सरकारी वेबसाइट निःशुल्क हेर्न सकिने

आइतबार, ०७ जेठ २०७४, १२ : ५६ शुक्रवार , Kathmandu
सरकारी वेबसाइट निःशुल्क हेर्न सकिने

नेपाल टेलिकमले नेपाल सरकार सञ्चालित वेबसाइटहरू निःशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको छ । टेलिकमले वैशाख १ गतेदेखि सरकारबाट सञ्चालित ‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका करिब साढे पाँच सय वटा वेबसाइटलाई जीएसएम मोबाइल सेवाबाट निःशुल्क उपभोग गर्न पाउने बनाएको हो ।
टेलिकमले नेपाल सरकारका वेबसाइट टेलिकम कम्पनीको जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्र रूपमा ब्राउज गर्न सकिने बनाएको छ । निःशुल्क हेर्न सकिने सरकारी वेबसाइटको सूची कम्पनीको वेबसाइटमा राखिएको छ ।
सरकारी सूचना र जानकारीमा सर्वसाधारणको पहुँच बढाउन सरकारी वेबसाइटलाई निःशुल्क गरिएको नेपाल टेलिकमले जनाएको छ । ‘सर्वसाधारणलाई सरल र सहज ढंगले सूचना र जानकारी दिन हामीले यी वेबसाइटलाई निःशुल्क गरेका हौँ,’ टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले भनिन् ।
पछिल्लो समय धेरै विषयवस्तु डिजिटल फर्ममै आउन थालेको उल्लेख गर्दै उनले डिजिटल समाजको वृद्धिका लागि टेलिकमले सहयोग गर्ने उद्देश्यले निःशुल्क वेबसाइट सुरु गरेको जानकारी दिइन् ।
केही मन्त्रालय र विभागका वेबसाइट अपडेटेड छन् । टेलिकमको निर्णयले ती साइटमा साधारण मानिसको पहुँच अझै बढ्ने देखिन्छ । सरकारी सूचना तथा जानकारी उपलब्ध गराउने भनेर सञ्चालिन सरकारी डोमेनका अधिकांश वेबसाइट अपडेट छैनन् । भइरहेका साइट युजर–फ्रेन्डली छैनन् । जनतालाई सूचनामा पहुँच बढाउन टेलिकमले निःशुल्क सेवा सुरु गरे पनि कतिपय वेबसाइटमा सचिव र मन्त्रीका मात्र फोटो झुन्ड्याइएका छन् । खोजेको सूचना पाउन सक्ने अवस्था न्यून छ । अधिकांश सरकारी कार्यालयमा कागजी कारोबार मात्र हुन्छ ।
टेलिकमको नयाँ सुविधाले ई–गभर्नेन्सलाई सघाउने विश्वाससमेत गरिएको छ । मानव सञ्जालको मेसिन मानिने प्रशासनिक क्षेत्रमा जनशक्तिअनुसार प्रतिफल देखिन सकेको छैन ।
टेलिकमको यो सुविधाले ‘सूचना प्रविधि नीति २०६७’ लाई सघाउ पु¥याउने टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारी बताउँछिन् । यस नीतिअनुसार सूचना प्रविधिको विकासले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापारलगायत क्षेत्रमा अवसर प्रदान गर्नेछ । ‘कानुनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन कायम गर्ने, नेपाललाई सूचना प्रविधिको विश्व मानचित्रमा स्थापित गर्ने परिकल्पनालाई साकार बनाउन यसले सहयोग गर्नेछ,’ राजभण्डारीले भनिन् ।

 

Leave A Comment