पर्दामा ‘फ्रेस फेस’

सोमबार, ०८ जेठ २०७४, १२ : ५१ शुक्रवार , Kathmandu
पर्दामा ‘फ्रेस फेस’

–प्रदीप कार्की

एक समय थियो, स्टारडमकै भरमा फिल्म चल्थे । फिल्ममा नयाँ अनुहार बिरलै देखिन्थे । राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायत नाम धेरै निर्माता÷निर्देशकको रोजाइमा पर्थे । तर, अहिले समय फेरिएको छ । फिल्म निर्माता÷निर्देशकले नयाँ–नयाँ अनुहारको खोजी गर्न थालेका छन् । ‘फ्रेस फेस’ फिल्ममा डेब्यू हुने क्रम बढेको छ ।

निर्देशक दीपेन्द्र के. खनाल फिल्मको कथाअनुसार पात्र छनोट गर्ने ट्रेन्ड बढेकाले नयाँ–नयाँ अनुहार भित्रिरहेका बताउँछन् । ‘अहिले यो कलाकारलाई राख्दा फिल्म चल्छ भन्ने अवस्था छैन,’ उनी भन्छन्, ‘त्यसैले फिल्मको कथाअनुसार पात्र छान्ने हो । मैले ‘लभ लभ लभ’ फिल्ममा सुरज पाण्डेलाई सुहाउँदो पात्र भएकाले डेब्यू गराएको हुँ ।’

यही साता नवअभिनेताका रूपमा डेब्यू हुँदैछन्– सन्नी सिंह । मोडलिङमा रमाइरहेका सन्नीलाई निर्देशक अनिल योञ्जनले फिल्ममा प्रवेश गराएका हुन् । यसअघि उनले फिल्म ‘आवरण’ निर्माण गर्दा पनि नयाँ कलाकार नै भिœयाएका थिए । ‘हामीले पुराना कलाकारका काम देखिसकेका हुन्छौँ,’ योञ्जन भन्छन्, ‘त्यसैले कलाकार खोज्ने बेलामा फिल्मको कथाअनुसार पुराना फिट हुन्छन् कि नयाँ लिनुपर्छ भन्ने निर्णय गर्न सजिलो हुन्छ । मैले ‘आवरण’ फिल्म गर्दा पनि थिएटरकै कलाकारको डिमान्ड थियो । त्यसैले दिव्यदेवलाई कास्ट गरेको थिएँ ।’

फिल्ममा नयाँ–नयाँ कलाकार भिœयाउने निर्देशकमा हेमराज बिसीको नाम अग्रपंक्तिमा आउँछ । अनमोल केसी पनि उनकै निर्देशनमा बनेको फिल्म ‘होस्टेल’ बाट डेब्यू भएका हुन् । भदौमा रिलिज हुन लागेको उनको नयाँ फिल्म ‘ग्याङस्टर ब्लुज’ मा पनि नवअभिनेता आशिरमान देशराज जोशी डेब्यू हुँदैछन् । उनका हरेक फिल्ममा कोही नकोही नयाँ कलाकार डेब्यू भएकै हुन्छन् । भन्छन्, ‘सुरु–सुरुमा नयाँलाई काम बुझाउन गाह्रो हुन्छ तर बिस्तारै सजिलो हुँदै जान्छ । म खास गरी नयाँको काम गर्ने जोश र कामका कारण लोभिन्छु । त्यसैले नयाँसँग काम गर्न रुचाउँछु ।’

अभिनेत्री झरना थापा फिल्म ‘ए मेरो हजुर–२’ मार्फत निर्देशक बन्दैछिन् । उनको यो फिल्म भदौमा रिलिज हुँदैछ । उनले पनि आफ्नो पहिलो निर्देशकीय फिल्ममार्फत सलिनमान बानियाँलाई हिरोका रूपमा डेब्यू गराएकी छिन् । ‘पुराना कलाकार पनि हाम्रो रोजाइमा नपरेका होइनन्,’ फिल्मका निर्माता सुनिलकुमार थापाले भने, ‘तर, हामीकहाँ थुप्रै नयाँ ट्यालेन्ट छन् जसलाई हामीले मौका दिन सकिरहेका छैनौँ । त्यसैले पनि हाम्रो टिमको प्राथमिकतामा नयाँ कलाकार परेका हुन् ।’

कार्तिकमा रिलिज हुने तयारीमा रहेको फिल्म ‘सुस्केरा’ मार्फत स्वरूप पुरुष ढकाल अभिनेताका रूपमा डेब्यू हुँदैछन् । ‘मैले अलि फरक खालको लभस्टोरी फिल्म बनाउँदै थिएँ,’ यसका निर्देशक साम्तेन भुटियाले भने, ‘त्यसैले फिल्मका लागि हामीलाई जोडी नै फ्रेस चाहिएको थियो । अर्को कुरा प्रतिभा भएका नयाँ कलाकारलाई पनि स्थान दिनुपर्छ भन्ने मेरो मान्यता हो ।’

स्क्रिप्टको डिमान्ड

छायांकनको तयारीमा रहेको फिल्म ‘इन्टुमिन्टु लन्डन’ मार्फत धीरज मगर डेब्यू गर्दैछन् । अघिल्लो साता मात्र निर्माण घोषणा गरिएको यस फिल्ममार्फत कोरियोग्राफर रेनशा वान्तवा राई निर्देशनमा डेब्यू गर्दैछिन् । धेरैजसो चल्तीका कलाकारसँग काम गरिसकेकी रेनशाको रोजाइमा पनि नयाँ अनुहार नै प¥यो । ‘स्क्रिप्टको डिमान्ड हो,’ उनी भन्छिन्, ‘हामीकहाँ लभ स्टोरी फिल्ममा फ्रेस जोडी नै दर्शकको डिमान्ड हुन्छ । त्यसैले स्क्रिप्टलाई सुहाउँदो एक्टर लिएका हौँ । ’

पुराना व्यस्त, नयाँलाई अवसर
चल्तीका कलाकार व्यस्त भएका कारण पनि नयाँ–नयाँ अनुहारले अवसर पाइरहेको फिल्म मेकर्सहरू बताउँछन् । ‘चल्तीका कलाकारलाई फिल्ममा खेलाउ भने उनीहरू एक वर्ष कुराइदिन्छन् । त्यसैले हामी नयाँ कलाकार खोज्नतिर लाग्छौँ,’ एक निर्माताले भने ।

यता निर्देशक हेमराज बिसी डेब्यू भइरहेका नयाँ अनुहारमा सम्भावना देख्छन् । ‘यही रफ्तारमा काम गर्दै गए भने नयाँ कलाकारको भविष्य उज्ज्वल छ,’ बिसी भन्छन् ।

Leave A Comment