नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको आवेदन खुला

बिहिबार, १६ असार २०७३, ०३ : ०९ शुक्रवार , Kathmandu
नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको आवेदन खुला

यसवर्षको नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको लागि फोटोहरुको पठाउन आवेदन खुला गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको लागि फोटो आवेदनको औपचारिक रुपमा वेवसाइट पिजे क्लब डट कम डट एन्पीको उद्घाटन गरियो ।

‘हामीले फोटो प्रतियोगिताले फोटोग्राफीबारे देशभर जनचेतना फैलाउन जुटेका छौं। भूकम्पले गर्दा प्रतियोगिता गराउने स्थिति थिएन्।  आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिनेछौं, पिजे क्लबका अध्यक्ष विकास कार्कीले भने,‘यो प्रतियोगिताको पाँचौ संस्करण हो । प्रतियोगितामा सहभागि हुन चाहने प्रतियोगिहरुले पिजे क्ल्ब डट कम डट एन्पीमा गएर फोटो दर्ता गर्न सक्नेछन्। आगामी असार ३१ सम्म नेपालीले नेपालभित्र खिचेको फोटोहरु वेवसाइटमार्फत बुझाउन सक्नेछन्।

ईच्छुकले विभिन्न सात विधामा सहभागिता जनाउन सक्नेछन् ।  प्रतियोगितामा आइएमएस दैनिक जीवन, नेपाल टेलिकम प्रकृति र वन्यजन्तु, घुमफिर संस्कृति र पर्यटन, अर्घाखाची सिमेन्ट समाचार फोटो, मोडल ग्लोबल भिसा कन्सलटेन्सी खेलकुद, शिखर इन्स्योरेन्स नेपाल स्माइल र फोटो कथा विधामा सहभागिले फोटोहरु पठाउन सक्नेछन् । सहभागिले हरेक विधामा तीन वटासम्म फोटो, फोटो स्टोरीमा दुईवटासम्म फोटो पठाउन सक्नेछन् । सहभागिहरुमध्येबाट उत्कृष्ट फोटोलाई ‘फोटो अफ दि एयर’ घोषणा गरिनेछ । विजेताले एक लाख प्राप्त गर्नेछन् । त्यस्तै हरेक विधाको पहिलो दोस्रो र तेस्रो हुनेले क्रमश ३०, २० र १० हजार पाउनेछन् ।

भारतका फोटोपत्रकार प्रशान्त पन्जियारको नेतृत्वमा कुन्द दीक्षित, मणी लामा, आर्ट क्युरेटर संगीता थापा, प्रकास माथेमा, सुजन चित्रकार र नरेन्द्र श्रेष्ठको निर्णायक टोलीले उत्कृष्ट फोटोहरु छनोट गर्नेछन् ।  प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट एक सय ५० फोटोहरु राजधानीबाहेक विराटनगर, पोखरा, भैरवाह, नेपालगञ्ज , धनगढी र चितवनमा प्रदर्शन गरिने छ । आगामी साउन १२ मा उत्कृष्ट फोटोलाई ‘फोटो अफ दि एयर’ घोषणा गरिनेछ। त्यस्तै भदौ १५ बाट फोटो प्रदर्शनी सुरु हुनेछ।

विधाहरु
आइएमएस  दैनिक जीवन - दैनिक जीवनसम्बन्धी फोटोले मानिसको दैनिकीलाई क्याप्चर गर्छ र समसामयिक विषयलाई उजागर गर्दछ । यस्ता फोटोले सम्झना र मानवीय जीवनका कथाहरुलाई जीवन्त राख्नुका साथै फोटोग्राफी कलालाई प्रस्तुत गर्दछ ।
नेपाल टेलिकम प्रकृति र वन्यजन्तु -वन्यजन्तुको सुन्दर पक्षलाई उजागर गर्न यस्तो फोटोग्राफी उपयोगी हुने गर्छ । प्रकृति र वन्यजन्तुको सुन्दरता मात्र नभई त्यसका अन्य सुक्ष्म विषयलाई यस्तो फोटोग्राफीले प्रस्तुत गर्दछ । प्रकृति र वन्यजन्तु विधामा वनस्पति र जनावर, भौगर्भिक प्रकृया, मौसमको अवस्था, पानी, वन्यजन्तु, चट्टान, जंगल वा अन्य प्रकारका प्राकृतिक गतिविधि क्याप्चर हुन सक्छ ।
घुमफिर संस्कृति र पर्यटन -सभ्यता र संस्कृतिको धनी गौरवमय नेपाल उत्सुक पर्यटकहरुको आकर्षणको केन्द्र हो । नेपाललाई संस्कृति, सुन्दर स्थान, प्राकृतिक विविधता वा अन्य विषयमार्फत पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सहयोग पु¥याउने खालका फोटोहरु यो विधाका लागि उपयुक्त हुन सक्छन् ।
अर्घाखाची सिमेन्ट समाचार फोटो -फोटो, जसले समाचार भनुन । राजनीति, समाज गतिविधि, अर्थ वा खेलकुदका समसामयिक विषयमा आम जनतालाई सुसुचित गर्ने खालका फोटो समाचार फोटोको विधामा समेटिन्छन् । यो विधाका लागि वर्ष २०७१ देखि २०७२ चैत मसान्तसम्ममा खिचिएका फोटो मात्र लायक हुनेछन् । कुनै सञ्चार माध्यममा प्रकासित वा अप्रकासित सबैखाले फोटो स्विकार्य हुनेछन् ।
मोडल ग्लोबल भिसा कन्सलटेन्सी खेलकुद ःखेलकुदको कुनै प्रतियोगिता वा घटनाको मुख्य क्षणलाई क्याप्चर गरेको फोटो यो विधाका लागि उपयुक्त हुन सक्छ । यो विधामा फोटोले खेलकुदसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्वन्ध राख्ने खेलाडी, प्रशिक्षक, समर्थक, अधिकारीहरु समेट्न सक्नेछ ।
शिखर इन्स्योरेन्स नेपाल स्माइल- रमाइलो अनुभुति समेटेका फोटोहरु, जसले खुसी र मानिसका लागि सुखद भविश्यको आशा जगाउन सकोस । यस्ता फोटोहरुलाई लक्षित गरि यो विधा समावेश गरिएको हो । खासगरी जस्तोसुकै परिस्थितिमा भए पनि हसिला मुहार र खुसीयाली झल्काउने फोटो यसको आकर्षण हुन सक्छन् । यो विधा खासमा समाजमा संघर्ष गरिरहेकाका लागि उपकारी अभियान चलाउने उदेश्यका साथ समावेश गरिएको हो । विपन्न वर्गका वालवालिकाको सहयोगार्थ राखिएको यो विधामा फोटो सबमिट गर्नका लागि छुट्टै सर्तहरु लागु हुनेछन् ।
फोटो कथा -फोटोहरु जीवनका खुसी र घटनाक्रमहरुको साक्षी हुनेछन् । ‘सभ्य’ दुनियाको नजरमा नपरेका विषयलाई उजागर गर्ने फोटोग्राफरको धैर्य र मेहनतलाई यो विधाले मान्यता प्रदान गर्नुका साथै सम्मान गर्नेछ । फोटोग्राफरले कुनै पनि घटनाको निर्दयीपना तथा वियोग वा सुखद क्षणका कथा यो विधामा खुलेर प्रस्तुत गर्न सक्छन् । यसले आवस्यकता र अभाव, मानिसको असुरक्षित अवस्था, शिक्षाको अवसर अभाव तथा अन्य विषयको विकासक्रम उजागर गर्नेछ ।

तस्बिर ः प्रविन कोइराला

Leave A Comment