फेरि बाबु बन्दै जुकरबर्ग

बिहिबार, २४ चैत २०७३, ०१ : ४७ शुक्रवार , Kathmandu
फेरि बाबु बन्दै जुकरबर्ग

फेसबुकका सिईओ मार्क जुकरबर्ग र उनकी पत्नी प्रिसिल्ला दोस्रो सन्तानका लागि प्रतीक्षारत छन् । प्रिसल्लाले चाँडै अर्की छोरी जन्माउन लागेको जानकारी जुकरबर्गले फेसबुकमार्फत दिएका हुन् ।
यो दम्पतीको अहिले १५ महिनाकी छोरी म्याक्स छिन् । जुकरबर्गले आफ्नो फेसबुक पेजमा लेखेअनुसार म्याक्सलाई जन्माउँदा गर्भधारणमा समस्या आएकाले दोस्रो सन्तान जन्माउन सक्नेमा यी दम्पती सशंकित थिए । उनले लेखेका छन्– ‘जब हामीले प्रिसिल्ला फेरि गर्भवती भएको थाहा पायौँ, हाम्रो पहिलो चाहना बच्चा स्वस्थ जन्मिओस् भन्ने थियो अर्को चाहना जन्मिने बच्चा छोरी होस् भन्ने थियो ।’
यो दम्पतीले २०१५ को डिसेम्बरमा आफूहरू पहिलो पटक आमाबाबु बन्न लागेको घोषणा गरेका थिए । गर्भधारणका लागि प्रिसल्लाले निकै कठिनाइको सामना गर्नुपरेको थियो । पहिलो छोरी जन्मनुअघि उनको तीन पटक गर्भ तुहिएको थियो ।
जुकरबर्गले आफू र प्रिसल्ला दिदीबहिनीबीच हुर्किएको बताएका छन् । दिदीबहिनीसँग खिचेका बाल्यकालका थुप्रै फोटो पनि उनले सेयर गरेका छन् । ‘म तीन दिदीबहिनीसँग हुर्केको हुँ । उनीहरू मेरा दिदीबहिनी मात्र थिएनन् । मेरा साथीजस्ता थिए । उनीहरूले मलाई कसरी प्रतिस्पर्धा गर्ने र कसरी जीवन जिउने भन्ने सिकाएका थिए ।
प्रिसिल्ला पनि दुई दिदीबहिनीसँग हुर्केकी हुन् र उनीहरूले प्रिसल्लालाई अरूको सेवा र परिश्रमबारे सिकाएका छन् । उनीहरूसँग खास किसिमका जोक्स पनि छन् जो ती दिदीबहिनीले मात्रै बुझ्न सक्छन्,’ जुकरबर्गले लेखेका छन् ।

आफ्ना छोरीहरूलाई बलिया र आत्मविश्वासी बनाउने प्रण जुकरबर्गले गरेका छन् । यो जोडीको बिहे २०१२ मा भएको थियो । हार्वड विश्वविद्यालयमा पढ्दा भेट भएका उनीहरूले १० वर्षसम्म डेटिङ गरेका थिए ।

 

Leave A Comment