फेरि आयो नोकिया ३३१०

मङ्गलबार, २४ फागुन २०७३, ०३ : १८ शुक्रवार , Kathmandu
फेरि आयो नोकिया ३३१०

नोकियाको पहिचान रहेको मोबाइल फोन ३३१० एकपटक फेरि बजारमा आएको छ । करिब १७ वर्ष पहिले लन्च भएको यो फोन विश्वमा सबैभन्दा धेरै बिक्री भएको फोन थियो । सन् २००५ मा बन्द हुनुअघि १२ दशमलव ६ करोड युनिट बिकेको थियो ।
बन्द भएको १२ वर्षपछि यो फोनको नयाँ भर्सन लन्च भएको छ । नोकियाको ब्रान्ड अब फिनल्यान्डको स्टार्टअप कम्पनी एचएमडीसँग छ । विशेषज्ञहरूले यो ब्रान्ड रिलन्च गर्ने उत्कृष्ट तरिका भनेका छन् ।

नोकिया ३३१० बलियो र सर्प खेलका लागि चिनिन्छ । एचएमडीले ३३१० को नयाँ भर्सनसँगै तीन अरू एन्ड्रोइड फोन पनि लन्च गरेको छ । प्रविधिविज्ञ बेन वुडले भनेका छन्, ‘यदि एचएमडीले नयाँ फोन मात्र लन्च गरेको भए अखबारमा सिंगल कोलम मात्र ठाउँ पाउँथ्यो । तर, नोकिया ३३१० का कारण गजबको कभरेज पाएको छ ।’ उनका अनुसार ३३१० को लन्च सोचविचार गरेर चालिएको कदम हो र यसको बिक्री बढ्नेछ ।
३३१० स्मार्टफोन नभई फिचर फोन नै हो । तर, यसमा सीमित इन्टरनेट सेवा पनि छ । यो एस ३०ं अपरेटिङ सिस्टममा चल्नेछ र यसमा थ्री–जी वा फोर–जीको सट्टा २.५ जीको सुस्त गतिको कनेक्टिभिटी हुनेछ । यसमा दुई मेगापिक्सलको एक क्यामेरा पनि हुनेछ ।

३३१० फोनको सबैभन्दा मुख्य विशेषता ब्याट्री हो । एचएमडीका अनुसार यो फोनले एक महिनाको स्ट्यान्डबाइ टाइम दिनेछ, जबकि यसमा २२ घण्टासम्म कुराकानी गर्न सकिनेछ । फोनमा सर्प खेलको नयाँ भर्सन पनि हुनेछ ।

 

Leave A Comment