राजेशपायल राईलाई आठ अभियोग

बिहिबार, १६ असार २०७३, ०६ : ३५ अनिल यादव , Kathmandu
राजेशपायल राईलाई  आठ अभियोग

राजेशपायल राई नेपाली संगीत क्षेत्रमा ‘भर्सटायल’ गायकका रूपमा चिनिन्छन् । एक हजारभन्दा बढी फिल्ममा स्वर दिइसकेका उनका ‘दर्शन नमस्ते’, ‘स्यामुना’, ‘राई इज किङ’ लगायत एल्बम चर्चित छन् । उनका बारेमा नेपाली संगीत जगतमा सुनिने कुराहरूका आधारमा उनलाई आठ अभियोग लगाइएको छ, जसको सफाइ उनले यसरी दिएका छन् ।

१ तपाईं चर्चाको असाध्यै भोको हुनुहुन्छ । यतिसम्म कि चर्चाका लागि आफ्ना समाचार लेख्न लगाउनुहुन्छ ।
चर्चा र लोकप्रियताका लागि हरेक मान्छेले श्रम गर्छ । गिर्नु र श्रम गर्नु फरक कुरा हो । कतिलाई लाग्ला कि मेरो समाचारले उसको टीआरपी बढ्ला, पत्रिकाको लोकप्रियता बढ्ला । हरेक मान्छेको आ–आफ्नै दृष्टिकोण हुन्छ । जसले जे भन्दा पनि म चाहिँ मानिदिन्छु । किन मानिदिन्छु भने उहाँहरूको सोचाइ नै त्यति हो । त्योभन्दा माथि उक्लिन नै सक्नुभएन । त्यही भएर म चर्चाका लागि काम गर्दिनँ, मैले गरेका काम र काम गर्ने तरिका चाहिँ चर्चामा रहन्छन् । यो चाहिँ धुव्रसत्य कुरा हो ।  

२ स्टेजमा गाउँदा तपाईं सुर, ताल, लय केहीको पनि ख्याल गर्नुहुन्न । दर्शक उफार्नमा मात्र ध्यान दिनुहुन्छ ।
दर्शक उफार्नु पनि कम मेहनत गर्नुपर्छ र भनेको ? सबैको गीतमा कहाँ उफ्रिन्छन् र ? हो, सुर, ताल त मैले सिकेको छैन । तर, म सुरतालविनै गीत गाउँछु भन्नु चाहिँ गलत हो जस्तो लाग्छ । अलिअलि त्यस्तो हुनु बेग्लै कुरा हो । युट्युबमा मेरा फ्यान, आयोजक लगायतले कन्सर्टको भिडियो राखिदिएका हुन्छन् । त्यो हेर्दा चाहिँ मलाई त्यति धेरै बिग्रेको जस्तो लाग्दैन । तर, एउटा वास्तविकता चाहिँ के हो भने स्टेज र स्टुडियोमा गीत गाउने मेरो शैलीमा थोरै फरक चाहिँ हुन्छ । स्टेजमा थोरै परिवर्तन गरेर गीत गाउँदा मलाई मज्जा लाग्छ । स्टेजमा मभन्दा बढी मेरो गीत अडियन्सले गाइदिन्छन् भन्ने आरोप पनि छ मलाई । गीत लोकप्रिय छ र त गाइदिन्छन् । म जस्टिन बिबर, अर्जित सिंहलगायत चर्चित गायकगायिकाको प्रस्तुति हेर्ने गर्छु । त्यहाँ पनि दर्शकले गाइदिइरहेका हुन्छन् ।

३ तपाईंं अरूको उन्नति–प्रगति देखिसहनुहुन्न । उदाहरणका लागि, मलेसियाको कार्यक्रममा टेरिया मगरलाई सम्मान गरेको निहुँमा तपाईंले उपद्रो गर्नुभयो र पछि स्पष्टीकरण नै दिनुभयो ।
हो, मैले स्पष्टीकरण यसर्थ दिएँ कि त्यो कार्यक्रममा प्रस्तुति दिएबापत टेरियालाई एक लाख पारिश्रमिक दिनुपर्छ भनेर आग्रह गर्ने मान्छे म नै हुँ । फाइनलमा पुग्दा उसलाई भोट गर्नुस् भन्ने र भोट गर्ने मान्छे पनि म नै हुँ । मलाई त कहिलेकाहीँ हरेक मान्छेको प्रगति होस्, देशले उन्नति र प्रगति गरोस् भनेर सोच्ने मान्छे मै मात्र छु जस्तो पनि लाग्छ । यस्तो सोच्ने मान्छेले कही अरूको डाह गर्छ होला त ? अझ त्यो कार्यक्रमका लागि त चार घण्टाको यात्रा गरेर पेनाङबाट क्वालालम्पुरसम्म टेरियालाई राति पु¥याइदिने मान्छे म नै हो । रेस्टुरेन्टमा आयोजकको खाना नखा’को चाहिँ सही हो । तर, त्यति भन्दैमा मैले उपद्रो ग¥यो भन्न मिल्छ जस्तो लाग्दैन । त्यो कार्यक्रममा आयोजकले अरू अतिथि बोलाएका थिए होलान्, मसँग भेटाइदिने प्लान थियो होला । त्यसो गर्दा उहाँहरूको व्यापार बढ्थ्यो होला । त्यो सब हुन नपाएपछि फैलिएको गलत अफवाह हो यो । यसमा कुनै सत्यता पनि छैन र जुन पत्रिकाले लेखेको थियो उसले माफी पनि मागिसक्यो ।

४ तपाईं महिलाप्रति अलिक बढी नै आसक्त हुनुहुन्छ ?
महिलाप्रति आसक्त हुनैप¥यो नि । केही न केही रूपमा पुरुषभन्दा ज्यादा माया लागिहाल्छ नि । त्यसलाई म आसक्तिभन्दा पनि माया जताएको र सम्मान गरेको भन्न रुचाउँछु । महिलालाई सम्मान गर्नु त राम्रो कुरा हो नि, होइन र ?

५ तपाईं आफ्नो नाम हिरोइनसँग जोड्न खूब रुचाउनुहुन्छ । उदाहरणका लागि रेखा थापा, केकी अधिकारी र प्रियंका कार्कीलाई लिऊँ ।
यी तीनैजना हिरोइन मेरा बेस्टी (निकट मित्र) हरू हुन् । जसको नाम लिनुभयो उहाँहरूसँग केही सत्यता छ । उहाँहरूसँग मेरो सम्बन्ध सुमधुर छ । तर, अनर्थ नलागोस्, कलाकारिताको सम्बन्ध मात्र हो । उहाँहरूसँग म एकदमै धेरै च्याटिङ गरिरहेको हुन्छु । यो सब मित्रता मात्र हो । कसैले यसलाई डाहको रूपमा हेर्लान् । उहाँहरूले पनि त आफ्नो फेसबुकमा मसँगको फोटो राखिरहनुहुन्छ । त्यतिबेलाच चाहिँ आसक्ति नहुने, मैले राख्दा चाहिँ हुने ?

६ ‘राई इज किङ’ भनेर चिनिन थालेपछि तपाईंले आफूलाई नेपाली संगीत क्षेत्रकै किङ ठान्नुभयो । समकालीन गायक–गायिकालाई फिटिक्कै गन्नुहुन्न ।
अब मैले कसलाई गनँे, कसलाई गनिनँ, कुन जोड्ने, कुन घटाउने त्यो मेरो जिम्मा होइन । यो समीक्षकले भन्ने चिज हो, समयले भन्ने चिज हो । म कहाँ लोकप्रिय छु, कत्तिको लोकप्रिय छु त्यो त आमस्रोताले छुट्टयाउने कुरा हो । विदेशका कार्यक्रममा मलाई निम्ता आइरहेकै छन् । यसबाट प्रष्ट छु कि म व्यस्त छु । मैले अरूलाई गन्ने÷नगन्नेभन्दा पनि हामी सबै साथीहरू एउटै परिवारका हौँ जस्तो लाग्छ । ‘राई इज किङ’ मैले आफैँ भनेको होइन, अरूले दिनुभएको उपाधि हो । मैले आफूलाई असल गायकका रूपमा मात्र चिनाउन खोजेको हँु । नम्बर एक गायक त होला म । तर, यो त दर्शक र समीक्षकले भन्ने कुरा हुन् । भनिरहेका पनि छन् । म त मलाई नै मेरो प्रतिस्पर्धी देख्छु । मेरा समकालीन त कोही अमेरिका पुग्नुभयो, कोही घरव्यवहारमा त कोही कता । कोही गाइरहनुभएकै होला । चाहे अमेरिका बस्नुस्, चाहे नेपालमै उहाँहरूप्रति मेरो सम्मान छ । तर, अमेरिकाको नागरिकता लिनु राम्रो हो जस्तो चाहिँ लाग्दैन ।  

७ तपाईं ‘मुडी’ हुनुहुन्छ । आफूलाई मन पर्दा अरूका गीत निःशुल्क गाइदिनुुहुन्छ, मन नपर्दा जति रकम दिए पनि गाउनुहुन्न ।
हो, मुडी चाहिँ छु म । मान्छेको जन्मजात स्वभावै हुँदोरैछ । मलाई मन प¥यो भने मन प¥यो–प¥यो, ज्यान दिएर मुटु फाल्दिन्छु । मन परेन भने मन परेन–परेन, वास्तै गर्दिनँ । एकदमै दुर्गम स्थानबाट आएर राजधानीमा संघर्ष गरिरहेका त्यस्ता प्रतिभाको गीत म कम पैसामा पनि गाइदिन्छु, निःशुल्क पनि गाइदिन्छु । धेरै पैसा दिँदा पनि गाइदिन्छु । म व्यावसायिक गायक हो । तर, म क्षमतावान् प्रतिभालाई कहीँ न कहीँ सम्मान चाहिँ गर्छु ।

८ तपाईं कहिलेकाहीँ एकदमै ‘चिप’ बेहोरा देखाउनुहुन्छ । जस्तोः कहिलेकाहीँ रेस्टुरेन्टमा बिल तिर्ने बेलामा ‘एउटा गीत गाइदिन्छु नि, हुन्छ ?’ भन्ने खालको प्रस्तावसम्म राख्नुभएको सुनिन्छ ।
यो त हुँदै होइन । एक त म त्यति रेस्टुरेन्ट नै जान्न । डिस्कोको चाहिँ एडिक्ट हुँ म । त्यहाँ त गीत गाउने कुरै भएन, नाच्ने मात्र कुरा भयो । मजतिको बिल तिर्ने गायक त छैन जस्तो लाग्छ मलाई । यो त आरोप मात्र हो । अमेरिकाको महँगो रेस्टुरेन्टमा पैसा तिरेरै खाइरहेको हुन्छु म । मलाई पैसाको समस्या छैन । पैसाको लोभ गर्ने, हजार रुपैयाँको लागि मर्ने भएको भए, मेरो काठमाडौँमा सिंहदरबारजत्रो दुईतीनटा घर भइसक्थ्यो । म एकदमै धेरै काम गर्छु । यति धेरै विदेश गए कि पासपोर्ट नै आठवटा भइसक्यो । म आफू पनि श्रम गरेको पैसा लिन्छु र अरूको श्रमको पनि सम्मान गर्छु ।

 

Leave A Comment