‘नक्कली’को नालीबेली

बिहिबार, १६ असार २०७३, ०५ : ४९ धनबहादुर खड्का/अम्मर जिसी/अजित तिवारी , Kathmandu
‘नक्कली’को नालीबेली

चिकित्सा, इन्जिनियरिङ, उड्डयनलगायत पेशामा आबद्ध व्यक्तिहरूको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा प्रहरीले उनीहरूलाई धमाधम पक्राउ गर्न थालेपछि नेपाली समाज झस्किएको छ । मान्छेको ज्यानसँग सीधै सरोकार राख्ने डाक्टरजस्तो संवेदनशील पेशाकर्मीकै शैक्षिक प्रमाणपत्र नक्कली भनिएपछि जो कोही झसंग हुनु स्वाभाविकै पनि हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले थुप्रै ‘नक्कली’ प्रमाणपत्रधारीलाई पक्राउ गरिसकेको छ । कैयौँ प्रहरीको निगरानीमा छन् ।

प्रधानमन्त्रीकै दन्तचिकित्सक नक्कली


नक्कली आरोपमा सीआईबीले पक्राउ गरेका डाक्टरमध्ये प्रधामन्त्री केपी ओलीको दाँतको उपचार गर्ने डाक्टर छन् । गत फागुनमा ओलीको अगाडिपट्टीको तल्लो भागको दाँत बढी धारिलो भई जिब्रोलाई घाउ बनाउन थालेपछि उपचार भएको थियो । यो उपचारको नेतृत्व गर्ने डाक्टर बुद्धिमान श्रेष्ठलाई सीआईबीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री निवासमै मुख तथा दन्त स्वास्थ्य परीक्षण गरेको श्रेष्ठ नेतृत्वको समूहले दाँतको धारिलो भाग मुडाउने (ग्रान्डिङ) गर्ने कामसहित तल्लो भागको देब्रेपट्टिको बंगारामा स्थायी फिलिङ गर्ने तथा दायाँतर्फ माथिपट्टिको दुइटा बंगारामा अस्थायी फिलिङ गरेको बताएको थियो ।
श्रेष्ठले प्रधानमन्त्रीलाई माथिल्लो भागको दोस्रो र तेस्रो बंगरा निकाल्नैपर्ने अवस्थामा भएको पनि सुझाएका थिए । तर, प्रधानमन्त्री ओलीले मानेनन् । तत्काललाई अस्थायी फिलिङ मात्र गरिएको थियो । नक्कली शैक्षिक प्रमाणपत्रका भरमा डाक्टर बनेको आरोप लागेका श्रेष्ठ नेकपा एमालेको स्वास्थ्य विभागका सदस्यसमेत थिए ।
नक्कली डाक्टर पक्राउ गर्ने क्रममा प्रहरीले धेरैजसो डेन्टल डाक्टर पक्राउ गरेको छ । पक्राउ परेका आधाजति डाक्टर डेन्टलकै छन् । प्रहरीका अनुसार अन्य धेरै डेन्टल डाक्टर निगरानीमा छन् ।
दर्जनौँ सरकारी चिकित्सक
पक्राउ पर्नेमध्ये सरकारी अस्पतालमा कार्यरत दर्जनौँ डाक्टर छन् । पछिल्लो पटक पक्राउ परेको ३७ जनामध्ये १३ जना सरकारी चिकित्सक नै रहेका छन् । निगरानीमा रहेका भनिएकाहरूमा पनि सरकारी चिकित्सक उल्लेख्य रहेको प्रहरी अधिकारीहरूको भनाइ छ ।
सरकारी चिकित्सकको हकमा अख्तियारले भ्रष्टाचार मुद्दा पनि चलाउनेछ । सीआईबीका अनुसार ठगीको अनुसन्धान सकिएलगत्तै नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर अख्तियारको दुरुपयोग गरेको अभियोगमा भ्रष्टाचार मुद्दासमेत लाग्नेछ ।
विशेषज्ञदेखि पढाउनेसम्म
पक्राउ परेका नक्कली प्रमाणपत्रधारी डाक्टरले सर्जरी गर्नेदेखि पढाउनेसम्म गरेका थिए । यीमध्ये विशेषज्ञता हासिल गरेर विशेष उपचार दिने पनि छन् ।  ट्रमा अस्पताल, विराटनगरमा बिरामीको सर्जरी गर्थे, मोहम्मद अबुल कलाम । पक्राउ परेका दिनेशकुमार साहले नेसनल मेडिकल कलेज एन्ड टिचिङ अस्पताल, विराटनगरमा अपरेसन गर्थे । ईएनटी सर्जन रामकुमार प्रधान पनि पक्राउ परे ।
नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत अर्थाेपेडिक्स सर्जन सरोजकुमार सिंहले वीर अस्पतालबाट विशेषज्ञता हासिल गरेका हुन् । दाँतका विशेषज्ञ विष्णुप्रसाद भुसाल बीआर डेन्टल क्लिनिक, तुलसीपुरमा रहेर विशेषज्ञताको अभ्यास गरिरहेका थिए । नर्भिक हस्पिटल, थापाथली र बी एन्ड बी हस्पिटल, ग्वार्कोका बाथरोग विशेषज्ञ अरुणकुमार गुप्ता पनि पक्राउ परे । यस्तै, लिली राजवंशी, रावेतरञ्जनकुमार ठाकुर, रजनी अग्रवाल, रामजी यादव पनि विशेषज्ञ चिकित्सककै रूपमा कार्यरत थिए ।
पक्राउ परेकी विनिता यादव कलेज अफ मेडिकल साइन्सेज, भरतपुरमा चिकित्सकीय सेवा दिनुका साथै चिकित्सा शिक्षा पढाउने काम पनि गर्थिन् ।

डाक्टर बन्न बुनिएका जालझेल
एमबीबीएस प्रवेश परीक्षा प्रश्नपत्र बिक्रीः २०७१ मंसीर २० गते शिक्षा मन्त्रालयले लिने एमबीबीएस छात्रवृत्ति कोटाको प्रवेश परीक्षा हुनुअघि नै प्रश्नपत्र बिक्री गरेको, परीक्षामा नाम निकालिदिने भन्दै विद्यार्थीबाट पैसा उठाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोल्डेनगेट इन्टरनेसनल कलेजका निर्देशक देवीराम पाण्डे, शिक्षक हरिहर भन्ने खेचरनाथ सापकोटा र प्रभातकुमार कुशवाहलाई पक्राउ ग¥यो । उनीहरूले परीक्षा उत्तीर्ण गराउने निश्चित गरेर चार विद्यार्थीबाट ३४ लाख २५ हजार रुपियाँ उठाएका थिए ।

बिक्रीमा डाक्टरी छात्रवृत्तिः डा. सुशील मण्डलले बंगलादेश दूतावासका कर्मचारीसँग मिलेर छात्रवृत्ति कोटा बिक्री गरेको मात्रै होइन, प्रमाणपत्रसमेत नक्कली बनाएको भेटियो । डा. मण्डलले यसै शैक्षिक सत्रमा बंगलादेशको छात्रवृत्ति कोटा मिलाइदिने भन्दै रुवी साह, निशा साह र आशुतोष कर्णसँग पाँच लाख रुपियाँका दरले पैसा लिएको प्रहरीसमक्ष स्विकारे ।

चिकित्सक लाइसेन्स लिन खेतालाः २०७२ मंसिर १२ गते नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा दुई नक्कली परीक्षार्थी पक्राउ परे । नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. सुशील मण्डल नवीनकुमार यादवका नाममा र आईओएममा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी निरज शर्मा सरोज साहका नाममा परीक्षा दिँदै थिए ।

आफैँ प्रमाणपत्र छाप्नेदेखि नम्बर थप्नेसम्मः नक्कली डाक्टरको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूले उनीहरूको कर्तुत एकपछि अर्को फेला पारेका छन् । पास भएका प्रमाणपत्र परिवर्तन गरेर नम्बर थपी प्रेसमार्फत छपाई ल्याएको पाइएको छ ।
सीआईबीको अनुसन्धानमा नक्कली डाक्टर भनेर समातिएकाहरूले आफ्नो प्रमाणपत्र आफैँले छाप्नेसम्मको हर्कत गरेको खुलेको छ । पशुपति मोडेल अस्पताल, इटहरीका प्रमुख पशुपति चौधरीले एमबीबीएस पासको मार्कसिट आफैँले छापेको भेटिएको छ । आठ कक्षा पास भनिएका उनले आफूले प्रमाणपत्र छाप्दा चार ठाउँमा अक्षरसमेत बिगारेका छन् । उनले सीएमएमात्रै अध्ययन गरेको स्विकारेका छन् ।
विनिता यादव, मोहम्मद कमरुल, श्यामबाबु साह, भगवान केवट मल्लाह, शैलेन्द्रकुमार महतो, अफजल हुसैन र राजेन्द्रकुमार दासको भने एसएलसी र आईएससीको प्रमाणपत्र नक्कली भेटियो । कतिपयले भने चिकित्सा शिक्षा अध्ययनका लागि चाहिने नम्बर ल्याउन नसकेपछि आफूखुशी नम्बर थपेर प्रमाणपत्र बनाएका छन् । पक्राउ परेकामध्ये सन्तोषकुमार यादवले पढेको रेकर्ड देखिए पनि मार्कसिटमा नम्बर भने आफूखुशी थपेका छन् । यस्तै, मोहम्मद सिद्दिकीले भने सुजितकुमारको मार्कसिटमा आफ्नो नाम राखेको भेटिएको छ । यसै गरी, परीक्षा पास गर्ने तर आफूखुशी नम्बर थप्नेमा तुलसीकुमार महतो र कल्याण विश्वास छन् ।
नेपालमै पढेका नक्कली
विदेशी विश्वविद्यालय मात्र होइन, नेपालमै एमबीबीएस पढेकाहरूका सर्टिफिकेट नक्कली रहेको खुलेको छ । जसमध्ये ईशादुल हक आईओएमका उत्पादन हुन् । उनले फिरोज गान्धी कलेज, पटनाबाट आईएससी उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पेश गरेका थिए । जुन नक्कली भएको प्रहरीले जनाएको छ । एसएलसीसमेत बिहारबाटै पढेका उनले २०११ मा चिकित्सक लाइसेन्स लिएका थिए । विनिता मण्डलले नेपाल मेडिकल कलेज, जोरपाटी, श्रीराम घिमिरेले युनिभर्सल मेडिकल कलेज तथा दिनेश साहले कलेज अफ मेडिकल साइन्स, भरतपुरबाट एमबीबीएस उत्तीर्ण गरेका हुन् । सहोदर अस्पताल प्रालिका सञ्चालक शिवराम श्रीमलले काठमाडौँ मेडिकल कलेजबाट एमबीबीएस र वीर अस्पताल (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान) बाट एमडी गरेको बताएका छन् । पक्राउ परेका अन्य ३१ जनाले चीन, पाकिस्तान, बंगलादेश, भारत, रसिया, युक्रेन, काजकिस्तानलगायत देशबाट एमबीबीएस गरेको सीआईबीका डीआईजी नवराज सिलवालले बताए ।
गैरजिम्मेवार चिकित्सक संघ
सीआईबीले नक्कली डाक्टरलाई पक्रन सुरु गरेपछि आक्रोशित चिकित्सक संघले केही दिन आन्दोलन पनि ग¥यो । सबैतिरबाट दबाब परेपछि आन्दोलन फिर्ता लिन बाध्य भयो । डाक्टरहरूलाई दुःख दिने नियतले प्रहरीले अपरेसन थालेको बुझाइ थियो, संघको । प्रहरी अधिकारीहरूले पनि अपरेसनमा संघ र यसका पदाधिकारीले असहयोग गरेको गुनासो गर्दै आएका छन् । संघका अध्यक्ष डा. अञ्जनीकुमार झा यसबारेमा बोल्न नचाहेको गैरजिम्मेवार अभिव्यक्ति दिन्छन् । ‘प्रहरीले ‘अहिले संघले असहयोग ग¥यो’ भन्यो । के हामीले पहिला सहयोग गरेका थियौँ र ?’ उनले भने, ‘यसबारेमा म थप बोल्न चाहन्न ।’
नक्कली पाइलट
‘अपरेसन हक’मार्फत पाइलटहरूका प्रमाणपत्रमाथि निगरानी थालेको सीआईबीले अहिलेसम्म एकजना मात्र पाइलट पक्रेको छ । नक्कली प्रमाणपत्रकै भरमा गोमा एयरको जहाज उडाउँदै आएका धनुषाका विकास कार्कीलाई सीआईबीले गत वैशाखमा पक्रेर मुद्दा चलायो । फिलिपिन्स र अमेरिकाबाट पाइलट कोर्स गरेका कार्कीले पेश गरेको काठमाडौँस्थित अमृत साइन्स क्याम्पसको २०६२÷०६३ मा जारी भएको भनिएको आईएससीको प्रमाणपत्र नक्कली भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
अन्य दर्जनौँ स्वदेशी तथा विदेशी वायु कम्पनीमा कार्यरत पाइलटमाथि गोप्य अनुसन्धान भइरहेको जनाउँदै सीआईबीले आफ्नो पञ्जाबाट नक्कली प्रमाणपत्रधारीहरू कुनै पनि हालतमा नछुट्ने दाबी गरेको छ । ‘पेशागत मर्यादामा संवेदनशील हुँदै अहिले यतिउति वा यो–त्यो नभनी पाइलटहरूमाथि गोप्य अनुसन्धान चलिरहेको छ,’ सीआईबी प्रवक्ता एसपी दिवेश लोहनीले भने, ‘त्यसको नतिजा चाँडै प्राप्त हुनेछ ।’
सीआईबीले अपरेसन नै सुरु गरेर प्रमाणपत्र छानबिन थालेपछि नक्कली पाइलटहरूबीच भागाभाग नै मच्चिएको प्रहरी बुझाइ छ । यसकै प्रमाण हो, अपरेसन थालेको दुई महिनाभित्रै २० भन्दा बढी पाइलटको राजीनामा । नक्कली प्रमाणपत्रका भरमा पाइलटको बर्दीमा सजिएका उनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमतिपत्र लिएर जहाज उडाइरहेका थिए । प्राधिकरणबाट अहिलेसम्म पाँच सयजति पाइलटले जहाज उडाउने अनुमति लिएको जनाइएको छ ।
इन्जिनियर पनि
नक्कली इन्जिनियर उत्पादन गर्ने ‘कारखाना’माथि नै कब्जा जमाउन सफल महानगरीय प्रहरी, अपराध महाशाखाले १० जना पक्राउ गरिसकेको छ । उनीहरू इन्जिनियर बन्ने र बनाउनेहरू रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
महाशाखाले ललितपुरका अंकित खड्का र सुवित  खड्का, डोटीका हितेश सिंह, खोटाङका पुजनकुुमार खत्री, काठमाडौँका सनद श्रेष्ठलाई पक्राउ गरेको छ । यस्तै, सिरहाका मनीषकुमार यादव, सर्लाहीका कृष्णकुमार झा, धनुषाका शेखर पंजियार, सप्तरीका पुष्पराज शर्मा र रामेछापका सन्तोष लामा पनि पक्राउ परेका छन् ।
अंकितको घरमा लामो समयदेखि नक्कली शैक्षिक प्रमाणपत्र बनाई बिक्री गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । सरकारी कार्यालयको नक्कली छाप र कागजातसमेत बनाउने उनीहरूले प्रतिव्यक्ति पाँचदेखि सात लाख रुपैयाँमा प्रमाणपत्र बेच्ने गरेको प्रहरी रेकर्ड छ ।
महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार चाँगुनारायणस्थित नेपाल इन्जिनिरियङ क्याम्पसमा अध्ययन गरी उत्तीर्ण हुन नसकेपछि उनीहरूले आफ्नै कम्प्युटरमा प्रमाणपत्रको खाका कोर्न थालेका थिए । अधिकांशले पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नेपाल इन्जिनियरिङ क्याम्पसबाट पास गरेको शैक्षिक प्रमाणपत्र बनाएका छन् ।
‘यो काममा विश्वविद्यालयलगायत सम्बन्धित सबै निकायसम्म सेटिङ रहेको देखिएपछि त्यसैअनुसार अनुसन्धान अघि बढाएका छौँ,’ एसएसपी खनालले भने, ‘उनीहरूको प्रमाणपत्र अन्य विद्यार्थीले पाउने प्रमाणपत्रभन्दा केही फरक छैन । नम्बर मात्र मनपरी थपिएको छ । अरू त जस्ताको तस्तै हो ।’ किर्ते प्रमाणपत्र बनाएर सेटिङका भरमा इन्जिनियरिङ काउन्सिलको लाइसेन्स जुटाएर सरकारी तथा गैरसरकारी निकायमा काम गरिरहेका नक्कली इन्जिनियरको बिगबिगी नै रहेको सूचना आफूहरूलाई प्राप्त भएको उनले बताए । ‘अन्य क्षेत्रमा पनि नक्कली प्रमाणपत्रधारी रहेको सूचनाका आधारमा लगत्तै थप केही गर्ने योजनामा छौँ,’ उनले भने ।
वकिल पनि शंकाको घेरामा  
कानुन व्यवसायमा पनि नक्कली वकिल रहेको जनाउसाथ नेपाल बार काउन्सिलले वकिलहरूको डिजिटल रेकर्ड राख्ने निर्णय गरेको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीका अनुसार वकिलहरूको रेकर्ड आवश्यक रहेकाले त्यसको प्रक्रिया सुरु गर्ने निर्णय काउन्सिलले गरेको जानकारी दिए । ‘वकिलहरूको रेकर्ड नै छैन,’ उनले भने, ‘१४–१५ हजार वकिल छन् । देशमा नक्कलीले यत्रो समस्या पारिरहेका बेला यो क्षेत्रमा पनि नहोलान् भन्न कहाँ सकिन्छ ?’ नक्कलीप्रति सबै सजग हुर्नैपर्ने भन्दै उनले हरेक क्षेत्रमा नक्कली र सक्कली चिनेर गलतलाई कारबाहीको दायरामा ल्याउन ढिला गर्न नहुने बताए ।
लेखापरीक्षकमाथि पनि शंका
लेखापरीक्षक अर्थात् अडिटर पनि नक्कली हुन सक्ने अवस्थाप्रति सजग छौँ भन्छन्, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का अध्यक्ष सीए प्रकाश लम्साल । ‘अहिलेसम्म कतैबाट सूचना वा गुनासो आएको छैन,’ उनले भने, ‘यसमा हामी सजग छौँ । अडिटरको रेकर्ड चुस्त बनाउन खोज्दै छौँ ।’ उनका अनुसार नेपालमा आठ हजारजति अडिटर छन् । जसको रेकर्ड आइक्यानसँग छ । दुई खाले अडिटर हुन्छन्, एउटा चार्टर्ड एकाउन्टेन्ट (सीए) र अर्को रजिस्टर्ड एकाउन्टेन्ट (आरए) । ‘हामीले हरेक अडिटरको एसएलसीदेखि माथिका सबै प्रमाणपत्र राखेका हुन्छौँ,’ उनले भने । 

‘नक्कलीहरू कानुनको दायरामा परेरै छाड्छन्’

डीआईजी नवराज सिलवाल, प्रमुख
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)

‘अपरेसन क्वाक’को पछिल्लो अपडेट के छ ?
हामीले सबैको बयान लिएर सक्यौँ । बन्दी प्रत्यक्षीकरण रिट खारेज भएपछि पक्राउ परेकाहरूविरुद्ध अदालतमा मुद्दा चल्दै छ । नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्को साथ लिएर अन्य डाक्टरहरूमाथि पनि अनुसन्धान भइरहेको छ । एसएलसीदेखि माथिका हरेक प्रमाणपत्र छानबिन गरिरहेका छौँ ।
यो अपरेसनलाई लिएर भइरहेका आलोचनामा तपाईंको प्रतिक्रिया के छ ?
धेरैबाट यो अपरेसनको प्रशंसा भइरहेको छ । नक्कलीका खबरहरू आउने क्रम बढेको छ । केहीले आलोचना गर्न खोेजेका छन् । तर, त्यो पनि बिस्तारै साम्य हुँदै छ । सुरुमा चिकित्सक संघले आन्दोलन पनि थाल्यो । पछि उहाँहरूले नै हामी सहयोग गर्छौं भनेर पछि हट्नुभयो । नक्कलीका कारण बदनाम हुँदै गरेको यस्तो मर्यादित पेशामा त्यस्तालाई कारबाहीको दायरामा ल्याउने कामलाई सबले साथ दिनुपर्छ ।
नक्कली भनिएका डाक्टरलाई समात्दा र प्रस्तुत गर्दा अपराधी समाएकै शैली अपनाइयो भन्ने गुनासो चिकित्सकहरूको छ नि ?
हामीले अभियुक्तकै रूपमा लिएका छौँ । उहाँहरूले पाउने संवैधानिक अधिकारको संरक्षण गरेका छौँ । खानेबस्ने राम्रो व्यवस्था गरेका छौँ । परिवार र वकिललाई भेट्न दिएका छौँ । कुनै खालको भेदभाव र दुव्र्यवहार गरिएको छैन । पक्राउ गर्दा पनि संयम अपनाएकै छौँ ।
अहिले नक्कली भनेर समातियो र सार्वजनिक गरियो । बदनाम पनि भए । भोलि प्रमाणित भएन भने के हुन्छ ?
हामी असाध्यै सचेत छौँ । प्रमाणका
आधारमा अनुसन्धान गरेका हौँ । प्रमाण र तथ्यहरू जुटाएर मात्र उनीहरूलाई मुद्दा चलाउन आवश्यक छ भनेर मात्रै समातेका हौँ । त्यसै अनुसार सार्वजनिक गरिएको हो ।
पहिला समातियो, त्यसपछि मात्रै ‘यिनीहरूबाट कोही पीडित भए उजुरी गर्नुहोस्’ भनेर प्रमाण जुटाउन खोजियो भनिन्छ । यो कुरा के हो ?
‘नक्कली प्रमाणित भए लाइसेन्स रद्द गरे भइहाल्यो नि’ भन्ने उहाँहरूको तर्क छ । तर, उहाँहरूले नक्कली प्रमाणपत्रका आधारमा अर्थात् डाक्टर बन्ने आधार नै नपुगेर कति वर्ष काम गर्नुभयो ? त्यो बीचमा कति मान्छे पीडित भए होलान् ? कति ठगिए होलान् ? त्यो हिसाबकिताब राज्यले राख्छ । प्रेस विज्ञप्तिमा हामीले त्यही कुरा उल्लेख गरेका हौँ । नक्कली प्रमाणपत्रका आधारमा डाक्टर बनेर २० वर्षसम्म उहाँले कतिलाई ठग्नुभयो, घर बनाउनुभयो, मेडिकल कलेज खोल्नुभयो । अहिले आएर ‘भोलिदेखि काम गर्दिनँ, लाइसेन्स खोस्नुहोस्’ भनेर सुख पाइन्छ ? डाक्टर बनेर झुक्याएर सम्पत्ति कमाएकाले र सर्वसाधारण ठगेकाले त्यसको हिसाबकिताब राज्यले राख्छ ।
अब उनीहरूमाथि कुन–कुन मुद्दा चल्छन् ?
डाक्टर बनेर उनीहरूले कमाएको सम्पत्ति र गरेको क्षति हेरिन्छ । त्यो अनुसार नक्कली प्रमाणपत्रका आधारमा आफूलाई डाक्टर भनेर उपचार गर्दा गरेको ठगी, सरकारी अस्पतालमा काम गर्नेलाई भ्रष्टाचार पनि र नेपाली कलेजबाट पढेकालाई किर्ते मुद्दा लाग्छ ।
खासमा कति जनाजति डाक्टरमाथि अनुसन्धान भइरहेको छ ?
बाहिर यति हजार, उति हजार भन्दै अनुमानमात्र भइरहेको छ । यो असली चिकित्सक समुदायको मनोबल घटाउन गरिएको हल्ला पनि हो । तर, पक्राउ परेका बाहेक पनि केहीमाथि अनुसन्धान भएर नक्कली प्रमाणित भइसकेको छ । उनीहरू पक्राउको प्रक्रियामा छन् । त्यसैले जो सही डाक्टर हुनुहुन्छ, उहाँहरूले हतोत्साही हुनुपर्ने कुनै कारण छैन । हामी उहाँहरूकै क्षेत्रमा रहेको विकृति बढार्दै छौँ । त्यसैले सशंकित पनि हुनुपर्दैन । विशेष गरी जति नक्कली छन्, उनीहरूलाई थाहा छँदै छ । हामी त भन्छौँ, नक्कली प्रमाणपत्रधारीहरू आफैँले आत्मसमर्पण गरिदिए राम्रो हुन्छ ।
नक्कली पाइलटहरूविरुद्ध सुरु गरिएको ‘अपरेसन हक’ सेलाएको हो ?
होइन । यसमा पनि आवश्यक अनुसन्धान चलिरहेको छ । पक्राउ परेका एक जना पाइलटविरुद्ध अदालतमा मुद्दा चलायौँ । यसको त्रासबाट अरू २० जनाभन्दा धेरैले राजीनामा दिएर भागेको भन्ने सूचना छ । आफसे आफ भाग्छन् भने भागून् । जनताको ज्यानलाई जोखिममा पार्ने अधिकार उनीहरूलाई छैन । नक्कली कुनै न कुनै दिन कानुनको दायरामा परेरै छाड्छन् ।  
इन्जिनियरि, वकिल, अडिटरलगायत अन्य क्षेत्रमा पनि नक्कली प्रमाणपत्र विरुद्ध लाग्ने योजना हो ?
अहिले तत्कालै त्यस्तो योजना छैन । जनताको ज्यानसँग जोडिएको संवेदनशिल क्षेत्र भएकाले र प्रभावकारी छानविन हुन नसक्दा बिगबिगी मच्चिएको खवरले सरकारको निर्णयबाट हामीले डाक्टर र वकिलको प्रमाणपत्र छानविन थालेका हौँ । अन्यको हकमा सोही क्षेत्रकै सम्बन्धित निकायले नक्कलीसक्कली छानविन गर्ने कार्यभार छँदैछ ।

....

‘नक्कली डाक्टर’का शैक्षिक विवरण

बुद्धिमान श्रेष्ठले एसएलसी गंगालाल मावि, स्याङ्जाबाट गरेका हुन् भने आईएससी सरला सत्यनारायण यादव, भारतबाट पढेका हुन् । उनले बीडीएस भारतको ललितानारायण मिथिला विश्वविद्यालयबाट गरेका छन् ।
०००
सिद्धार्थ वनस्थली, बालाजुबाट सन् १९९२ मा एसएलसी पास गरेकी विनिता अधिकारीले आईएससीको पढाइ भारत, पटनाको बिहार इन्टरमिडियट काउसिन्सलबाट गरेकी हुन्  । उनले कलेज अफ डेन्टल सर्जन, मनिपाल, कर्नाटक, भारतबाट बीडीएस गरेकी छन् ।
०००
भानुभक्त मेमोरियल माध्यमिक विद्यालय, पानीपोखरीबाट एसएलसी गरेका बोदित आचार्यले आईएससी भारतको पटनास्थित बिहार इन्टरमिडियट काउन्सिलबाट गरेका छन् । उनले रसियाको चुवास स्टेट युनिभर्सिटीबाट बीडीएस गरेका छन् ।
०००
दीपेश पौडेलको एसएलसी प्राइभेट उल्लेख छ भने आईएससी बिहार इन्टरमिडिएट काउन्सिलबाट गरेका छन् । यस्तै, एमबीबीएस युनिभर्सिटी साइन्स अफ टेक्नोलोजी, बंगलादेशबाट गरेका छन्  ।
०००
एसएलसी अमर आदर्श माध्यमिक विद्यालय, बानेश्वरबाट गरेका गजानन्दप्रसाद भण्डारीले आईएससी बिहार इन्टरमिडियट काउन्सिलबाट गरेका छन् । एमबीबीएसको पढाइ भने डजिस्टन मेडिकल एकेडेमी, रसियाबाट गरेका छन् ।
०००
आइडियल मोडेल स्कुल, झम्सीखेल, ललितपुरबाट एसएलसी गरेका संजय यादवले आईएससी बिहार इन्टरमिडियट काउन्सिल र एमबीबीएस थाइसान मेडिकल युनिभर्सिटी, चीनबाट गरेका हुन् ।
०००
सन्तोषकुमार झाको एसएलसी सरस्वती मावि, जनकपुरबाट हो भने आईएससी रामनिञ्जन जनता महाविद्यालय, भारतबाट हो । एमबीबीएस ढाका युनिभर्सिटीबाट गरेका छन्  ।
०००
गणेश साहको एसएलसी कन्ट्री रक्षा मावि, जनकपुरको हो भने आईएससी मध्यपुर कलेज, बिहारको हो । बीडीएस नक्युई इमाम डेन्टल कलेज, भारतबाट गरेका छन् ।
०००
निलिमा खड्का महतोले एसएलसी सरस्वती हाइस्कुल, जनकपुरधामबाट तथा सन्तवीर कलेज, भारतबाट आईएससी गरेकी छिन् । बीडीएस कस्तुरवा मेडिकल कलेज, भारतबाट पास गरेकी छिन् ।
०००
विनिता मण्डलको एसएलसी बाबा बोर्डिङ स्कुल, चाबहिलबाट हो भने आईएससी बिहार इन्टरमिडियटबाट गरेकी हुन् । एमबीबीएस उनले नेपाल मेडिकल कलेज, जोरपाटीबाट पास गरेकी हुन् ।
०००
राहिल फराज अन्सारीको एसएलसी बुद्धज्योति हाइस्कुलबाट हो भने आईएससी मध्यपुर हाइस्कुल, पटनाबाट हो । एमबीबीएस तेन्जिङ मेडिकल युनिभर्सिटीबाट पूरा गरेकी छन् ।
०००
भीएस निकेतनबाट एसएलसी गरेका श्रीराम घिमिरेले आईएससी सरला सत्यनारायण यादव कलेज, बिहारबाट गरेका छन् । एमबीबीएस युनिभर्सल कलेज अफ मेडिकल साइन्सबाट गरेका छन् ।
०००
त्रिजुद्ध महावीरप्रसाद रघुविराम मावि, वीरगञ्जबाट एसएसली पास गरेका कुशराज गिरीले आईएससी करपुरी महाविद्यालय, बिहारबाट गरेका छन् । उनले एमबीबीएस सेन्ट पिटर्सबर्ग मेडिकल एकेडेमी, रसियाबाट उत्तीर्ण गरेका छन् ।
०००
एसएलसी सिद्धार्थ स्कुल, वीरगञ्जबाट गरेका पन्नलालप्रसाद पटेलले आईएससी वीर कुँवरसिंह कलेज, पटनाबाट पढेका छन् । एमबीबीएस ओस स्टेट युनिभर्सिटी, काजकिस्तानबाट गरेका हुन् ।
०००
महेश्वर राय यादवले एसएलसीसम्मको पढाइ नारायण मावि, केशरगञ्ज, सर्लाहीबाट गरेका हुन् भने रामसकलसिंह साइन्स कलेज, बिहारबाट आईएससी पढेका छन् । एमबीबीएस क्यारज्याज स्टेट मेडिकल एकेडेमी, काजकिस्तानबाट गरेका हुन् ।
०००
निमेष पाल रमनले एसएलसी जुद्ध मावि, गौर, रौतहतबाट गरेका हुन् । आईएससी भने डीडीएम कलेज, बिहारबाट तथा एमबीबीएस लाइओनिङ मेडिकल युनिभर्सिटी, चीनबाट गरेका हुन् ।
०००
मोहम्मद रुहुल्लाहले एसएलसी पद्मोदय हाइस्कुल, काठमाडौँबाट गरेका हुन् भने आईएससी महाराजा हरिन्द्र किशोर कलेज, बिहारबाट पास गरेका छन् । एमबीबीएसको पढाइ काजकिस्तान स्टेट मेडिकल कलेजबाट गरेका छन् ।
०००
रन्धीर राजवंशीले एसएलसी लिटिल फ्लावर इंग्लिस स्कुल, झापाबाट उत्तीर्ण गरेका हुन् भने आईएससी अनुग्रह नारायण कलेज, पटनाबाट तथा एमबीबीएसको पढाइ सिङस्याङ मेडिकल कलेज, चीनमा गरेका हुन् ।
०००
सुनिल आचार्यको एसएलसी मञ्जुश्री स्कुल, स्वयम्भूबाट हो भने राजाराम शाह कलेज, रक्सौलबाट आईएससी गरेका हुन् । एमबीबीएस रंगपुर मेडिकल कलेजबाट पूरा गरेका हुन्  ।
०००
इशादुल हकले जनता हाइस्कुल, बिहारबाट एसएलसी दिएका हुन् भने फिरोज गान्धी कलेज, पटनाबाट आईएससी गरेका हुन् । एमबीबीएस भने त्रिवि आईओएम, महाराजगञ्जबाट गरेका हुन् ।
०००
रविन्द्रकुमार पाण्डेको एसएलसी जुद्ध मावि, गौरबाट हो भने आईएससी आरके कलेज, बिहारबाट रहेको छ । बीडीएस भने डा. एसएम नक्वई इमाम डेन्टल कलेज, बिहारबाट गरेका हुन् ।
०००
अरुणकुमार गुप्ताले एसएलसी त्रिजुद्ध हाइस्कुल, वीरगञ्जबाट उत्तीर्ण गरेका हुन् भने आईएससी एलएस कलेज, बिहारबाट गरेका छन् ।  एमबीबीएस पिपुल फ्रेन्डसिप युनिभर्सिटी अफ मकाउबाट उत्तीर्ण गरेका हुन् ।
०००
सञ्जयकुमार दासले एसएलसी राजदेवी मावि राजविराज, सप्तरीबाट गरेका हुन् भने आईएससी सीएम साइन्स कलेज, दरभंगाबाट उत्तीर्ण गरेका हुन् । एमबीबीएस दरभंगा मेडिकल कलेजबाट उत्तीर्ण गरेका छन् ।
०००
मनीष अर्यालको एसएलसी बीकेभीएम विराटनगरबाट हो भने आईएससी एसएसएनवाई, बिहारबाट उत्तीर्ण गरेका हुन् । एमबीबीएस भने एसएमसी कराची, पाकिस्तानबाट गरेका छन् ।
०००
एसएलसी मंगल मावि, भिस्वा, पर्साबाट गरेका राजन पुरीले ज्योति कुँवर हाइस्कुल, बिहारबाट आईएससी गरेका हुन् । उनले एमबीबीएस डाली युनिभर्सिटी, चीनबाट गरेका छन् ।
०००
जनकपुर जानकी सेकेन्डरी स्कुलबाट एसएलसी गरेकी पुनम कर्णले राराब क्याम्पस, जनकपुरबाट आईएससी गरेकी छिन् । बंगलादेशको रंगपुर मेडिकल कलेजबाट उनले एमबीबीएस गरिन् ।
०००
झापाको बिर्तामोडस्थित सगरमाथा आवासीय माविबाट एसएलसी पास गरेका लिली राजवंशीले भारतको बिहार, दरभंगास्थित केएस कलेजबाट आईएससी गरेकी छन् । ओडेस्सा मेडिकल युनिभर्सिटी, युक्रेनबाट एमबीबीएस गरेकी उनले नेसनल एकेडेमी अफ मेडिकल साइन्सेज, तिलगंगाबाट एमडी गरेकी छन् ।
०००
तेनुघाट बोकारो, भारतस्थित रेभर भ्याली प्रोजेक्ट हाइस्कुलबाट एसएलसी गरेका रावेतरञ्जनकुमार ठाकुरले बिहार इन्टरमिडियट कलेज, पटनाबाट आईएससी गरेका छन् । ललित नारायण मिथिला विश्वविद्यालय, भारतबाट बीडीएस गरेका उनले नेपाल मेडिकल कलेज, जोरपाटीबाट एमडी गरेका छन् ।  
०००
वज्रमोहन झब्बुराम माविबाट २०४० सालमा एसएलसी गरेका मोहम्मद अबुल कलामले मिल्लत कलेज, दरभंगाबाट आईएससी गरेका छन् । सीएम साइन्स कलेज, दरभंगाबाट आईएससी गरेका उनले पंजाब मेडिकल कलेज, पाकिस्तानबाट एमबीबीएस गरेका छन् । उनले अर्थोपेडिक किङ एडवर्ड मेडिकल कलेज, लाहोरबाट एमएस गरेका छन् ।
०००
जुद्ध मावि, गौर, रौतहटबाट एसएलसी गरेका सरोजकुमार सिंहले आरकेपीएलडी कलेज, बिहारबाट आईएससी गरेको प्रमाणपत्र देखाउने गरेका छन् । उनले काठमाडौँ युनिभर्सिटीबाट एमबीबीएस र वीर अस्पतालबाट अर्थोपेडिकबाट एमएस गरेका छन् ।   
०००
धरानबाट एसएलसी पास रजनी अग्रवालले आईएससी बीडी इभिनिङ कलेज, पटनाबाट तथा एमबीबीएस जेन्जोउ मेडिकल युनिभर्सिटी, चीनबाट र एमडी चाहिँ किङ एडवर्ड मेडिकल युनिभर्सिटी, पाकिस्तानबाट गरेको जनाइएको छ ।    
०००
जनजागृति मावि, भिमान, सिन्धुलीबाट एसएलसी गरेका रामजी यादवले एसआरके गोयन्का कलेज, बिहारबाट आईएससी तथा जिनजियाङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस गरेका छन् । उनले युनमिङ मेडिकल युनिभर्सिटी, चीनबाट एमडी पनि गरेका छन् ।
०००
श्री ३ चन्द माविबाट एसएलसी पास गरेका रामकुमार प्रधानले श्याम निकेतन मावि, बिहारबाट आईएससी गरेका छन् । आईएम सेनोब मस्को मेडिकल एकेडेमीबाट एमबीबीएस गरेका उनले पंजाब युनिभर्सिटी, पाकिस्तानबाट ईएनटीमा एमएस गरेका छन् ।  
०००
त्रिभुवन जनता उमाविबाट एसएलसी पास गरेका विष्णुप्रसाद भुसालले आरबी इन्टर कलेज, बिहारबाट आईएससी गरेका छन् । ढाका युनिभर्सिटीबाट बीडीएस गरेका उनले युनिभर्सिटी अफ इस्ट, फिलिपिन्सबाट एमडी गरेका छन् ।
०००
त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम मावि, वीरगञ्जबाट एसएलसी गरेका दिनेशकुमार साहले वीर कुँवरसिंह कलेज, पटनाबाट आईएससी गरेका छन् । कलेज अफ मेडिकल साइन्स, भरतपुरबाट एमबीबीएस र एमएस गरेका छन् ।
 

‘नक्कलीलाई नंग्याउनैपर्छ’

डा. सुशील कोइराला, चिकित्सक
डाक्टर भन्ने जातप्रति झुकाव बढेको २० वर्ष जति भयो । समाजमा डाक्टरको प्रतिष्ठा छ । यसका मुख्य कारण दुइटा छन्, पहिलो चरणमा डाक्टरको अभाव भएकाले कमाइ पनि भयो । अर्काे एक समय त डाक्टरलाई नचिन्दा उपचारै राम्रो नहुने वा ठगिने परिस्थिति सिर्जना भयो । जसले गर्दा डाक्टरलाई अरू पेशाकर्मी जस्तो बेवास्ता गर्न सकिएन, सम्मान गर्नैपर्ने भयो । यसरी डाक्टरले सम्मान पाइरहँदा अरू पेशाकर्मीलाई लोभ लाग्यो । आफू डाक्टर बन्न सकिएन, छोराछोरीलाई जसरी पनि डाक्टर बनाउनुपर्छ भन्ने सोच्यो । जसले पैसा कमायो, उसको सन्तान डाक्टर छ । हाम्रो वरपर नै हेरौँ, व्यापारीले व्यापार नसिकाएर डाक्टर बनाउँछ । सरकारी कर्मचारीले कर्मचारी बन्न नउक्साएर डाक्टरै बनाउँछ । खासमा पहाडतिर डाक्टरको प्रतिष्ठा बढ्यो, तराईतिर त दाइजो पनि बढ्यो ।
छोराछोरीको क्षमता र इच्छा होस् कि नहोस्, उसलाई डाक्टर बनाउनैपर्ने भयो वा जसरी पनि डाक्टर बन्नैपर्ने भयो । डाक्टर बन्नका लागि पढाइको क्षमताले रोक्यो । त्यसपछि यसरी नक्कली सर्टिफिकेट बन्यो । बढुवा हुनका लागि सरकारी कर्मचारीले बिहारबाट सर्टिफिकेट ल्याउने एक समय प्रचलनजस्तै थियो । उनीहरू रिटायर्ड पनि भइसके होलान् । त्यसैगरी शिक्षक पनि थिए । तर, डाक्टरको सर्टिफिकेट हुँदा किन यत्रो चासो र चर्चाको विषय भन्ने सुन्छु । डाक्टरलाई जनताले अरू सबै पेशाकर्मीभन्दा बढी विश्वास गरेका थिए, इज्जत दिएका थिए । जसमाथि विश्वास ग¥यो, त्यसैले घात गर्दा दुःख लागिहाल्छ नि । यदि यसरी चर्चाको विषय बनाइएन भने यिनै नक्कली डाक्टर फेरि मान्छे जाँच्न थाल्छन्, औषधि दिन थाल्छन् । त्यसैले नक्कली भेटिएकालाई नक्कली हुन् भनेर चर्चा गर्नैपर्छ, जनतालाई देखाइदिनैपर्छ । जसले गर्दा उनीहरू सचेत भएर यस्तासँग नजँचाऊन् । नक्कलीलाई नंग्याउनैपर्छ ।
बिस्तारै डाक्टरको प्रतिष्ठा पनि घट्दै गएको छ । अहिले डाक्टरभन्दा राम्रो कमाउने पेशा अरू नै छन् । त्यसैले अहिले चिकित्सकमा पनि कमाउने अस्वस्थ प्रतिस्पर्धा चलेको छ । यसको अर्थ के हो भने पछिल्लो २० वर्षमा बनेका धेरै डाक्टरहरू सेवाभावभन्दा पनि प्रतिष्ठा र दाइजोकै लोभले बने । यी लोभले गर्दा सेवाभाव भएन, कमाउने धन्दामै सक्रिय भए । डाक्टर भन्ने जातको इमेज यस्तो बन्यो कि सुटेडबुटेड र कारमा चढ्ने राम्रो डाक्टर हो । यहाँ त डाक्टर बन्ने प्रक्रिया नै गलत छ । अब विद्यार्थीले प्रवेश परीक्षामा ल्याएको नम्बर मात्रै होइन, उसको एट्टिट्युुड पनि जाँच्न थालौँ ।

‘नक्कली प्रमाणपत्रधारी’का विवरण
१. नामः पुनम कर्ण

ठेगानाः महोत्तरी, बत्नाहा–३
कार्यरत संस्थाः झरना फार्मेसी, कपन, काठमाडौँ
नेपाल मेडिकल काउन्सिल (एनएमसी) नम्बरः ८८८८

२. नामः बुद्धिमान श्रेष्ठ
ठेगानाः स्याङ्जा, कुवाकोट–२
कार्यरत संस्थाः कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटल, सामाखुशी, काठमाडौँ
एनएमसी नम्बरः ७६०१

३. नामः लिली राजवंशी
ठेगानाः झापा, चारपाने–३
कार्यरत संस्थाः तिलगंगा आँखा अस्पताल, काठमाडौँ
एनएमसी नम्बरः ३७५८

४. नामः विनिता अधिकारी
ठेगानाः काठमाडौँ–२९, लैनचौर
कार्यरत संस्थाः ब्राइट स्माइल डेन्टल क्लिनिक
एनएमसी नम्बरः २६८७

५. नामः रावेतरञ्जनकुमार ठाकुर
ठेगानाः महोत्तरी, पिपरा–३
कार्यरत संस्थाः सोसाइटी डेन्टल क्लिनिक, चाबहिल, काठमाडौँ
एनएमसी नम्बरः ९४९७

६. नामः बोदित आचार्य
ठेगानाः काठमाडौँ–९, बत्तिसपुतली
कार्यरत संस्थाः केयर डेन्टल क्लिनिक, पुरानो बानेश्वर, काठमाडौँ
एनएमसी नम्बरः २४५३

७. नामः दीपेश पौडेल
ठेगानाः बारा, कलैया–८
कार्यरत संस्थाः किस्ट मेडिकल कलेज, ललितपुर
एनएमसी नम्बरः १४१६३

८. नामः गजानन्दप्रसाद भण्डारी
ठेगानाः काठमाडौँ–३४, बानेश्वर
कार्यरत संस्थाः नेपाल परिवार नियोजन संघ, ललितपुर
एनएमसी नम्बरः २५६९

९. नामः संजय यादव
ठेगानाः धनुषा, सपही–१
कार्यरत संस्थाः युनिभर्सल मेडिकल कलेज, भैरहवा
एनएमसी नम्बरः ११७०३

१०. नामः सन्तोषकुमार झा
ठेगानाः धनुषा, जनकपुर–९
कार्यरत संस्थाः ट्रमा सेन्टर, काठमाडौँ
एनएमसी नम्बरः ७५९१

११. नामः गणेश साह
ठेगानाः धनुषा, जनकपुर–२७
कार्यरत संस्थाः लोकहित डेन्टल अस्पताल, त्रिपुरेश्वर, काठमाडौँ
एनएमसी नम्बरः ७२६१


१२. नामः निलिमा खड्का महत
ठेगानाः धनुषा, जनकपुर–१
कार्यरत संस्थाः अम्दा नेपाल जोरपाटी र हेल्दी डेन्टल क्लिनिक
एनएमसी नम्बरः ४४७७

१३. नामः विनिता मण्डल
ठेगानाः महोत्तरी, सरपल्लो–२ घर
कार्यरत संस्थाः रेशा फर्म, चाबहिल, काठमाडौँ
एनएमसी नम्बरः ४३८४

१४. नामः राहिल फराज अन्सारी
ठेगानाः रुपन्देही, सिद्धार्थ–५
कार्यरत संस्थाः तनहुँ सेवा हस्पिटल, धुलेगौडा
एनएमसी नम्बरः ११७३६

१५. नामः श्रीराम घिमिरे
ठेगानाः भक्तपुर, दधिकोट–१  
कार्यरत संस्थाः हाम्रो सहयात्री हस्पिटल
एनएमसी नम्बरः ६४६४

१६. नामः कुशराज गिरी
ठेगानाः पर्सा, बगही–९
कार्यरत संस्थाः शान्ति क्लिनिक, वीरगञ्ज
एनएमसी नम्बरः ३११६

१७. नामः पन्नलालप्रसाद पटेल
ठेगानाः पर्सा, भवानीपुर–४
कार्यरत संस्थाः गण्डक अस्पताल, वीरगञ्ज
एनएमसी नम्बरः ५३९५

१८. नामः महेश्वर राय यादव
ठेगानाः सर्लाही, वसन्तपुर–५
कार्यरत संस्थाः मेरी स्टोप्स सेन्टर, पोखरा
एनएमसी नम्बरः ५२९३

१९. नामः निमेष पाल रमन
ठेगानाः रौतहट, सकुअवा–३
कार्यरत संस्थाः नेसनल मेडिकल कलेज, वीरगञ्ज
एनएमसी नम्बरः ११४६३

२०. नामः मोहम्मद रुहुल्लाह
ठेगानाः रौतहट, तेजाँपाकड–७
कार्यरत संस्थाः नेसनल मेडिकल कलेज, वीरगञ्ज
एनएमसी नम्बरः  २९१७

२१. नामः रन्धीर राजवंशी
ठेगानाः झापा, अनारमनी–९
कार्यरत संस्थाः वजरंग क्लिनिक
एनएमसी नम्बरः १३३९१

२२. नामः सुनिल आचार्य
ठेगानाः गोरखा, गोरखकाली–३
कार्यरत संस्थाः प्रगति पोलिक्लिनिक, चितवन
एनएमसी नम्बरः ५४२४

२३. नामः मोहम्मद अबुुल कलाम
ठेगानाः सिरहा, मानपुर–८
कार्यरत संस्थाः ट्रमा अस्पताल, विराटनगर
एनएमसी नम्बरः २३९०

२४. नामः इशादुल हक
ठेगानाः पर्सा, वीरगञ्ज–२
कार्यरत संस्थाः नेसनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल
एनएमसी नम्बरः१५४९७

२५. नामः सरोजकुमार सिंह
ठेगानाः रौतहट, तेजाँपाकड–१
कार्यरत संस्थाः नारायणी उपक्षेत्रीय अस्पताल, पर्सा
एनएमसी नम्बरः ६९९१

२६. नामः रजनी अग्रवाल
ठेगानाः सुनसरी, धरान–१
कार्यरत संस्थाः मेडिकल कलेज, चितवन
एनएमसी नम्बरः ६२०३

२७. नामः रविन्द्रकुमार पाण्डे
ठेगानाः महोत्तरी, पिपरा–५
कार्यरत संस्थाः केयर नर्सिङ होम, जनकपुर
एनएमसी नम्बरः २९८४

२८. नामः रामजी यादव
ठेगानाः धनुषा, सिनुरजोडा–४
कार्यरत संस्थाः पूजा मेडिकल हल
एनएमसी नम्बरः ७२४१

२९. नामः रामकुमार प्रधान
ठेगानाः बारा, कलैया–४
कार्यरत संस्थाः नेसनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल
एनएमसी नम्बरः ४०४१

३०. नामः विष्णुप्रसाद भुसाल
ठेगानाः दाङ, तुलसीपुर–५
कार्यरत संस्थाः बीआर डेन्टल क्लिनिक, तुलसीपुर
एनएमसी नम्बरः ८०९८

३१. नामः अरुणकुमार गुप्ता
ठेगानाः पर्सा, वीरगञ्ज–१३
कार्यरत संस्थाः नर्भिक हस्पिटल र बी एन्ड बी हस्पिटल
एनएमसी नम्बरः २७५७

३२. नामः सञ्जयकुमार दास
ठेगानाः सिरहा, भवानीपुर
कार्यरत संस्थाः श्रीराम डाइग्नोस्टिक क्लिनिक
एनएमसी नम्बरः २१३२

३३. नामः दिनेशकुमार साह
ठेगानाः पर्सा, वीरगञ्ज–१
कार्यरत संस्थाः कलेज अफ मेडिकल साइन्स, भरतपुर
एनएमसी नम्बरः ४९५७

३४. नामः मनीष अर्याल
ठेगानाः मोरङ, विराटनगर–१६
कार्यरत संस्थाः नेपाल परिवार नियोजन संघ, इटहरी
एनएमसी नम्बरः ४६४९

३५. नामः राजन पुरी
ठेगानाः पर्सा, सोनवर्षा–७
कार्यरत संस्थाः चितवन मेडिकल कलेज, चितवन
एनएमसी नम्बरः १६११६

३६. नामः जावेद अख्तर अन्सारी
ठेगानाः भारत, बिहार, नवादा
कार्यरत संस्थाः लाइफगार्ड अस्पताल, बरगाछी, विराटनगर
एनएमसी नम्बरः अरूको एनएमसी नम्बर प्रयोग गरेको

३७. नामः शिवराम श्रीमल
ठेगानाः लमजुङ, धमिलीकुवा–२
कार्यरत संस्थाः सहोदर अस्पताल, लमजुङ
एनएमसी नम्बरः ५२४४

३८. नामः राजिवकुमार झा
ठेगानाः रौतहट, मतसरी–५
कार्यरत संस्थाः विभिन्न अस्पतालमा इन्टर्नसिप गरेको
एनएमसी नम्बरः १२ पटकसम्म एनएमसी दर्ता परीक्षामा फेल

३९. नामः पृथ्वीनारायण यादव
ठेगानाः बारा, बहुअरी–४
कार्यरत संस्थाः विभिन्न अस्पतालमा इन्टर्नसिप गरेको
एनएमसी नम्बरः १३ पटकसम्म एनएमसी दर्ता परीक्षामा फेल

४०. नामः रामबाबु गिरी
ठेगानाः झापा, अनारमनी–३
कार्यरत संस्थाः बीएनसी अस्पताल, बिर्तामोड

४१. नामः पशुपति चौधरी
ठेगानाः मोरङ, कटहरी–२
कार्यरत संस्थाः पशुपति मोडेल अस्पताल, इटहरी

४२. नामः मो. कमरुल हक
ठेगानाः सप्तरी, कल्याणपुर–३
कार्यरत संस्थाः गोल्डेन अस्पताल, विराटनगर

४३. नामः तुलसीकुमार महतो
ठेगानाः सप्तरी, बैरवा–२
कार्यरत संस्थाः कोशी अञ्चल अस्पताल, विराटनगर

४४. नामः अहमद सिद्दिकी
ठेगानाः धनुषा, लोहना–८
कार्यरत संस्थाः ग्लोबल अस्पताल, मिर्चैया, सिरहा

४५. नामः सन्तोषकुमार यादव
ठेगानाः महोत्तरी, हात्तीसर्वा–५
कार्यरत संस्थाः जनकपुर अस्पताल, धनुषा

४६. नामः कल्याण विश्वास
ठेगानाः धनुषा, जनकपुर–१
कार्यरत संस्थाः चानसी मेडिकल हल, जनकपुर

४७. नामः विनिता यादव
ठेगानाः सिरहा, विष्णुपुर–५
कार्यरत संस्थाः कलेज अफ मेडिकल साइन्स, भरतपुर

४८. भगवान केवट मल्लाह
ठेगानाः धनुषा, जनकपुर–१४
कार्यरत संस्थाः अजित मेडिकल हल, जनकपुर

४९. नामः शैलेन्द्रकुमार महतो
ठेगानाः धनुषा, सत्तोखर–६
कार्यरत संस्थाः रामजानकी डेन्टल क्लिनिक, जनकपुर

५०. नामः अफजल हुसैन
ठेगानाः कपिलवस्तु, तौलिहवा–५
कार्यरत संस्थाः स्वास्थ्य सेवा क्लिनिक, तौलिहवा, कपिलवस्तु

५१. नामः श्यामबाबु साह
ठेगानाः महोत्तरी, औरही–६
कार्यरत संस्थाः ग्लोबल अस्पताल, ग्वार्को, ललितपुर

५२. नामः प्रदीपकुमार गुप्ता
ठेगानाः धनुषा, जनकपुर–९
एनएमसी नम्बरः पटकपटक एनएमसी परीक्षा फेल

५३. नामः सुजितकुमार श्रेष्ठ    
ठेगानाः काठमाडौँ, थानकोट–१, चुनिखेल
कार्यरत संस्थाः जिल्ला अस्पताल, डोटी

 

 

 

Leave A Comment