१० रुपैयाँमा सर्ट !

बिहिबार, १६ असार २०७३, ०३ : २६ हिमाल लम्साल , Kathmandu
१० रुपैयाँमा सर्ट !

कास्की, लामाचौरका ४३ वर्षे चिजमान गुरुङ यतिबेला निकै व्यस्त छन् । व्यस्त हुनुको कारण हो, उनले सुरुवात गरेको नयाँ व्यवसाय । १० रुपैयाँमा नै सर्ट बिक्री गर्न थालेपछि उनको व्यवसाय हेर्ने र किन्नेको भीड लाग्न थालेको छ । गुरुङले सुखावती प्रतिष्ठानमार्फत केही समय प्रयोग गरेर घरमा फालिएका, यत्रतत्र मिल्काइएका, प्रयोग नगरेर त्यसै थन्काइएका कपडा प्रशोधन गरेर पुनःप्रयोग गर्न सकिने नयाँ व्यवसाय थालेका छन् ।
काठमाडौँको सामाखुसी टाउन प्लानिङ नजिकै १० रुपैयाँ सर्ट, ४० रुपैयाँमा जिन्स प्यान्ट, ५० रुपैयाँ साडी र कुर्ता बिक्री गर्न थालेपछि सुखावती प्रतिष्ठानमा सामान खरिद गर्ने तथा हेर्नेको घुइँचो लाग्न थालेको हो ।
ग्राहक तथा शुभचिन्तकलाई आफ्नो व्यवसायबारे बुझाउन भ्याइनभ्याई भएको बताउँछन् गुरुङ । ‘ग्राहकहरु अचम्म मान्दै आउँछन् । १० रुपैयाँ सर्ट पाइन्छ भन्दा धेरैले ठट्टा नगर्नुहोस् न भन्छन्,’ उनले भने, ‘तर, हामी १० रुपैयाँमा नै बिक्री गर्दै आएका छौँ । प्रयोग गर्न मिल्ने पुराना कपडालाई फेरि उपयोग गर्न सकिने अवधारणा विकास गर्न लागेका हौँ ।’
दक्षिण कोरियामा कार्यरत रहँदा ब्युटिफुल संस्थामा काम गर्थे उनी । उक्त संस्थामा आफूले एक पटक प्रयोग भइसकेको सामानलाई पुनः प्रशोधन गरेर प्रयोग गर्न सकिने रैछ भन्ने सिकेको गुरुङ बताउँछन् । वैदेशिक रोजगारीबाट फिरेका गुरुङले कसैलाई काम नलाग्ने कपडा अरू कसैका लागि उपयोगी हुने अवधारणासहित उक्त व्यवसाय असार १ गतेदेखि  सुरु गरेका हुन् ।
‘सबैले राम्रा तथा नयाँ कपडा खरिद गर्न सक्दैनन् । उनीहरुलाई लक्ष्य गरेर नै सस्तो पसल सञ्चालन गरेका हौँ,’ गुरुङले भने, ‘यस्तो व्यवसायमा ग्राहक निकै आकर्षित भएका छन् ।’ उनका अनुसार अहिले दैनिक तीन सयदेखि तीन हजार रुपैयाँसम्म व्यापार हुने गरेको छ ।
छोरीका लागि कपडा खरिद गर्न आएकी रेखा पौडेलले १० रुपैयाँमा कपडा किन्न पाउँदा खुशी लागेको बताइन् । ‘१० रुपैयाँमा कपडा किन्न पाउँदा को खुशी हुँदैन ? गरिबहरूका लागि यस्ता पसल त राम्रा हुन नि,’ उनले भनिन्, ‘सबैले महँगा कपडा कहाँ किन्न सक्छन् र !’
पाँचथरका सन्देश घिमिरले आर्थिक अवस्था कमजोर हुनेका लागि सस्ता पसल उपयुक्त हुने बताए । ‘कोहीले प्रयोग गरिसकेका कपडा अरूका लागि  काम लाग्न सक्छन् । यस्ता पसल अति आवश्यक भइसकेका छन्,’ उनले भने ।
पुनः प्रयोग गर्न मिल्ने कपडा मात्र संकलन गरेर प्रशोधनपश्चात् बिक्री वितरण गर्दै आएको बताइन् सुखावती प्रतिष्ठानकी कोषाध्यक्ष तथा स्वयंसेविका कमला गुरुङले । ‘मान्छेहरू कसैले कपडा दियो भने लिन गाह्रो मान्छन् । प्राकृतिक प्रकोप, विपद्का बेला यस्ता कपडा उपयोगी हुनेछन्,’ उनले भनिन् ।
प्रतिष्ठानले गत वर्ष विभिन्न ठाउँबाट पाँच सय केजी कपडा संकलन गरेकोमा २५ प्रतिशत मात्रै उपयोग गरेको जनाएको छ । विभिन्न मेला तथा उत्सवबाट करिब १ लाख २० हजार रुपैयाँ संकलन गरेको कोषाध्यक्ष गुरुङले जानकारी दिइन् । केही वर्षअघिसम्म प्रतिष्ठानले चोकमा स्टल राखेर कपडा बिक्री वितरण गर्दै आएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष तथा सञ्चालक चिजमान गुरुङले आपत्कालीन अवस्थामा कपडा आवश्यकता परेको खण्डमा निःशुल्क उपलब्ध गराउन सकिने पनि बताएका छन् ।  प्रतिष्ठानमा १५ जना स्वयंसेवक छन् । दुई जनाले रोजगारी पाएका छन् । समाज कल्याण परिषद्मा दर्ता भएर व्यवसाय तथा उद्यमशीलतालाई अघि बढाउँदै आएको छ प्रतिष्ठान । प्रतिष्ठानले १ सय १७ थरिका कपडा १० देखि १ हजार रुपैयाँसम्म बिक्री गर्छ ।

 

 

 

Leave A Comment