रंगमञ्चमा बुढो बाघको गर्जन

बिहिबार, १४ बैशाख २०७४, १२ : २१ डिबी खड्का , Kathmandu
रंगमञ्चमा बुढो बाघको गर्जन

मण्डला थिएटर वैशाख ८ गते, समय ५ः३० बजे ।
उद्घोषकले नाटक सुरु हुन लागेको संकेत गर्दै ‘इन्द्र बहादुरको कथामा आधारित’ उच्चारण गर्न पाएका थिएनन्, कतै माथिबाट आवाज आयो, ‘इन्द्रबहादुर राई भन ।’
नाटकघरको बार्दलीतिरबाट आएको त्यो आवाज सुनील पोखरेलको थियो । उद्घोषकले ‘राई’ भन्न छुटाएकोमा उनको आपत्ति थियो । यसले के दर्शाउँथ्यो भने सुनील नाटकभरि कुनै गल्ती हुन दिने पक्षमा छैनन् । सँगै उनी हरेक कुरालाई सूक्ष्म रूपमा विश्लेषण गर्छन् भन्ने पनि बुझे दर्शकले । सुरुमै भनियो, ‘नाटक १ घण्टा ३० मिनेट लामो छ ।’ सुरु हुनेबित्तिकै गर्मीले ज्यान भिजिसकेकाले त्यत्रो समय कसरी झेल्नु भनेर अत्यास लाग्छ दर्शकलाई ।
जब नाटक सुरु हुन्छ लिखापानीले जस्तै रफ्तार समातेर बग्न थाल्छ । बर्मेली नेपालीको भेषमा कलाकार लिखापानीतिर उकालो लागिरहेका हुन्छन् भने नाटक लिखापानीबाट बगेर बर्मै पुग्ने दाउम दौडिन्छ ।
गुरुकुलको पुरानो आश्रम भत्काइएपछि फिरन्तेजस्ता भएका सुनील वेलावखत मात्रै रंगमञ्चतिर झुल्किन्छन् अचेल । जब झुल्किन्छन् यी रंगमञ्चका बुढा बाघ उसैगरी गर्जिन्छन् । मण्डला थिएटरमा मञ्चन भइरहेको ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मार्फत निर्देशकका रूपमा गर्जिएका छन्, सुनील ।
धेरैले यो कथाको आफ्नै खालको ‘भिजुअल’ बनाइसकेका छन् दिमागमा । पठनको स्वाद गढिसकेको कथा नाटकमा हेर्दा बेस्वादको लाग्ने पो हो कि ? भन्ने दर्शकको डरैडरबीच सुरु हुन थाल्छ मञ्चमा देउसी । त्यसपछि सुलक्षण भारतीको सुब्बा अवतार बढो सानदार लाग्न थाल्छ । यी युवा कलाकारको वयस्क भेष ताली नठोकी बस्ने सकिने खालको छैन । मण्डलाका हरेक नाटकमा झुल्किने सिर्जना अधिकारीको पात्रअनुसार स्वाभाविक परिवर्तनको तारिफ पहिलेदेखि नै हुँदै आएको हो । यसपल्ट पनि सुब्बिनीका रूपमा उनको चालढाल ‘नोटिस्ड’ गर्न लायक छ ।
जयमायाका रूपमा सुनिशा बजगाईंले बगाएको पसिनाको कदर गर्नुपर्छ । त्यो १७ जना कलाकारको समूहकी उमेरले सबभन्दा सानी उनैले उठाउनु परेको छ नाटकको ठूलो भार । नाटक सकिएलगत्तै निर्देशक गुरु सुनील आड खोज्दै नाटकघरको भित्तामा उभिएर पसिना पुछिरहेकी उनी दर्शकका अनुहार नियालिरहेकी थिइन् । हरेकले उनीतिर फाल्ने ‘बधाई’का नजर र शब्दको ‘रेस्पोन्स’ गर्न भ्याइनभ्याइ भइरहेको थियो । भर्खरै नाटकमा डुबेर रोएकी उनी मुस्कानको मुडमा फर्किनसकेको स्पष्टै देखिन्थ्यो ।
यसै गरी आर्जेस रेग्मी, राज न्यौपाने, अमृत मल्ल, रनवीर कार्की, सुरज तमू, चाँदनी शाही, उषा भण्डारी, सुजन कार्की, सुरज चौलागाई, सञ्जितप्रताप मल्ल, श्रेया भुसाल, मौसम खडका, आभाष अधिकारीलगायत १७ जना कलाकारको अभिनय तारिफ योग्य छ । पात्रको भीडमा पनि हरेकलाई उत्तिकै केन्द्रीय बनाउनु सबै निर्देशकको बसको कुरा होइन । सुनीलले हरेक भूमिकामा देखिने कलाकारलाई थोरै दृश्यमा पनि क्षमता देखाउने अवसर दिएका छन् ।

धेरैलाई कथाको सार अवगतै छ । दोस्रो विश्वयुद्धताकाको परिवेशलाई राईले कथामा उतारेका हुन् । नेपालका दुःखभोक छल्न बर्मा पसेका बर्मेली नेपालीहरूले पाएका दुःख उनिएका छन् । जापानी सेनाले बर्मामा आक्रमण गर्न थालेपछि उनीहरूसँग जोगिने एउटै उपाय लिखापानी कट्नु हुन्छ । आफूले जोडेको धनसम्पत्ति, बनाएको घरघडेरी चटक्कै छाडेका उनीहरूमध्ये धेरै लिखापानी आइपुग्न  सक्दैनन् । रोगभोकले बाटोमै बिताउँछ र जयमाया मात्रै आइपुग्छन्, लिखापानी ।
सबथोक बाटोमै गुमाएर एक्लो प्राण लिखापानी ल्याइपु¥याएकी जयमायाको यो कथाले इतिहास भन्छ तर वर्तमान दुखाउँछ । त्यसैले चलाइएको होला उखान ‘बर्मा गए पनि कर्म सँगै’ भन्ने ।  नेपाली दुःख अझै दूर भएका छैनन् । त्यो समय उर्बर भूमि खोज्दै बर्मा झरेका थिए नेपालीहरू, अहिले रोजगारी खोज्दै खाडी धाइरहेका छन् ।
नेपालीको नियतिलाई उतारिएको नाटक हेरिरहँदा पसिनासँगै आँसु बगेको पत्तै हुँदैन । घटना, परिवेश र पात्रका मनोदशामा उत्सवकुमार बुढाथोकी तथा विश्वराज काफ्ले ब्याकग्राउन्डको लाइभ म्युजिकको जादुले पनि मुटु छुन सघाएको छ । अनुप बरालले जम्माजम्मी २० फिट चौडा मञ्चलाई बर्मादेखि लिखापानी बनाइदिएका छन् ।  जयमायाले यात्रा गर्ने उकाली, ओराली, खोला–नाला, भीरपाखाहरू स्वाभाविक देखाइदिएका छन् ।
‘जयमाया लिखापानी आइपुगिन्’ रंगमञ्चलाई पुनर्जीवन दिने रंगकर्मी पोखरेल पनि मञ्चमा आइपुगेका छन् । उनको नाटकको स्वादका पारखीले निरन्तरताको अपेक्षा गर्ने नै भए । सुनील तयार छन् त ?

 

Leave A Comment