सामाजिक सञ्जालमा भोट माग्ने लहर

बिहिबार, २८ बैशाख २०७४, ०३ : २७ शुक्रवार , Kathmandu
सामाजिक सञ्जालमा भोट माग्ने लहर

कुनै समय थियो, निर्वाचनमा उम्मेदवारी घोषणासँगै गाउँशहरका भित्ता पोस्टर र पेन्टिङले भरिन्थे । घर–घरमा पार्टीका झन्डा झुन्डिएका देखिन्थे । तर, अहिले सामाजिक सञ्चालका भित्ता चुनावी पोस्टर र पेन्टिङले रंगिएका छन् । फेसबुक ट्वीटरमा झन्डा फहराइएका छन् । दैनिक हजारभन्दा बढी पोस्टहरूमा दलका नेता–कार्यकर्ताहरूले आफ्ना उम्मेदवारलाई भोट गर्न अपिल गरिरहेका छन् । उम्मेदवारहरूले आफू र आफ्नो एजेन्डा राम्रो देखाउन दिनरात सामाजिक सञ्जालको प्रयोग बढाइरहेका छन् ।
चुनाव आउन केही दिन मात्र बाँकी रहँदा व्यवस्थापिका संसद्का सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र सामाजिक सञ्जालबाटै उदाएका पार्टीहरू विवेकशील नेपाली दल, साझा पार्टी फेसबुक ट्वीटरमा बढी सक्रिय छन् । यी सबै दलले पार्टीको आधिकारिक अकाउन्ट फेसबुक, ट्वीटर र युट्युबमा चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक पार्टीले प्रचारको शैली बदल्दै फेसबुक, ट्वीटरलाई सक्रिय बनाइरहेका छन् । नेपाली कांग्रेसले निर्वाचनको लागि रमेश लेखकको संयोजकत्वमा सञ्चार विभाग बनाएको छ । विभागले प्रचारको लागि न्यू मिडिया टोली बनाएर सामाजिक सञ्जालमा प्रचार गरिरहेको छ ।  
‘हामी भित्र म, सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस’ चुनावी नारासहित कांग्रेसले फेसबुकमा अभियान चलाइरहेको छ । जसका लागि कांग्रेसले सुवास अधिकारीको नेतृत्वमा पाँच सदस्य टोली नै बनाएको छ । यही टोलीले चुनावी गतिविधिलाई निरन्तर सामाजिक सञ्जालबाट प्रचार गरिरहेको छ । कांग्रेसले लाइभ स्ट्रिमिङलाई पनि अहिले प्रमुख अस्त्र बनाएको छ । कांग्रेसका हरेक गतिविधिलाई यो टोलीले फेसबुकबाट लाइभ गर्ने गर्छन् ।
त्यस्तै, नेकपा एमालेले निर्वाचनका लागि फेसबुक, युट्युब, ट्वीटर र भाइबरलाई सक्रिय बनाएको छ । एमाले यही माध्यमबाट चुनावी गतिविधिमा सक्रिय भएको छ । एमालेले तयार पारेको चुनावी सामग्री प्रचार गर्न प्रेम हुमागाइँको नेतृत्वमा टोली गठन भएको छ । उनका अनुसार पार्टीले चुनावको लागि तयार पारेको  गीत, नाटक दैनिक पोस्ट हुन्छन् । हरेक इभेन्टको लाइभ स्ट्रिमिङ पनि उनकै नेतृत्वमा भइरहेको छ ।
गाउँ–गाउँमा फ्री वाइफाइ पु¥याउने लक्ष्य बोकेको माओवादी केन्द्रले भने पार्टीलाई सामाजिक सञ्जालमा सक्रिय गराउन भ्याएको छैन । चुनाव मुखैमा आउँदासमेत पार्टी नेता शिव खकुरेलले छिट्टै नै आधिकारिक वेबसाइटलगायत सामाजिक सञ्जालमा चुनावी अभियान चलाउने बताए । तर, माओवादी केन्द्रका उम्मेदवारहरू तथा नेता कार्यकर्ताले भने आफ्नो अभियानलाई सामाजिक सञ्जालमा तीव्र पारेका छन् । उनीहरूले फेसबुकबाटै आफ्ना उम्मेदवारलाई भोट गर्न आह्वान गरिरहेका छन् ।
राप्रपाले पनि चुनावी अभियानका लागि एउटा टोली बनाएको छ । उक्त टोलीले सामाजिक सञ्जालमा चुनावी अभियानको प्रचार गरिरहेको छ । सञ्चार विभागका कर्णबहादुर माझीका अनुसार राप्रपाको पब्लिक फेसबुक र भाइबर गु्रपमार्फत चुनावी गतिविधि भइरहेको छ ।
सामाजिक सञ्जालको भरपुर प्रयोग गर्नेमा भने विवेकशील नेपाली दल र साझा पार्टी अगाडि छन् । यी दुवै दलले काठमाडौँमा मेयरका लागि उम्मेदवारी दिएका छन् । विवेकशील नेपाली दलबाट २१ वर्षीया रञ्जु दर्शना र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले किशोर थापा र अनुपमा यादवलाई उम्मेदवार बनाएका छन् । रञ्जुले आफ्ना हरेक गतिविधिका फोटो, भिडियो फेसबुकमा अपडेट गर्छिन् । रवीन्द्र मिश्रले भने फेसबुकबाटै आफ्ना दुवै उम्मेदवारलाई लाइभ साक्षात्कार गराउँछन् ।

फेसबुकमा करोडौँ खर्च
प्रमुख दल र मेयर, उपमेयरका उम्मेदवारहरूको फेसबुक क्याम्पिङ हेर्दा करोडौँ खर्च गरेको अनुमान लगाउन सकिन्छ । हरेक पार्टीका उम्मेदवारले फेसबुकलाई पैसा तिरेर चुनावी अभियानलाई तीव्र पारेका छन् । यो अभियानमा सबैभन्दा अगाडि विवेकशील नेपाली दलकी रञ्जु छिन् । उनका प्रायःजसो पोस्ट फेसबुकमा स्पोन्सर भएर आउँछन् । त्यस्तै, रवीन्द्र मिश्रले पनि फेसबुक स्पोन्सर अभियानलाई तीव्रता दिएका छन् । उनका दुई उम्मेदवारको लाइभ साक्षात्कार, उनीहरूका गतिविधि फेसबुकमा स्पोन्सर हुँदै आएका छन् ।
प्रमुख दलको हकमा भने पार्टीभन्दा पनि उम्मेदवारहरू आफैँ फेसबुक स्पोन्सर गरिरहेका छन् । उम्मेदवारहरूले आ–आफ्नो चुनावी एजेन्डालाई स्पोन्सर गरी फेसबुक प्रयोगकर्तालाई आकर्षित गरिरहेका छन् । फेसबुकलाई डलर तिरेर दैनिक सयौँ पोस्ट स्पोन्सर भइरहेका छन् । स्पोन्सर गरिसकेपछि सबै प्रयोगकर्तामाझ उक्त पोस्ट पुग्नेगर्छ । साथी बनिरहन जरुरत पर्दैन ।

चुनावी ट्रोलमा घोचपेच
सामाजिक सञ्जालमा सबै दलका नेता कार्यकर्ताले पार्टी चुनावी अभियानलाई तीव्र पारेका छन् । पार्टीका गतिविधि र उम्मेदवारलाई भोटको आह्वान गरिरहेका बेला भने जनताहरू उनीहरूसँग साक्षात्कार पनि गरिरहेका छन् । विभिन्न दलका कार्यकर्ताकै कारण सामाजिक सञ्जालमा चुनावी ट्रोलको लहर चलेको छ । ट्रोलमा नेता कार्यकर्ता एकअर्काप्रति खरो उत्रिएका छन् । पार्टीहरूले प्रतिस्पर्धीलाई उडाउने र आफ्नो बहुमत जुटाउन विभिन्न स्ट्याटस, ट्रोल र भिडियो निर्माण गरिरहेका छन् ।

फेसबुकमा चुनावी एजेन्डा
चुनावी घोषणा पत्रमा नेपालको अर्थतन्त्र उकास्ने दाबी हरेक पार्टीले गरेका छन् । तर, फेसबुकमा भने उनीहरू नेपाली जनतालाई विभिन्न सपना देखाइरेका छन् । मेट्रो, मोनो रेल चलाउने, काठमाडौँ प्रदूषणमुक्त बनाउने, काठमाडौँमा रात्रिबस सञ्चालन गर्ने, भ्रष्टाचार निर्मूल पार्ने, गाउँ, नगर, शहरलाई फ्री वाईफाई जोन बनाउनेलगायत सपना देखाइरहेका छन् । २१ वर्षीया रञ्जुले भ्रष्टाचारलाई शून्य बनाउने र काठमाडौँलाई फ्री वाईफाई जोन बनाउने घोषणा गरेकी छिन् । किशोर थापा भने भ्रष्टाचारसँगै आर्थिक समृद्धिको अभियानमा जुटेका छन् ।
प्रमुख राजनीतिक दलका नेताहरूले भने भिन्दै प्रचार गरिरहेका छन् । माओवादी केन्द्रका नेताहरूले आफ्नो पार्टीले लोडसेडिङ हटाएको दाबी गर्दै भोट मागिरहेका छन् । ‘उज्यालोमा बस्ने भए माओवादीलाई रोज्नुस्’ भन्दै भोट मागिरहेका छन् । यता नेकपा एमालेले पनि लोडसेडिङमुक्त आफ्नो पार्टीले गरेको भनिरहेका छन् । पार्टीले ‘देश उज्यालो बनाउन एमाले सूर्य उदाउनुपर्छ’ भन्दै माओवादीलाई काउन्टर दिएका छन् । एमालेले राष्ट्रवादीको अभियानलाई पनि तीव्र पारेको छ । नाकाबन्दीलगायत, विदेशीसामु आफ्नो पार्टी कहिले नझुकेको भन्दै एमाले नेता, कार्यकर्ताले राष्ट्रियता बलियो पार्न एमालेलाई भोट हाल्न आह्वान गरिरहेका छन् ।  
दुई वर्षसम्म भूकम्पपीडितका लागि केही गर्न नसकेको दलहरूले यतिबेला भने घर बनाइदिने, मोटो रकम दिने अभियानमा भने सबै दल एकसे एक देखिएका छन् । उनीहरूले फेसबुकमै भूकम्पपीडितको सारथी आफ्नो पार्टी भएको दाबी गर्दै भोट मागिरहेका छन् ।  

 

Leave A Comment