होली ब्युटी टिप्स

शुक्रबार, २७ फागुन २०७३, ११ : ४६ शुक्रवार , Kathmandu
होली ब्युटी टिप्स

होलीका रङमा विभिन्न किसिमका रसायन मिसिएका हुन्छन् । ती रङ छालाका लागि हानिकारक हुन्छन् । होली खेल्नुअघि र पछि केही उपाय अपनाउन सकियो भने होलीका गाढा रङबाट बच्न सकिन्छ ।  
-  होली खेल्नुअघि अनुहारमा क्रिम गाढा गरी लगाउने । जसले गर्दा अनुहार चिल्लो त देखिन्छ तर यसले अनुहारबाट रङ छिट्टै निकाल्न मद्दत गर्छ । भ्यासलिन र फाउन्डेसनको प्रयोग पनि गर्न सकिन्छ ।
-   हातखुट्टाका नङलाई सुरक्षित राख्न नङमा गाढा नेल पोलिस लगाउनुपर्छ । त्यसमाथि कुनै चिल्लो क्रिम लगाउनुपर्छ ।
-  कपालमा धेरै तेल हाल्ने । यसले कपालमा लाग्ने रङलाई सजिलै निकाल्न मद्दत गर्छ ।
-  पूरा शरीरमा तेलको मालिस गर्ने । जसले गर्दा शरीरमा लागेको रङ सजिलै धुन मिल्छ ।

होली खेलेपछि अपनाउन सकिने उपाय
-    चिसो मौसम भएकाले नुहाउँदा तातो पानीको प्रयोग गर्न मन लाग्छ । तर, रङ निकाल्नका लागि तातो होइन, चिसो पानी प्रयोग गर्नुपर्छ । किनकि, रङ विभिन्न रसायनबाट बनेका हुन्छन् । तातो पानीमा ती रसायनको ‘रिएक्सन’ हुन सक्छ ।
-    कपालमा तुरुन्तै स्याम्पू गर्नु हुन्न । किनकि, रसायनयुक्त रङ र स्याम्पूमा हुने रसायन दुवैबाट बच्नुपर्छ । अण्डा र दहीको पेस्ट मिलाएर ४५ मिनेट कपालमा राख्नुपर्छ । यो पेस्ट निकाल्नका लागि स्याम्पूको प्रयोग गर्न सकिन्छ ।
-   भोलिपल्ट २ चम्चा मेथी, सिकाकाई पाउडर ६ चम्चा र अमला पाउउडर ३ कप पानीमा उमाल्ने र चिसो भएपछि कपालमा लगाउने ।
-   अनुहारको गाढा रङ निकाल्ने साबुन वा फेसवासको प्रयोग गर्नुभन्दा बेसन, दूध वा दही र गुुलाब जल मिसाएर पेस्ट तयार पार्ने । त्यसलाई अनुहारमा लगाउने । पेस्ट निकाल्दा मनतातो पानीको प्रयोग गर्ने ।
-    अनुहार धुँदा बिस्तारै, हलुका हातले धुनुपर्छ । जोडले रगड्दा छालामा घाउ हुन सक्छ । र, छाला रुखो भएर जान्छ ।
-    मुल्तानी माटोले पनि रङ सफा गर्न सकिन्छ । मुल्तानी माटोलाई ग्लिसरिन र गुलाबजलमा मिसाएर त्यस प्याकलाई छालामा सुक्दासम्म लगाउने र धुने ।
-    कागती र घिउकुमारीको रस मिसाएर पनि अनुहारमा लगाउन सकिन्छ । यसले पनि अनुहारको रङ निकाल्छ ।
-   होलीका रङले छालामा पोल्ने वा अन्य समस्या देखिए भने गुलाबजललाई ग्लिसरिनमा मिसाएर लगाउने ।
-    रङ निकाल्नका लागि बारम्बार अनुहार धुनु हुन्न । पटक–पटक अनुहार धुँदा छाला सुक्खा हुन्छ । रङ निस्कन झन् गाह्रो हुन्छ ।
-  होलीपछि तुरुन्तै ब्युटिपार्लरमा गएर फेसियल वा ब्लिच गर्नु हुन्न । त्यसका लागि कम्तीमा एक हप्ता कुर्नुहोस् ।

 

Leave A Comment