‘एक तारिफले जीवन बदलियो’

सोमबार, १४ चैत २०७३, १२ : ०० अनिल यादव , Kathmandu
‘एक तारिफले जीवन बदलियो’

रेडियो जक्की, भिडियो जक्की हुँदै शिशिर भण्डारीले अहिले अभिनेताको परिचय बनाइसकेका छन् । एक दर्जनजति फिल्ममा काम गरेका उनको नयाँ फिल्म ‘राधे’ प्रदर्शनको तयारीमा छ । उनले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम ‘डुप्लिकेट’ धेरैले मन पराएका छन् । उनको नयाँ कमेडी सो ‘फिल्मी भूत’ले पनि चर्चा बटुलिरहेको छ । उनीसँग अनिल यादवले अन्तरंग कुराकानी गरेका छन् ।

‘फिल्मी भूत’मा तपाईंले निर्वाह गर्ने चरित्रलाई फिल्मको भूत चढ्छ । वास्तविक जीवनमा पनि शिशिरलाई भूत चढेको छ भन्छन् नि ?
हो नि ।  सोमा मैले निर्वाह गर्ने चरित्र भुवन हमाललाई फिल्मको भूत चढ्छ । ऊ जतिखेर पनि फिल्मकै कुरा गर्छ । वास्तविक जीवनमा पनि चढेकै होला । नचढेको भए त फिल्म नै खेल्थिनँ होला ।

भुवन हमाल त बच्चाजस्तो छ । कमेडीका लागि यही चरित्र किन रोज्नुभयो ?
धेरैले कपिल शर्माको नक्कल ग¥यो भन्दै कमेन्ट पनि गरिरहेका छन् । यसमा अलि–अलि सत्यता पनि छ । कपिल ‘कमेडी सर्कस’ सोमा बच्चाको रोल गर्थे । उनीबाट प्रभावित भइनँ भन्न मिल्दैन । तर, भुवन हमाललाई मैले आफ्नै ढंगले प्रस्तुत गर्न खोजिरहेको छु । मेरो छोरो छ वर्षको पुगिसक्यो । बिहान र बेलुकाको समयमा म ऊसँगै हुन्छु । आफ्नो छोरासँग बढी प्रभावित भइरहेको हुन्छु । उसको हाउभाउ, उसले बोल्ने शैलीलाई म सोमा प्रयोग गरिरहेको हुन्छु । छोराबाट एक्टिङ सिकिरहेको छु भन्दा फरक नपर्ला । अरू चरित्रभन्दा अलि सजिलो होला भन्ने लागेर यो चरित्र गरेको हुँ ।
 
अभिनयमा सानैदेखि रुचि थियो ?
होइन । खासमा म गायक बन्न चाहन्थेँ । अस्ति ‘रोल्पा रोग’ फिल्ममा एउटा गीत गाउने मौका पनि पाएँ । तर, गायनको भोक अझै मेटिएको छैन । सानो छँदा ट्र्याकमा खूब गीत गाउँथँे । धेरै गीतको म्युजिक ट्युन सुन्नेबित्तिकै यो कुन गीत हो भनेर भन्दिन सक्छु । रामकृष्ण ढकालको त म ठूलो फ्यान हो । बजारबाट ५० रुपैयाँको क्यासेट किनेर ल्याउँथँे, बजाउँथेँ । ट्र्याकमा रामकृष्णझैँ स्वर बनाएर गीत गाउन खोज्थेँ । अनि, भाइलाई ‘स्वर भयो कि ?’ भनेर सोध्थेँ । ‘भएन’ भन्यो भने मैले दुःख दिन्छु भनेर भाइले यसै ‘भयो’ नै भनिदिन्थ्यो । म गीत पनि लेख्छु । गीतका भारी छन् मसँग । जुन प्रयोग गरिएका छैनन् । कुनै दिन आफ्नै स्वरमा प्रयोग गर्नुपर्ला ।

अभिनयतिर कसरी आइयो त ?
यसको किस्सा पनि रमाइलै छ । मेरो घर धादिङ । एसएलसी पास भएपछि २०६३ सालमा काठमाडौँ आएँ । बुबाको दबाबले साइन्समा भर्ना भएँ । त्यतिबेला म रेडियो कार्यक्रममा खूब कल गर्थें । फोनमा पनि गीत गाइदिन्थेँ । अनि, गिफ्ट पनि पाउँथेँ । एकपल्ट रेडियो सिटीको एउटा कार्यक्रममा विनर भएपछि मिडिया ट्रेनिङ सेन्टरमा तीनमहिने आरजे ट्रेनिङको अवसर मिल्यो । ट्रेनिङको २८ औँ दिनमा मैले एउटा ‘उल्टोपाल्टो’ नामक कमेडी कार्यक्रमको डमी बनाएर रेडियो अडियोमा बुझाएँ । डमी मन पराइयो । डमी बुझाएको पर्सिपल्टबाट रेडियोमा कार्यक्रम अन–एयर नै भयो । त्यसको दुई महिनापछि मैले रेडियोमा लाइभ कार्यक्रम गर्ने मौका पाएँ । मैले त्यहाँ दुई वर्षजति काम गरेँ । हप्तामा १८–१९ वटा कार्यक्रम चलाउँथेँ । धेरैजसो क्यारिकेचर गर्थें । त्यहाँ म आरजे कम, एक्टर बढी भइरहेको थिएँ । त्यसपछि टीभी फिल्मीमा ‘डुप्लिकेट’ कार्यक्रम चलाउन थालेँ । यस कार्यक्रमले मलाई दर्शकमाझ चिनायो । टीभीमा काम गर्दागर्दै निर्माता केशव भट्टराईलाई ‘अब त मेरो पनि फिल्म खेल्ने बेला भयो होला’ भन्दै जिस्किँदै कुरा गरेको थिएँ । पछि उहाँले निर्देशन गर्नुभएको फिल्म ‘सो सिम्पल’ बाट मैले अभिनयमा ब्रेक पाएँ । फिल्ममा काम गर्न थाले पनि धेरैले अझै पनि मलाई ‘डुप्लिकेट’ भनेर नै चिन्छन् ।

‘ममा कलाकार बन्ने गुण रहेछ’ भन्ने कहिले महसुस भयो ?
रेडियोमा बोल्दा होस् वा टीभीमा कार्यक्रम चलाउँदा, म अभिनेताका रूपमै बढी प्रस्तुत भइरहेको हुन्थेँ । सबैले त्यसै भन्थे पनि । ‘डुप्लिकेट’ कार्यक्रममा जोक्स भन्ने सेग्मेन्ट छ । त्यहाँ मैले एकपल्ट राजेश हमालको जोक्स भनेको थिए । त्यतिबेला उहाँको बिहे भएको थिएन, त्यसैले बिहेसम्बन्धी जोक्स थियो । भोलिपल्ट एउटा फिल्मको विशेष प्रदर्शनीमा राजेशजीसँग भेट भयो । उहाँले ‘हिजोको सो हेरेको थिएँ, त्यो जोक्स रमाइलो लाग्यो’ भन्दै मेरो तारिफ गर्नुभयो । म एकदमै प्रफुल्ल भएँ । त्यस दिन ‘ममा पनि केही रहेछ’ भन्ने महसुस भयो । साँच्चै भन्नुपर्दा राजेश हमालको तारिफले मलाई अभिनयतिर डो¥यायो । उहाँको त्यही एक तारिफले मेरो जीवन बदलियो भने पनि हुन्छ ।

‘डुप्लिकेट’ कार्यक्रममा तपाईं जोक्स सुनाउनुहुन्छ ।  नेपाली गीतसँग हिन्दी गीतको भिडियो मिलाइदिनुहुन्छ । चोरी भएका संगीतबारे खुलस्त पारिदिनुहुन्छ । कसरी आयो यस्तो कन्सेप्ट ?
मलाई याद छ, म सानो छँदा नेपाल टेलिभिजनमार्फत इमेज च्यानल आउँथ्यो । जहाँ यस्तै खालको एउटा कार्यक्रम थियो । हिन्दी गीत ‘छम्मा छम्मा’मा नेपाली गीत ‘चोरी भो चोरी भो’ को भिडियो मिलाइएको थियो । जहाँ गौरी मल्ल नाचेको मलाई अझै सम्झना छ । त्यो कार्यक्रम पछि कहाँ गयो ? मलाई थाहा छैन । तर, त्यही कार्यक्रमबाट म प्रभावित भएको थिएँ । त्यसैले मैले पछि ‘डुप्लिकेट’को कन्सेप्ट बनाएँ । आफैँ भिडियो एडिटिङ नजान्दा सुरुमा एकदमै गाह्रो पनि भयो । ‘योसँग यो मिलाउनू न’ भनेर भिडियो एडिटरलाई भन्नुपथ्र्यो । उनीहरूको काम त्यति चित्त बुझ्दैनथ्यो । पछि मैले आफैँ एडिटिङ सिकेँ । त्यसपछि त यो काम सजिलो र सिर्जनात्मक लाग्न थाल्यो ।

‘डुप्लिकेट’को ‘कपी क्याट’ सेग्मेन्टका कारण त धेरै सर्जक तपाईंसँग रिसाए है ?  
हो नि । म ‘कपी क्याट’ सेग्मेन्टमा चोरी भएका संगीतको चर्चा गर्थें । एकपल्ट संगीतकार शम्भुजीत बाँस्कोटाका दुई गीत ‘नदेखे तिमीलाई’ र ‘इन्द्रेणी रंग भरिदियौ’ बलिउडका ‘तुझको ना देखूँ तो’ र ‘कब मैने ये सोचा था’ सँग मिलेको चर्चा गर्दा उहाँ मसँग एकदमै रिसाउनुभएको सुनेको थिएँ । एउटा फिल्मको पार्टीमा पुग्दा एकजनाले ‘शम्भुजीतको अगाडि न पर् है, तैँले खान्छस् !’ भन्दै सम्झाएको अझै याद छ ।

फिल्ममा तपाईं ‘होस्टेल’बाट नोटिस्ड हुनुभएको हो क्यारे !
‘होस्टेल’अघि मैले शिव रेग्मीको ‘सो सिम्पल’मा काम गरेको थिएँ । विल्सनविक्रम राईले छोडेको कलेज ब्वाईको रोलमा मैले काम गरेको थिएँ । त्यो फिल्ममा मेरा १६ वटा सिन थिए । ‘होस्टेल’मा मात्र पाँच सिन थिए । खासमा भन्नु पर्दा सुनील रावलको ‘सायद’ फिल्म हेरिसकेपछि मलाई अब चाहिँ कलाकार बन्न सकिएला भन्ने लागेको हो । त्योभन्दा अघि त सुकिलामुकिला नै कलाकार हुने चलन थियो । तर, ‘सायद’मा कम हाइट भएका संयम पुरी पनि हिरो भएर चलेपछि म पनि एक्टर हुन सक्छु भन्ने लाग्यो । नभन्दै सुनील रावलकै दोस्रो फिल्ममा मैले काम गर्ने मौका पाएँ । सुरुमा मलाई भिलेनको क्यारेक्टर दिइएको थियो । त्यसकै लागि भनेर मैले पनि जिम ज्वाइन गरेँ । पछि अर्कै क्यारेक्टर दिइयो । चान्स खोजिरहेको बेला त्यो पनि ओके भनेँ ।  फिल्ममा मैले धनगढीको सोझो केटा भुवन थापाको चरित्र निर्वाह गरेँ । फिल्ममा ‘र’ लाई ‘ड’ भनेर बोलेको धेरैले मन पराए ।  खासमा यसको पनि रमाइलो किस्सा छ । सुटिङका बेला मैले नर्मल नै बोलेको थिएँ । डबिङका बेला मैले यसरी बोल्दा राम्रो होला भनेर प्रस्ताव राखेपछि सबै सहमत भए । बोलीको त्यही टोन पछि सबैलाई मन परिदियो ।   

एक्टर बन्नका लागि तपाईंले जीवनमा के–के संघर्ष गर्नुप¥यो ?
मेरा पुस्ताका कलाकार अनमोल केसी, सलोन बस्नेत, संयम पुरी सबैको पारिवारिक पृष्ठभूमि कलाकारिता नै थियो । मसँग त्यस्तो केही पनि ब्याकफोर्स थिएन । त्यो अवस्थामा मलाई एक्टर बन्न गाह्रो त पक्कै थियो । त्यही पनि मिडिया मेरो ब्याकफोर्स भइदियो । मिडियामार्फत मैले आफ्नो क्षमता देखाउन पाएँ । अहिले पनि म कुनै हिट कलाकार त होइन । अझै संघर्ष नै गरिरहेको छु । नोटिस्ड हुने खालको क्यारेक्टर  अझै पाइसकेको छैन । रेडियोमा जागिर खानुअघि म बेरोजगार थिएँ । घरबाट सीमित खर्च आउँथ्यो । त्यतिबेला सोरुममा राम्रा–राम्रा कपडा झुन्डिएको देख्दा ‘म पनि एक दिन यस्तै कपडा किन्छु’ भन्ने लाग्थ्यो । अहिले केही गर्न नसके पनि कम्तीमा त्यो इच्छा चाहिँ पूरा गरिरहेको छु ।

फिल्ममा आफूले पाएको चरित्रलाई न्याय गर्न कत्तिको मेहनत गर्नुहुन्छ ?
मैले अहिलेसम्म निर्वाह गरेका धेरै चरित्र म आफैँले डेभलप गरेको हुँ । म चरित्रलाई न्याय दिन दिलोज्यान दिन्छु । ‘लभसभ’मा जुत्ता सिलाउने मोचीको मधेशी चरित्र निर्वाह गर्दा एकदमै मेहनत गरेको थिएँ । कोटेश्वरका एकजना मोचीसँग करिब एक महिना नजिक रहेको थिएँ । उहाँको कामलाई नजिकबाट नियालेको थिएँ, सिकेको थिएँ । फिल्मको लागि डायलग बनाउन पनि उहाँले सहयोग गर्नुभएको थियो । फिल्म ‘रोल्पा रोग’मा रोल्पाली केटोको भूमिका निभाउन पनि निकै कसरत गरेको छु । म चरित्रका लागि एकदमै मेहनत गर्न खोज्छु । ‘होस्टेल’का बेला टाइफाइड हुँदाहुँदै पनि सुटिङ गरेको थिएँ । ‘सुन्तलीलाई भगाई लग्यो झिल्के’मा नक्कली गोबर बनाउने भन्दा पनि मैले नमानीकन सक्कली गोबरमा मुख जोतेको थिएँ । ‘रोल्पा रोग’मा साहूको छोराले बारीको कान्लाबाट झार्ने सिनमा काम गर्दा मेरो खुट्टा फ्याक्चर भएर तीन दिन आराम गर्नुपरेको थियो । तर, काम गर्ने क्रममा हुने यस्ता घटनाहरूले मलाई कहिल्यै दुःखी बनाउँदैन । बरु काम गर्नलाई अझ उत्प्रेरणा मिल्छ ।

आफू सेलिब्रिटी भएजस्तो पहिलोपल्ट कहिले महसुस भयो ?
म प्रायः सार्वजनिक बसमा यात्रा गर्छु । धेरैले ‘तपाईं शिशिर होइन ?’ भन्दै प्रश्न गर्छन् । कतिपयले त मास्क लगाउँदा पनि चिनेका छन् । त्यसरी अरूले चिन्दा ‘अब मलाई पनि मान्छेले चिन्न थालेछन्’ भन्ने लाग्छ । सामाजिक सञ्जालको जमाना भएकाले फेसबुकतिर आउने कमेन्टले पनि खुशी बनाउँछ । यद्यपि, म आफूलाई अझै सेलिब्रिटी ठान्दिनँ ।

तपाईंलाई कस्तो खालको चरित्रमा काम गर्न मन लाग्छ ?
मलाई फिल्ममा भिलेन बन्न मन पर्छ । किनकि, भिलेनको कुनै परिधि हुँदैन । उसको चरित्र अलि फराकिलो हुन्छ जस्तो लाग्छ मलाई । म भिलेनको अभिनयमा अलि बढी विविधता भेट्छु । इरफान खान, मनोज बाजपेयी, नवाजुद्दीन सिद्दिकी मलाई असाध्यै मन पर्छन् । उहाँहरूका थुप्रै फिल्मबाट प्रभावित भएर पनि होला मलाई फिल्ममा नेगेटिभ रोल गर्न मन पर्छ ।

Leave A Comment