‘पशुपति प्रसाद’लाई तीन अवार्ड

शुक्रबार, १७ असार २०७३, १० : ०८ शुक्रवार , Kathmandu
‘पशुपति प्रसाद’लाई तीन अवार्ड

धेरै दर्शकको मन जितेको फिल्म ‘पशुपति प्रसाद’ले सरकारी स्तरको फिल्म अवार्ड कार्यक्रममा प्रभुत्व जमाएको छ । चलचित्र विकास बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार २०७२ सालको उत्कृष्ट फिल्म ठहरिँदै ‘पशुपति प्रसाद’ले निर्देशन तथा पटकथा विधामा समेत ‘राष्ट्रिय चलचित्र पुरस्कार’ जितेको छ । टुकी आर्ट्सले निर्माण गरेको यस फिल्मका निर्देशक दीपेन्द्र के खनाल र पटकथा लेखक खगेन्द्र लामिछाने हुन् ।
उत्कृष्ट अभिनेताको पुरस्कार दयाहाङ राईले फिल्म ‘कबड्डी कबड्डी’बाट, उत्कृष्ट अभिनेत्रीको पुरस्कार नम्रता श्रेष्ठले फिल्म ‘क्लासिक’बाट, उत्कृष्ट छायाँकारको पुरस्कार पुरुषोत्तम प्रधान र सञ्जय लामाले फिल्म ‘ड्रिम्स’बाट र उत्कृष्ट सम्पादकको पुरस्कार सुरेन्द्र पौडेलले फिल्म ‘क्लासिक’बाट प्राप्त गरेका छन् ।
त्यस्तै २०७२ सालमै निर्देशन विधामा हात हालेका अभिनेता भुवन केसीले ‘ड्रिम्स’बाट नव निर्देशकको पुरस्कार पाएका छन् । उत्कृष्ट आदिवासी फिल्मको अवार्ड वेदबहादुर गुरुङ (श्याम)द्वारा निर्देशित गुरुङ फिल्म ‘युम्पो देउराली’ले हात पारेको छ । ‘राष्ट्रिय चलचित्र पुरस्कार २०७२’का विजेताहरुको घोषणा बिहीबार बिहान चलचित्र विकास बोर्डको १६ औं वार्षिकोत्सव समारोहमा गरिएको थियो ।
पुरस्कृत फिल्मकर्मी तथा कलाकारहरुलाई शीतल निवासमा बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चारमन्त्री शेरधन राईले ट्रफी तथा प्रमाणपत्र वितरण गरे । राष्ट्रपति भण्डारीकै हातबाट अग्रज अभिनेत्री वसुन्धरा भुसालले ‘चलचित्र दीर्घ साधना सम्मान’ ग्रहण गरिन् । उनले ३ लाख ५१ हजार १ सय ११ रुपैयाँसहितको उक्त सम्मान ग्रहण गर्दा प्रेक्षालयमा उपस्थित फिल्मकर्मीले उठेर उनीप्रति श्रद्धा व्यक्त गरेका थिए ।
दयाहाङ राई यसपालि सहित तीनवटा राष्ट्रिय चलचित्र पुरस्कार जित्न सफल भएका छन् । उनले यसअघि ‘दासढुंगा’का लागि उत्कृष्ट सहअभिनेता र ‘सम्बोधन’का लागि उत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए । सम्पादक सुरेन्द्र पौडेलले पनि यसअघि ‘लुट’बाट सम्पादन विधामा राष्ट्रिय चलचित्र पुरस्कार पाइसकेका छन् ।
पुरस्कार तथा सम्मान वितरण गर्दै राष्ट्रपति भण्डारीले फिल्मकर्मीहरुलाई प्रविधि र कला क्षेत्रका पछिल्ला परिवर्तनहरुलाई अंगिकरण गर्न र नेपालीको मौलिक पहिचानलाई आत्मसात गर्न सुझाव दिइन् । उनले एक सुविधासम्पन्न सुटिङ स्टुडियोको आवश्यकता देखिएकोमा समेत सरकारको ध्यानाकर्षण गरिन् ।
‘प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाललाई विदेशी फिल्मको छायांकनस्थलका रुपमा प्रवद्र्धन गर्न सके अर्थतन्त्रमा पनि फाइदा पुग्नेछ,’ राष्ट्रपति भण्डारीले थपिन्, ‘साथै नेपाली फिल्मलाई स्तरीय र गरिमामय बनाउँदै विदेशमा नेपालको प्रतिष्ठा बनाउन सबै फिल्मकर्मी प्रतिवद्ध हुन जरुरी छ ।’
समाजको ऐना र राष्ट्रको सचेतकका रुपमा फिल्मले भूमिका निर्वाह गर्दै आएकोमा सञ्चारमन्त्री शेरधन राईले फिल्मकर्मीको तारिफ गरे । उनले चलचित्र पुरस्कार र सम्मानलाई सरकारको कार्यतालिकामै समावेश गरेर बजेट विनियोजन गर्दै थप परिस्कृत गर्ने आश्वासन पनि दिए ।
आयोजक चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले राष्ट्रिय चलचित्र पुरस्कारलाई कलाकारहरुको प्रतिभा र साधनाको सम्मानका रुपमा चिनाए । उनले नेपाली फिल्मको स्तर वृद्धिका लागि विकास बोर्ड प्रतिवद्ध रहेको बताए ।
राष्ट्रिय चलचित्र पुरस्कारको निर्णय यसपालि रमेश बुढाथोकीको संयोजकत्वमा गठित मोहन निरौला, करुण थापा, सरिता लामिछाने र सुशील पौडेल सम्मिलित निर्णायक समितिले गरेको थियो । नेपाली फिल्मको कलात्मक विकासमा सहयोग पु¥याउने फिल्मकर्मी तथा फिल्मलाई अन्तर्राष्ट्रिय फिल्म अवार्डका मापदण्डहरुलाई समेत ख्याल गरेर पुरस्कृत गरिएको निर्णायक समिति संयोजक रमेश बुढाथोकीले अवगत गराए ।
बिहीबार बिहान चलचित्र विकास बोर्डमा भएको वार्षिकोत्सव समारोहमा सञ्चारमन्त्री राईले शिव श्रेष्ठ, राजेश हमाल, करिश्मा मानन्धर, कृष्ण मल्ल, शम्भुजित बास्कोटा, लय संग्रौला, शर्मिला मल्ल, रविन्द्र खड्का, वसन्त श्रेष्ठ, सुभाष गजुरेल, टीका पहारी, हरिहर शर्मा, राजेन्द्र खड्गी, रामचन्द्र अधिकारी, लक्ष्मी गिरी, मोहन निरौला, रमेश बुढाथोकीलगायत २७ कलाकारलाई विशिष्ट चलचित्रकर्मीको परिचयपत्र वितरण गरे ।
समारोहमा बोर्डका कर्मचारीहरु चिरञ्जीवी गुरागाईं र हरिसिंह रैखोलालाई सर्वोत्कृष्ट कर्मचारी र निर्मला चौलागाईलाई उत्कृष्ट कार्य सम्पादन पुरस्कार प्रदान गरिएको थियो ।

Leave A Comment