कलाकार खोज्न चार वर्ष

आइतबार, ०६ चैत २०७३, ०१ : १५ शुक्रवार , Kathmandu
कलाकार खोज्न चार वर्ष

निर्देशकले निर्माता बनाउने हैन, निर्माताले चाहिँ निर्देशक बनाउने दाबी गर्ने निर्मातामध्ये पर्छन्, अर्जुन कुमार । निर्माताका रूपमा भने उनको भागमा एउटै मात्र सफल फिल्म छ, ‘चपलीहाइट’ । तर, पनि उद्योगको नम्बर वन निर्मातामा माधव वाग्लेसँगै उनको पनि दाबी रहने गरेको छ ।
अर्जुन कुमारले ‘चपलीहाइट’ को सफलतालगत्तै ‘फाटेको जुत्ता’ बनाउने घोषणा गरेका थिए । तर, पछि उनले त्यो फिल्म बनाउनुको साटो ‘फिटकिरी’ र ‘चपली हाइट २’ बनाए । त्यसबीचमा ‘फाटेको जुत्ता’को अर्जुन कुमारले कहिलै पनि नाम लिएको सुनिएन । अचानक अघिल्लो हप्ता फिल्मको कास्ट मात्र होइन, सुटिङ डेट पनि बाहिरियो । प्रियंकाले  स्क्रिप्टको कभर नै राखेर आफूले फिल्म खेल्न लागेको जनाउ दिइन् भने पछि पालैसँग सौगात मल्ल, बुद्धि तामाङ, कामेश्वर चौरसिया आदि फाइनल भएको खबर आयो । तर, स्रोत भन्छ, अर्जुनकुमारले अचानक फिल्म घोषणा गर्नुको अर्थ अर्कै छ । स्रोतको दाबी छ– अर्जुनकुमारले चार वर्षअघि विकास बोर्डमा दर्ता गरेको नामको समय सकिइसकेकाले अर्को निर्माता सोही नाम लिएर दर्ता गर्न गएको थाहा पाएपछि अर्जुनले हतार–हतार फिल्मको घोषणा गरेका हुन् । सँगै अर्को टिप्पणी पनि सुनियो, कलाकार फाइनल गर्नै चार वर्ष लाग्ने कस्तो फिल्म रहेछ ? टिप्पणीमा दम चाहिँ छ है ।

 

Leave A Comment