महिलाहरु कसरी सुरक्षित रहन सक्छन् ?

बिहिबार, २२ साउन २०७७, १२ : ५४ प्रकाश जंग थापा
महिलाहरु कसरी सुरक्षित रहन सक्छन् ?

महिलाहरु युद्ध र मतभिन्नता उत्पन्न हुँदा मात्र असुरक्षित हुने होइन। स्थिर लोकतन्त्र सुनिश्चित हुँदाको अवस्था वा शान्तिपूर्ण परिवेशमा पनि उनीहरु असुरक्षित हुन्छन्। सार्वजनिक स्थल लगायत एकान्त ठाउँमा उनीहरुप्रति आक्रमण हुन सक्ने सम्भावना अत्यधिक रहन्छ। इन्स्टिच्युट फर सेक्युरिटी स्टडिजको अध्ययनअनुसार विश्वव्यापी रुपमा ३५ प्रतिशत महिला शारीरिक तथा यौन हिंसाबाट पीडित रहने देखाएको छ। त्यसैगरी अन्तर्राष्ट्रिय स्तरमा ३८ प्रतिशत महिलाहरुको हत्या सुपरिचित, घनिष्ठ अथवा अन्तरंग साथीबाट नै हुने देखाएको छ।

महिलाहरु आफ्नै मान्छेबाट सुरक्षित छैनन् भने अपरिचित मानिसहरुबाट झन् सुरक्षाको ग्यारेन्टी हुन सक्दैन। प्रायः उनीहरु एक्लै हुँदा आक्रमण हुने गर्छ। यस्तो परिस्थितिमा उनीहरु कसरी सुरक्षित रहन सक्छन् ? यसका लागि मार्सल आर्ट विशेषज्ञ स्टिभ कार्डियन, मेलिस्सा सोयल्ट तथा अन्य सुरक्षा विशेषज्ञले दिएका निम्न विधि प्रभावकारी हुन सक्छन्ः

सेरोफेरो नियाल्ने
एक्लै हिँड्ने क्रममा ध्यान विचलित हुनु हुँदैन। सेरोफेरोमा के चलिरहेको छ, त्यो 
नियाल्न सक्नुपर्छ। आफूभन्दा ठीक अगाडि के छ, त्यसमा मात्र केन्द्रित हुनु हुँदैन। आफ्नै धुनमा हिँड्नु बुद्धिमानी होइन। भनाइको मतलब, बाटो मात्र होइन वातावरण पनि हेर्दै हिँड्ने गर्नोस्।

मानौँ तपाईं अफिस (कार्यक्षेत्र) बाट घर फर्कंदै हुनुहुन्छ। मानौँ तपाईंलाई अँध्यारो बाटो एक्लै हिँड्नु पर्ने हुन्छ। यस्तोमा तपाईं फोन चलाउँदै, हेडफोन लगाएर गीत सुन्दै हिँड्नु भयो भने ? अझ भनौँ आफ्नै धुनमा हिँड्नु भयो भने ? शारीरिक र यौन हिंसामा लिप्त पुरुषहरु बाटो ढुकेर बसिरहेका हुन सक्छन् अनि तपाईंमाथि आक्रमण हुने सम्भावनालाई नकार्न सकिँदैन। अर्को शब्दमा भन्नुपर्दा, उसमाथि शारीरिक र यौन हिंसा हुन सक्छ। यस किसिमको आक्रमण र हिंसाबाट बच्नका लागि तपाईं आफ्नो दाजु वा भाइको सहयोग लिन सक्नुहुन्छ। दाजु वा भाइको अनुपस्थितिमा सशक्त भावभङ्गिमामा सहित हिँड्ने गर्नोस्। उच्च आत्मविश्वास साथ बाटोमा हिँड्ने गर्नोस्। त्यसैगरी हिँड्ने क्रममा परिधीय दृष्टि राख्नोस्। कुनै अपरिचित पुरुष भेट भए, सम्भावित आक्रमणकारी जस्ता लागे सिधा अनुहारमा हेरिदिनुस्। यो खालको हेराइले आक्रमणकारी पुरुषमा डर पैदा गराउँछ। परिणामस्वरूप तपाईं सुरक्षित रहन सक्नुहुन्छ।

अन्तर्ज्ञानलाई विश्वास गर्ने
हामी सबैमाअन्तर्ज्ञान हुन्छ। हामीमा अन्तर्मनको आवाज हुन्छ जसले खतराको संकेत गर्छ। केही कुरा सही नभएको, प्रतिकूल परिस्थिति सिर्जना भएको बारेमा सचेत गराउँछ। अफसोच, हामी यही आवाज सुन्न सकिरहेका हुँदैनौं। अन्तज्र्ञान बुझ्न सकिरहेका हुँदैनौँ। त्यसलाई विश्वास गर्न सकिरहेका हुँदैनौँ।

दयालु, शिष्ट, आज्ञाकारी र सहयोगी हुनु महिलाहरुको स्वभाव नै हो। यस्तै स्वभाव रहेका महिलाहरु आक्रमणकारीको नजरमा हुने गर्छन्। आक्रमणकारी पुरुष झुटो बोल्न र गलत वास्तविकता प्रक्षेपण गर्न महारत प्राप्त हुन्छन्। उनीहरु कुनै पनि महिलाको सुरक्षा कवच उतार्न, मन जित्न र निकट रहन सक्छन्।

मानौँ, तपाईंसँग कुनै अपरिचित पुरुष बाटोमा बोल्न आयो। केही सहयोग माग्यो। यस्तो बेलामा आफ्नो अन्तर्मनको आवाज सुन्ने कोसिस गर्नोस्। भित्री मनले के भन्छ, के अनुभूत गर्नुहुन्छ, त्यसबारे सजग रहनोस्। यदि तपाईंले असहज महसुस गर्नुभयो भने त्यो अपरिचित पुरुषसँग बोल्न र सहयोगका लागि अग्रसरता देखाउन आवश्यक छैन। कहिलेकाहीँ यस्तो समयमा अभद्र बन्नु नराम्रो होइन। यसो गर्नाले तपाईं अपरिचित पुरुषबाट सुरक्षित रहन सक्नुहुन्छ। त्यसैले सम्भावित आक्रमणकारी पुरुषहरुबाट बच्न आफ्नो अन्तज्र्ञानलाई विश्वास गर्नोस्।

पूर्व योजना बुन्ने
अपरिचित व्यक्तिबाट शारीरिक हमला हुँदा डर उत्पन्न हुन्छ। यसै क्रममा शरीरमा एड्रेनालिन हर्मोनको मात्रा बढेर जान्छ। यो हर्मोन खतरासँग लड्न सहयोग गर्नका लागि उत्पादन भए पनि शरीर स्थिर भइदिन्छ। संत्रास बढेर जान्छ। यस्तो अवस्थामा सुरक्षित रहनका लागि कुनै नयाँ योजना बुन्न सकिँदैन। यदि हामीसँग पूर्व योजना छ भने कुनै पनि आक्रमणबाट सुरक्षित रहन भने सकिन्छ।

हरेक आक्रमणकारी पुरुषले अप्रत्याशित रूपमा आक्रमण गर्छ। यस्तो अवस्थामा तपाईंले पूर्वयोजना तय गर्दा समावेश गरिएको अप्रत्याशित प्रतिक्रिया दिन सक्नुपर्छ। जसका कारण आक्रमणकारी पुरुषको योजना तुहिएर जाओस्। त्यसैगरी हरेक आक्रमणकारी पुरुषमा दुईवटा डर हुन्छ। पहिलो, कसैले देख्छ कि, कसैले चिन्छ कि भन्ने डर। दोस्रो, आफैँलाई चोटपटक लाग्छ कि भन्ने डर। यही कुरा प्रतिरक्षा योजना तय गर्दा लागू गर्नुपर्छ।

मानौँ तपाईंमाथि कसैले अप्रत्याशित रूपमा आक्रमण ग-यो। मानौँ ती आक्रमणकारी पुरूषले तपाईंलाई साथमै लिएर जान चाह्यो। यस्तो अवस्थामा तपाईंले तयार गर्नु भएको पूर्वयोजना प्रयोग गर्नोस्। सम्पूर्ण शक्ति लगाउनुस्। सकेसम्म ठूलो आवाज निकालेर चिच्याउनुस्। यसो गर्नाले आक्रमणकारी पुरुषमा डर पैदा हुन्छ। अनि तपाईं आफ्नो जीवनरक्षा गर्न सफल हुनुहुन्छ।

छुटकारा पाउन लड्ने
महिलाहरु मजबुत हुन्छन्। यसको अर्थ यो होइन कि उनीहरु पुरुषहरु भन्दा मजबुत हुन्छन्। अधिकांश पुरुषहरुको माथिल्लो शारीरिक शक्ति र उचाइ महिलाहरुको तुलनामा बढी हुन्छ। त्यसैगरी पुरुषहरुको शारीरिक बनावट महिलाहरुको तुलनामा बढी ठूलो र सशक्त हुन्छ। आक्रमणकारी पुरुषहरु महिलालाई वशमा राख्न यिनै शारीरिक शक्ति, शारीरिक बनावट र डरको रणनीति प्रयोग गर्छन्।

तपाईं कुनै आक्रमणकारीको नियन्त्रणमा पर्नु भयो, तपाईंको जीवन खतरामा छ भने जीवनरक्षाका लागि आक्रमणकारीलाई हराउने कोसिस नगर्नोस्। आक्रमणकारीबाट कसरी छुटकारा पाउन सकिन्छ, त्यसमा सम्पूर्ण ध्यान केन्द्रित गर्नोस्। उपयुक्त समयको पर्खाइमा रहनोस्। अधिकतम् धैर्य कायम गर्नोस्। आक्रमणकारीको नियन्त्रणमा रहँदा तपाईं र आक्रमणकारीको शारीरिक दुरी निकै कम हुन्छ। छुटकारा पाउनको निम्ति यही निकटता प्रयोग गर्ने कोसिस गर्नोस्। जब आक्रमणकारीको ध्यान भङ्ग हुन्छ, त्यही समय आक्रमणकारीको आँखा, घाँटी, कमर र तिघ्रा बीचको भागमा प्रहार गर्नोस्। त्यसैगरी तपाईं आफूले लगाएको हिल जुत्ताले आक्रमणकारीको दुवै कानमा प्रहार गर्न पनि सक्नुहुन्छ। तपाईंले जुन कदम चाल्नुहुन्छ, जहाँ प्रहार गर्नुहुन्छ त्यो सतप्रतिशत हुनु अत्यावश्यक छ। त्यो बेजोडको हुनु निकै जरुरी छ। तपाईंले यसो गर्न सक्नुभयो भने आक्रमणकारीले आफ्नो सन्तुलन गुमाउन पुग्छ। जसकारण तपाईं आक्रमणकारीको पञ्जाबाट मुक्त रहन सक्नुहुन्छ।

नयाँ व्यक्तिलाई समूहमा भेट्ने
अहिले डिजिटल युगको समय हो। यस युगमा डिजिटल माध्यमको प्रयोग बढी हुने गर्छ। आमनेसामने भेट न्यून रहन्छ। सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, वी च्याट लगायत ट्वीटरमार्फत् जो कोही व्यक्तिसँग सजिलै जोडिन सकिन्छ। अन्तरक्रिया बढाउन सकिन्छ। अपरिचित व्यक्तिसँग सम्बन्ध बढाउने, अन्तरक्रिया बढाउने सुविधा उपलब्ध हुनु सामाजिक सञ्जालको सकारात्मक पक्ष हो। यद्यपि यही सुविधाले द्विविधा पनि निम्त्याउने गर्छ। ठूलठूला समस्या सिर्जना हुने गर्छ।

मानौँ तपाईं एक आकर्षक महिला हुनुहुन्छ। तपाईं एक जना अपरिचित व्यक्तिसँग फेसबुकमा जोडिनु भयो। एकले अर्काको पोस्ट लाइक, कमेन्ट र सेयर गर्नुभयो। नियमित च्याट पनि भयो। अनलाइन च्याट गरेकै भरमा तपाईं ती व्यक्तिप्रति आकर्षित हुन सक्नुहुन्छ। ती व्यक्तिले तपाईंसँग एकान्त ठाउँमा भेटको प्रस्ताव राख्यो भने पनि तपाईंलाई कुनै अप्ठ्यारो महसुस हुँदैन। तपाईंले त्यो भेटलाई रोमान्टिक डेटिङको रुपमा चित्रण गर्नुहुन्छ। मानौँ, तपाईंहरुबीच सोही एकान्त ठाउँमा भेट भयो। यदि ती व्यक्ति यौन सिकारी रहेछ भने ? उसले एकान्त ठाउँको फाइदा उठाउन खोज्छ। भनाइको तात्पर्य, तपाईंमाथि शारीरिक एवं यौन हिंसा हुन सक्छ। त्यसैले सामाजिक सञ्जालमा भेट भएका व्यक्तिलाई पूर्ण विश्वास नगर्नोस्। अनलाइन च्याट गरेर कसैको नियतबारे स्पष्ट हुन सकिँदैन। भेटका लागि सजिलै तयार नहुनुस्। भेट्नै परे पनि समूहमा भेट्ने वातावरण मिलाउनुस्। यसो गर्नाले ती नयाँ व्यक्तिको खराब नियतले तपाईंको नियति खाराब हुन सक्दैन।

Leave A Comment