कोसिस क्षत्री खासमा आफूलाई गायक भनेर चिनाउँछन् । तर, उनका अन्य परिचय पनि छन् । उनी संगीतकार, एरेन्जर, अभिनेता, मोडल पनि हुन् । फिल्म ‘मोक्ष’मा गरेको अभिनयका कारण उनलाई फिल्म समीक्षक समाजले उत्कृष्ट अभिनेताको अवार्ड दिएको थियो । उनले गाएको ‘दैव’ बोलको गीत स्रोताले रुचाएका थिए । उनको संगीत रहेको ‘काले दाइ काले दाइ’ अहिले हिट छ । नम्रता श्रेष्ठको जोडी बनेर उनले अभिनय गरेको फिल्म ‘पर्व’ प्रर्दशनको तयारीमा छ । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः
तीन वर्षपछि फिल्ममा फर्किनुभयो । फिल्म नखेल्ने भनेरै बसेको कि नजुरेको ?
पहिलो त म आफूलाई चित्त बुझेको स्क्रिप्टमा मात्र काम गर्न रुचाउँछु । यो अन्तरालमा मैले तीनटा फिल्ममा काम गर्ने पक्कापक्की भइसकेको थियो । ‘घेराबन्दी’ फिल्ममा अनुबन्धित भइसकेको थिएँ । तर, निर्माताको अकस्मात् निधन भएपछि फिल्म बनेन । बुबाको निधनको वर्ष दिनको कामले गर्दा ‘तीन घुम्ती’फिल्म छोड्नुपर्यो । त्यस्तै, ‘नवमी नोर्देन’ भन्ने फिल्म ०७२ सालको वैशाख २० गतेबाट फ्लोरमा जाने तयारीमा थियो । ११ गते भुइँचालो आइदियो । निर्देशक अस्ट्रेलियामा बस्ने भएकाले फर्किए । अनि, फिल्म त्यत्तिकै रोकियो । खासमा यो ग्यापमा फिल्म खेल्न नजुरेकै होला । नत्र हातमा आइसकेको तीन–तीनटा फिल्म किन फुत्किन्थ्यो र ?
तपाईं त गायक बन्न आएको मान्छे, अभिनयतिर सक्रिय हुन थाल्नुभयो त ?
त्यस्तो होइन । खासमा त मेरो पहिचान गायक नै हो । तर, अभिनय पनि गर्छु, गीत पनि लेख्छु, एरेन्ज पनि गर्छु, संगीत पनि गर्छु । अनेक गर्छु । एउटै मान्छेले सबै काम गर्नु हुँदैन भन्ने छ र ?
‘पर्व’ फिल्ममा त अभिनय र संगीतमात्र होइन, कथा पनि आफैँ लेख्नुभएको रहेछ । अब स्क्रिप्ट राइटर पनि हुने हो ?
बजारमा हिट भएका फिल्म मात्र म हेर्दिनँ । अलि फरक खालका मुभीमा रुचि छ । मेरो दिमागमा फरक खालको मुभीको कन्सेप्ट आयो । दिमागमा आएको कुरा किन नलेख्ने ? भनेर स्क्रिप्ट लेखेको हुँ । अरूलाई चाहिँ फिल्मका लागि अफर आउँछ तर यो फिल्मका लागि चाहिँ मैले निर्देशकसँग स्क्रिप्ट देखाएर अप्रोच गरेको हुँ । फिल्मको कथा मन पराएपछि उहाँहरू फिल्म बनाउन तयार हुनुभएको हो ।
फिल्मको ट्रेलर हेर्दा तपाईं लेखकका रूपमा देखिनुभएको छ । फिल्म लेख्ने पनि तपाईं, फिल्मभित्र लेखक पनि तपाईं । यो लेखनप्रतिको रुचिले हो ?
फिल्मको कथा सस्पेन्स छ, ट्रेलरमा देखिएजति मात्र होइन । फिल्म रोमान्टिक थ्रिलर भएकाले अहिले नै कथा खोल्न मिल्दैन । लेखनमा मेरो रुचि छ तर यो मेरो आफ्नै कथा चाहिँ होइन । साहित्य, खास गरी पोएट्रीमा मेरो विशेष रुचि छ । म प्रायः राती अबेरसम्म युट्युबमा पोएट्री सुन्दै सुतिरहेको हुन्छु । त्यसैले बिहान ढिला उठ्छु ।
तपाईंको खास रुचि चाहिँ केमा हो ?
मेरो बुबा ज्ञानवीर क्षत्री गायक हुनुहुन्थ्यो । चार वटा भिडियो फिल्ममा अभिनय पनि गर्नुभएको छ । अहिले म बाबाकै बाटोमा हिँडिरहेको छु भन्दा पनि हुन्छ । एकपल्ट म चार वर्षको छँदा बुबाले स्टेजमा गीत गाउँदा म उठेर नाच्न गएको थिएँ रे । त्यसबेलादेखि नै ममा संगीतप्रति रुचि थियो भन्ने बाबा–ममीले महसुस गर्नुभएको रैछ । सात वर्षको छँदा हेटौँडाको औद्योगिक मेलामा राजा वीरेन्द्रका अगाडि पर्फर्म गरेको छु । त्यतिबेला सानो भएकाले कसले के भन्यो, त्यो त याद छैन । तर, पर्फर्म गरेको फोटो चाहिँ घरमा सुरक्षित छ । त्यसरी मेरो संगीतप्रति लगाव बढेको हो । हेटौँडामा छँदा ‘मेडिटेसन’ नामक ब्यान्ड पनि खोलियो । २०५८ सालमा ब्यान्ड प्रतियोगिता हुँदा अवार्ड पनि जित्यौँ । त्यसपछि एसएलसी सकाएपछि गायक नै बन्ने लक्ष्य लिएर काठमाडौँ छिरेको हुँ ।
तपाईंको घरमा सबैजना गायक हुनुहुन्छ क्यारे ?
हो । आफ्नो त घरभरि गायक छन् । हाम्रो परिवारै सुरिलो ! बुबा पनि गायक, दाइ कमल र भाइ केतन पनि गायक । ममी कमला क्षत्रीले पनि रेडियो नेपालबाट स्वर परीक्षा पास गर्नुभएको हो । तर, उहाँ संगीतमा लाग्नुभएन । हेटौँडा सिमेन्ट फ्याक्ट्रीमा कार्यरत हुनुहुन्छ । तैपनि, किचनको उहाँ मीठो गायिका हो, गीत गाउँदै खाना पकाउनुहुन्छ ।
घरमा सबै गायक हुँदाको फाइदा चाहिँ के हुने रहेछ ?
फाइदैफाइदा छ नि । रातको १ बजे उठेर कसैले रियाज ग¥यो भने पनि अरूले डिस्टर्ब महसुस गर्दैनन् । किनकि, सबैलाई संगीतसँग प्रेम हुन्छ । अर्को कुरा, गीत गाउने क्रममा कसैको नोट बिग्रिरहेको छ भने ‘यहाँ बिग्रियो’ भनेर एकले अर्कालाई सुझाउँछन् ।
तपाईंले गाउने प्रायः गीत सेन्टिमेन्टल हुन्छन् । किन होला ?
सानैदेखि मन छुने गीत सुनेर हुर्र्किएँ । नारायणगोपाल, फत्तेमान, अम्मर गुरुङ लगायतका गीत सुनियो । नाच्ने गीत त्यति सुनिएन । त्यही भएर गीत पनि सेन्टिमेन्टल र सिरियस गाउन मन पर्छ ।
तपाईं मान्छे पनि गम्भीर स्वभावको हो ?
हो । मलाई भीडभाड मन पर्दैन । एकान्तमा बस्न रुचाउँछु ।
पहिलो फिल्म ‘मोक्ष’ बाट तपाईंले उत्कृष्ट अभिनेताको क्रिटिक्स अवार्ड पाउनुभयो । यो फिल्मका लागि अफर चाहिँ कसरी आएको थियो ?
मैले त्यसअघि मेरै गीत ‘दैव’मा मोडलिङ गरेको थिएँ । निर्देशक प्रवीण क्षत्रीसँग मेरो सामान्य चिनजान थियो । उहाँले एक दिन मलाई एउटा फिल्मका लागि सल्लाह गर्नु छ भनेर बोलाउनुभयो । म त्यतिबेला गीत कम्पोज गर्थें । आज पनि संगीत क्षेत्रका मान्छेले मलाई संगीतकारका रूपमा चिन्छन् । त्यसैले प्रवीण दाइले पनि मलाई फिल्मको संगीतका लागि बोलाउनुभएको जस्तो लागेको थियो । तर, कुरा अर्कै रहेछ । उहाँले ‘म्युजिकल लभस्टोरी बनाउन लागेको, सहायक भूमिकामा तिमीलाई लिने सोच बनाएको’ भनेर प्रस्ताव राख्नुभयो । त्यसपछि मैले अडिसन दिएँ । उहाँले अभिनय सिक्यौ भने लिड रोलमा पनि फिट हुन सक्छौ भन्नुभयो । मैले करिब छ महिना रंगकर्मी वीरेन्द्र हमालसँग अभिनय सिकेँ । तीनपल्ट अडिसन दिएपछि लिड रोलका लागि छानिएँ ।
निर्देशक प्रवीण श्रेष्ठको यथार्थ कथामा फिल्म आधारित थियो । तपाईंले फिल्ममा निर्देशककै भूमिका निर्वाह गर्दै हुनुहुन्थ्यो । त्यो भूमिका निर्वाह गर्न कति सहज थियो ?
धेरै गाह्रो थियो । किनभने, म कल्पना गरिएको पात्रमाथि अभिनय गरिरहेको थिइनँ । म मेरै निर्देशकको अभिनय गरिरहेको थिएँ । र, मलाई एक्सन कट भन्ने पनि निर्देशक नै हुनुहुन्थ्यो । त्यसैले जसले फिल्म निर्देशन गरिरहेको छ, उसैको यथार्थ चरित्र निभाउनु चुनौतीपूर्ण थियो । मैले यो चरित्रका लागि एक वर्ष मेहनत गरेको छु । उहाँसँग घरमा दुइटा ह्विलचेयर थियो । एउटा ह्विलचेयर मैले लगेको थिएँ । घरको रोडमा म बिहानबिहानै ह्विलचेयरमा हिँड्थेँ र ह्विलचेयरमा हिँड्दा अरूले गर्ने प्रतिक्रिया महसुस गर्थें । मेरै निर्देशकको काम गराइ र स्वभावलाई नजिकबाट नियाल्थेँ । म आफैँ गायक भएकाले, आफैँ ब्यान्ड सञ्चालन गरिसकेकाले म्युजिकको पाटोमा अभिनय गर्न सहज भयो । सुटिङका बेला हातमा गिटार समातेपछि राहत मिलेको अनुभव हुन्थ्यो ।
जीवनको सबैभन्दा दुःखद क्षण कुन हो ?
मेरो बुबा बितेको क्षण नै हो । मेरो बुबालाई मैले खेलेको फिल्म हलमा गएर हेर्ने ठूलो धोको थियो । तर, त्यो पूरा हुन पाएन । जतिबेला काठमाडौँमा ‘मोक्ष’ फिल्मको प्रिमियर भइरहेको थियो, त्यतिबेला म हेटौँडामा बुबाको निधनको १३ दिनको काममा थिएँ । फिल्म रिलिजको उत्सव मनाउनुपर्ने बेला शोकमा थिएँ ।
कला क्षेत्रमा प्रवेश गर्न कति संघर्ष गर्नुपर्यो ?
खासमा त म राजधानी गायक बन्न नै छिरेको हुँ । राजधानी छिरेको केही वर्ष एक्लै डेरामा बसिन्थ्यो । पहिलो एल्बम निकाल्नै चार वर्ष लाग्यो । म्युजक कम्पनी, संगीतकार, एरेन्जरकोमा धाउँदाधाउँदा हत्तु भइन्थ्यो । ट्याक्सीमा हिँड्ने पैसा हुँदैनथ्यो । राती–राती हिँडेर घर पुगिन्थ्यो । थकित भइन्थ्यो । थकानका कारण कति रात भोकै सुतियो । मेरो बुबा गायक भए पनि मैले कहिल्यै उहाँको नाम बेचिनँ । बुबा भन्नुहुन्थ्यो– ‘तँ मेरो नामबाट होइन, म तेरो नामबाट चिनिन पाऊँ ।’ काठमाडौँमा जीवन धान्न केही वर्ष रेस्टुरेन्टमा गिग पनि गरियो । खासमा म संगीतकार र एरेन्जर त्यसै भएको होइन । अरूकोमा धाउँदाधाउँदा गलेपछि आफैँ गायक हुनका लागि भएको हुँ । पछि अरूका लागि पनि भएँ ।
धेरै विधामा काम गर्नुहुन्छ । यसो हुँदा कतै पनि पहिचान नबन्ने डर हुँदैन ?
त्यसो नहोला । आफूले जानेका कामहरू गर्दा खासै फरक नपर्ला । मेरो खास पहिचान गायक भए पनि म दर्शकमाझ फिल्मबाट चिनिएको साँचो हो । तर, मलाई धेरै जना धेरै तरिकाले चिन्छन् । ‘दैव’ गीतको भिडियो हेरेकाले गायक र मोडल मात्र भनेर चिन्छन् । फिल्म हेर्नेले हिरो मात्र सोच्छन् । संगीतकर्मीले संगीतकारका रूपमा चिन्छन् । अहिले भाइरल भइरहेको ‘काले दाइ काले दाइ’मा मेरै संगीत छ । राजेशपायल राईको ‘खाऊ कसम भाकेर’ले हिट्स एफएममा उत्कृष्ट लोकगीतको अवार्ड पाएको थियो । यसमा पनि मेरै संगीत थियो । मैले प्रायः गायकगायिकासँग संगीतकारका रूपमा काम गरेको छु । यसरी धेरै विधामा काम गर्दा पहिचान नबन्ने होइन, झन् बन्ने सम्भावना हुन्छ जस्तो लाग्छ ।
तपाईंको त सेफ बन्ने चाहना पनि थियो रे ?
हो त । मैले प्लस टूमा होटल म्यानेजमेन्ट पढेको हुँ । काठमाडौँ, मैतिदेवीको युनिभर्सल कलेजमा पढ्थेँ । त्यतिबेला मलाई प्रिन्सिपलले भर्ना लिएको भए सायद म राम्रो सेफ बन्थेँ । त्यही बेला मेरो म्युजिक भिडियोको सुटिङ हुँदैथ्यो । त्यसकै लागि मैले कपाल पालेको थिएँ । प्रिन्सिपल रिटायर्ड आर्मी भएकाले कडा हुनुहुन्थ्यो । उहाँलाई मैले तीन महिनापछि सुटिङ छ, त्यसपछि काट्छु भनेर अनुरोध गरेँ । अप्ठेरो हुन्छ भने बरु तीन महिना कलेज आउँदिनँ पनि भने । तर, उहाँले मान्नुभएन । त्यसपछि ‘ठीक छ सर, त्यसो भए म पढ्दिनँ, तर हजुरप्रति मेरो सम्मान सधैँ उस्तै भइरहनेछ’ भनेर बाहिरिएँ । त्यसपछि गायनतिर बढी सक्रिय भएँ । आट्र्स पढ्न थालेँ ।
जीवनमा पहिलोपल्ट आफूलाई सेलिब्रिटी महसुस गरेको क्षण छ ?
छैन । अहिलेसम्म म सेलिब्रिटी भएकै छैन । नर्मले मान्छे नै हुँ । संघर्ष नै गरिरहेको छु । भइएछ भने भनौँला ।
Leave A Comment