दूरी बढाउँदै स्मार्टफोन

मङ्गलबार, २६ बैशाख २०७४, ०१ : ०७ शुक्रवार , Kathmandu
दूरी बढाउँदै स्मार्टफोन

जुडिथ बन्र्स, बीबीसी
माध्यमिक कक्षाका विद्यार्थीमाझ गरिएको एउटा सर्वेक्षणअनुसार अभिभावकको बढीभन्दा बढी समय मोबाइलमा झुन्डिने बानीले पारिवारिक जीवनमा नराम्रो असर पुर्याउने गरेको देखिएको छ । डिजिटल ‘अवेयरनेस युके एन्ड द हेडमास्टर्स एन्ड हेडमिस्ट्रेस कन्फ्रेन्स’ले ११ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीमाझ उक्त सर्वेक्षण गरेको थियो ।
दुई हजारभन्दा बढी विद्यार्थीले आफ्ना अभिभावकले लगातार मोबाइल प्रयोग गर्ने तर आफूले त्यही काम गर्दा नराम्रो मान्ने गरेको सर्वेक्षणले देखाएको छ । यस किसिमको व्यवहार आफूलाई चित्त नबुझ्ने विद्यार्थीहरूको टिप्पणी थियो ।
सर्वेक्षणमा सहभागीमध्ये १४ प्रतिशतले आफ्ना अभिभावक खाना खाने बेलामा समेत मोबाइलमा इन्टरनेट चलाइरहने भनी गुनासो गरेका थिए । यस कुरालाई भने ९५ प्रतिशत अभिभावकले अस्वीकार गरेको अर्को एक सर्वेक्षणमा देखिएको छ । तीन हजार अभिभावकमाझ गरिएको उक्त सर्वेक्षणमा उनीहरूले आफू खाना खाने बेलामा कहिल्यै अनलाइन नहुने जनाएका थिए ।
बालबालिकाले के भने त ?

८२ प्रतिशत बालबालिकाले सोच्छन्, खाना खाँदा मोबाइल अथवा अन्य डिभाइस प्रयोग गर्नु हुँदैन ।
२२ प्रतिशत भन्छन्, मोबाइल प्रयोगका कारण पारिवारिक मिलन तथा सँगै गरिने हाँसखेल बन्द हुन थाल्यो ।
३६ प्रतिशत बालबालिकाले आफ्ना अभिभावकलाई फोन नचलाउन आग्रह गरे ।
जुन बालबालिकाले आफ्ना आमाबुबालाई मोबाइल छोड्न भनेका थिए, ४६ प्रतिशतका आमाबाबुले ती कुरामा ध्यान नदिएको र ४४ प्रतिशतले आफू दुःखी र उपेक्षित महसुस गरेको बताएका थिए ।
यता १० प्रतिशत आमाबाबुले भने आफ्ना सन्तानले गरेको गुनासोमा आफू गम्भीर भएको बताएका थिए । त्यस्तै, ४३ प्रतिशतले आफूहरू निकै समय अनलाइन बस्न थालेकोमा ग्लानि हुन थालेको बताएका थिए ।
३७ प्रतिशत अभिभावकले सप्ताहान्तमा तीनदेखि पाँच घण्टा अनलाइन बस्ने गरेको स्वीकारेका थिए भने पाँच प्रतिशतले सप्ताहान्तले १५ घण्टासम्म अनलाइन हुने गरेको बताएका थिए ।
अघिल्लो वर्ष यसै शोध टोलीले गरेको एक शोधमा विद्यार्थीमध्ये अधिकांशले राति उठेर बारम्बार आफ्नो अनलाइन मोबाइल चेक गर्ने गरेको देखिएको थियो । यस्ता विद्यार्थीले विद्यालयमा त्यति राम्रो परिणाम ल्याउन नसकेको पनि शोधकर्ताको धारणा थियो ।
नयाँ शोधअनुसार लगभग ७२ प्रतिशत विद्यार्थीले दिनमा तीनदेखि १० घण्टासम्म अनलाइन बस्ने गरेको देखिएको छ । अधिकांश समय अनलाइन भएका कारण आफ्नो निद्रा नपुग्ने गरेकोसमेत उनीहरूको स्वीकारोक्ति थियो । १० प्रतिशत विद्यार्थीले आफू राति अबेरसम्म अनलाइन हुने गरेकाले राम्रोसँग निद्रा पूरा नहुने स्वीकारेका थिए ।
केन्टस्थित अक्सफोर्ड स्कुलका प्रधानाध्यापक माइक बुकानन भन्छन्, ‘अभिभावक, शिक्षक र विद्यार्थीले मोबाइल प्रयोग गर्नेबारे एउटा नयाँ नियममा बाँधिनु आवश्यक छ । यो हाम्रो जीवन, विद्यालय र खेलको अभिन्न अंग त भएको छ नै, यसले गम्भीर असरसमेत पार्न थालेको छ ।’
सर्वेक्षणले के समेत देखाएको छ भने बालबालिकाले प्रविधिको अति बढी प्रयोग गर्दाका खतराबारे उनीहरू जानकार त छन् तर सँगैमा उनीहरूलाई लगातार यसको खतराबारे जानकारी गराइरहनुपर्ने समेत देखिएको शोधमा उल्लेख छ ।
 

 

Leave A Comment