‘‘नुमाफुङ’ हेरेपछि केटीहरू बोल्न छाडे’

मङ्गलबार, २६ बैशाख २०७४, ०१ : १० गोपाल दाहाल , Kathmandu
‘‘नुमाफुङ’ हेरेपछि केटीहरू बोल्न छाडे’

दुई दशकयता नाटक र फिल्ममा सक्रिय अभिनेता हुन्, प्रेम सुब्बा । उनले ‘नुमाफुङ’, ‘बलिदान’, ‘निशानी’ लगायत ५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । आफूले निर्वाह गरेका केही चरित्रबारे उनले गोपाल दाहालसँग कुराकानी गरेका छन्ः

रत्नकुमार वान्तवा
२०५० सालमा छायांकन भएको भिडियो फिल्म ‘देउमाईको किनारमा’ मा मैले शहीद रत्नकुमार वान्तवाको अभिनय गरेको थिएँ । प्रदीप नेपालले लेखेको रत्नकुमारको जीवनीमा आधारित कथामा प्रेम शेर्मा माङजाबुङेको निर्देशन थियो । पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा मारिएका रत्नकुमार भएर अभिनय गर्नुपर्ने भएकाले त्यो समयको अवस्थाबारे मेहनत गरेर अध्ययन गरेँ । फिल्म प्रदर्शनपछि दर्शकबाट राम्रो प्रतिक्रिया पाएँ । इलामतिर त मलाई अहिले पनि ‘रत्न’ भनेर नै बोलाउँछन् ।
क्रान्तिकारी प्रेम
फिल्म ‘बलिदान’मा मैले निर्वाह गरेको चरित्रको नाम प्रेम थियो । जसको काम पार्टीको सूचना प्रवाह गर्ने थियो । जनता जगाउने काम गर्ने । एक किसिमको सुराकी जस्तो । २०४६ अघिको आन्दोलनमा आफैँ पनि सहभागी भएकाले र देउमाईको किनारमा काम गर्दा पनि आन्दोलन, संघर्षबारे अध्ययन गरेकाले यहाँ अलि सजिलो भयो । २०५२ सालमा सुटिङ भएर ०५४ सालमा प्रदर्शन भएपछि साथीहरूले क्रान्तिकारी भनेर जिस्क्याउँथे ।
गिरिहाङ
फिल्म ‘नुमाफुङ’मा गिरिहाङको चरित्र गरेको छु । गाउँको हुनेखाने वर्गको लिम्बू समुदायको पुल्पुलिएको र राम्रो अभिभावकत्व नपाएको भङ्जा छोरो हो, गिरिहाङ । यो फिल्ममा घोडा चढ्दा तीन पटक कान्लामुनि पछारिएको छु । २०५८मा बनेको नुमाफुङले राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्ड जितेसँगै यसको मुख्य पात्र भएकाले दर्शकले मलाई पनि चिने । हलमा म आफैँ पनि फिल्म हेर्दै थिएँ, दर्शकहरूले मेरो चरित्र हेरेपछि आवेशमा आएर ‘यसलाई मार्नुपर्छ’ भनेर गाली गरे । मन पराउने केटी साथी पनि गिरिहाङको व्यवहार हेरेर बोल्नै छाडी । मैले यो सब नाटक हो भनेर सम्झाउँदा पनि बुझेनन् । मन पराउने मान्छे टाढिँदा चाहिँ नमज्जा लाग्ने लाग्छ । यो चरित्रका लागि निर्देशकले अलि मोटो हुनुपर्छ भने । तौल बढाउन दिनभरि तोङ्बा र सुंगुरको खुट्टाको सुप खाएर सुत्थेँ । एक महिना त्यसो गरेपछि तौल बढ्यो । तर, त्यसले पछि रोग निम्त्यायो ।
आगे सुब्बा
२०२१ सालअघि पूर्वमा लिम्बूहरूको किपट थियो । त्यहाँका जनताको आर्थिक, कानुनीलगायत सम्पूर्ण कुरा हेर्ने अधिकारीलाई ‘आगे सुब्बा’ भनिन्थ्यो । २०६२ सालतिर बनेको फिल्म ‘चेसुङ’मा मैले आगे सुब्बाको भूमिका गरेको थिएँ । यो चरित्र गर्नका लागि त्यसबेलाका बाजेहरूको ठाँट, लवाइखुवाइ बुझ्न पुराना पुस्तक, तस्बिरहरूको अध्ययन गरेको थिएँ । त्यसबेला जनताबाट तिरो भरो उठाउने आगे सुब्बाहरू पछि किपट खोसिएपछि कस्तो अवस्थामा आइपुगे भन्ने विषयमा फिल्म बनेको थियो । फिल्ममा मेरो अभिनय दर्शकले रुचाइदिए । आफूलाई पनि राम्रै गरेजस्तो लाग्यो ।
तान्छोहाङ
२०६१ सालमा बनेको फिल्म ‘एउटा कथा’मा गरिब किसान तान्छोहाङको भूमिका गरेको छु । सशस्त्र द्वन्द्वका बेला पीडित निर्दोष पात्र हो, तान्छोहाङ । भारी बोक्ने सोझो निमुखो तान्छोहाङ दोहोरो भिडन्तमा परेर मर्छ । सत्य घटनामा आधारित भएकाले यो चरित्र आफैँलाई मन पर्छ ।
उस्ताद विनय
कारगिलको युद्धमा लडेका गोर्खाली सेनाको कथामा आधारित फिल्म ‘निशानी’मा आर्मीका उस्ताद (प्लाटुन कमान्डर) विनयको चरित्र गरेको छु । मेरो बुबा पनि आर्मीमा हुनुहुन्थ्यो । म भारतको मिजोरममा जन्मिएँ, सानैदेखि आर्मी क्याम्पमा बसेकाले त्यहाँको वातावरण र आर्मीका गतिविधि थाहा थियो । त्यसैले अभिनय गर्न सजिलो भयो । फिल्म ‘नुमाफुङ’मा तौल बढाएको थिएँ, यस फिल्ममा भने फिट देखिनुथियो । आफ्नो वजन ८० किलोबाट ६५ किलोमा झारेँ ।
डीएसपी विजय
आफैँले निर्देशन गरेको फिल्म ‘तारेभीर’मा चाहिँ मैले डीएसपी विजय लामाको रूपमा अभिनय गरेको छु । अन्यायविरुद्ध लड्ने प्रहरी अधिकारी हो, विजय । पहिला आर्मीको चरित्र गरिसकेकाले डीएसपीको चरित्र गर्न सजिलो भयो । फिल्म असारमा रिलिज हुँदैछ ।
मनाहाङ
लिम्बू संस्कृतिमा आधारित फिल्म ‘थथाम्मा’को सुटिङ गर्न सिक्किम पुगेको थिएँ । तर, मलाई भाषा नआउने । कोसिस गर्दा पनि नसकेपछि अब सक्दिनँ भनेर फर्किन खोजेँ । तर, स्थानीयले सिक्दै गर्न सकिन्छ भनेर आँट दिए । त्यसपछि टिचर राखेर स्पटमै पढेँ । गाउँको सोझो केटो हो, मनाहाङ । त्यही भाषा सिक्दै गरे पनि पछि राम्रो भयो । दर्शकले पनि मन पराए ।

 

Leave A Comment