स्वस्थ सन्तान जन्माउन

आइतबार, ०३ बैशाख २०७४, १२ : ५९ शुक्रवार , Kathmandu
स्वस्थ सन्तान जन्माउन

–डा. योगी विकासानन्द

बच्चा कस्तो हुन्छ भन्ने कुरा सम्भोगमा बाबुआमाको कस्तो मुड वा मनस्थिति छ भन्ने कुरामा धेरै निर्भर हुन्छ । हामी गर्भावस्था, बच्चाको जन्म र बच्चाको बाल्यकालको विषयमा चनाखो हुन्छौँ । तर, गर्भाधानको विषयमा खासै चर्चा गर्दैनौँ । सक्षम, सबल र क्षमतावान्  सन्तान जन्माउने हो भने गर्भाधानकै समयबाट ख्याल गर्नुपर्छ ।

दृष्टिविहीन धृतराष्ट्र र रोगी पाण्डु जन्मिनाले महाभारत युद्धको आधार तयार भयो । यदि उनीहरू शारीरिक रूपमा सबल जन्मिएका भए सायद महाभारतको युद्ध नहुन पनि सक्थ्यो । दुई जना कमजोर मानिस जन्मिनाले करोडौँ मानिसको मृत्य हुने युद्ध भयो । यसबाट हामीले के बुझ्नुपर्छ भने शारीरिक वा मानसिक रूपमा कमजोर जन्मिएको बालक कुनै पनि ‘पावर प्वाइन्ट’मा पुग्यो भने त्यसले धर्तीमा गम्भीर असर पु¥याउन सक्छ । तसर्थ धर्तीलाई समृद्ध र शान्त बनाउनु छ भने स्वस्थ्य बच्चा जन्माउनैपर्छ ।
धृतराष्ट्र र पाण्डु किन त्यस्तो जन्मिए भन्ने विषय पनि महाभारत कथाले उद्घाटित गरेको छ । महाभारतको कथाअनुसार राजा विचित्रवीर्य निःसन्तान मरेपछि राज्यमा उत्तराधिकारीको संकट पर्छ । तत्पश्चात् विचित्रवीर्यकी आमा रानी सत्यवतीले विवाहपूर्व नै सूर्यमार्फत आफूले जन्माएको छोरा व्यासलाई विचित्रवीर्यका रानीहरू अम्बिका र अम्बिालिकालाई गर्भधान गर्न आग्रह गर्छिन् । वेदव्यासले मातृ आज्ञा स्विकार्छन् र विचित्रवीर्यकी रानीहरू अम्बिका र अम्बालिकालाई ऋतुदान गर्न तयार हुन्छन् ।
वेदव्यासलाई नियोगका लागि  दरबारमा बोलाइन्छ । अम्बिका वेदव्यासलाई देखेर डराइन् । उनको डर स्वाभाविक पनि थियो । कहाँ दरबारकी रानी, कहाँ दाह्री पालेको डरलाग्दो साधु ! डरले आत्तिएर अम्बालिकाले व्यासलाई हेर्न समेत सकिनन् । वेदव्याससँगको उनको सम्भोग कष्टपूर्ण रह्यो । सम्भोग अवस्थामा भयका कारण आँखा चिम्लिएकाले धृतराष्ट्र दृष्टिविहीन जन्मिए । अम्बालिका पनि व्याससँग डराइन् । उनी डरले थरथर भइन् । जसका कारण पाण्डु जन्मजात नै रोगी भए । दुई सन्तान कमजोर भएपछि रानी सत्यवतीले फेरि व्यासलाई बोलाइन् । यसपटक अम्बिका वेदव्याससामु गइनन् । बरु आफ्नी दासीलाई सिँगारेर पठाइन् । दासीले वेदव्याससँगको सम्भोगलाई आयोजन वा अवसरका रूपमा ग्रहण गरिन् । जसका कारण विदुरजस्ता महानतम ज्ञानी सन्तान जन्मिए ।
यो कथा हामीले कैयाँै पटक सुनेका छौँ । तर, यसको विषयमा हामीले गहिरोसँग सोच्ने गरेका छैनौँ । सम्भोगका समयमा विभिन्न रसायन क्रियाशील हुन्छन् । वीर्य आफैँ पनि विभिन्न रसायनहरूको जोड हो । अम्बिका र अम्बालिकामा डरका कारण सम्भोग समयमा सक्रिय हुनुपर्ने आनन्द, सन्तुष्टि र खुशीका रसायन ‘रिलिज’ भएनन् । बरु त्रास, भय र कष्टसँग सम्बन्धित रसायनहरू सक्रिय भए । जसको असर बच्चामा प¥यो । तसर्थ बच्चा कस्तो हुन्छ भन्ने निर्धारण सम्भोगमा बाबुआमाको कस्तो मुड छ भन्ने कुरामा धेरै निर्भर हुन्छ । हामी गर्भावस्था, बच्चाको जन्म र बच्चाको बाल्यकालको विषयमा चनाखो हुन्छौँ । तर, गर्भाधानको विषयमा खासै चर्चा गर्दैनौँ । यदि सक्षम, सबल र क्षमतावान्  सन्तान निर्माण गर्ने हो भने गर्भाधानकै समयबाट ख्याल पु¥याउनुपर्छ ।
हामी यस संसारमा आउनुभन्दा अगाडि आमाको गर्भमा थियौँ । आमाको गर्भमा आउनुभन्दा अगाडि बाबुको शुक्रकीटमा थियौँ । शुक्रकीटका रूपमा आउनुभन्दा अगाडि हामी ‘भाइब्रेसन’का रूपमा ‘साइबर स्पेस’मा थियौँ । किनकि, चौध वर्षभन्दा अगाडि कुनै पनि पुरुषको शुक्रकीट बन्दैन । शुक्रकीट ‘युनी सेल’ हो । नारीको डिम्बमा मिलेपछि युनी सेल बहु सेल बन्छ र बच्चा निर्माणको प्रक्रिया सुरु हुन्छ  ।
हामीलाई हाम्रा आमाबुबाले साइबर स्पेसबाट ‘डाउनलोड’ गरेका हुन् । यसरी हेर्दा सेक्स भनेको डाउनलोडिङ प्रक्रिया हो । यही डाउनलोडका कारण हामीहरू संसारको ‘स्क्रिन’मा आउँछौँ । एक दिन हामी मर्छौं । हाम्रो शरीर नष्ट हुन्छ । तर, ‘कन्ससनेस’ (चेतना) फेरि साइबर स्पेसमा ‘अपलोड’ हुन्छ । संसारमा आएपछि कसैको चेतना परिमार्जित वा व्यापक हुन सक्छ त कसैको पतन वा निकृष्ट हुन सक्छ । पतन वा परिमार्जन जे भएको छ, सोहीअनुरूप नै कन्ससनेस साइबरमा अपलोड हुन्छ । त्यो अपलोड भएको कन्ससनेसलाई फेरि अर्काे महिला–पुरुष जोडीले सम्भोगमार्फत डाउनलोड गर्छ र फेरि नयाँ सृष्टिको सुरुवात हुन्छ । यो प्रक्रियालाई हामीले राम्रो गरी बुझ्न आवश्यक छ । साइबरमा असंख्य कन्ससनेसहरू छन् । कुनै समृद्ध छन् त कुनै निकृष्ट छन् । सम्भोगको अवस्थामा आमाबाबुको मुड जस्तो बन्छ, त्यस्तै चेतना (आत्मा) गर्भमा आएर बस्छ । यदि आमाबाबुको खुशीको मुड छ भने खुशीको चेतना डाउनलोड हुन्छ, यदि डराएको मुड छ भने डराएर बसिरहेको चेतना डाउनलोड हुन्छ । हामीले यो प्रक्रियालाई बुझ्न नसक्दा हामीहरू धृतराष्ट्रजस्ता मूर्ख र पाण्डुजस्ता कमजोर सन्तान जन्माउन अभिशप्त छौँ । यदि समृद्ध मानव सभ्यता निर्माण गर्ने हो भने परिवार र स्कुल सुधारेर मात्र पुग्दैन । सम्भोग प्रक्रियामा नै सुधार गर्नु जरुरी छ ।
संसारमा यत्रा क्रान्तिहरू भए, लोककल्याणकारी नियम र कानुनहरू बने, मानवअधिकारको विषयलाई संसारमै प्रमुख महŒवको विषय बनाइयो । तैपनि, ९५ प्रतिशतलाई पाँच प्रतिशतले किन शासन गरिरहेका छन् त ? एक सय वर्षअगाडि पनि कार्ल माक्र्सले ९५ प्रतिशतलाई लुटेर पाँच प्रतिशत सम्पन्न भए भन्नुहुन्थ्यो । आज पनि हामी त्यही भनिरहेका छौँ । किन ? यत्रा सुधार र प्रयत्नका विपरीत पनि सबै मानिस किन समान बन्न सकिरहेका छैनन् । उस्तै शिक्षादीक्षा, उस्तै पारिवारिक वातावरण र अवसर भए पनि एउटा धेरै माथि पुग्छ, एउटा भएको ठाउँबाट पनि तल खस्छ । किन ? हामीले यसलाई जबसम्म समीक्षा गर्दैनौँ, तबसम्म हाम्रा समस्या ज्यूँका त्यूँ रहिरहन्छन् । यी समस्या न्यूनीकरणका लागि गर्भाधान प्रक्रियाबाट नै सुधार गर्नु आवश्यक छ । कस्तो सन्तान जन्माउने भन्नेबारे आमाबाबुले होशपूर्वक तयारी गर्नुप¥यो । तर, यहाँ के भइरहेको छ भने, मदिरा पिएर हामीहरू बेहोशीमा सम्भोग गर्छाैं । गर्भ रहन्छ । अनि सन्तान बुद्धजस्तै ज्ञानी भइदेओस् भन्ने कामना गर्छाैं । हामी बीउ कागतीको रोप्छौँ र फल सुन्तलाको रूपमा फलोस् भन्ने कामना गर्छाैं ।
यसो भनिरहँदा फेरि अर्काे अर्थ लाग्न सक्छ । बच्चाको विकासमा उसको जन्मपछिको वातावरणको भूमिका हुँदैन त ? हुन्छ । यसलाई बुझ्नका लागि ‘जेनेटिक्स’सम्बन्धी खोज र अनुसन्धानलाई हेर्नुपर्ने हुन्छ । जेनेटिक्सले व्यक्तिको रोग, स्वभाव, उचाइ, आकारप्रकार जिनमा आधारित हुन्छ भन्छ । पछिल्लो खोजले ‘एपी जेनेटिक्स’ पत्ता लागेको छ । एपी जेनेटिक्सले के भन्छ भने जिनलाई पनि वातावरणले प्रभावित पार्छ । एक खालको जिन लिएर जन्मिएको मानिस पनि फरक वातावरणमा हुर्कियो भने उसको जिनभन्दा फरक व्यक्तित्व निर्माण हुन सक्छ । तसर्थ जेनेटिक्स र एपी जेनेटिक्स दुवै सत्य हुन् । सम्भोगको चरणमा आएको आत्मा (चेतना) र जन्मिएपछि प्राप्त वातावरणले पार्ने प्रभाव दुवै सत्य हुन् । अहिले संसारका सम्पूर्ण शिक्षा र सिस्टम जन्मपछिको वातावरणमा केन्द्रित छन्, तर त्यसको निर्माण प्रक्रियाको सन्दर्भमा खासै काम हुन सकेको छैन ।
युरोप अमेरिकातिर गर्भाधानको तयारी गर्ने चलन बढिरहेको छ । बच्चा जन्माउनुभन्दा दुई वर्षअगाडि डक्टरकोमा जाने, शरीरमा भिटामिन, मिनरल के पुगेको छैन, त्यसको पूर्ति गर्ने । तनाव छ भने तनाव व्यवस्थापन गर्ने । मानसिक र शारीरिक रूपमा स्वस्थ भएपछि मात्र बच्चा जन्माउन सेक्स गर्ने ।
भनिन्छ, ५० प्रतिशत काठमाडौँवासीमा भिटामिन डीको कमी छ । भिटामिन डीको कमीले झर्काेपन र डिप्रेसन निम्त्याउँछ । भिटामिन डीको कमी भएका दम्पतीहरू स्वस्थ सेक्सका लागि कहिल्यै तयार हुन सक्दैनन् । तर, पनि उनीहरू सेक्स त गर्छन् । अनि, यस्तो सेक्सबाट जन्मने बच्चा पनि पूर्ण स्वस्थ हुन सक्दैन ।
अर्काेतर्फ आमनेपाली महिलालाई आइरनको कमी छ । आइरनको कमीले चञ्चलता बढ्छ । आइरन कमी भएको बेलामा सेक्स गरेर जन्मिएको बच्चा चञ्चल हुन्छ । स्कुलको पढाइमा उसको ध्यान केन्द्रित हुन सक्दैन ।
अहिलेका बच्चाहरूमा रिसको मात्रा बढी छ भन्ने गरिन्छ । शरीरलाई चाहिने म्याग्नेसियमको मात्रा पुगेन भने रिस बढी उठ्छ । यदि पत्नीले म्याग्नेसियमको मात्रा शरीरमा नपुगिरहेको अवस्थामा सेक्स गर्दा पतिले छोएको पनि उनलाई मन परिहेको हुँदैन वा पतिको क्रियाकलापमा उनलाई रिस उठिरहेको हुन्छ । तैपनि उनी मन नलागी–नलागी सेक्समा सरिक हुन्छिन् । यस्तो सेक्समा गर्भ रहेर जन्मिएको बच्चा जन्मजातै रिसालु हुन्छ । स–साना कुरामा झगडा गरिरहने हुन्छ ।
धर्तीको भविष्य बदल्नु छ । राम्रा राजनेता, गज्जबका बैज्ञानिक वा शान्त मानिस जन्माउनु छ भने गर्भाधान प्रक्रियाबाटै सचेत हुनु जरुरी छ । जन्मिसकेपछि दिने शिक्षादीक्षाले मात्र पुग्दैन । गर्भाधान प्रक्रियामा सुधार गर्ने हो भने कम खर्चमै ठूलो परिवर्तन ल्याउन सकिन्छ । जन्मिएपछि ल्याउने सुधारमा ठूलो खर्चमा सानो परिवर्तन प्राप्त हुन्छ ।
बच्चा जन्माउने आमाबाबु ‘पर्फेक्ट’ हुनका लागि पूर्ण निन्द्रा, सन्तुलित भोजन, सन्तुलित व्यायाम, सकारात्मक मानसिकता र प्रकृतिसँगको सान्निध्य (घाम ताप्नु) जस्ता पाँच वटा तालमेलको आवश्यकता पछन् । यी पाँच कुरा नमिलीकन सन्तान जन्माउनु हुँदैन ।

 

Leave A Comment