‘मैले बनावटी कुरा लेखेको छैन’

सोमबार, ०८ जेठ २०७४, १२ : ३२ रामकुमार डिसी , Kathmandu
‘मैले बनावटी कुरा लेखेको छैन’

कथाकार नवीन विभासको पहिलो कथासंग्रह ‘आधा बाटो हिँडेपछि’ प्रकाशित भएको १६ वर्षपछि दोस्रो कथासंग्रह ‘रोल्पा सुइना’ आएको छ । उनको लेखनको विशेषता स्थानीय लवजलाई टपक्कै टिपेर लेख्न सक्नु हो । उनका कथामा माओवादी द्वन्द्वका विभिन्न पाटा र आयाम पाइन्छन् । उनीसँग शुक्रवारका लागि रामकुमार डिसीले गरेको कुराकानीः

‘रोल्पा सुइना’ कसको सुइना (सपना) हो ?
रोल्पा भनेर सानो क्षेत्र, ठाँउका रूपमा भनिएको होइन । माओवादी आन्दोलनमा रोल्पा ‘इपिसेन्टर’का रूपमा रह्यो । यसलाई विम्बका रूपमा प्रयोग गरिएको छ । मैले यसबाट माओवादी आन्दोलनलाई इंगित गर्न खोजेको हुँ । ‘रोल्पा सुइना’ उनीहरूको सुइना (सपना) हो, जसका लागि जसले जीवनको मूल्यवान समय, आफन्त वा जिन्दगी नै गुमाए । ती साना–साना मान्छेहरूको सुइना हो यो । भोलि आउने उज्यालोको आशमा धेरै नेपाली आन्दोलनमा होमिएका थिए । उनीहरूकै सुइना हो, ‘रोल्पा सुइना’ ।

‘रोल्पा सुइना’ जन्मिन कति समय लाग्यो ?
समय अन्तरालका हिसाबले पहिलो कथासंग्रह आएको १६ वर्षपछि यो आएका हो । तर, यही लेख्छु भनेर लागिनँ । रोजीरोटीको लागि पत्रकारिता गरेँ । मैले गर्ने रिपोर्टिङ पनि द्वन्द्वसँग नै सम्बन्धित भयो । माओवादी आन्दोनको रिपोर्टिङ गर्ने बेलामा यस्ता पात्रहरू भेटेँ, जसले मलाई भित्रैदेखि हल्लाए । उनीहरूका अन्तरकुन्तर, जीवनका उकालीओरालीलाई समाचारमा ल्याउन सम्भव थिएन । त्यसैले कथाका रूपमा प्रस्तुत गरेँ । फुटकर कथा लेख्दै आएको थिएँ । ती कथा नै अहिले संग्रहका रूपमा आएका हुन् ।  मैले कथाका रूपमा जति पनि लेखेको छु, ती फरक–फरक पात्रहरूका अनुभूति, भोगाइलाई मिश्रण गरेर प्रतिनिधिका रूपमा एक ठाँउमा ल्याउने कोसिस गरेको छु ।

तपाईंको लेखनमा स्थानीय लवजलाई टपक्कै टिपेर राखिएको हुन्छ । यसो गर्न कत्तिको गाह्रोे भयो ?
आफूसँग जुन हतियार छ, त्यही प्रयोग गरेर शिकार खेल्नुपर्छ जस्तो मलाई लाग्छ । त्यो भनेकोे म रोल्पामा जन्मेँ त्यहीँ हुर्कें र एसएलसीसम्म पढेँ । मलाई त्यहाँको परिवेशबारे जति थाहा छ, त्यति काठमाडौँका विषयमा थाहा छैन । मैले यहाँको बारेमा लेख्नलाई शून्यबाट सुरु गर्नुपर्छ । अर्को कुरा, हाम्रा कुरो हाम्रो भाषामा भनिन धेरै बाँकी छ । अथवा, भनिएकै छैन । धेरै कुरा ‘भर्जिन’ छन् । मेरो ठाँउ, समय र परिवेशको जुन बोली छ, त्यसलाई स्थानीय ‘फ्लेभर’ भन्छ । त्यहाँका कथा भन्नलाई पनि  रोल्पाको स्थानीय लवजलाई रोजेको हुँ । कतिपय ठाउँमा म आफैँले थाहा पाएका, कतिपय ठाँउमा घुमेर जानेका÷सिकेका  थारुका, कर्णालीका कथाहरू भन्ने कोसिस गरेका छु ।
‘फुलमानी’ कथामा थारु महिलाको पीडा ल्याउनुभएको छ । थारु भाषा चाहिँ कसरी सिक्नुभयो ?
मैले यसअघि पनि थारुका विषयवस्तुलाई लिएर कविता लेखेको छु । त्यसमा स्थानीय लवज र सन्दर्भ मिलाएर लेखेकाले धेरैले मन पराउनुभयो । सायद त्यसैले मलाई हौस्यायो कि ? यो कथा लेख्दा थारु समुदायका केही विज्ञसँग परामर्श गरेको छु । कृष्णराज सर्वहारी, केबी चौधरीलगायत थारु समुदायका विद्वानको सहयोग लिएको छु । थारुको कथा लेख्दा धेरै थारु पात्रलाई भेटेँ । एउटै पात्रको भन्दा पनि सन्र्दभ मिल्ने धेरै थारु पात्रसँग कुरा गरेर लेखेको छु । पहिले थारु चेली शोषण र अत्याचारमा पर्ने धेरै कुरा सुनिन्थे । त्यो कुराले मलाई ‘फुलमानी’ जस्ताको कथा लेख्न उत्प्रेरित ग¥यो ।

द्वन्द्व कथामा आफ्नै भोगाइ पनि छन् कि ?
यसमा ‘खोजी’ भन्ने कथा छ । त्यो मेरो आफ्नै कथा हो । अरू पनि देखेका, अनुभव गरेका कथा नै हुन् । म आफैँ पनि तीन महिना सेनाको भैरवनाथ गणमा हिरासतमा थिएँ ।

द्वन्द्वोत्तर कथामा माओवादी बिग्रिएको कुरालाई व्यंग्य गर्नुभएको छ । आलोचना गरेकोमा अप्ठ्यारो त भएको छैन ?
केही साथीहरूले चित्त दुखाएका छन् । तर, मैले बनावटी कुरा केही पनि लेखेको छैन । मैले माओवादीका सकारात्मक कुरा मात्रै लेखेँ भने त कार्यकर्ताजस्तै भइहालेँ नि । मैले यो समय, परिवेशसँग पनि परीक्षा दिने हो । उसको कुरामा कत्तिको दम छ, कत्तिको तथ्य छ भनेर अरूले पनि हेर्छन् । मैले सत्तासीन माओवादी या विपक्षी माओवादीले के भन्लान् भनेर लेखेको पनि होइन । आफ्नो समयमा देखेको माओवादी आन्दोलनको कुरालाई लेखेको हुँ । त्यसैले मैले अप्ठ्यारो, सप्ठ्यारो अनुभव गरेको छैन । र, यस्तो किन लेखिस् भनेर कसैले भन्ने आँट पनि गरेका छैनन् ।
तपाईंका अधिकांश सिर्जनाको केन्द्रीय विषय द्वन्द्व हुन्छ । किन होला ?
जो मान्छेले जुन काम ग¥यो, त्यही लेख्ने त हो नि । मैले पत्रकारिता गर्दा द्वन्द्वसँग सम्बन्धित धेरै कुरा लेखेँ । त्यसैले पनि होला । द्वन्द्वका कुरा मात्रै लेखेको छैन । यसबाहेक धेरै विषयवस्तुमा लेखेको छु ।
बजारले तपार्इंलार्ई आफ्नो ठान्छ कि पराई ?  
लेखकले लेख्ने कि बजारले लेख्ने भन्ने बहस चाहिँ छ । तर, मलाई बजारले होइन, लेखकले नै लेख्नुपर्छ भन्ने लाग्छ । सिर्जना लेखकले भन्दा बजारले नै गर्ने हो कि भन्ने खालको खतरा पनि बढेको छ । द्वन्द्व कथा बजारले त्यति रुचाउँदैन । तर, आफूले देखेको, भोगेको समय र परिवेशलाई लेख्न छोड्न हुन्न जस्तो लाग्छ  । लेखकले बजारले मागेको भन्दा समयले मागेको लेख्नुपर्छ । द्वन्द्वका विषयप्रति बजार त्यति सकारात्मक नभए पनि ‘फिडब्याक’ भने निराशै भइहाल्ने खालका छैनन् । बजारसँग मेरो सम्बन्ध शत्रुतापूर्ण पनि छैन, असाध्यै मित्रवत पनि छैन ।

पुस्तक लेख्दाका रमाइला÷नरमाइला क्षण के–के छन् ?
मैले जसरी लेख्नुपथ्र्यो, त्यसरी लेख्न सकिएको छैन । ठूला मान्छेका, कमान्डरका कथा धेरै लेखिए । तर, सामान्य मान्छेका धेरै कथा लेख्न बाँकी छन् । जसले द्वन्द्वको मार चर्कोसँग भोग्यो, तिनका कुरा आउन बाँकी छन् । पात्रहरूलाई जीवन्त बनाउन राम्रोसँग काम गर्न नपाउँदा खल्लो लाग्छ । तिनकै बोलीलाई जीवन्तता दिन नसक्दा दुःख लाग्छ  ।

कुन बेलामा लेख्ने मुड चल्छ ?
त्यस्तो विशेष समय छैन । म पैदल धेरै हिँड्छु । हिँड्ने बेलामा धेरै पात्र देख्छु । त्यति नै बेला कथाको ‘प्लट’ बन्छ । त्यसलाई कपी भए कपीमा नत्र मोबाइलमा लेख्छु । मलाई सजिलो मोबाइलमै लेख्न लाग्छ । पछिल्लो समय डेढ महिना जति रुकुम घुमेर आएँ । त्यहाँ धेरै कथाका ‘प्लट’ फुरेका छन् ।

कथामा कर्णालीकी ‘सउरी’ पात्र मार्फत त्यहाँ विकासका नाममा एन्जीओ/आईएनजीओले गरेका काममाथि कडा व्यंग्य गरिएको छ ।  कर्णालीमा तपाईंले अरू के–के  देख्नुभयो, जुन लेख्नुभएन ?
म रिपोर्टिङका क्रममा हुम्ला पुगेको थिएँ । त्यो बेला माओवादीले भोटे लामाहरूको राज्य घोषणा गर्दै थियो । अरू पत्रकार साथीहरू पनि थिए । त्यहाँका केही दिदीहरूले फोटो खिच्दा मान्नु भएन । यो विषयमा चासो लागेपछि मैले उहाँहरूलाई पछ्याएँ । कुरा बुझ्दै जाँदा त्यहाँ सरकार, एनजीओ÷आईएनजीओले विकासका गफ मात्रै दिने रहेछ । फोटोहरू खिचेर लिने तर काम केही नहुने भएपछि उहाँहरू रुष्ट हुनुहुँदो रहेछ । त्यो विषयलाई मैलै कथामा लेखेको हुँ । त्योबाहेक अरू पनि थुप्रै विषय छन् । त्यहाँको एक जना सभासद्सँग बहुपति प्रथाबारे बुझेँ । तर, त्यसका धेरै सांस्कृतिक, सामाजिक पाटाहरू छन् । मेरो एक दिनको बुझाइले मात्रै त्यो लेख्न सम्भव थिएन । गरिबी, अभाव, राज्यले कर्नरमा पारेको, अपहेलना गरेका विषयहरू लेखिन बाँकी छन् ।

कथा ‘नइय फल’मा आशपुरा आमाले नयाँ फल चाखेर, नयाँ व्यवस्था देखेर मर्ने चाहना भएको भनेकी छिन् । यस्ता सपना देख्ने धेरै आमा थिए । साँच्ची, उनीहरूको सपना साकार भयो ?
म त पूरा भएन भन्छु । सामान्य मान्छेलाई राजाको ठाँउमा राष्ट्रपति आएको, लोकतन्त्रको ठाँउमा गणतन्त्र भएको, हिन्दू राष्ट्रको ठाउँमा धर्मनिरपेक्ष भएको अनुभूति गाउँमा छैन । राजनीति गर्ने नेताहरूलाई भने यसले ठूलो अर्थ राख्छ । तर, सामान्य नागरिकको जीवनमा त कुनै प्रभाव परेको छैन । उनीहरूका दुःख उस्तै छन् । रूप अलिकति फेरिएको होला तर सार अलिकति पनि फेरिएको छैन । उनीहरूको जीवनमा हुनुपर्ने उथलपुथल केही पनि भएको छैन । एउटा चाहिँ भएको छ । त्यो हो, प्रश्न गर्ने चेतना पलाएको छ ।

‘रोल्पा एक्सप्रेस’मा सिंहदरबार घुम्न आएको रोल्पाली कमरेड सिंहदरबार, अदालत, बालुवाटार, भद्रकालीको अनुहार उस्तै देख्छ, किन ?
राजनीतिक दलका नेता र केही जान्ने बुझ्नेका समय फेरिएको छ । तर, आम जनताका लागि के फेरिएको छ ? सामान्य मान्छेका  लागि सिंहदरबार, बालुवाटार, अदालत के फेरिएको छ ? केही फेरिएको छैन । विद्या भण्डारी, सुशीला कार्की, ओनसरी घर्ती आइन् त भन्ने पनि छ । तर, राजनीतिक चेतनाबाहेक आम नागरिकमा केही फेरिएको छैन । मैले देखेको यही हो ।

उबेलाका ‘कमरेड’ अहिले ‘सर, म्याडम’ भैसकेका छन् । यो शाब्दिक छलाङ मात्रै हो कि अरू पनि केही हो ?
मैले माओवादी आन्दोलनलाई नजिकबाट हेरेको छु । खास गरी चुनवाङ बैठकपछि नै माओवादी नेता÷कार्यकर्ता कमाउन लागिसकेका थिए । तर, तल्लो तहका कार्यकर्ता त २०६२÷०६३ पछिसम्म पनि विद्रोहका कुरा गर्थे । ‘सर र म्याडम’मा छलाङ पार्टीभित्र पहिले नै हुन थालिसकेको थियो । त्यसबेला माओवादी आन्दोलनको कुरा खुल्ला थिएनन् । पछि छरपस्ट देखियो । त्यो मात्रै फरक हो । माओवादी आन्दोलनमा विकृति आयो भनेर बहस नै भएको छ ।

माओवादी द्वन्द्वसम्बन्धी गतिला ‘फिक्सन’ या ‘ननफिक्सन’ आएनन् भनिछ । किन यस्तो भएको होला ?
मास्टर डिग्रीको थेसिस मैले यही विषयमा लेखेको  छु । द्वन्द्वसम्बन्धी दुई खाले लेखन छन् । एउटा माओवादी आन्दोलनमा सहभागी भएका कमान्डरहरूले लेखेका छन् । उनीहरूले आन्दोलनलाई ‘ग्लोरिफाई’ मात्रै गरेका छन् । त्यसको अँध्यारो पाटोबारे लेख्दै लेखेनन् । अर्को, माओवादी आन्दोलनका विरुद्धमा रहेका मूलधारका मिडियाले दिएको सूचना वा सरदमुकामसम्म पुगेर द्वन्द्वका विषयमा लेखिएका कृति छन् । जसले माओवादी आन्दोलनलाई पूराका पूरा विकृत मात्रै पारेका छन् । बीचमा बसेर लेखिएको छैन । तर, लेख्न चाहिँ माओवादी आन्दोलनलाई नजिकैबाट नियालेका, आन्दोलनमै लागेकाले नै लेख्ने हो । अरूलाई लेख्न गाह्रो हुन्छ ।

 

Leave A Comment