‘आइटमको आयु लामो हुँदैन’

सोमबार, ०७ चैत २०७३, १२ : ४२ अनिल यादव , Kathmandu
‘आइटमको आयु लामो हुँदैन’

कवि तथा गीतकार श्रवण मुकारुङका शब्द र संगीतकार आभासको संगीत रहेको ‘सुन रे सियाराम’ जस्तो शक्तिशाली र जीवन्त गीत गाएर धेरै पहिले राम्रो प्रशंसा बटुलेकी गायिका हुन्– मीना निरौला पोखरेल । तर, ‘ठमेल बजार’ र ‘काले दाइ काले दाइ’ बोलका दुई आइटम गीतले उनको चर्चा र व्यस्तता दुवै बढाएको छ । आइटम गायिकाका रूपमा उनको परिचय बनिरहेको छ । तर, उनको खास कला र विशेषता अर्कै छन् । भारतको मणिपुरमा लोकप्रिय भइरहेको बेला उनी घरजम गरेर काठमाडौँ आइपुगेकी हुन् । उनीसँग अनिल यादवले अन्तरंग कुराकानी गरेका छन् ।

बजारमा एकैपल्ट तपाईंका दुई आइटम गीत भाइरल भइरहेका छन् । कस्तो लागिरहेको छ ?
दुवै गीतमा निश्चल बस्नेतको संलग्नता छ । ‘ठमेल बजार’ निश्चलले निर्देशन गरेको फिल्मको गीत हो भने ‘काले दाइ’मा उनको अभिनय र स्वर छ । त्यसैले सल्लाहअनुसार दुई महिनाको अन्तरालमा यी दुई गीत रिलिज गरिएका हुन् । दुवै गीतलाई दर्शक÷स्रोताले रुचाइरहनुभएको छ । लगभग १५ वर्षदेखि म संगीत क्षेत्रमा क्रियाशील छु । तर बल्ल ‘नोटिस्ड’ भइरहेको छु । मलाई चिनाउन ‘ठमेल बजार’ नै चाहियो । त्यसैले खुशी त हुनैप¥यो ।

तपाईंको गायन यात्रा कसरी तय भएको हो ?
म भारतको मणिपुरमा जन्मिएकी । मेरो बुबा सानैदेखि पुराना गीतहरू खूब सुन्नहुन्थ्यो । म पनि नाच्न–गाउन भनेपछि हुरुक्कै हुन्थेँ । अनुप जलौटाका भजनहरू गाउँथे । त्यतातिर भजन गीत प्रतियोगिता भइरहन्थ्यो । म सधैँ  फस्ट हुन्थे । केटाकेटीमा त थाहा हुँदैन नि त । त्यसैले जस्तो पनि गीत केटाकेटीले गुनगुनाउँछन् । तर, म त्यतिबेलादेखि नै किन हो सिलेक्टिभ गीतमात्र गुनगुनाउँथे । मेरो स्वर सुन्नेहरू मलाई संगीत सिक्नुपर्छ भन्दै सुझाव दिन्थे । त्यही कारण मैले क्लासिकल संगीत सिके । पाँचवर्षे कोर्स कम्प्लिट गरेँ । बिस्तारै साथीहरूसँग मिलेर ‘तिम्रो सम्झना’ ब्यान्ड खोल्यौँ । धेरै समय टिकेन । त्यसपछि त्यहीँको चर्चित ‘मणिपुरी ब्यान्ड’मा काम गरेँ । काम गर्दागर्दै मणिपुरी फिल्ममा गाउने अफर आयो । आधा दर्जनजति फिल्ममा गाएँ । मणिपुरमा एकदम व्यस्त भइरहेकी थिएँ । त्यही बेला बिहे गरेर काठमाडौँ आइयो ।

मणिपुरमा लोकप्रिय भइरहेको बेला तपाईं काठमाडौँ आउनुप¥यो । फेरि नयाँ ढंगले आफ्नो करिअरलाई अघि बढाउन तपाईंका लागि कति सहज थियो ?
बिहेअघि नै मेरो श्रीमान् र उहाँको परिवारलाई मेरो बारेमा सबै थाहा थियो । श्रीमान्को पूर्ण समर्थन थियो मलाई । तैपनि, यहाँ आएर करिअर अघि बढाउन मलाई गाह्रो त थियो । उता स्थापित भइसकेको मान्छे यहाँ फेरि जिरोबाट काम गर्नुपर्ने अवस्था थियो । मैले नेपाली ताराको भाग २ मा प्रतिस्पर्धीका रूपमा भाग लिएँ । टप टेनसम्म छनोट पनि भएँ । तर, गर्भवती भएका कारण त्यसपछि प्रतिस्पर्धामा भाग लिन सकिनँ । म आफूलाई लक्की ठान्छु, किनभने छोरी चार महिनाको हुँदाखेरिबाटै मलाई पलेटी शृंखलामा काम गर्ने अवसर मिल्यो । त्यसपछि लगातार १० वर्षसम्म पलेटीमा गीत गाएँ ।

पलेटीमा काम गर्ने अवसर चाहिँ कसरी मिल्यो ?  
मणिपुरकै गायक सन्तनु लिम्बूको सिफारिसमा म पलेटीसम्म पुगेकी हुँ । उहाँको मञ्जरी ब्यान्ड थियो, जहाँ म गाउने गर्थें । उहाँले नै अमृत गुरुङ, आभास लगायतलाई मेरो बारेमा कुरा गर्नुभएछ । त्यसपछि मलाई बोलाइयो । म गएँ । ‘बहिनी त साह्रै राम्रो गाउनुहुन्छ रे, तपाईको फेमस मणिपुरी गीत छ रे, लौ न सुनम् न’ भन्दै अमृत दाइले आग्रह गरेको मलाई अझै याद छ । त्यसपछि मैले गाएँ । उहाँहरूलाई मन प¥यो । र, मैले सन्तनु मामासँग पलेटीमा मणिपुरी गीत गाउने मौका पाएँ । ताली बज्यो । ‘वान्स मोर’को हुटिङ आयो । मेरो प्रस्तुति रुचाइएपछि मलाई पलेटीमा काम गर्ने अवसर मिलेको हो ।  

तपाईं ‘सुन रे सियाराम’जस्तो स्तरीय र राम्रो समीक्षा बटुलेको गीत गाएको मान्छे । अम्बर गुरुङ, फत्तेमान, आभास, किरण श्रेष्ठ लगायतको स्कुलिङ र स्नेह पाएको मान्छे । ‘ठमेल बजार’ र ‘काले दाइ’ जस्ता आइटम गीत गाउनु त आश्चर्यजनक भएन र ?  
अवश्य पनि । ‘सुन रे सियाराम’ गाउने मान्छेले नै ‘ठमेल बजार’ गाको हो र ? भनेर आश्चर्य मान्नेहरू धेरै भेटेको छु । खासमा मैले हृदयबाट मन पराउने गीत भनेको त्यस्तो (सुन रे सियारामजस्तो) नै हो । म जब मणिपुरबाट काठमाडौँ आएँ, त्यतिबेला मलाई यहाँ कसैले चिन्दैनथ्यो । मैले नेपालका ठूलठूला हस्तीसँग काम गर्ने मौका पाएँ । ममा चर्चाको भोक नै हराइसकेको थियो । मलाई त जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको अनुभव भइसकेको थियो । मेरो माइतीपट्टिबाट चाहिँ चिन्ता व्यक्त हुन्थ्यो । ‘तँ त यता यस्तो चर्चा पाएको मान्छे, खोइ त तेरो गीत ?’ भन्दै प्रश्न गर्नुहुन्थ्यो । एकपल्ट अमृत गुरुङ दाइलाई मैले रिसाएझैँ गरेर ‘कति अर्काको गीत गाएर बस्नु ?’ भन्दै कुरा गरेको थिएँ । उहाँले त्यतिबेला मलाई मज्जाले गाली गर्नुभएको थियो । ‘तिमी त धेरै लक्की हौ, मैले पनि यसरी सबै हस्तीसँग गीत गाउन पाएको छैन, तर तिमीले पायौ, तिमीले कस्तो काम गरेकी हौ, त्यसको महसुस कुनै दिन गर्नेछौ’ भन्दै सम्झाउनुभएको थियो । आज महसुस हुन्छ पनि । तर, बजारमा दर्शक/स्रोतामाझ चिनिनका लागि चाहिँ ‘ठमेल बजार’जस्तो गीत पनि गाउनुपर्दो रहेछ । मैले चर्चाका लागि यी आइटम गीत गाएको चाहिँ होइन । मलाई अफर आएको भएर हो । फेरि आधुनिक गीत गाउने चाहिँ राम्रो, आइटम गाउने नराम्रो भन्न पनि त मिलेन ।

तर, आइटम गीतलाई त हल्का ठानिन्छ नि ?
हो । तर, आइटम गाउन पनि सजिलो चाहिँ छैन । त्यसैले हल्काफुल्क लिन मिल्दैन जस्तो लाग्छ । खासमा आइटम गीतमा बढी भद्दा शब्द प्रयोग हुने भएकाले पनि यसलाई हेर्ने नजर नराम्रो भएको हो । मैले गाएको गीत त्यस्तो भद्दा छ जस्तो लाग्दैन । अर्को कुरा, मैले आइटम गीत गाउँदा धेरैले चिन्ता गर्नुभएको छ । मेरो स्वरलाई रुचाउने, मलाई गाइड गर्ने अग्रज दाइहरूले मलाई ‘तेरो खास क्वालिटी चाहिँ ‘सुन रे सियाराम’ नै हो, तेरो पहिचान त्यस्तै गीतमा छ’ भनेर सम्झाउनुहुन्छ ।

कमर्सियल गीत र समीक्षकबाट प्रशंसित दुवै खालका गीत तपाईंले गाइसक्नुभयो । तपाईंको विचारमा संगीत उद्योगका लागि कुन खालको संगीत बढी महŒवपूर्ण रहेछ ?
बजारमा बढी चल्ने गीत ‘ठमेल बजार’ र ‘काले दाइ’ जस्ता नै रहेछन् । तर, यस्ता गीतका आयु त्यति लामो हुन्छ जस्तो लाग्दैन । समीक्षकबाट प्रशंसा पाइने गीतले हामीलाई केही दिनका लागि मात्र नभएर लामो समयसम्म चिनाइरहन्छ । त्यसैले मेरो विचारमा दुवै खालका म्युजिकका आ–आफ्नै विशेषता छन् । अर्को कुरा, गीत त मान्छेले सुन्नै छाडिसके, चिन्नै छाडिसके । एकछिनको रमाइलो मात्र भइसक्यो । कसैले नसुनिदिएकै भएर राम्रा–राम्रा प्रतिभा पनि बजारले जस्तो रुचाइरहेको छ, त्यस्तै गीतमा फोकस्ड भइरहेका छन् । कसैले सुनिदिँदैन भने क्वालिटी मात्र गरेर के भयो ?

तपार्इंलाई संगीत समीक्षकहरू ‘आइटम गायिका’ बन्ने खतरा भयो भन्छन् नि ?
‘ठमेल बजार’ हिट भइसकेपछि धेरै जना निर्माता÷निर्देशक मकहाँ यस्तै गीत गाउनुप¥यो भन्दै आइरहेका छन् । ताई न तुईका गीत लिएर आउँछन् । शब्द पनि त्यस्तै भद्दा । मैले धेरै रिजेक्ट गरिसकेँ । मेरो खास चाहना अर्कै छ । म नयाँ एल्बम निकाल्दैछु, जसमा ‘सुन रे सियाराम’ गीत पनि रहनेछ । मलाई थाहा छ– त्यो एल्बम बजारमा चल्दैन । नचले पनि मलाई चिन्ता  छैन । किनकि, मेरो गीत म मरेपछि पनि मान्छेले सुनिरहून् भन्ने चाहन्छु । आज एक दिनलाई नसुन्दा केही फरक पर्दैन ।


विज्ञान विषयमा स्नातक गर्नुभएको छ, हैन ?
हो । मैले बायो–केमेस्ट्रीमा बीएससी गरेकी हुँ । नर्स बन्ने चाहना थियो । तर, त्यो विषय पढिनँ । गायनमै करिअर बनाएँ । विज्ञान पढ्ने मान्छे सिर्जनात्मक विधामा त्यति सक्रिय हुँदैनन् भन्ने बुझाइ पनि छ । तर, रुचि भएपछि मान्छेले जसरी भए पनि समय व्यवस्थापन गर्न सक्दो रहेछ ।

नेपाली र मणिपुरी संंगीतमा के फरक छ ?
लगभग उस्तै–उस्तै नै हो । तर, जुनसुकै भाषाको गीत गाउन पनि त्यहाँको भाषामा पोख्त हुन आवश्यक छ । त्यसैले मणिपुरी गीत गाउँदा भाषाका कारण ‘फिल’ दिन गाह्रो हुन्थ्यो । म जति फिल दिएर नेपाली गीत गाउन सक्छु, त्यति मणिपुरीमा गाउन सक्दिन थिएँ ।

 

Leave A Comment