विपदमा बुद्धशिक्षा

बिहिबार, २२ साउन २०७७, ११ : ५० शुक्रवार
विपदमा बुद्धशिक्षा

आर. मानन्धर

अहिले हामी विपदमा छौंं। हामीले नचाहे पनि जीवनमा बारम्बार संकटहरू आई रहन्छन्, कहिले प्राकृतिक त कहिले मानवनिर्मित। पृथ्वीमा कहिले भूकम्प जान्छ त कहिले युद्ध भइरहन्छ, जसले मानव जीवनलाई अप्ठ्यारोमा पारिरहेको हुन्छ।

हामीले महाभूकम्प भोगेको त धेरै वर्ष बितेकै छैन, अहिले फेरि कोभिड–१९ रोगको महामारी फैलिएको छ। यसले जनस्वास्थ्यमा मात्र होइन, हाम्रो आर्थिक–सामाजिक जीवनमा पनि अकल्पनीय नकारात्मक प्रभाव पारेको छ।

यो महामारीको अवस्थामा धेरैले मलाई सोधे कि बुद्धको समयमा यस्तो कुनै अवस्थाको उल्लेख छ ? भएदेखि त्यस्तो अवस्थामा बुद्धले के–कस्तो शिक्षा दिएका थिए ? वास्तवमा बुद्धको समयमा लिच्छवीहरूको देश वैशालीमा भोकमरी र महामारीको अवस्था आएको थियो। त्यहाँ भोकमरी लागेर धेरै गरीबहरू मरे। मृतकको संख्या धेरै भएर अन्त्येष्टिसमेत राम्ररी गर्न नसकेकाले त्यसबाट महामारी फैलियो। भोकमरीले त गरिब मरेका थिए तर महामारीले धनी–गरिब भनेन।

त्यसैबेला वैशालीका जनताले गौतम बुद्धलाई सम्झे। अनि राजगिरमा बसिरहेका बुद्धले भिक्षु आनन्दलाई रत्न सूत्र सिकाएर वैशालीमा गएर पाठ गर्न भने। केही भिक्षुहरूको साथमा आनन्द वैशालीमा गए। भनिन्छ, उनीहरूले त्यहाँ दिन–रात सात दिनसम्म रत्न सूत्र पाठ गरेका थिए। त्यसलाई बौद्धधर्ममा परित्राण पाठ भनिन्छ। परित्राण भनेको विपत्तिहरूबाट सुरक्षण हो। पाठको अन्त्यमा परित्राणको जल देशैभर छर्किएको थियो। त्यसपछि वैशालीमा महामारी र भोकमरी दुईटै समाप्त भएको उल्लेख छ।

यहाँ प्रश्न आउँछ— रत्न सूत्रको विशेषता के हो त ? रत्न सूत्र वास्तवमा सत्यक्रिया हो। सत्यक्रिया (पाली ः सच्चकिरिया) भनेको सत्यतालाई साक्षी राखेर गरिने कुनै अधिष्ठान हो। बुद्धको जीवनी र उनका पूर्वजन्मका कथाहरूमा बुद्धले धेरै स्थानमा खराब कुराहरूबाट पार पाउन सत्यक्रिया गरेका घटना उल्लेख छन्।

रत्न सूत्रमा बारम्बार बुद्ध, धर्म र संघका गुणहरू दोहो-याइन्छन्। बुद्धधर्ममा बुद्ध, धर्म र संघलाई त्रीरत्न अथवा तीनवटा रत्न भनिन्छ। यस सूत्रमा कसरी सत्यक्रिया गरिन्छ भने, “अनन्त गुणहरूका कारण बुद्ध रत्न, धर्म रत्न, संघ रत्न संसारमा भएभरका हीरा, मोतीजस्ता रत्नहरू भन्दा श्रेष्ठ छन्। यो सत्यवचनको प्रभावले सबैको कल्याण होस्।”

सत्यक्रिया बौद्ध धर्ममा मात्र नभई हिन्दू र जैन धर्ममा पनि पाइन्छ। महाभारतमा दमयन्तीले आफ्नो पवित्रताको सत्यक्रिया गरेकी थिइन्। जैनधर्ममा पनि एक महारानीले सत्यक्रियाको भरमा डरलाग्दो खोला तरेको कुरा पाश्र्वनाथचरित्रमा उल्लेख छ। त्यसैले सत्यक्रिया कुनै पनि धर्मावलम्बीले गर्न सक्छन्। मात्र आफ्नो अधिष्ठान सत्यमा अडेको हुनुपर्छ। यो ‘धर्मो रक्षति रक्षितः’ भनेजस्तै हो।

Leave A Comment