यो साल मुनाफा कमाउने फिल्मको विशेषता हेर्दा कमेडी फिल्ममा दर्शकको रुचि ज्यादा रहेको देख्न सकिन्छ । सफल भएका सात फिल्ममा एकाध फिल्मबाहेक बाँकीमा कमेडीको वर्चस्व थियो । सुपरहिट रहेको ‘छक्का पन्जा’ कमेडीकै कारण दर्शकको रोजाइमा परेको थियो भने ‘जात्रा’, ‘वीरविक्रम’मा पनि कमेडीकै प्रधानता थियो ।
नेपाली फिल्मको भविष्य र गन्तव्यका बारेमा विगत केही वर्षयता व्यापक बहस हुँदै आएको छ । कस्ता फिल्म बनाउने र कुन फिल्म चल्छन् भन्ने विषयमा पनि केही वर्षयता निर्माता–निर्देशकले चिन्तन गर्ने क्रम जारी छ । यो साल पनि चिया गफमा धेरै निर्माता–निर्देशकले आफ्नो चिन्ता र चासो प्रकट गरिरहे तर निष्कर्षमा पुग्न सकेनन् ।
तुलनात्मक रूपमा अघिल्लो वर्षको तुलनामा नेपाली फिल्मका लागि २०७३ साल सुखद रह्यो । यो साल बहसको केन्द्रमा रहेका फरक धार अथवा अग्र्यानिक फिल्मले अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरे भने व्यावसायिक धारका फिल्मले हलमा दर्शकको ताँती लगाए । लगानी उठाउने सवालमा पनि अघिल्ला वर्षका फिल्मको तुलनामा यो सालका फिल्म अगाडि रहे ।
चलचित्र विकास बोर्डले दिएको तथ्यांकअनुसार यो साल जम्मा ८८ वटा फिल्म प्रदर्शनमा आए । जसमध्ये सात वटा फिल्मले आफ्नो लगानी सुरक्षित गरे । बक्स अफिसको भाषामा भन्ने हो भने यो साल ‘छक्का पन्जा’ सुपरहिट रह्यो भने ‘लुट २’, ‘जात्रा’, ‘गाजलु’, ‘कालो पोथी’, ‘किस्मत २ हिट’ रहे । त्यस्तै, ‘पुरानो डुंगा’ र ‘वीरविक्रम’ले हलबाटै लगानी सुरक्षित गर्न सफल रहे । त्यसो त थुप्रै फिल्महरूले मिनिमम ग्यारेन्टी (एमजी) तथा डायस्पोरामा फिल्म बेचेर आफ्नो खर्च निकाले पनि होलान्, तर दर्शकले नै हेरेर फिल्मको लगानी उठाउन मद्दत नगरेका कारण यिनलाई हिट वा औसत हिटको सूचीमा समावेश गर्नु उपयुक्त हुँदैन । ‘चपली हाइट २’, ‘जिस्म’, ‘जय परशुराम’, ‘गाँठो’ जस्ता फिल्मका निर्माता त सुरक्षित रहे तर यी फिल्ममा लगानी गर्ने वितरकहरू घाटा खान बाध्य भए ।
नेपाली फिल्मको बजार
नेपाली फिल्मको बजार कत्रो छ र कतिसम्म लगानी गर्न सकिन्छ भन्ने कुरा अनुमानको भरमा मात्र भन्न सकिन्छ । तर, यो साल ‘छक्का पन्जा’ले नेपाली फिल्मको बजारको सालाखाला आँकडा देखाइदियो । निर्माताहरूको तथ्यांकलाई आधार मान्दा फिल्मले १६ करोड रुपैयाँ हाराहारी व्यापार गरेको छ, जुन अहिलेसम्म कुनै पनि नेपाली वा बलिउड फिल्मले नेपालमा गरेको कमाइमा सर्वाधिक हो । यस हिसाबले अपवादबाहेक औसतमा नेपाली फिल्मको बजार छ करोडदेखि १० करोडसम्म रहेको अनुमान गर्न सकिन्छ । ‘कोहिनूर’, ‘ड्रिम्स’, ‘परदेशी’, ‘कबड्डी कबड्डी’आदि फिल्मले गरेको व्यापार हेर्दा पनि नेपाली फिल्मले बिस्तारै १० करोडसम्म ‘ग्रस’मा व्यापार गर्न सक्ने गरी दर्शक बढिरहेको देख्न सकिन्छ ।
त्यसै गरी, नेपाली फिल्ममा औसतमा ५० देखि ६० लाख रुपैयाँसम्म लगानी हुने गरेको छ । यो सालका ८८ फिल्म औसतमा ५० देखि ६० लाखको लगानीमा बनेको विश्वास गर्ने हो भने यो साल सालाखाला पौने अर्ब लगानी भएको देखिन्छ । जसमध्ये ३५ करोड बजारबाट फिर्ता आएको छ भने बाँकी निर्माताले घाटा बेहोरेका छन् । यस हिसाबले ६० प्रतिशत निर्माताले यो साल घाटा बेहोरेका छन्, जुन अघिल्लो सालको अनुपातमा कम हो । हलमा दर्शक बढ्नु, डायस्पोरामा फिल्मले गतिलो मूल्य पाउनु तथा यूएई तथा अन्य देशमा हलमै फिल्म लाग्नुले निर्माताहरूले गुमाउने मात्रा कम हुँदै गएको हो ।
कमेडीको वर्चस्व
जुनसुकै विधाका फिल्म बन्नु र सबैले समान रूपमा दर्शक पाउनु फिल्म उद्योग ठूलो बन्नुका विशेषता हुन् । नेपालमा धेरै विधामा फिल्म बन्ने क्रम त जारी छ तर सबै फिल्मले समान रूपमा दर्शक भने पाउन सकेका छैनन् । यो साल मुनाफा कमाउने फिल्मको विशेषता हेर्दा कमेडी फिल्ममा दर्शकको रुचि ज्यादा रहेको देख्न सकिन्छ । सफल भएका सात फिल्ममा एकाध फिल्मबाहेक बाँकी सबै फिल्ममा कमेडीको वर्चस्व थियो । सुपरहिट रहेको ‘छक्का पन्जा’ कमेडीकै कारण दर्शकको रोजाइमा परेको थियो भने ‘जात्रा’, ‘वीरविक्रम’मा पनि कमेडीकै वर्चस्व थियो । अनमोल केसी र सृष्टि श्रेष्ठ जोडी भएर अभिनय गरेको ‘गाजलु’मा पनि प्रेमकथाभन्दा पनि सलोनको कमेडीले दर्शक खुशी बनाएको थियो । अरू त अरू ‘कालो पोथी’मा फिल्मभित्र रहेको दुई साथीको कमेडी दर्शक ‘होल्ड’ गर्ने मुख्य आधारका रूपमा रहेको थियो । आजभन्दा १० वर्षअगाडि बलिउडमा अचानक हास्य शैलीका फिल्मको बाढी नै आएको थियो । एक्सनका लागि चिनिएका अजय देवगन र अक्षय कुमारजस्ता हिरो पनि नामुद कमेडियनका रूपमा अगाडि आएका थिए । अबका केही वर्ष नेपालमा पनि कमेडी फिल्मको वर्चस्व रहने अनुमान गर्न सकिन्छ । हलभित्र बिताइने दुई वा साढे दुई घण्टा विशुद्ध मनोरञ्जनका लागि हो भन्ने मान्यता हाबी हुँदै गएकाले पनि दर्शक रुचिका नाममा बिस्तारै कमेडी शैलीका फिल्मले वर्चस्व जमाउँदै लैजानेछन् । जसको संकेत यो सालका फिल्मले दिइसकेका छन् ।
साख गुमाएका सिक्वेल/शृंखला
नाम मात्रै सापटी लिएका फिल्मलाई पनि नेपालमा सिक्वेल भन्ने गरिएको छ । तर, पहिलो फिल्मको नाम मात्रै सापटी लिएको फिल्मलाई सिक्वेलभन्दा पनि शृंखला भन्नु उपयुक्त हुन्छ । यस हिसाबले यो सालको सच्चा सिक्वेल ‘लुट २’ मात्र हो । बाँकी फिल्म भने पहिलो फिल्मका निरन्तरता मात्र हुन् । यो साल पहिलो फिल्मको नाम सापटी लिएका ‘बाटोमुनिको फूल’, ‘किस्मत’, ‘चपली हाइट’, ‘दर्पणछायाँ’ र ‘लुट’ २ नाम थपेर प्रदर्शनमा आए । तर, पाँच वटै फिल्मको संयोग के रह्यो भने सबैले पहिला कमाएको साख बचाउन सकेनन् ।
साख गुमाउनेमा पहिलो नम्बरमा रह्यो, ‘लुट २’ । पाँच वर्षअगाडि आएको फिल्म नेपाली फिल्मको माइलस्टोन फिल्म मानिन्छ तर निर्देशक निश्चल बस्नेतले यसको गहिराइ नबुझ्दा सिक्वेल बनाउने गल्ती मात्र गरेनन्, फिल्म पनि आफैँमा औसतभन्दा बढीको बनाउन सकेनन् । फलतः फिल्म न दर्शकको मनमा बस्यो न समीक्षकको । उनले दुवैबाट गाली खाए ।
निश्चलपछि गाली खानेमा तुलसी घिमिरे रहे । उनले पनि १७ वर्षअघि माइलस्टोन मानिएको ‘दर्पणछायाँ’को नाममा २ थपेर ‘दर्पणछायाँ २’ बनाए । यो फिल्मले पनि तुलसी घिमिरेले माइलस्टोन फिल्मको ब्याज खान खोजेको आरोपबाट मुक्ति दिन सकेन । पछिल्लो फिल्म पहिलो फिल्मको कुमकुमसम्म पनि कुनै कोणबाट उभिन सकेन । यसै गरी ‘चपली हाइट’, ‘किस्मत’ र ‘बाटोमुनिको फूल’ले पनि पहिलाको साख बचाउन सकेनन् । माथिका तीनमध्ये ‘किस्मत’को शृंखलाले निर्मातालाई व्यावसायिक घाटा नदिलाए पनि बाँकीले पहिला फिल्मको साख त खुइल्याए नै, निर्मातालाई पनि व्यावसायिक तुष्टि दिन सकेनन् ।
फरक धारको धाक
सूत्रबद्धइतरका फिल्मलाई आजभोलि फरक धार भनिने गरेको छ । खास गरी व्यावसायिक फिल्म बनाउने फिल्मकर्मी यस्ता फिल्मकर्मीलाई फरक धारका फिल्मकर्मी भनेर बोलाउने गर्छन् । अघिल्ला वर्षमा बहसमा सीमित यस्तो धारले यो साल भने राम्रै धाक देखाए । भेनिसको क्रिटिक्स विकमा क्रिटिक्स अवार्ड जितेको फिल्म ‘कालो पोथी’ले नेपालका हलमा पनि अनमोल केसी अभिनीत फिल्म ‘गाजलु’लाई आच्छुआच्छु पा¥यो भने दीपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’ले सिंगापुरलगायत थुप्रै फिल्म फेस्टिभलमा अवार्ड पायो । अझ न्युयोर्क टाइम्सले सन् २०१६ का हेर्नैपर्ने नौ फिल्ममा ‘सेतो सूर्य’लाई समावेश गरेपछि त फरक धारका फिल्मको उपस्थिति यो साल जबर्दस्त रह्यो । वर्षको अन्त्यतिर रिलिज भएको फिल्म ‘डाइङ क्यान्डल’ले अमेरिकाको क्विन्स फिल्म फेस्टिभलमा छायांकनतर्फको अवार्ड जितेर हल्लीखल्ली ग¥यो । फिल्म नेपालका हलमा पनि अपेक्षाकृत रूपमा राम्रै चल्यो ।
पूजा गुरुङ र विभूषण बस्नेत निर्देशित छोटो फिल्म ‘दद्या’ पनि यो साल नै भेनिसको फिल्म फेस्टिभलमा छानियो । नेपालमा हुने फेस्टिभलमा अवार्ड जित्दै आएको फिल्मले भेनिसमा केही नजिते पनि नेपाली फिल्म भेनिसजस्तो प्रतिष्ठित फेस्टिभलमा छानिनु आफैँमा कम उपलब्धि होइन । यस हिसाबले फरक धारले यो साल राम्रो धाक छाड्न सफल भए । यसै गरी भोजराज भाट निर्देशित ‘सुनाकली’ यो साल पनि चर्चामा रह्यो । फिल्मले थुप्रै देशका अन्तर्राष्ट्रिय फेस्टिभलमा अवार्ड जित्यो भने गणेश पाण्डे निर्देशित ‘भाग्यले बाँचेकाहरू’ ले पनि थुप्रै फेस्टिभलमा उपस्थिति जनायो ।
भाउ बढेको साल
कलाकारको ह्वात्तै बढेको पारिश्रमिकले यो साल राम्रै चर्चा पायो । पाँच लाख तल रहेको कलाकारको पारिश्रमिक यो साल बढेर २० लाख रुपैयाँसम्म पुग्यो । ‘कृ’का लागि अनमोल केसीले लिएको २० लाख रुपैयाँ सबैभन्दा ठूलो न्युजमेकर बन्यो । यही साल दयाहाङ राई, सौगात मल्लले आफ्नो भाउ बढाएर १० लाखसम्म पु¥याए, जबकि अघिल्लो सालसम्म उनीहरूले तीन–चार लाखको हाराहारीमा पारिश्रमिक पाउँदै आएका थिए ।
हिरोइनका हकमा पनि यो साल थुप्रै हिरोइनले आफ्नो भाउ बढाए । ‘ड्रिम्स’ हिट भएलगत्तै साम्राज्ञीराज्यलक्ष्मी शाहले फिल्म खेलेबापत पाँच लाख मागेको कुरा गसिप बन्यो । नयाँ अभिनेत्रीमै वर्षा राउतले ‘मेरो पैसा खोइ’मा साढे तीन लाख पाएको चर्चा छ । पारिश्रमिक बढेकै कुरा गर्दा नम्रता श्रेष्ठले पनि पछिल्लो फिल्ममा पाँच लाख लिएको चर्चा छ । त्यसबाहेक पहिले चलिरहेका प्रियंका कार्की, केकी अधिकारी र रेखा थापाले दुईदेखि तीन लाखसम्म लिए । उनीहरूको पारिश्रमिकमा खासै उछाल आएन । हिरो–हिरोइनपछि छायांकारले पनि आफ्नो पारिश्रमिक बढाएका छन् यो साल । पहिला–पहिला बढीमा छ लाखमा छायांकनको जिम्मेवारी लिने छायांकारले यो साल १० लाखसम्म लिए । जसमा उनीहरूले आफ्नो पारिश्रमिक मात्र अढाईदेखि तीन लाख पु¥याएका छन् । त्यसै गरी थिएटरको पृष्ठभूमिबाट आएका कलाकारले पनि आफ्नो पारिश्रमिक बढाएका छन् ।
अन्त्यमा,निर्माता–निर्देशक कस्तो फिल्म बनाउनेमा दुविधाग्रस्त भएझैँ केही कलाकारका लागि पनि कस्तो फिल्म खेल्ने भन्ने दुविधा यथावत् रह्यो । दयाहाङ राई र सौगात मल्लले अपेक्षा गरेका थुप्रै फिल्म चलेनन् । तर, यो साल कुनै समयका चर्चित अभिनेता राजेश हमाल र आर्यन सिग्देलको करिअर ग्राफ नराम्ररी ओरालो झ¥यो । हमाल अभिनीत ‘शकुन्तला’ले उनको फरक भूमिकाका विपरीत दर्शकलाई हलसम्म तान्न सकेन भने आर्यन अभिनीत ‘होमवर्क’मा दर्शकले होमवर्क गर्ने रुचि देखाएनन् । यो फिल्ममा आर्यन बाबु–छोराको दोहोरो भूमिकामा थिए र अभिनयका हिसाबले यसलाई प्रयोगवादी मानिएको थियो । जीवन लुइँटेलको अवस्था पनि आर्यनको भन्दा फरक रहेन । उनले फिल्म छानेर वर्षमा दुइटा फिल्म खेल्ने घोषणा गरे तर उनले छान्दा पनि यस्ता फिल्म छाने, जसलाई दर्शकले हेर्न जरुरी ठानेनन् । जीवनका ‘राधा’ र ‘लेकसाइड’ दुवै असफल रहे । जीवन अतिथि भूमिकामा रहेका ‘सुब्बासाब’ पनि हलमा लागेको र उत्रिएको थाहा भएन । तीनवटै कलाकारका बारेमा सबैको एउटै टिप्पणी सुनियो– ‘जथाभावी फिल्म खेल्दा तीनै स्टारले समय छँदै आफ्नो स्टारडम गुमाए ।’ यो साल निखिल उप्रेती र विराज भट्टको अवस्था पनि उस्तै रह्यो । विराजको ‘जय परशुराम’ नराम्ररी असफल भयो निखिलका पनि ‘किङ’ र ‘निर्भय’ले दर्शकको रुचि पूरा गर्न सकेनन् । तर, समग्रमा २०७३ साललाई दर्शक हाँसेको वर्षका रूपमा लिन सकिन्छ ।
Leave A Comment