर्छ तर ऊ यसैमा सन्तुष्ट भएर बस्दैन, करोडपति भएर छाड्छ ।
जँड्याहा चन्द्रे
नारी सशक्तीकरणलाई बल पु¥याउने खालका थुप्रै भूमिका निर्वाह गरेको छु । ‘दुई थोपा आँशु’मा मैले निर्वाह गरेको सुर्जेको भूमिका मलाई मन परेको चरित्र हो तर उस्तै खाले चरित्रमा थप मन परेको चरित्र भने ‘तँ तँ साह्रै बिग्रिस नि बद्री’को चन्द्रे हो । हरिवंश आचार्यले निर्माण गरेको फिल्ममा कान्छी श्रीमती ल्याएर पहिलो श्रीमतीलाई घर छाड्न बाध्य पारेपछि मेरो सहयोगमा पहिलो श्रीमतीले लिएको बदला फिल्ममा रमाइलो गरी देखाइएको छ । पुरुषले दोस्रो श्रीमती ल्याएझैँ महिलाले पनि श्रीमान् ल्याएर एकै घरमा बस्न थाले भने कस्तो अवस्था हुन्छ ? फिल्मले दुरुस्त उतारेको छ । बेसहारा महिलालाई बिस्तारै सशक्तीकरण गर्ने जँड्याहा चन्द्रेको भूमिका त्यही कारण पनि प्रिय लाग्छ, मलाई ।
आकाश
फिल्म ‘साइनो’को आकाश मलाई मन पर्ने अर्को चरित्र हो । रोमान्टिक हिरोका रूपमा स्थापित भइसकेको कलाकार सितिमिति नकारात्मक भूमिकामा देखिन रुचाउँदैन । तर, मैले ‘साइनो’मा आकाश भएर नकारात्मक भूमिका निर्वाह गरेको थिएँ । त्यो बेलामा गरेको हिम्मतका कारण पनि आकाश प्रिय लाग्छ मलाई । भनेजस्तै श्रीमती र छोरो हुँदाहुँदै पनि आकाशले अर्काकी श्रीमतिसँग नाजायज सम्बन्ध राख्छ र यही कारण आफ्नो ज्यान पनि गुमाउँछ । पछि डेनीको चरित्र मेरै घरमा आइपुग्छ र मेरै छोरासँग गहिरो मित्रता गर्छ ।  उसबेलाको जमानाअनुसार यो कथा नै ‘रिस्की’ थियो भने त्यसमाथि मेरो चरित्र त झनै रिस्की । त्यसमाथि डेनीसँग अभिनयको तुलना । फिल्म रिलिज नहुञ्जेल मानिसहरू मलाई गिज्याउँदै ‘अमिताभ बच्चनलाई अभिनयमा टक्कर दिने मान्छेले भुवन केसीलाई त काँचै खाइहाल्छ नि’ भन्थे । तर, पछि फिल्म रिलिज हुँदा मेरो अभिनयले धेरैको बोली बन्द गरिदिएको थियो ।
पत्रकार
मैंले गरेका केही पाकिस्तानी फिल्ममध्ये ‘मिस बैंकक’ले सर्वाधिक सफलता हात पारेको थियो । नेपाल, पाकिस्तान र बंगलादेशको संयुक्त लगानीमा बनेको फिल्ममा पत्रकारको रूपमा गरेको चरित्र मलाई प्रिय लाग्छ । फिल्मभित्र मैले पत्रकारको भूमिका निर्वाह गरेको छु, जो ‘मिस बैंकक’लाई मनमनै मन पराउँछ तर भन्न सक्दैन । पत्रकार भए पनि फिल्ममा मेरो चरित्र गम्भीर छैन । कमेडी शैलीको छ, जुन मैले त्यतिबेला गरिरहेकोभन्दा बेग्लै चरित्र थियो । सो फिल्ममा पाकिस्तानकी टप अभिनेत्री बाबरा सरिफले अभिनय गरेकी थिइन्, जसबाट उनले पाकिस्तानका फिल्म अवार्डमा थुप्रै अवार्ड जितेकी थिइन् । सो फिल्म नेपालमा पनि डबिङ गरेर चलाइएको थियो तर नेपालमा भने खासै चलेन ।
मनिलाको डन
‘मनिलाकी बिजलियाँ’ मैले अभिनय गरेको अर्को सफल पाकिस्तानी फिल्म हो । यो फिल्ममा मैले गरेको चरित्रको नाम याद छैन तर यसमा मैले डनको भूमिका निर्वाह गरेको थिएँ, जुन अहिले पनि रोचक लाग्छ । बैंक लुटेराको भूमिका निर्वाह गरेको छु । भर्खरका युवाहरू मिलेर बैंक लुट्ने विषयमा बनेको फिल्मलाई पाकिस्तानमा असाध्यै रुचाइएको थियो ।
जिद्दी विजय
मैले गरेका असफल फिल्मको पहिलो नम्बरमा पर्छ, ‘जिद्दी’ । यद्यपि, चरित्रका हिसाबले भने यो फिल्मको क्यारेक्टर विजय मलाई प्रिय छ । फिल्ममा मैले करिश्मा मानन्धरलाई एकहोरो मन पराउने चरित्र छ, जो आफूले चाहेको केटी पाउनलाई जे पनि गर्न तयार छ । बलिउड फिल्म ‘अग्निसाक्षी’को नाना पाटेकरबाट प्रभावित पात्र हो त्यो, तर त्यसलाई मैले आफ्नै शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।
बहिरो चोर
फिल्म ‘चोर सिपाही’को बहिरो चोर मलाई मन पर्ने अर्को चरित्र हो । फिल्ममा म कान सुन्दिनँ तर चोरी गर्दै हिँड्छु । चोरी गरे पनि यसबाट कमाएको पैसा गाउँको भलाइका लागि खर्च गर्छु । फिल्ममा राजेश हमाल, निखिल उप्रेती प्रहरीको भूमिकामा छन् । तर, फिल्ममा भूमिका चाहिँ मेरै बलियो छ । यही फिल्मबाट मैले नेफ्टा अवार्डमा उत्कृष्ट हास्य कलाकारको अवार्ड पनि पाएको थिएँ । रोमान्टिक र पारिवारिक फिल्म मात्र भुवन केसीले गर्न सक्छ भन्नेहरूलाई यो फिल्मले भुवनले कमेडी पनि गर्न सक्छ भन्ने प्रमाणित गर्छ ।  

 

Leave A Comment