मण्डला थिएटरमा आख्यानकार नयनराज पाण्डेको उपन्यासमा आधारित नाटक ‘लू’ चलिरहेको छ । नाटककी निर्देशक सरिता साह प्रशंसाको ‘गर्मी’मा छिन् । उपन्यास रुचाएका पाठकले दर्शकका रूपमा दिएको प्रतिक्रियाले उनी यसैउसै फुरुक्क छिन् । ‘एउटा निर्देशकका रूपमा आफूले गरेको मेहनतको फल प्राप्त हुँदा यति धेरै फुर्किन जरुरी थिएन । तर, आफूले अपेक्षा गरेभन्दा राम्रो भनिदिएपछि खुशी लाग्दो रहेछ,’ सरिता भन्छिन् ।
खासमा रंगमञ्च चढ्नुअघि उनलाई एक खालको डर थियो, ‘त्यतिविधि चर्चित उपन्यासको नाट्य रूपान्तरण दर्शकले नरुचाउलान् कि ?’ उपन्यास वा आख्यानका रूपमा रुचाइएका कृतिको नाट्य र फिल्म रूपान्तरणले हावा खाएका प्रशस्त उदाहरण छन् । सरिताको मनमा यही डरले डेरा जमाएको थियो । तर, त्यसो भएन ।
त्यसो त नाटकमा धेरथोर कमजोरी पनि छन् । तर, दर्शकले ती कमजोरीलाई पचाइदिए, समीक्षकहरूले निर्देशकलाई हौसला प्रदान गर्न नजरअन्दाज गरिदिए । यसले सरितालाई खास फाइदा पु¥याउँदैन । त्यो सरिताले बोध गरेकी होलिन् । किनभने, उनले यहाँसम्म आइपुग्न झेलेका उकालीओरालीले यति बोध नगराउने कुरै भएन ।
महोत्तरीको सोनामाई गाउँको ‘छठिया नाच्ने’ ठाउँबाट काठमाडौँको रंगमञ्चसम्म पुग्न सरिता निकै अप्ठ्यारो बाटो हिँडेकी छिन् । ‘त्यो बाटोे सम्झिँदा ‘कसरी आइपुगेँ होला यहाँसम्म’ जस्तो लाग्छ । अवरोध त कति हटाउनुप¥यो कति ?’ उनी भन्छिन् ।
अवरोध नं १ थियो, बालविवाह । उनका छजना दिदीबहिनी छन् । तराईतिर छजना छोरीको विवाह गराउने कुराले परिवारमा तनाव सिर्जना त गर्ने नै भयो । कक्षा ६ मा पढिरहेकी उनको विवाह तय भयो । दिदी र उनको बिहे एउटै मितिमा तय भयो । दिदीबहिनीको एउटै मण्डपमा विवाह गर्दा खर्च कटौती हुने सल्लाह गाउँलेहरूले उनका अभिभावकलाई दिएका थिए । सरिताले अड्डी कसिन्, ‘एसएलसीसम्म पढेपछि मात्रै बिहे गर्छु’ । परिवारले छोरीको कुरालाई बुझ्यो र उनी बालविवाहबाट जोगिइन् ।
एसएलसी सकियो । उनले परिवारलाई दिएको बिहेको समयसीमा पनि सकियो । त्यही समयमा उनकी साथीले जनकपुर गएर प्लस टू पढ्ने योजना सुनाइन् । जनकपुर गएर पढ्नुु सरिताका लागि महत्वाकांक्षी योजना थियो । ‘परिवारको आर्थिक अवस्था कमजोर थियो । मेरो पढाइ खर्च परिवारले धान्न सक्दैनथ्यो,’ उनी सम्झिन्छिन्, ‘तर, जनकपुर गएर पढ्ने सपनाले पखेटा हालिसकेको थियो ।’ उतै केही काम खोजेर पढ्ने गरी अनुमति परिवारबाट मागिन् । छोरी मान्छेलाई त्यसरी पठाउन परिवारले मन गर्ने कुरा भएन । उनले अति गरेपछि परिवारले अनुमति दियो । ‘परिवारले दिन सक्ने भनेको अनुमति मात्रै थियो । बाँकी सब आफैँले गर्नुपथ्र्याे । साथीलाई कहाँ पढ्ने भन्ने चिन्ता थियो, मलाई काम कहाँ पाउने होला भन्ने चिन्ता थियो,’ उनी भन्छिन् ।
काम खोज्ने क्रममा स्थानीय रेडियोमा प्रस्तोताको जागिर पाइन् । मैथिली भाषामा उनले रेडियो नाटक बनाउन थालिन् । नाटक जानेर बनाइएका थिएनन्, नाटक बनाउनु बाध्यता थियो । केही समय काम गरिन् तर त्यहाँबाट पैसा नपाएपछि एनजीओतिर लागिन् ।
नाटकका लागि आधारभूमि त्यही रेडियो बन्यो । मिथिलामा नाम चलेका रंगकर्मी रविन्द्र झाले त्यहीँ ‘नोटिस’ गरे सरितालाई । उनले सरितालाई थिएटरको बाटो देखाइदिए, पु¥याए काठमाडौँको शिल्पी थिएटर । उनले सरितामा दम देखेर शिल्पीका सञ्चालकसँग ‘केही झुट, केही सत्य’ बताएका थिए । ती झुटलाई सत्यमा परिणत गर्न सरितालाई पहिलो चरणमा सकस नै प¥यो । शिल्पीसँग जोडिएर उनले बल्ल अभिनयका बाह्रखरी सिकिन् । कचहरी नाटक गरिन् । कुमार नगरकोटी लिखित नाटक ‘कोमा’बाट उनले थिएटरमा उक्लने मौका पाइन् ।
‘कोमा’ गर्दासम्म उनको करिअर अभिनय बनिसकेको थियो । रंगमञ्च उनको जीवनको महŒवपूर्ण अंग बनिसकेको थियो । उनले नयनराज पाण्डेको उपन्यास ‘लू’ पढिन् । भन्छिन्, ‘किताब पढेर त्यसरी आँशुका भेल पहिलोपल्ट बगाएकी थिएँ । एक बसाइमा सिनित्तै पारेको किताब पनि ‘लू’ नै हो ।’ यसको महŒवपूर्ण कारण थियो, तराईको परिवेश । ‘कसैले यसमाथि नाटक बनाए हुने नि’ जस्तो उनलाई लागिरह्यो । धेरैलाई नाटक बनाएर प्रस्तुत गर्न प्रस्ताव पनि गरिन् । तर, सबै ‘यो उपन्यास भारी छ, सकिँदैन’ भनेर पन्छिए । त्यसपछि उनी आफैँले आँट गरिन् ।
दर्शकका लागि ‘लू’ नाटक हो तर सरिताका लागि एउटा सपना । ‘सकारात्मक वा नकारात्मक प्रतिक्रियाभन्दा पनि म सपना पूरा भएकोमा दंग छु,’ उनी भन्छिन् ।
Leave A Comment