‘मलाई न पिठो बिकाउनु छ, न चामल’

बिहिबार, १६ असार २०७३, ०६ : १० शुक्रवार , Kathmandu
‘मलाई न पिठो बिकाउनु छ, न चामल’

प्रतिभाशाली अभिनेता कर्मको पहिलो फिल्म ‘सानो संसार’ निकै रुचाइएको थियो । त्यसपछि ‘रेशम फिलिली’ हिट भयो  । अहिले ‘लुकामारी’ले सफलता हासिल गरिरहेको छ । नेवार समुदायमा निकै रुचाइएको फिल्म ‘पटाचारा’का पनि हिरो हुन् उनी । गुरुकुलमा  अभिनय सिकेका उनी नियमित रूपमा नाटकमा अभिनय गरिरहेका हुन्छन् । उनीसँग गरेको अन्तरंग कुराकानीः

तपाईं थर लेख्न÷भन्न रुचाउनुहुन्न । किन ?
मैले जातविहीन नाम चलाएकै १० वर्षजति भयो । तर, कतिले मेरो नाम लेख्दा सँगै शाक्य जोडिदिन्छन् । हामीलाई जसरी नि पुच्छर चाहिने रहेछ के । के जातको रहेछ, बुझौ न भन्ने लाग्दो रहेछ । मैले कर्म मात्रै भन्दा चित्त बुझ्दैन, कर्म के ? भनेर सोध्छन् । कर्म एउटा नेपाली कलाकार । यही त हो परिचय ।
कर्मको तपाईंको अर्थ के ?
यो बुबासँग सल्लाह गरेर राखेको नाम हो । हाम्रो ब्याकग्राउन्ड नेवारको अतिरिक्त तिब्बती पनि हो । हाम्रो हजुरबा तिब्बतमा व्यापार गर्नुहुन्थ्यो । हजुरआमा तिब्बती मूलको हुनुहुन्छ । तिब्बती र नेपाली दुइटै भाषामा मिल्ने नाम किन नराख्ने भनेर मैले कर्म रोजेँ । तिब्बती भाषामा कर्मको अर्थ तारा हुन्छ । नेपाली वा संस्कृतमा काम भइहाल्यो । कर्म भन्ने ‘युनिभर्सल’ रहेछ । अनेक अर्थ छन् ।
तपाईं अहिले जातीयता र क्षेत्रीयताको विभेद हटाउनुपर्छ भन्ने अभियानमा सक्रिय हुनुहुन्छ रे !
ईशान (जसले स्वदेश बचाउन विभेदको अन्त्य गरौँ भन्ने अभियान चलाएर केही समयअघि सिंहदरबारमा रङ छ्यापेका थिए)लाई सहयोग गरिरहेको छु । उत्पीडित वर्गको कुरा सुन्नुपर्ने र विभेद हटाउनुपर्ने भन्ने उसको अभियान मलाई ठीक लागेको छ । उसले पूर्वदेखि पश्चिम यात्रा गरेको थियो, त्यो समयमा उसले त्यस्ता तीनटा परिवार भेटेको थियो, जसका सदस्य  आन्दोलनका क्रममा मारिए । युवा उमेरमै उनीहरू मारिँदा श्रीमती र छोराछोरीको बिजोग थियो । उनीहरूका छोराछोरीको पढाइका लागि हामीले केही रकम संकलन ग¥यौँ र उनीहरूको नाममा कोष खडा ग¥यौँ । बच्चाको पढाइ खर्च त्यो कोषबाट आउने व्यवस्था गरिदियौँ ।
तपाईं त अभियन्ता पो हुनुहुँदो रहेछ !
काठमाडौँका रैथानेहरू वा शहरी वर्ग भनौँ, मोजमस्तीमै छौँ । केही समस्या छैन, बस्नखान पुगेको छ । रमाइलो छ । शहरको युवा वर्ग विदेश गइहाल्छ अझ । देशमै भए पनि यहाँ के भइरहेको छ, कस्तो भइरहेको छ मतलब छैन । लोकतन्त्र ल्याउनुपर्छ भन्यो, ‘हो ल्याउनुपर्छ’ भनेर लाग्छ । गणतन्त्र चाहियो भन्यो ‘हो चाहिन्छ’ भनेर पछि लाग्यो । के चाहिन्छ र चाहिँदैन भन्नेका पछि लाग्नुअघि त्यसबारे जान्नुपर्छ । ऋतिक रोशन काण्डले आफ्नै दाजुभाइको नोक्सान गरायो ।
मसँग पढेका सबै साथी युके र अमेरिकामा छन् । म नेपालमा छु र कलाकारिता गर्छु । एउटा कलाकार भएकै कारणले पनि मैले देशबारे बुझेर देशका लागि केही गर्न अरूलाई उक्साउनुपर्छ जस्तो लाग्छ । त्यसैले आफूले सकेको गर्छु ।
तपाईं पनि काठमाडौँमै हुर्के बढेको मान्छे । यस्तो कुरा कसरी महसुस गर्नुभयो ?
मेरो बुबा समाज र राजनीतिमा रुचि राख्नुहुन्छ । सानैदेखि कुरा गर्दै पनि आउनुभएको थियो । नाटक ‘जात सोध्नु जोगीको’मा एउटा डायलग छ– मुन्छेले अनुभव गरेपछि अक्कल आउँछ । मैले भने केही हदसम्म अनुभव गर्ने प्रयास गरेको छु । काठमाडौँका बासिन्दालाई दरबारमार्गबाट जावलाखेल हिँडेर जानुप¥यो संसारकै ठूलो दुःख हो । तर, काठमाडौँ बाहिरको अवस्था हेर्ने हो भने त हामी त मोजमस्तीमा रहेछौँ । म केही वर्षदेखि ‘देश जान्ने’ अभियानमै छु ।
कलाकारितातिर चाहिँ कसरी रुचि जाग्यो ?
म सानैदेखि लज्जालु मान्छे । बुबाको कामको सिलसिलामा झन्डै नौवटाजति स्कुल नै परिवर्तन गरियो होला । यत्रो गर्दा पनि मभित्रको लाज हटेन । जब सेन्ट जेभियर्स पढ्न थालेँ, मलाई सरले नाटकका लागि अफर गर्नुभयो । मैले घर आएर बुबालाई सगर्व सुनाएँ, ‘सरले मलाई नाटकका लागि अफर गर्नुभएको थियो । मैले रिजेक्ट गरिदिएँ ।’ मलाई नाटकसाटक नगरेर पढाइमा ध्यान दिएकोमा बुबा खुशी हुनुहोला भन्ने लागेको थियो । उहाँले ‘गर्नु पर्छ नि’ भनेर झपार्नुभयो । त्यो वर्ष छुट्यो तर अर्काे वर्ष मैले गरेँ । ताली पाएँ, प्रशंसा कमाएँ । त्यसले नाटकप्रति रुचि जगायो ।
गुरुकुलमा कसरी पुग्नुभयो ?
पुणेमै पढ्ने एकजना सिनियर दाइले काठमाडौँबाट फर्किंदा नेपाली पत्रिका लिएर आउनुभएको थियो । नेपालको गुरुकुलमा नसुरीद्दीन शाह आएको भन्ने समाचार थियो । म त छक्क परेँ, ल फिल्ममा हेरेको मान्छे त्यहाँ गएछन् । कस्तो होला त्यो ठाउँ ? भन्ने भयो । पछि बिर्सेछु नेपाल आउँदा । बुबा सुनिल (पाखेरल) सरको साथी । उहाँले गुरुकुलमा नाटक हेर्न जाऊँ भन्नुभयो । हामी गयौँ । जम्मा तीनजना दर्शक थियौँ । मैले जब नाटक हेरेँ, हेरेकोहे¥यै भएँ । मैले बुबालाई घर जादिनँ, यहीँ बस्छु भनेँ । म त्यो रात त्यहीँ बसेँ । सुनिल सरले अडिसन लिएर मात्रै राख्छु भन्नुभयो । अडिसन पनि दिएँ, त्यसपछि घरबाट झिटिगुन्टा ल्याउन लगाएर तीन वर्ष त्यहीँ बसेँ ।
गुरुकुलले अभिनयबाहेक अरू के सिकायो ?
पहिलो कुरा त यी यसरी नेपाली बोल्न सिकायो । मेरो अँग्रेजी राम्रो थियो, त्यसपछि नेवारी । नेपाली त बोल्नै मुश्किल पथ्र्याे । त्यहाँ मैले विभिन्न ठाउँका विभिन्न साथीको संगत गर्ने मौका पाएँ । मीनबहादुर भाम त्यही बेलादेखिको साथी हो । त्यसबाहेक सिंगो नेपाल पाएँ त्यहाँ । पूर्व इलाम, तराई जनकपुरदेखि मुगुसम्मका थिएँ त्यहाँ । म त खूब रमाएँ ।
अभिनय सिक्दाको सबभन्दा अविस्मरणीय क्षण ?
अभिनयमा जीवन्तता आओस् भनेर हामी विभिन्न चिज गथ्र्याैं । एक रात सबैजना सडक बालक भएर पशुपति गयौँ । हामीले बाबाजी र सडक बालबालिकासँग दोस्ती ग¥यौँ । त्यही क्रममा एकजना सडकमै बस्ने २२ –२४ वर्षकी महिला भेटिइन् । आगो ताप्दै थियौँ, बाबाजीले उनलाई धपाउन खोजे । म पनि सडकमै बस्नेको भूमिकामा भएकाले त्यसो नगर्न भनेँ । पछि उनी मसँगै आएर बसिन् । केही समयपछि हामी निस्किनुप¥यो । उनी त ‘तिमी मेरो बुढा हौ, मलाई पनि लिएर हिँड’ भन्न थालिन् । पछि त्यहीँ बस्ने बाबाजीलाई सोध्दा थाहा भयो, उनको मानसिक स्थिति सही रहेनछ ।
गुरुकुलमा अभिनय सक्नेबित्तिकै हिरो बन्नुभयो ?
तीन वर्ष गुरुकुलमा पढेपछि थप थिएटरसम्बन्धी अध्ययनका लागि विदेश जान खोजिरहेको थिएँ । एक दिन पत्रिकामा कलाकार चाहिएको विज्ञापन देखेँ । मलगायत गुरुकुलका साथीहरूले अडिसन दिने निर्णय ग¥यौँ । अभिनय गर्न सिकिहालियो, नेपाल हुञ्जेल सानातिनो भूमिका पाए गरिहालौँ भन्ने थियो । अडिसन दिन गएँ,  राम्रा–राम्रा केटाहरू देखेँ । तिनका अघि म जिंग्रिङ्ग कपाल, छुस्स दाह्री भएको मान्छे त के र ? तैपनि अडिसन दिएँ । फेरि, अर्काेपल्ट अडिसन दिन बोलाइयो, गएर दिएँ । त्यसरी तीनतीन पटक अडिसन दिएँ । त्यसपछि साथीहरूले म छानिएको थाहा पाइसकेछन । बधाई दिन थाले । सानोतिनो भूमिका पाएँ हुँला भनेर चुप लागेर बधाई थापेँ । जब निर्देशकले स्क्रिप्ट सुनाउन थाले, म त चकित परेँ । आधा घण्टा भइसक्यो मेरै भूमिका छ । पछि बल्ल थाहा पाएँ, मुख्य भूमिकामै रहेछु । पैसा पनि राम्रै आयो । यसरी काम पनि पाउन थालियो र पैसा पनि आउन थाल्यो भने अब कामै गर्नुपर्छ भनेर विदेश गएर पढ्ने कुरा स्थगित गरेँ ।  
पहिलो फिल्म ‘सानो संसार’ पनि हिट, त्यसपछि ‘रेशम फिलिलि’ हिट र अहिले ‘लुकामारी’ राम्रै चलिरहेको छ । फिल्मले चर्चा पाए पनि तपाईं त कहिल्यै चर्चामा आउनुहुन्न ?
बोल्नेको पिठो पनि बिक्छ भन्ने उखान छ । मलाई न पिठो बिकाउनुछ, न चामल । त्यसैले आफैँ पनि त्यति बोल्न खोज्दिनँ । काम गरिरहेको छु, अझै धेरै गर्नुछ । गर्दै जाँदा बोल्दै जाउँला ।

 

Leave A Comment