जब प्रमोदको पहलमा बन्यो पाठशाला

शुक्रबार, १७ असार २०७३, ०४ : २६ अनिल यादव
जब प्रमोदको पहलमा बन्यो पाठशाला

एक वर्षअघिको एउटा दृश्यः
पानी झमझम परिरहेको थियो । विधार्थी, शिक्षक र अभिभावक कसैको मुहारमा खुशी थिएन । भूकम्पको त्रास थियो । सबैको मुहारमा निराशा प्रष्टै देखिन्थ्यो । कसैको खुट्टामा चप्पल थिएन त कसैको कपडै च्यातिएको थियो । अब कहाँ पढ्ने ? कसरी पढ्ने ? मनमा एउटै जिज्ञासा थियो ।

आधा घण्टाको उकालीमा हिँडेर एक वर्षअघि जब गायक प्रमोद खरेल दोलखाको सुन्दरावतीस्थित सरस्वती प्राथमिक विद्यालय पुग्दा उनले देखेको वास्तविक दृश्य यही थियो । ‘हेर्दै उराठलाग्दो यो दृश्यले निकै भावुक बनाएको थियो,’ उनी सम्झिन्छन् ।
 
०००
असार १० गते दिउँसो त्यसै स्थान, त्यही स्कुलमा त्यही पात्रहरूकहाँ प्रमोदसँगै केही कलाकार पुग्दा दृश्य अर्कै थियो । विद्यार्थी र अभिभावकको मुहारमा बेग्लै चमक थियो, आशा थियो । ‘अब मेरी छोरी पक्की घरमा बस्न नपाए पनि पक्की स्कुलमा पढ्छे,’ पुनःनिर्माण भएको चारकोठे पक्की स्कुल नियाल्दै श्यामसुन्दर शाही बोल्दै थिए । गत वर्षको महाभुकम्पले यो स्कुल मात्र भत्काएको थिएन, उनको घर पनि भत्काएको थियो । उनी यतिबेला जसोतसो अस्थायी टहरामा गुजुरा चलाइरहेका छन् । ‘हेर्नुस् यस्ता सानातिना भूकम्पले हामी गरिबको घर त भत्काउला तर मन भत्काउन सक्दैन,’ सोही गाउँका खड्गप्रसाद थामी भन्दै थिए, ‘यही स–साना नानीको भविष्यको चिन्ता थियो, त्यसलाई पनि कलाकारले दूर गरिदिए । अब यिनीहरूकै आशा छ ।’ उनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेछन् । स्कुल बनेकोमा सबैभन्दा बढी खुशी उनी देखिन्थे । त्यहाँ पढ्ने ६८ जना विद्यार्थीको चिन्ता जो उनलाई थियो ।

यो स्कुल कसरी बन्यो ? अब त्यो जान्न जरुरी छ । जतिबेला नेपाल वैशाख–१२ गतेको महाभूकम्पले हल्लिएको थियो, त्यतिबेला सायद प्रमोद अमेरिकाको कुनै शहरमा आफ्नै सुरमा हल्लिरहेका थिए । ‘म्युजिकल टुरका क्रममा म अमेरिकामा थिएँ,’ उनले सम्झिए, ‘तर, जब मैले नेपालमा भूकम्पले पु¥याएको क्षतिबारे थाहा पाएँ भावुक भएँ, निःशब्द भएँ । त्यहाँका सबै कार्यक्रम रद्द गरेर नेपाल फर्किएँ ।’ नेपाल फर्किनेबित्तिकै अरू थुप्रै कलाकारझैँ उनी पनि राहत वितरणमा जुटे । इप्लानेटका अध्यक्ष सन्तोष सापकोटासँग मिलेर उनी भूकम्प प्रभावित जिल्ला काभ्रेको अनैकोटमा ५१ वटा घर निर्माण अभियानमा सहभागी भए । त्यसपछि काठमाडौँमा व्यवसाय गर्दै आएका दोलखाका स्थानीय सुदीपकुमार रेग्मीले उनलाई सुन्दरावतीको व्यथा सुनाए । ‘थामी समुदायको बाहुल्यता रहेको स्कुलको बिजोग छ, केही गर्नुप¥यो भनेर जब उहाँले मलाई भन्नुभयो त्यसपछि म स्कुल अवलोकनका लागि पुगेको थिएँ,’ उनले बताए । त्यसपछि उनले त्यहाँ जे दृश्य देखे, त्यो दृश्यले उनलाई स्कुल निर्माण अभियानमा जुट्न बाध्य बनाएको उनको भनाइ छ । कक्षा तीनसम्म पढाइ हुने अत्यन्तै विकट स्थानमा रहेको यो विद्यालयमा ६८ विद्यार्थीमध्ये ६६ जना थामी समुदायका विद्यार्थी अध्ययनरत रहेको स्कुलका प्रिन्सिपल प्रल्हादप्रसाद पकुवालले बताए ।

शुक्रवार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको हातबाट उद्घाटन गराएपछि उनले स्कुलको चाबी हस्तान्तरण गरेका थिए । स्कुल हस्तान्तरणका लागि प्रमोदको नेतृत्वमा काठमाडौँबाट कलाकारको एउटा टोली स्कुल जाँदै थियो । उनीहरूको आगमन ढिलो भइदिँदा मन्त्री  पोखरेलले करिब दुई घण्टा कुर्नु परेको थियो । भूकम्पपछि पुनःनिर्माणमा सक्रिय कलाकारको मन्त्री पोखरेलले खुलेर प्रशंसा गरे । ‘हामी हाम्रो ठाउँबाट लागिरहेका छौँ र प्रमोदजीहरू पनि आ–आफ्नो स्थानबाट लागिरहनुहोस्,’ उनले भने ।

स्कुलको हस्तान्तरणका लागि हास्य कलाकार किरण केसी, शिवहरि पौडेल, जितु नेपाल, संगीतकार चेतन सापकोटा, प्रस्तोता नरेश भट्टराईलगायत त्यहाँ पुगेका थिए । यो स्कुलको पुनःनिर्माणमा नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा आबद्ध रहेको मेची अभियान, झापाले समेत सहयोग पु¥याएको रहेछ । उनी पनि उद्घाटन कार्यक्रममा सहभागी थिए ।

स्कुल पुनःनिर्माणका लागि झापामा मेची अभियानले  गरेको कन्सर्ट हास्य कलाकार जितु नेपालले निःशुल्क सहयोग गरेका रहेछन् । ‘अहिलेसम्म मैले मेरो पारिश्रामिकबारे कसैलाई केही सोधेको थिइनँ,’ स्कुलको शिलालेख हेर्दै जितुले भने, ‘आज मैले स्कुलको भित्तामा जब मेरो नाम देखेँ, पैसाभन्दा ठूलो आनन्द मिल्यो । जिन्दगीभर नमेटिने पारिश्रामिक जस्तो लागिरहेछ ।’

प्रमोदको यो स्कुल निर्माण अभियानमा बेल्जियको पासाः पुच नामक संस्थाले १० लाख रुपैयाँ सहयोग गरेको रहेछ । कुल २२ लाखमा स्कुलको निर्माण सम्पन्न भएको उनले बताए । यो स्कुल बनाउनु आफ्नो एउटा सपना रहेको प्रमोदले बताए । ‘आज मेरो एउटा सपना पूरा भएको छ,’ स्कुल हस्तान्तरण गर्दा प्रमोदले भने ।
‘हामी कलाकारलाई जनताले पत्याउँछन्, विश्वास गर्छन् । हामीले माग्दा उनीहरूले दिन्छन् र त्यो दिएको रकमले कसैको भविष्य अन्धकार हुनबाट जोगिन्छ भने त्यसो किन नगर्ने ?’ शुक्रवारसँग प्रमोदले भने, ‘मैले पनि यति नै गरेको हुँ । कुनै ठूलो काम होइन । यो मेरो कर्तव्य पनि हो । मेरो बोली बिकुञ्जेल गरिरहनेछु ।’

 

Leave A Comment