नरेन्द्रदेवसम्बन्धी अशुद्धि

शनिबार, ३० बैशाख २०७४, १२ : ०२ प्रा. दिनेशराज पन्त , Kathmandu
नरेन्द्रदेवसम्बन्धी अशुद्धि

काठमाडौँबाट नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित वि.सं. २०७४ वैशाख १५ गतेको नागरिक ९ वर्ष ५ अङ्कको ८ पृष्ठमा छापिएको ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा भन्ने खबरमा वि.सं. ५४६ देखि जात्रा सुरु भएको किंवदन्ती छ, १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालिन राजा नरेन्द्रदेवले यो जात्राको सुरुवात गराएको पौराणिक कथन छ भनी लेखिएको छ । त्यसै गरी वि.सं. २०७४ वैशाख १८ गतेको नागरिक ९ वर्ष ८ अङ्कको १२ पृष्ठमा छापिएको शिवहरि घिमिरेको रातो मच्छिन्द्रनाथको रथ गाःबहाल पु¥याइयो भन्ने खबरमा वि.सं. ५४६ देखि जात्रा सुरु भएको किंवदन्ती छ, यो जात्रालाई सहकालका देवताका रूपमा हिन्दू र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन्, १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुवात गराएको पौराणिक कथन छ भनी लेखिएको छ । यताबाट वि.सं. ५४६ मा नेपालमा नरेन्द्रदेव नामका राजा थिए भन्ने देखिन्छ । लिच्छवि राजा नरेन्द्रदेवको पालाका संवत् ६७ पौषदेखि १०३ ज्येष्ठसम्मका अभिलेख पाइएका छन् । यी अभिलेख काठमाडौँबाट वि.सं. २०३० मा त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अध्ययन संस्थानद्वारा प्रकाशित धनवज्र वज्राचार्यको लिच्छविकालका अभिलेखका ४५८–५०६ पृष्ठमा छापिएका छन् । यस बेला चलेको संवत् वि.सं. ६३३ देखि चलेको कार्तिकादि मानदेव संवत् भएकोले वि.सं. ७०० देखि ७३७ सम्म त नरेन्द्रदेव राजाको रूपमा पक्कै थिए भन्ने देखिन आउँछ । वि.सं. ५४६ मा नेपालमा लिच्छवि राजा मानदेवले शासन गरिरहेका थिए । यस कारण नागरिकमा दिइएको नरेन्द्रदेवको समय अशुद्ध हो भन्ने प्रष्ट हुन्छ ।
 

Leave A Comment