सही पावर बैंक कसरी छान्ने ?

मङ्गलबार, २२ चैत २०७३, ०१ : ४४ शुक्रवार , Kathmandu
सही पावर बैंक कसरी छान्ने ?

स्मार्टफोनमा अहिले सबैभन्दा ठूलो समस्या ब्याट्री बनेको छ । बेला न कुबेला ब्याट्री सकिँदा प्रयोगकर्तालाई अप्ठ्यारो हुने गरेको छ । तर, प्रविधिको दुनियाँमा यसको विकल्पको पनि विकास भएको छ । जसलाई ब्याट्री प्याक अर्थात् पावर बैंक भन्ने गरिन्छ । जुन अहिले उक्त समस्याको ठूलो समाधान पनि हो । पावर बैंकको माध्यमबाट अहिले मोबाइल, ट्याब्लेट र क्यामेरा, कम्प्युटरसम्म चार्ज गर्न सकिन्छ । तर, कतिपय पावर बैंकले भने मोबाइलमा असर पनि पु¥याउने गर्छन् वा भनौँ बजारमा पाइने सबै पावर बैंक राम्रै हुन्छन् भन्ने हुँदैन । पावर बैंक किन्दा निम्न कुरामा ध्यान दिन जरुरी छः
–सबैभन्दा पहिला साइज छनोट गर्नुपर्छ । घरमा मात्र प्रयोग गर्ने हो भने ठूलो साइजको लिन सकिन्छ । खल्ती वा झोलामा हालेर हिँड्ने चाहनेहरूका लागि सानो र हल्का साइजको पावर बैंक ठीक हुन्छ  ।
–बजारमा १० हजार एमएएच देखि ५० हजार एमएएच क्षमताका पावर बैंक उपलब्ध छन् । आफ्नो स्मार्ट फोन कति एमएएचको हो त्यहीअनुसार पावर बैंक किन्नुपर्छ । २ हजार एमएएच ब्याट्री पावरको मोबाइलका लागि ४ हजार एमएएच पावर भएको पावर बैंक किन्नुपर्छ भने, ३ हजार एमएएच पावरको ब्याट्री भएको मोबाइल छ भने १० हजार एमएएचभन्दा माथिको पावर बैंक किन्नुपर्छ ।
    
–पावर बैंक किन्दा कुन ब्रान्डको हो ध्यान दिन आवश्यक छ । राम्रो कम्पनी र राम्रो गुणस्तर भएको पावर बैंक किन्नुपर्छ ।
–पावर बैंक किन्दा त्यहाँ दिएको सावधानी अपनाउनुपर्छ । त्यसमा टेम्परेचर प्रोटेक्सन, इनपुट ओभर भोल्टेज प्रोटेक्सनलगायत कुरा लेखिएका हुन्छन् । बजारमा एक हजारदेखि २० हजारसम्मका पावर बैंक पाइन्छन् ।
बक्स
उत्कृष्ट तथा शक्तिशाली पावर बैंक
म्याक्सवक पावर बैंक
यसमा ५०,००० एमएएच क्षमताको ब्याट्री रहेको छ । यो निकै शक्तिशाली मानिन्छ । यसमा छ वटा पोर्टेबल छ । यसबाट मोबाइलकबाहेक ल्यापटप र क्यामेरा पनि चार्ज गर्न सकिन्छ । यो प्याक फुल चार्ज गर्न छदेखि आठ घण्टा लाग्छ । एक किलोभन्दा बढी तौल रहेको यसको अन्तर्राष्ट्रिय मूल्य १ सय ३६ डलर रहेको छ ।
जिरोलेमन पोर्टेबल चार्जर
यसमा ३०,००० एमएएच क्षमताको ब्याट्री हुन्छ । चार वटा पोर्ट हुने यसले आठदेखि २४ घण्टासम्म लगातार चार्ज गर्नसक्ने क्षमता राख्छ । चार सय ग्राम रहेको यसको मूल्य ६८ डलरभन्दा बढी छ । यो मूल्य अन्यको भन्दा भने कम हो ।
रेभ पावर बैंक
यसमा २७,००० क्षमताको ब्याट्री रहेको हुन्छ । चार वटा पोर्ट रहेको यसको मूल्य १ सय ७० डलर रहेको छ । यसले ल्यापटप, ट्याबलेट, मोबाइल चार्ज गर्न सकिन्छ । आठ सय ग्राम रहेको यो यात्राका लागि उपयोगी रहेको विज्ञहरूले बताएका छन् । एक पटकको चार्जले यसबाट मोबाइलमात्र दस पटकभन्दा बढीसम्म चार्ज गर्न सकिन्छ ।   
इबाट्ज मोजो
यसमा २०,४०० एमएएच क्षमताको ब्याट्री हुन्छ । १५–१६ घण्टामा फुल चार्ज भएपछि यसबाट आइप्याड, मोबाइल चार्ज गर्न सकिन्छ । चार सय ग्राम तौल रहेको यसमा दुइटा पोर्ट रहेको छ । यसको मूल्य ७५ डलरभन्दा बढी पर्छ ।
एक्सटर्नल ब्याट्री चार्जर
यसमा २०,१०० एमएएच क्षमताको ब्याट्री हुन्छ । तीनटा पोर्ट रहेको यसको मूल्य पनि ५० डलर मात्र हो । करिब पाँच घण्टामा फुल चार्ज गरेपछि यसले घण्टौँसम्म मोबाइल र ट्याबमा चार्ज गर्न सकिन्छ ।
अंकर पावर
यो पावर बैंकमा २०,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसमा चार्जरको दुइटा पोर्ट राखिएको छ । फुल चार्ज गरिसकेपछि यसले लगातार आठ घण्टासम्म ब्याट्री ब्याकप दिने गर्छ । ३ सय ६८ ग्राम तौल रहेको यो पावर बैंकले ४० मिनेटमै मोबाइललाई फुल चार्ज गर्न सक्ने क्षमता राख्ने कम्पनीले दाबी गरेको छ । यसको अन्तर्राष्ट्रिय मूल्य ४५ डलर रहेको छ ।
इयोगेयर मोबाइल पावर स्टेसन
यो पावर बैंकमा १२,००० एमएएच क्षमताको ब्याट्री रहेको छ । यसमा पनि दुइटा चार्जर पोर्टेबल रहेको छ । एकै पटक दुवै पोर्टबाट चार्ज गर्न सकिन्छ । यसमा एलईडी डिस्प्लेसमेत रहेकाले कति पावर बाँकी रहेको पनि हेर्न सकिन्छ । करिब तीन सय ग्राम रहेको यसको अन्तर्राष्ट्रिय मूल्य ५१ डलर रहेको छ ।
चिरो इंग्रेस पावर क्युब
यो पावर बैंकमा पनि १२,००० एमएएच क्षमताको ब्याट्री रहेको हुन्छ । १० घण्टा लामो समयसम्म ब्याट्री सिञ्चित रहने यसमा पनि दुइटा पोर्ट रहेको हुन्छ । २ सय ७५ ग्राम रहेको यसको अन्तर्राष्ट्रि मूल्य ४५ डलर रहेको छ । कम्पनीका अनुसार केही गरी पावर बैंक बेस्सरी तातिए आफैँ बन्द हुनेछ ।
अउके पकेट पोर्टेबल चार्जर
यो पावर बैंकमा १०,००० एमएएच क्षमताको ब्याट्री रहेको छ । दुइटा पोर्ट रहेको यसले आट घण्टासम्म पावर दिन्छ । २ सय ३१ ग्राम मात्र तौल रहेको यसको अन्तर्राष्ट्रिय मूल्य पनि २५ डलरमात्र रहेको छ । यो पोर्टेलबाट छिट्टै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रोपोर्टा स्ट्रिप टर्बो चार्जर
यसमा १२,००० एमएएच क्षमताको ब्याट्री हुन्छ । जसमा दुइटा चार्जर पोर्ट हुन्छ । छ÷सात घण्टामा फुल चार्ज भएपछि यसले मोइलहरूमा चार्ज गर्न सकिन्छ । २ सय ५० ग्राम रहेको यसको मूल्य ४५ डलर रहेको छ ।


मोबाइल छिटो चार्ज गर्न

मोबाइल फोन चलाउन निकै आवश्यक परेको बेला फोनको ब्याट्री चार्ज हुन घण्टौँ लाग्ने समस्या आउँछ । यो समस्याले सबैलाई सताएको हुन्छ । मोबाइल छिटो चार्ज गर्न यी उपाय अपनाउन सकिन्छः
–मोबाइल फ्लाइट मोडमा राख्नुहोस् । यसले फोन छिटो चार्ज गर्न मद्दत गर्छ । यसो गर्दा लगभग मोबाइल अफ गरेर चार्ज गरे सरह हुन्छ । फ्लाइट मोडमा राखेपछि यसको कल गर्ने, इन्टरनेट ब्राउजिङ तथा जीपीएसजस्ता फिचरले काम गर्दैन । जसका कारण मोबाइल छिटो चार्ज हुन मद्दत पुग्छ ।
–स्विचअफ गर्नुहास् । मोबाइल स्विच अफ गर्दा मोबाइलको ब्याट्री छिटो चार्ज हुन्छ ।
–यूएसबी पोर्टबाट चार्ज नगर्नुस् । मोबाइललाई यूएसबी पोर्टको साटो मोबाइल चार्जरबाट सीधै बिजुलीमा जोडेर चार्ज गर्दा छिटो चार्ज हुन्छ ।
–उचित तापक्रममा राख्नुहोस् । बढी तापक्रमले ब्याट्रीको चार्ज गर्ने क्षमतामा ह्रास आउँछ । त्यसैले घाममा राखेर फोन चार्ज नगर्नुहोस् ।
–आधिकारिक चार्जरको प्रयोग गर्नुहोस् । चार्जर उस्तै देखिए पनि एउटै हुँदैनन् । सस्तो खालका कमसल चार्जरको प्रयोगले फोन खराब बनाउँछ ।

चार्ज गर्ने सही तरिका
अत्याधुनिक फिचरका कारण स्मार्टफोनमा चार्जर टिक्न नसक्ने आम समस्या बन्दै गएको छ । चाहेको बेला मोबाइल प्रयोग गर्न नपाउँदा सबैले चार्जर नटिकेको गुनासो गर्छन् ।
मोबाइलको ब्याट्रीको आयु मोबाइलको समग्र फिचरमा मात्र होइन यसको चार्ज गर्ने तरिकामा पनि निर्भर रहेको विज्ञहरू बताउँछन् । सही तरिकाले चार्ज गरे त्यसको कार्यक्षमता तथा आयु पनि बढ्ने उनीहरूको दाबी छ ।
मोबाइल कम्पनीका अनुसार मोबाइलका ब्याट्रीको औसत आयु तीन सयदेखि पाँच सय पटकसम्म चार्ज गर्नका लागि हुन्छ । त्यसपछि ब्याट्रीको क्षमता घट्न थाल्छ ।
विज्ञहरूका अनुसार मोबाइलको ब्याट्रीको चार्ज पूरै रित्याउने गरी प्रयोग गर्न हुँदैन । शत प्रतिशत चार्ज पनि गर्न नहुने उनीहरूको तर्क छ । लथियम आयन ब्याट्रीलाई ४० देखि ८० प्रतिशतसम्म चार्ज गरेर राख्नुपर्छ । ब्याट्रीको चार्जलाई २० प्रतिशतभन्दा कम हुन नदिनु उत्तम हुन्छ ।
मोबाइलको ब्याट्रीलाई एक महिनामा एक पटकभन्दा बढी शत प्रतिशत चार्ज गर्नु हुँदैन । ब्याट्रीलाई शत प्रतिशत चार्ज गर्नु भनेको कम्प्युटरलाई रिस्टार्ट गर्नुजस्तै हो, जुन पटक–पटक गर्नु हुँदैन ।
लिथियम आयन ब्याट्रीलाई धेरै दिनसम्म चार्ज नगरीकन राख्नु हुँदैन । यद्यपि, ४०–५० प्रतिशतसम्म चार्ज गरेर राख्नुहुन्छ भने ठीक छ । यसरी प्रयोग नगरीकन राखिएका मोबाइल फोनका ब्याट्री महिनामा पाँचदेखि १० प्रतिशतसम्म डिस्चार्ज हुन्छन् ।

Leave A Comment