‘काजीका कारण झन्डै चुटाइ भेटेको !’

बुधबार, ३० चैत २०७३, ०१ : १४ मनोज घर्तीमगर , Kathmandu
‘काजीका कारण झन्डै चुटाइ भेटेको !’

फिल्म तथा नाटकमा बलियो परिचय बनाएका अभिनेता हुन्, प्रकाश घिमिरे । थुप्रै नाटक र ‘उमा’, ‘टलकजंंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘पशुपतिप्रशाद’लगायत फिल्ममा उनले अभिनय गरेका छन् । आफूले निर्वाह गरेका केही चरित्रबारे उनले मनोज घर्तीमगरसँग कुराकानी गरेका छन्ः

धम्मरे परियार
टेलिफिल्म ‘दलन’मा मैले ‘धम्मरे परियार’ अभिनय गरेको थिएँ । त्यो बडो मजाको क्यारेक्टर थियो । सिरियलमा २००७ देखि २०४६ सालसम्म दलितको अवस्था देखाइएको छ । सिरियलमा माथिल्लो वर्गले तल्लो वर्गलाई र तल्लो वर्गले माथिल्लो वर्गलाई हेर्ने दृष्टिकोण प्रस्तुत गरिएको थियो । आन्दोलन गरेर एक्कासि परिवर्तन हुँदैन, परिवर्तन बिस्तारै हुन्छ भन्ने पात्र हो, धम्मरे । जो दयालु छ । मलाई यो पात्र गर्दा एकदमै रमाइलो लागेको थियो । बाहुन भएर दलितको चरित्र ग¥यो भनेर विरोध पनि भएको थियो । कतिले त मलाई अहिले पनि ‘ओई धम्मरे !’ भनेर बोलाउछँन् ।
कामी
‘मलामी’ भन्ने सर्ट फिल्ममा पनि मैले कामीको रोल गरेको थिएँ । फ्रान्सेली निर्माताको लगानीमा बनेको यस फिल्ममा गाउँमा कोही युवा नहुने, महिला र केटाकेटी मात्रै हुने र मान्छे मरेमा मलामी जाने मान्छे पनि नहुने अवस्था देखाइएको थियो । केटाकेटीले सक्दैनन्, महिलाले लाश छुनु हुँदैन भन्ने सोचाइ ब्राह्मण समाजमा हुन्छ । गाउँमा मान्छे नभएपछि कामी बनेको मलाई मान्छे गाड्नलाई खाल्टो खन्न लगाइन्छ । खाल्डो खनिदिएबापत मैले गाउँलेसँग घोडा माग्छु । पछि त्यही घोडामा बिरामी श्रीमती राखेर गाउँ छाडेर जान्छु । यो पनि रमाइलो क्यारेक्टर थियो ।
मास्टर
‘उमा’ फिल्ममा नेपाली भाषाको मास्टरको भूमिकामा छु । यो क्यारेक्टरले कविताबाटै जागरण ल्याउने काम गर्छ । हतियारले हैन विचारबाट दुनियाँ बदलिन्छ भन्ने मान्यता राख्ने पात्र हो, मास्टर । जसलाई गाउँमा सबैले मान्छन् । विद्यार्थीहरूले पनि असाध्यै मन पराउँछन् । जसले जनचेतनाका लागि काम गर्छ । आफ्नै घरमा कविताका कार्यक्रम गर्छ । विद्यार्थीलाई कविता कार्यक्रम गर्नुपर्छ भनेर प्रोत्साहित गर्छ । त्यसो हुँदा ‘यो माओवादी हो’ भनेर प्रहरीले मास्टरलाई पक्राउ गर्छ । पुलिसले लगेपछि के हुन्छ भन्ने थाहा हुँदैन । त्यसपछि त्यो पात्र हराउँछ । बढो आनन्दको क्यारेक्टर थियो, यो । मेरै स्वभावसँग मिल्ने क्यारेक्टर पनि हो ।
काजी
‘टकलजंग भर्सेस टुल्के’ फिल्ममा मैले ठकुरी खानदानका काजीको भूमिका गरेको छु । गाउँमा सबैमाथि दबदबा जमाउन खोज्ने क्यारेक्टर हो, काजी । कसैले गलत काम गरेको छ भने त्यसमा न्यायनिसाफ दिने खालको काम पनि गर्छ काजीले । पञ्चायतकालदेखि बहुदल आए पनि उसको रवाफ उस्तै हुन्छ । बुहारीसँगै ल्याइएकी केटीमाथि काजी कुदृष्टि राख्छ र उसको बलात्कार पनि गर्छ । यस सिनले गर्दा विद्यार्थीले मलाई ‘फुँडो बुढो’ भनेर जिस्काए । शिर निहु¥याएर हिँडेको छु । यो क्यारेक्टर गर्दा मैले सामन्तीहरूको स्वभावबारे बुझ्ने मौका पाएँ । यही पात्रका कारण मैले दर्शकबाट झन्डै चुटाइ पनि भेटको थिएँ ।
मितबा
‘पशुपतिप्रसाद’ फिल्ममा मैले घाटमा लाश जलाउने घाटेको रोल गरेको छु । त्यसमा म पशुपतिप्रसादको मितबा बनेको छु । मैले लाश जलाउने काम गर्छु भन्ने थाहा पाएपछि श्रीमती मलाई छोडेर जान्छे । उधारोमा रक्सी खाने, कुखुराका खुट्टा–टाउको खाने, एकदमै फोहोरी र कुचुक्क परेको ठाउँमा बस्ने, बडो दर्शन छाँट्ने खालको क्यारेक्टर हो यो । १०।१२ दिनसम्म लाशकै वरिपरि बिताइयो । त्यसैले त्यो पात्रभित्र छिर्न सकेँ । त्यो पात्र कति लोकप्रिय भएछ भने अहिले पनि मलाई बाटोघाटोमा कहिलेकाहीँ मितबा भनेर बोलाउँछन् ।
उपप्रधानमन्त्री
‘सिंहदरबार’ भन्ने टेलिसिरियलमा म उपप्रधानमन्त्रीको भूमिकामा छु । राजनीतिमा उसको भूमिका अलि दह्रो छैन । मान्छे चाहिँ ऊ विद्वान हो ।  ऊ संसदीय दलको उपनेतामा उठ्दा हार्छ । ‘यो मान्छे सक्षम छ’ भनेर उसकै पार्टीको मान्छे प्रधानमन्त्री हुँदा उसलाई उपप्रधानमन्त्री बनाउँछ ।

 

Leave A Comment