सौन्दर्यकर्मीका सुख–दुःख

शनिबार, १८ असार २०७३, ०३ : ५१ रामकुमार डिसी , Kathmandu
सौन्दर्यकर्मीका सुख–दुःख

गंगा नकर्मी
ब्युटिपार्लर खोल्ने चाहना हुँदाहुँदै पनि लगानी अभाव हुँदा समस्या छ । सीप परीक्षणमा सबै सौन्दर्यकर्मी सहभागी नहुँदा उनीहरूले दिने सेवामा गुणस्तर कायम हुन सकेको छैन । गुणस्तरहीन सौन्दर्यसामग्री जथाभावी भित्रिन दिँदा हाम्रो व्यवसायमा नै अप्ठ्यारो भएको छ ।
गीता गिरी
पार्लर खोल्न धेरै ज्ञानको आवश्यकता पर्छ । तर, यहाँ थोरै सिकेर पार्लर खोल्ने प्रवृत्ति छ । सीप अभावमा स्किन नचिनी उपचार गर्ने, कपाल काट्न नजानेरै काट्ने, त्यसपछि साइड इफेक्ट देखिने समस्या हुन्छन् । सिकेर मात्र पार्लर खोल्नुपर्छ । चाहे अनुसारको उपचार सेवा पाउन नसकेको गुनासो पनि ग्राहकबाट आउने गरेको छ ।
रमिला श्रेष्ठ शाक्य
तालिमको अभाव छ । महिलाहरूलाई रोजगारी दिन समूह बनाएर सरकारले तालिम दिनुपर्छ । राम्रो तालिम अभावमा एउटा मेकअप गर्नुपर्ने ठाउँमा अर्कै भइरहेको हुन्छ ।  कतै एउटै ठाउँमा धेरै पार्लर खुलेका छन्, कतै कम छन् । यसले हामीलाई नै समस्या छ ।
प्रमिला श्रेष्ठ
कहिलेकाहीँ हामीले प्रयोग गर्ने सौन्दर्य सामग्री पनि नक्कली आउँछन् । एउटा ट्रिटमेन्ट गर्दा अर्कै रिजल्ट आउँछ । त्यो बेला ग्राहक रिसाउँछन् । उनीहरूको विश्वास जित्न निकै कठिन छ । शुल्कमा एकरूपता पनि छैन ।
सुनिला महर्जन
अहिले पार्लरको लागि तालिम लिइरहेकी छु । एक महिनापछि  पार्लर खोल्ने विचारमा छु । लगानी जुटाउन निकै ग्राहो छ । सरकाले सहयोग गरे त राम्रै हुन्थ्यो नि ।
तिरण गुप्ता
१६ वर्ष भयो, मैले पार्लर चलाउन थालेको । सौन्दर्यसामग्रीको मूल्यमा एकरूपता छैन । कहिलेकाहीँ ग्राहकबाट अप्ठ्यारो झेल्नुपर्छ । राम्रो तालिम लिएर राम्रो सेवा दिए ग्राहकलाई खुशी बनाउन सकिन्छ ।
रगुला मानन्धर
मैलै पार्लर सुरु गरेको १० वर्ष भयो । पहिलेको तुलनामा अहिले सौन्दर्यसामग्री राम्रै आउँछन् । ग्राहकको स्किन चिनेर ट्रिट गर्दा राम्रै रिजल्ट आउँछ । कहिलेकाहीँ ग्राहकबाट नराम्रो कमेन्ट पनि आउँछ । पार्लर गरेरै परिवार धान्न पनि कठिन छ ।
कञ्चन मानन्धर
ग्राहकलाई चित्त बुझाउन ग्राहो छ । मूल्यमा पनि उनीहरूले चित्त बुझाउँदैनन् । काठमाडौँका ग्राहकले धेरै खर्च गर्छन् भने बाहिरकाले सस्तोमा सेवा खोज्छन् । सौन्दर्यसामग्री महँगो भएका कारण हामीले दिने सेवा पनि महँगो हुन पुगेको छ ।
रामेश्वरी मानन्धर
पहिले पार्लरमा आउने चलनै थिएन । आउन लजाउँथे । जसले पायो उसैले पार्लर खोल्दा समस्या छ । सरकारले सम्बन्धन दिएर मात्र खोल्न दिनुपर्छ । ग्राहक सस्तो सेवा मात्रै खोज्छन् ।
सुस्मिता पाठक
तालिम लिन थालेको छ महिना भयो । अब छ महिना तालिम लिएर पार्लर सुरु गर्छु । लगानी जुटाउन अप्ठ्यारो छ । कतैबाट सहयोग मिले सजिलो हुन्थ्यो ।
जानुकी श्रेष्ठ
बजारमा नयाँ सौन्दर्यसामग्री आउँदा ग्राहकलाई कन्भिन्स गर्न अप्ठ्यारो हुन्छ । कहिलेकाहीँ क्षमतामा पनि प्रश्न गर्छन् । महँगो भयो भन्दै सुरुमा पैसा खर्च गर्न अप्ठ्यारो मान्छन् । सेवा दिएपछि सन्तुष्ट पनि हुन्छन् । पार्लरबारे कतिलाई भ्रम पनि छ । कति त मसाज गरिदिनुप¥यो भन्दै आउँछन् ।
झरना रिसाल
म अभिनय गर्छु । सुटिङको बेला धेरै पार्लर गइन्छ । फेसियल, मसाज गर्न पार्लर जाने गरेकी छु । सुटिङको बेला फिल्डमा पनि मेकअप गरिन्छ । अहिलेसम्म पार्लरबाट लिएको सेवाबाट सन्तुष्ट नै छु ।
तारा बस्नेत
१४ वर्ष भयो पार्लर सुरु गरेको । पार्लर राख्न चाहनेलाई तालिम पनि दिने गरेकी छु । आफूलाई ज्ञान नभए ग्राहकलाई विश्वस्त पार्न गाह्रो हुन्छ । पहिले पार्लरबारे गलत धारणा थियो । पहिले सौन्दर्यसामग्री थोरै हुन्थे । अहिले थरिथरिका पाइन्छन् । तर, तिनको गुणस्तर चिन्ने खुबी हुनुपर्छ ।
रञ्जु जोशी
व्यवसाय चित्तबुझ्दो छैन । पार्लर धेरै भए । ग्राहक जता सस्तो त्यतै जान्छन् । शुल्कमा एकरूपता नहुँदा समस्या छ । एकरूपता भए सबैलाई राम्रै हुन्थ्यो ।
सजना पन्त कार्की
म यो क्षेत्रमा लागेको १६ वर्ष भयो । यो क्षेत्रमा आउन चाहनेलाई तालिम पनि दिने गरेकी छु । त्यसैले पनि मलाई खासै समस्या आउँदैन । ग्राहकलाई रिजल्ट दिँदा उनीहरू पनि खुशी हुन्छन् । सेवा मात्र नभई ग्राहकले पार्लरको सजावट पनि हेर्छन् । काम पनि राम्रो गर्नुपर्छ । नयाँ प्रविधि प्रयोग गर्न जान्नुपर्छ ।
राधिका थापामगर श्रेष्ठ
अहिलेका ग्राहक विज्ञापनका पछि धेरै लाग्छन् । सेवाभन्दा पनि पार्लरको सजावटमा बढी ध्यान दिन्छन् । मूल्यमा चित्त बुझाउन अप्ठ्यारो मान्छन् । बार्गेनिङ धेरै गर्छन् ।

Leave A Comment